सेवा वृत्तान्त ​​​​​​​

समीक्षा

सेवा वृत्तान्त ​​​​​​​
सुन्नुहोस्

‘जीवनको सुदूर क्षितिजमा पुगुन्जेल धर्तीको ऋण र अनुरागले लछप्पै भिजेर व्यक्तिगत, सामाजिक वा राष्ट्रिय हितका निम्ति निष्ठापूर्वक योगदान दिने मानिस नै साँचो अर्थमा सार्थक जीवनको परिचायक हुन्छ । यस्तै मान्छेलाई यो धर्तीले सम्झिरहेको हुन्छ ।’ सार्थक जीवनका बारेमा यति सटिक परिभाषा लेख्ने नेपालकी प्रथम महिला न्यायाधीश शारदा श्रेष्ठको आत्मवृत्तान्त ‘शारदा श्रेष्ठ (नेपालकी प्रथम महिला न्यायाधीश)’ हालै प्रकाशित भएको छ ।

जीवनमा अरूलाई जान्ने ज्ञान र आफैंलाई जान्ने आत्मज्ञान दुवै प्राप्त गरेकी शारदा सामान्य नागरिक मात्र होइनन्, यो देशकी लाइसेन्स प्राप्त वकिल र न्यायाधीश पनि हुन् । उनी यो देशकी पहिलो महिला न्यायाधीशमात्रै होइन, सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्यायाधीश पनि हुन् । पिता कृष्णनरसिंह महर्जन र माता लक्ष्मीकुमारी महर्जनको पाँचौं सन्तानको रूपमा जन्मिएकी शारदाको जीवनको भोगाइ, अनुभव र अनुभूतिको सँगालो हो, उनको यो आत्मवृत्तान्त । बुवालाई आकाश र आमालाई पृथ्वीजस्तै मान्ने उनको जीवनले सार्थकता पाउनुमा उनै बुवाआमाको देन रहेको सत्य उनले पुस्तकमा लेखेकी छन् ।

लखनउ युनिभर्सिटीबाट एकैसाथ पीजीडसी (पोस्ट ग्र्याजुएट डिप्लोमा इन् क्रिमिनोलोजी) र एलएलएम पढिन् । जहाँ यी दुई विषय पढ्ने उनी पहिलो विदेशी र नेपाली हुन् । पढाइमा निकै तीक्ष्ण शारदालाई विज्ञान पढाएर गाइनोकोलोजिस्ट अर्थात् स्त्री तथा प्रसूति रोग विशेषज्ञ बनाउने सपना बुन्दै थियो उनको परिवार । उनी स्वयं पनि डाक्टर बन्ने सपना बुन्दै थिइन् । २०१७ पुस १ गतेको काण्डले देशमा राजनीतिक परिवर्तन ल्यायो । २०१८ सालको अराष्ट्रिय तत्त्व भन्ने काण्डले उग्ररूप लियो । धेरै व्यक्तिलाई अराष्ट्रिय तŒव भएको आरोप लगाउँदै जेल सजाय दिन थालियो । तत्कालीन रक्षा मण्डलमा रहेका र राणाको नजिक भएका शारदाका बुवा पनि अराष्ट्रिय तŒवकै आरोपमा जेल परे ।

बुवा जेल परेपछि शारदाको डाक्टर बन्ने सपनामा तुषारापात भयो । बुवालाई जेलबाट छुटाउनकै लागि शारदाले कानुन पढ्न थालिन् । शारदाले बुवालाई जेलबाट आफैंले त छुटाइनन्, उनकी बहिनीले छुटाइन् । बहिनीले एमएमा उत्कृष्ट नतिजा ल्याएबापत राजा महेन्द्रको बाहुलीबाट महेन्द्र विद्याभूषण पाउँदै थिइन् । बहिनीले बुवाको अनुपस्थितिमा पुरस्कार ग्रहण गर्दिनँ भन्ने अडान लिएपछि राजा महेन्द्रले बुवालाई जेलमुक्त गरिदिए । आफैंले बुवालाई जेलमुक्त गर्ने अवसर नपाए पनि शारदाले देशका धेरै मान्छेलाई भने न्याय पाउन मद्दत गरिन् र न्याय दिलाइन् ।

‘मानिस सामाजिक प्राणी हो । समाजको नीति, नियम, बन्धन र परिधिभित्र आफूलाई बाँध्नु उसको दायित्व हो । समाजमा चलिआएका परम्परा र संस्कृतिलाई अवलम्बन गर्नु मानिसको कर्तव्य हो (पृ. ४९) ।’ आफ्नो यही मान्यतालाई जीवनमा रूपान्तरण गर्दै शारदाले शंकरमान श्रेष्ठसँग सामान्यरूपमा विवाह गरिन् । यद्यपि त्यो अन्तरजातीय विवाह थियो । अन्तरजातीय सम्बन्धलाई अस्वीकार गर्ने त्यो समयमा उनले पनि त्यो विभेदको पीडा खेपिन् । 

शारदा २०२३ सालमा खुला प्रतिस्पर्धाबाट भूमिसुधार विशेष अदालत कास्की र लमजुङको न्यायाधीशमा नियुक्त भएर न्याय सेवामा प्रवेश गरेकी थिइन् । शोषित, पीडित र सीमान्तकृत वर्गप्रति सधैं स्नेह र सहानुभूति राख्ने शारदाले न्याय सेवामा प्रवेश गरेपछि त्यस्ता वर्गको पक्षमा वकालत गर्न छोडिनन् । यसको एउटा प्रमाण हो, ‘हामीलाई अन्न दिने किसानहरूले जुन भूमिमा दिनरात श्रम गरी पसिनाका खोला बगाउँछन्, त्यही भूमिमा उनीहरूको केही हक हुँदैनथ्यो । यो अत्यन्तै नराम्रो कुरा थियो । त्यसैले किसानहरूको हकहितका लागि काम गर्ने अठोट लिएँ (पृ. ६१) ।’

बीएल पढ्दै गर्दा आर्थिक अभाव पनि भोगिन् । बच्चाहरूलाई ट्युसन पनि पढाइन् । भुइँमै बसेर पढिन्, लेखिन् । पछि एकजना अभिभावक रुद्रबहादुरले उपहार दिएको टेबुलमा बसेर पढ्न र लेख्न पाउँदा सहज अनुभव गरिन् र त्यो टेबुललाई जिन्दगीभर नै माया गरेर राखिन् । विज्ञान पढेर डाक्टर बन्ने सपना देख्दादेख्दै परिस्थितिवश कानुन पढेर देशकै प्रथम महिला न्यायाधीश बन्न पुगिन् । अनि जीवनभर न्यायकै लागि समर्पित भइरहिन् । शारदाको सम्झनाका आधारमा केही न्याय सम्पादनका विवरण पनि पुस्तकमा दिइएका छन् । जसमध्ये ब्रिटिस नागरिकलाई सजाय दिलाएको, दरबारिया मानिसलाई वारेसनामा लिन–दिन अदालतमै उपस्थित गराएको, न्याय सम्पादन छिटोछरितो गरेर महिलावर्गको इज्जत र गौरव बढाएको, सेवा तथा सुविधासम्बन्धी कानुनी व्यवस्थामा महिला र पुरुषबीचको विभेद हटाएको आदि घटना गर्व गर्न लायक छन् ।

यससँगै पहिलो अनुसन्धान अधिकृत तथा कायममुकायम डेपुटी रजिस्ट्रार भएर काम गरेको, कानुनी व्यवस्थाको संवद्र्धन आयोग प्रमुख भई काम गरेको, लुम्बिनी अञ्चल अदालतदेखि सगरमाथा अञ्चल अदालतसम्म काम गर्दाका तीतामीठा अनुभव र अनुभूति, हेटौंडा पुनरावेदन अदालतमा काम गर्दाका रोचक सन्दर्भहरू, महिला न्यायाधीश हुनुको गर्व र पीडा आदि पनि आत्मवृत्तान्तमा यथास्थानमा रोचक ढंगले प्रस्तुत गरिएका छन् ।

जनकपुर, पोखरा, धनकुटा, तुलसीपुर, राजविराजमा रहेर न्याय सम्पादन गर्दाका तीतामीठा अनुभव आत्मवृत्तान्तमा आएका छन् भने पदोन्नति भएर सर्वोच्चमा कार्यरत रहँदाका अनुभव र अनुभूति पनि छन् । चार दशकभन्दा लामो समय न्याय सेवामा रहेर अवकाश प्राप्त गरेपछि पनि नेपाल महिला न्यायाधीश मञ्चमा संलग्न रहेर न्यायिक सामाजिक सेवामा निरन्तर लागिपरेका प्रशंसनीय प्रसंग छन् । न्यायको क्षेत्रमा नलेखिएका र नदेखिएका प्रसंगहरू पनि छन् । 

शारदा ३ वैशाख २०६१ मा सर्वोच्च अदालतको न्यायाधीश भएकी थिइन् भने २० जेठ २०६५ मा अवकाश पाएकी थिइन् । उनको यो आत्मवृत्तान्तमा जीवनमा सकारात्मक सोचसहित कर्ममा लागिरहने हो भने सफलताले पाइला पछ्याइरहन्छन् भन्ने सार छ । अन्त्यमा, नेपालको प्रथम महिला न्यायाधीश बनेर इतिहास रचेकी शारदा श्रेष्ठको अनुभवको निचोड यस्तो छः ‘...मैदान नछोड्नुस् । अघि बढिरहनुस् । अँध्यारो सुरुङको यात्रा छिचोलेपछि पर कतै सुनौलो बिहानीले यात्रीलाई पर्खिरहेको हुन्छ । सफलताका सुवासिला फूलहरू ढकमक्क फुलेर स्वागतका लागि शृंखलाबद्ध उभिएका हुन्छन् (पृ. २२४) ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.