आमाका काम, आमाकै नाम
‘मलाई एक असल आमा देऊ, म तिमीलाई एक असल राष्ट्र दिनेछु।’ विश्वप्रसिद्ध राजनेता नेपोलियन बोनापार्टले आमाबारे बोलेको वाक्य हो यो जुन अत्यधिक चल्तीमा छ। कुनै विषय वा सन्दर्भ यसै लोकप्रिय हुँदैन। असल आमाका कारण नै असल राष्ट्र निर्माण हुने यो गहन वाक्यको आशयले नै यो वाक्य सम्भवतः सबैले मन पराएका हुन्।
‘जो व्यक्तिसँग भगवान् जस्ती आमा छिन्, त्यो व्यक्ति नै धनी व्यक्ति हो।’ अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिंकनको आमाबारेको भनाइ हो यो, जसले आमाको महत्व र सन्तानको आमासँगको सम्बन्धको महिमा स्पष्ट पार्दछ। यो किनभने सन्तानले गर्ने सारा सृष्टि नै आमा नामक बिजसँग सम्बन्धित छ किनकि आमाबाट प्राप्त हुने संस्कार र संस्कृति कुनै पनि सन्तानका लागि ऊ, उसको परिवार, ऊ बाँचेको समाज, ऊ जन्मिएको देश र अझ व्यापक दृष्टिकोण राख्ने हो भने यो संसार (विश्व) निर्माणको आधार हो।
पवित्रा नामक एउटी आमा विश्वभरका आमाकी एउटी यस्ती प्रतिनिधि पात्र हुन्, जसले बोनापार्ट र लिंकनले भनेजस्तै असल अर्थात् भगवान्जस्ती आमाको भूमिका निर्वाह गरेकी थिइन्। यो कुराको पुष्टि उनकै छोरा कृष्णप्रसाद जैसी रूपाखेतीले गरेका छन्, ‘श्रद्धाञ्जलि’ खण्डकाव्य मार्फत। जसभित्र कवि कृष्णले आमाको आदर्श
सुवास दिने फुल्ने फूल मालीको हात हो
संसार जित्ने सन्तान बन्छ, आमाको साथ हो।
सूर्यको ज्योति आमाको अर्ती अँध्यारो भाग्दछ
विश्वको नव बदल्ने रूप भएर जाग्दछ।।
‘आदर्श र आमा’ शीर्षकमा कृष्णले आमाबारे लेखेका शब्द हुन् यी, जसले बोनापार्टकै भाव बोकेको पाइन्छ। उनले यस खण्डकाव्यमा एउटा यथार्थ झनै गम्भीर ढंगले उठाएका छन्, आमा साथमा हुँदा महŒव कम जस्तो लागे पनि संसारबाट बिदा भएपछि अत्यन्तै ठूलो अभाव खड्किन्छ, भातको गाँससमेत घाँटीमा अड्किन्छ। आमाको मन सधैं सन्तानमै हुने र सन्तानप्रतिको दायित्व भनौं वा कर्तव्यबोध कहिल्यै कमि नहुने भाव उनले प्रस्तुत गरेका छन्।
आकाश तारा धेरै छन् तर चन्द्रमा एकलै
माया त गर्ने धेरै हुन्छन् आमाको बेगलै।
कृष्णले ‘आमाको आशा’ शीर्षकमा आमाको महिमालाई आकाशका तारासँग तुलना गरेका छन् र भनेका छन् जसरी चन्द्रमाको छुट्टै अस्तित्व र महŒव छ, त्यसरी आमाको छ। उनले ‘बुढेसकाल र आमा’ शीर्षकमा उनले लेखेका वाक्यले आमनागरिकलाई झक्झक्याएका छन्, हामी आमालाई के दिन्छौं, कति र कसरी गर्छौं ? भन्ने, ‘आमाको ऋण सकिन्न तिर्न यो जुनीभरिमा, बन्नु छ हेर सन्तान सधैं आमाको गरिमा...!’
दुःख रोपी सुखी सपना कति बुन्छ्यौ आमा,
मेरा लागि जिन्दगीमा कति रुन्छ्यौ आमा।
गोपीकृष्ण ढुंगानाको ‘आफैंभित्र’ गजल संग्रहमा संग्रहित ‘आमा’ शीर्षकको यो गजलको भावहरू कृष्ण रूपाखेतीको खण्डकाव्य ‘श्रद्धाञ्जलि’मा ‘आमा’बारे लेखिएका कवितांशमा ठ्याक्कै मिल्छन्। कृष्णले मनमा पिर बोकेर पनि आमा हाँसेको देखिने, सारा दुःख र आँसु पचाएर र लुकाएर पनि सन्तानलाई मायामा भुलाउने सन्दर्भ कथेका छन्। ‘भोकायो कि छोरो भन्दै आफू भोकै बसी, चाउरिएर कतिञ्जेल मुख थुन्छ्यौ आमा...।’ गोपीकृष्णको यो शेरसँग कृष्णको कवितांश हेरौं, ‘आदर्श आमा मायाकी खानी जीवन दिलाउने, नराखी भोको छोराको पेट दूध नै पिलाउने...।’
जीवनमा एक पटक जोकोही कवि बन्छ रे ! कृष्ण पनि कवि बने। फरक यत्ति हो, धेरैले कवित्व टिकाउन सक्दैनन्, कृष्णले टिकाए र समाए सिर्जनाको समुन्द्र अनि गरे मन्थन निरन्तर। परिणाम, श्रद्धाञ्जलि। मनभित्र गुन्गुनाउने बाल्यकालदेखिकै स्वभाव बन्यो, आमालाई दिने उपहार। जीवनभर सकेको गरेको वर्णन खण्डकाव्यमा छ जुन दुनियाँले देख्यो, देखेन तर निधनपछि आमालाई दिएको
यो उपहारमा पक्कै दुनियाँको नजर पर्नेछ।
‘भगवान् जहीतही हुन सक्दैनन्, यसैले त उनले आमा बनाइदिए’ भनेका थिए, रुडयार्ड किप्लिंगले। जर्ज बर्नार्ड शाले पनि आमाबारे यो वाणी यसै भनेको होइनन्, ‘जब आमा बन्छौ नि तब तिम्रो हृदय तिम्रो आफ्नो हँुदैन, यो तिम्रो बालबच्चाले जे गर्छन्, त्यसै अनुसार धड्कन्छ।’ ‘तिमी जतिसुकै उमेरका हौ वा जस्तोसुकै काम गरेका हौ, हरेकलाई आफ्नी आमाको खाँचो रहिरहन्छ’ भनेर केट विन्स्लेटले पनि यसै भनेका होइनन्। म्याक्सिम गोर्कीको दार्शनिक भनाइ पनि अत्यन्तै प्रेरक छ, ‘आमाले मात्र भविष्यको बारेमा सोच्न सक्दछिन् किनकि उनले आफ्नो सन्तान मार्फत त्यो भविष्यलाई जन्म दिन्छिन्।’ यता रोबर्ट ब्राउनिंगले झनै कसिलो वाणीको सृष्टि गरेका छन्, ‘मातृत्व त्यो स्थान हो, जहाँबाट सबै प्रेमको सुरुआत हुन्छ अनि अन्त्य पनि।’
आमाबारे विश्वव्यापी यस्ता भनाइ हजारौं, लाखौं छन्। माथि उद्धृत यी भनाइ पाठकसामु प्रस्तुत गर्नुको खास कारण छ। कृष्णको यो खण्डकाव्य ‘श्रद्धाञ्जलि’ अध्ययन गर्ने र गहिरोसँग मनन गर्ने जो कोहीले माथिका वाणीको सार भेट्दछ। जहाँ आमा र सन्तानबीचको अवर्णनीय विषयलाई वर्णन गरिएको छ। जहाँ आमा र सन्तानबीचको अतुलनीय विषयलाई तुलना गर्न खोजिएको छ। आमा र सन्तानबीच आपसी गुरुत्वाकर्षण कस्तो हुन्छ, घाम झैं छर्लंग देखाइएको छ। यस खण्डकाव्यले आमा र सन्तानबीच हुने मायामोह, सम्बन्ध, संस्कार, संसार आदि सबै सन्दर्भ र घटनाहरूलाई ऐनाले जसरी देखाइदिएको छ।
सम्झन्छु, म्याक्सिम गोर्कीले पनि ‘आमा’ नाममा पुस्तक लेखे जुन विश्वप्रसिद्ध बन्यो। आमाबारे नेपाली सर्जकले पनि अनेक शीर्षकमा आमाबारे पुस्तक लेखेका छन्। सम्भवतः टुक्रे सिर्जना हेर्ने हो भने सम्भवतः आमाबारेका जति सिर्जना बुवाबारेका छैनन्। आमाबारेमा जति प्रशंसा गरेर जति शब्द लेखे पनि वा सिर्जना गरे पनि कमै हुन्छ। आमालाई जे जति उपमा दिए पनि थोरै हुन्छ। आमालाई सर्जकले कुन विधामा वर्णन गरेका छैनन् र ? कविता, गीत, गजल, खण्डकाव्य, महाकाव्य, निबन्ध, संस्मरण आदि। आमासँगका प्रत्येक पल अमूल्य छन्, महान् छन्। किनकि यस धरतीमा टेकाउनेदेखि एउटा असल राष्ट्र बनाउनेसम्मका सन्तान बनाउने हैसियत आमामा हुन्छ। आमाको समग्र योगदान हेर्ने हो भने त्यो भगवान्को भन्दा कम छैन। त्यसैले सायद यही सेरोफेरोमा कृष्णले आमाको नाममा ‘श्रद्धाञ्जलि’ सिर्जना गरेका हुन्। सर्जक र ‘श्रद्धाञ्जलि’ दुवैलाई सलाम !
प्रतिक्रिया दिनुहोस !