पौरस्त्य मिथक
खासगरी धर्मप्रति आस्थायुत्त रहन, नीति र पद्घति मानेर चल्न, सत् ज्ञान र सद् व्यवहार गर्न र जीवनको क्षणभंगुरतालाई बुझेर सदैव सत्कर्मतिर लाग्न अभिप्रेरित गरिएको छ। यसमा देवता, ऋषिमुनि र अलौकिक घटनाहरूको सुन्दर अभिव्यव्यक्ति पनि पाइन्छ।
महाकाव्यकार केशवराज आमोदी सिर्जित मत्स्यगन्धा पौरस्त्य मिथकमा आधारित महाकाव्य हो । यसमा १७ सर्ग छन् र प्रत्येक सर्ग उत्तिकै सशक्त सबल र उच्च कलात्मकताले सजिएका छन् । यो उनको लामो काव्य जीवनको अनुभव, शिल्पकारिता र प्रतिभाबाट सिर्जित सुन्दर सिर्जना हो ।
महाकाव्यअनुसार हस्तिनापुरका राजा शन्तनुको भेट एकदिन परंसुन्दरी गंगासँग हुन्छ । राजा उनको सुन्दरताबाट मोहित हुन्छन् । आपूmले जे गरे पनि कुनै किसिमको प्रश्न नगर्ने सर्तमा विवाह गर्न राजी हुन्छन् । गंगाले जन्मनासाथ सातवटा छोरालाई नदीमा प्रवाहित गर्छिन् । आठौं छोरा पनि नदीमा प्रवाहित गर्न लाग्दा राजालाई असह्य हुन्छ र उनलाई रोक्छन् । सर्तभंग भएपछि उनी कान्छा छोरा देवव्रतलाई सँगै लिएर जान्छिन् । सँगै राखेर शिक्षादीक्षा दिई ठूलो भएपछि उनलाई शन्तनुकहाँ फर्काउँछिन् ।
पटरानी नभएको स्थितिमा पनि आपूmलाई सम्हाल्दै शन्तनुले राजकाज सम्हालिरहेकै हुन्छन् । एकदिन उनको भेट दाशराज माझीकी छोरी मत्स्यगन्धासँग हुन्छ । राजा उनको रूपमा ज्यादै मोहित हुन्छन् । देवव्रतले पिताको दयनीय अवस्था देख्छन् र आजीवन विवाह नै नगर्ने प्रतिज्ञा गरेर भए पनि मत्स्यगन्धासँग उनको विवाह गराउँछन् । शन्तनु र मत्स्यगन्धा अर्थात् सत्यवतीको मिलनबाट चित्रवीर्य पुत्रको जन्म हुन्छ । यसको केही वर्षपछि शन्तनु राजाको निधनले देश शोकसन्तप्त बन्छ । देवव्रतले भाइहरूलाई सघाउने र सदाउने वचन आएसँगै महाकाव्यको कथावस्तु समाप्त भएको छ ।
पहिलो सर्गमा सरस्वतीको वन्दना गरिएको छ । दोस्रोमा कुरुवंशको राज्यव्यवस्था र शन्तनुको जन्म वर्णन, तेस्रोमा मत्स्यगन्धाको जन्म, चौथोमा शन्तनु र गंगाको मिलन, पाँचौंमा दुवैका बीचको प्रणयसम्बन्ध, छैटौंमा राजा शन्तनुसँग महारानी गंगाको आत्मनिवेदन, सातौंमा माझी गाउँमा परासर र मत्स्यगन्धाको प्रणयवार्ता, नवौंमा गंगाको सम्झनामा डुबेका राजाको मनोदशा, दसौंमा शन्तनुको कर्मयात्रा, एघारौंमा हस्तिनापुरमा देवव्रतको आगमन र भव्यस्वागत, बाह्रौंमा राजा शन्तनुका मनोतरंगहरूको वर्णन, तेह्रौंमा माझीलाई भेट्नुपूर्व शन्तनुको मनोतरंग, चौधौंमा हस्तिनापुरको राज्याधिकारीको चर्चा, पन्ध्रौंमा निषाद नगरीमा कृष्णद्वैपायन अर्थात् महर्षि व्यासको आगमन, सोह्रौंमा सत्यवती र शन्तनुको सामाजिक जीवन पद्धति र अन्तिम अर्थात् सत्रौं सर्गमा शन्तनुलाई पुत्रलाभ र पार्थिव शरीरको अवशान भएको सन्दर्भ प्रस्तुत गरिएको छ ।
यसरी पौरस्त्य काव्यशास्त्रअनुसार नै बृहत् कथावस्तुको प्रयोग हुनु यस महाकाव्यको सबल पक्ष देखिन्छ । यसले देश, संस्कृति, मानव जातिको इतिहास र महत्त्वपूर्ण घटनालाई समेटेको छ । यसमा राजा, रानी, देवता, र प्रेमका प्रसंगहरू बारम्बार आएका छन् । यसमा एउटा विस्तृत प्रेमकथालाई जीवन्त रूपमा प्रस्तुत गरेको छ । प्रकृति, युद्ध, धर्म र दर्शनका झलकहरूले कथावस्तुलाई फराकिलो आयाम दिएका छन् । वीर रसको प्रधानता प्रस्तुत कृतिको अर्को विशिष्ट प्राप्ति हो । शृंगार, करुण र वीर रसको प्रधानता हुनुपर्ने महाकाव्यीय मान्यतालाई यसले आत्मसात् गरेको छ ।
युद्धवीरता, धर्मवीरता, दानवीरता, दयावीरता आदि वीरतामध्ये यसमा युद्धवीरताको प्रसंग त्यति उल्लेख गरिएको पाइन्न तर धर्मवीरको सन्दर्भ भने यसमा सशक्त बनेर आएको देखिन्छ । राजा र रानीका शक्ति, न्याय र धर्मप्रतिको निष्ठाजस्ता गुणहरूले उनीहरूलाई वीर चरित्रको रूपमा स्थापित गर्न खोजेको छ । विभिन्न चुनौती र कठिनाइहरू झेल्दै लक्ष्यमा पुग्ने महाकाव्यका नायकको चरित्र प्रस्तुत कृतिको महत्त्वपूर्ण पक्ष हो । प्रेमका अवरोधहरू र तिनीहरूलाई पार गर्ने प्रयासलाई पनि वीर रसको रूपमा लिन सकिने देखिन्छ ।
यसमा वीररसको प्रधानता भए पनि शृंगार, करुण, शान्त, रौद्र आदि रसहरू पनि प्रस्तुत छन् । शन्तनु र गंगाको मिलन, शन्तनु र मत्स्यगन्धाको मिलन र प्रणय प्रसंग, नायिकाहरूको सौन्दर्य वर्णन, प्रेमिल भावनाहरूको अभिव्यक्ति आदि आदि प्रसंगहरूबाट सम्भोग शृंगार रसको पुष्टि गर्दछ । गंगासँगको समझदारी भंग भएपछि छोडेर जाँदा उत्पन्न बिछोडको पीडा, मत्स्यगन्धालाई देखेपछि शान्तनुमा उत्पन्न राग र उनीसँग मिलन हुन नसक्ने अवस्थाले उत्पन्न गरेको पीडामा विप्रलम्भ शृंगार मुखरित हुन पुगेको छ । राजाको मृत्यु, अभाव र पीडाहरूमा दुःखको वर्णनहरूमा करुण रस, प्रकृतिको सौम्य र सुन्दर स्वरूप तथा यज्ञयज्ञादि कर्महरूका वर्णनमा शान्तरस, शत्रुसँगको उग्रता र हाँकहरूमा पनि रौद्ररस अभिव्यक्त हुन पुगेको छ । यसको अर्को सशक्त पक्ष भनेको प्रकृतिको विशद वर्णन हो । यसका हरेक सर्गहरूमा प्रकृतिको विस्तृत र मनमोहक वर्णन गरिएको भेटिन्छ । नेपालको मस्र्याङ्दी नदी, गण्डक क्षेत्र, व्यास गुफा र यस वरपरको सेरोफेरो, परासर गुफा, माझी गाउँ र यहाँको प्राचीनतम जीवन पद्धतिको झल्को उतारिएको छ । यसरी यसमा नेपाली प्रकृतिमात्र नभई तात्कालीन सामाजिक तथा सांस्कृतिक पद्धति पनि मुखरित हुन पुगेको छ । साथै वन, पहाड, आकाश, फलपूmल, विभिन्न ऋतुहरूको पनि सुन्दर चित्रण गरिएको छ ।
उच्च शैली र अलंकृत भाषाको प्रयोग पाइनु प्रस्तुत कृतिको सबल पक्ष हो । यमक, अनुप्रास, श्लेष आदि शब्दालंकार र उपमा, रूपक, उत्प्रेक्षा, अतिशयोक्ति, स्वभावोक्ति, दृष्टान्तजस्ता विभिन्न अलंकारहरूको कलात्मक प्रयोगले कृति उत्कृष्ट बन्न पुगेको छ । १५१ जति छन्दहरूको प्रयोगका कारण महाकाव्य एउटा छन्दहरूको प्रयोगशाला बन्न पुगेको छ । साथै १३औं र १६औं सर्गहरूमा प्रयोगमा ल्याइएको मुसलबन्ध, मृदङ्गबन्ध, हलबन्ध, शक्तिबन्ध, वाणबन्ध, चक्रबन्ध र खड्गबन्धजस्ता छन्द प्रस्तारहरूको सचित्र प्रस्तुतिले कृति छन्दको सुन्दर प्रयोगशाला बन्न पुगेको आभास हुन्छ । यसमा महाकाव्यकारले औपदेशिकता, गहन दर्शन, धर्म, नीति, पद्धति र मानव जीवन पद्धतिको जीवन्त अभिव्यक्ति दिएका छन् । खासगरी धर्मप्रति आस्थायुक्त रहन, नीति र पद्धति मानेर चल्न, सत् ज्ञान र सद् व्यवहार गर्न र जीवनको क्षणभंगुरतालाई बुझेर सदैव सत्कर्मतिर लाग्न अभिप्रेरित गरिएको छ । यसमा देवता, ऋषिमुनि र अलौकिक घटनाहरूको सुन्दर अभिव्यक्ति पनि पाइन्छ । प्रस्तुत काव्यका कतिपय अंशहरूमा देवता, स्वर्ग, रहस्यमय शक्तिजस्ता अलौकिक तत्त्वहरूको कल्पना गरिएको छ ।
लाक्षणिक तथा व्यञ्जनायुक्त भाषिक प्रयोग तथा विम्ब, प्रतीक र अलंकरणले कृतिको ओजलाई उचाइमा पु¥याएको छ । बृहत् कथावस्तुको संकेत, वीर र शृंगार रसको प्रधानता, प्राकृतिक वर्णनको सुन्दरता, उच्च शैलीको प्रयोग र दार्शनिक विचारहरूको समावेशले यसलाई एउटा उत्कृष्ट महाकाव्यको सिंहासनमा आसीन गराएको छ । यसमा व्यक्तिगत भावना र संवेगात्मक अवस्थाहरूको प्रचुर अभिव्यक्ति पाइन्छ । प्रेम, इच्छा, विरह, आनन्द, दुःख र आश्चर्यजस्ता भावनाहरू बारम्बार व्यक्त भएका छन् । कल्पनाशक्ति परम्परागत अर्थमा अलौकिक तत्त्वहरूमा केन्द्रित नभए पनि जीवन्त प्रतिमा र लाक्षणिक भाषाको माध्यमबाट कल्पनाको बलियो उपस्थिति रहेको छ । अतीत र लोककथामा अतिशय रुचि रोमान्टिकवादको एउटा सबल पक्ष हो र यस कोणबाट हेर्दा प्रस्तुत कृतिमा यसका सुन्दर झाँकी देख्न सकिन्छ ।
यसमा नेपाली सामाजिकता र भौगोलिक परिवेश, परम्परा र विशिष्ट ऐतिहासिक कालखण्ड वा लोककथासँगको गहिरो संलग्नता फेलापर्छ । यसरी भावना, संवेग र शिल्पका बिच सन्तुलन, बेजोड कल्पना, प्रेरणा र प्रतिविम्बको अभिव्यक्ति, वैयक्तिक चिन्तन, अभिव्यक्तिमा निहित स्वतन्त्रता, अतीतप्रति अतिशय मोह, मानवतावादी चिन्तन, वस्तुपरकतामाथि हार्दिकता, उच्च कलात्मक शिल्प तथा व्यञ्जनाप्रधान भाषिक प्रयोग आदिले प्रस्तुत कृति सबल उत्कृष्ट तथा नेपाली काव्य जगत्का लागि एउटा अनमोल उपहारका रूपमा रहेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस !