‘जीवनको सुदूर क्षितिजमा पुगुन्जेल धर्तीको ऋण र अनुरागले लछप्पै भिजेर व्यक्तिगत, सामाजिक वा राष्ट्रिय हितका निम्ति निष्ठापूर्वक योगदान दिने मानिस नै साँचो अर्थमा सार्थक जीवनको परिचायक हुन्छ । यस्तै मान्छेलाई यो धर्तीले सम्झिरहेको हुन्छ ।’ सार्थक जीवनका बारेमा यति सटिक परिभाषा लेख्ने नेपालकी प्रथम महिला न्यायाधीश शारदा श्रेष्ठको आत्मवृत्तान्त ‘शारदा श्रेष्ठ (नेपालकी प्रथम महिला न्यायाधीश)’ हालै प्रकाशित भएको छ ।
जीवनमा अरूलाई जान्ने ज्ञान र आफैंलाई जान्ने आत्मज्ञान दुवै प्राप्त गरेकी शारदा सामान्य नागरिक मात्र होइनन्, यो देशकी लाइसेन्स प्राप्त वकिल र न्यायाधीश पनि हुन् । उनी यो देशकी पहिलो महिला न्यायाधीशमात्रै होइन, सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्यायाधीश पनि हुन् । पिता कृष्णनरसिंह महर्जन र माता लक्ष्मीकुमारी महर्जनको पाँचौं सन्तानको रूपमा जन्मिएकी शारदाको जीवनको भोगाइ, अनुभव र अनुभूतिको सँगालो हो, उनको यो आत्मवृत्तान्त । बुवालाई आकाश र आमालाई पृथ्वीजस्तै मान्ने उनको जीवनले सार्थकता पाउनुमा उनै बुवाआमाको देन रहेको सत्य उनले पुस्तकमा लेखेकी छन् ।
लखनउ युनिभर्सिटीबाट एकैसाथ पीजीडसी (पोस्ट ग्र्याजुएट डिप्लोमा इन् क्रिमिनोलोजी) र एलएलएम पढिन् । जहाँ यी दुई विषय पढ्ने उनी पहिलो विदेशी र नेपाली हुन् । पढाइमा निकै तीक्ष्ण शारदालाई विज्ञान पढाएर गाइनोकोलोजिस्ट अर्थात् स्त्री तथा प्रसूति रोग विशेषज्ञ बनाउने सपना बुन्दै थियो उनको परिवार । उनी स्वयं पनि डाक्टर बन्ने सपना बुन्दै थिइन् । २०१७ पुस १ गतेको काण्डले देशमा राजनीतिक परिवर्तन ल्यायो । २०१८ सालको अराष्ट्रिय तत्त्व भन्ने काण्डले उग्ररूप लियो । धेरै व्यक्तिलाई अराष्ट्रिय तŒव भएको आरोप लगाउँदै जेल सजाय दिन थालियो । तत्कालीन रक्षा मण्डलमा रहेका र राणाको नजिक भएका शारदाका बुवा पनि अराष्ट्रिय तŒवकै आरोपमा जेल परे ।
बुवा जेल परेपछि शारदाको डाक्टर बन्ने सपनामा तुषारापात भयो । बुवालाई जेलबाट छुटाउनकै लागि शारदाले कानुन पढ्न थालिन् । शारदाले बुवालाई जेलबाट आफैंले त छुटाइनन्, उनकी बहिनीले छुटाइन् । बहिनीले एमएमा उत्कृष्ट नतिजा ल्याएबापत राजा महेन्द्रको बाहुलीबाट महेन्द्र विद्याभूषण पाउँदै थिइन् । बहिनीले बुवाको अनुपस्थितिमा पुरस्कार ग्रहण गर्दिनँ भन्ने अडान लिएपछि राजा महेन्द्रले बुवालाई जेलमुक्त गरिदिए । आफैंले बुवालाई जेलमुक्त गर्ने अवसर नपाए पनि शारदाले देशका धेरै मान्छेलाई भने न्याय पाउन मद्दत गरिन् र न्याय दिलाइन् ।
‘मानिस सामाजिक प्राणी हो । समाजको नीति, नियम, बन्धन र परिधिभित्र आफूलाई बाँध्नु उसको दायित्व हो । समाजमा चलिआएका परम्परा र संस्कृतिलाई अवलम्बन गर्नु मानिसको कर्तव्य हो (पृ. ४९) ।’ आफ्नो यही मान्यतालाई जीवनमा रूपान्तरण गर्दै शारदाले शंकरमान श्रेष्ठसँग सामान्यरूपमा विवाह गरिन् । यद्यपि त्यो अन्तरजातीय विवाह थियो । अन्तरजातीय सम्बन्धलाई अस्वीकार गर्ने त्यो समयमा उनले पनि त्यो विभेदको पीडा खेपिन् ।
शारदा २०२३ सालमा खुला प्रतिस्पर्धाबाट भूमिसुधार विशेष अदालत कास्की र लमजुङको न्यायाधीशमा नियुक्त भएर न्याय सेवामा प्रवेश गरेकी थिइन् । शोषित, पीडित र सीमान्तकृत वर्गप्रति सधैं स्नेह र सहानुभूति राख्ने शारदाले न्याय सेवामा प्रवेश गरेपछि त्यस्ता वर्गको पक्षमा वकालत गर्न छोडिनन् । यसको एउटा प्रमाण हो, ‘हामीलाई अन्न दिने किसानहरूले जुन भूमिमा दिनरात श्रम गरी पसिनाका खोला बगाउँछन्, त्यही भूमिमा उनीहरूको केही हक हुँदैनथ्यो । यो अत्यन्तै नराम्रो कुरा थियो । त्यसैले किसानहरूको हकहितका लागि काम गर्ने अठोट लिएँ (पृ. ६१) ।’
बीएल पढ्दै गर्दा आर्थिक अभाव पनि भोगिन् । बच्चाहरूलाई ट्युसन पनि पढाइन् । भुइँमै बसेर पढिन्, लेखिन् । पछि एकजना अभिभावक रुद्रबहादुरले उपहार दिएको टेबुलमा बसेर पढ्न र लेख्न पाउँदा सहज अनुभव गरिन् र त्यो टेबुललाई जिन्दगीभर नै माया गरेर राखिन् । विज्ञान पढेर डाक्टर बन्ने सपना देख्दादेख्दै परिस्थितिवश कानुन पढेर देशकै प्रथम महिला न्यायाधीश बन्न पुगिन् । अनि जीवनभर न्यायकै लागि समर्पित भइरहिन् । शारदाको सम्झनाका आधारमा केही न्याय सम्पादनका विवरण पनि पुस्तकमा दिइएका छन् । जसमध्ये ब्रिटिस नागरिकलाई सजाय दिलाएको, दरबारिया मानिसलाई वारेसनामा लिन–दिन अदालतमै उपस्थित गराएको, न्याय सम्पादन छिटोछरितो गरेर महिलावर्गको इज्जत र गौरव बढाएको, सेवा तथा सुविधासम्बन्धी कानुनी व्यवस्थामा महिला र पुरुषबीचको विभेद हटाएको आदि घटना गर्व गर्न लायक छन् ।
यससँगै पहिलो अनुसन्धान अधिकृत तथा कायममुकायम डेपुटी रजिस्ट्रार भएर काम गरेको, कानुनी व्यवस्थाको संवद्र्धन आयोग प्रमुख भई काम गरेको, लुम्बिनी अञ्चल अदालतदेखि सगरमाथा अञ्चल अदालतसम्म काम गर्दाका तीतामीठा अनुभव र अनुभूति, हेटौंडा पुनरावेदन अदालतमा काम गर्दाका रोचक सन्दर्भहरू, महिला न्यायाधीश हुनुको गर्व र पीडा आदि पनि आत्मवृत्तान्तमा यथास्थानमा रोचक ढंगले प्रस्तुत गरिएका छन् ।
जनकपुर, पोखरा, धनकुटा, तुलसीपुर, राजविराजमा रहेर न्याय सम्पादन गर्दाका तीतामीठा अनुभव आत्मवृत्तान्तमा आएका छन् भने पदोन्नति भएर सर्वोच्चमा कार्यरत रहँदाका अनुभव र अनुभूति पनि छन् । चार दशकभन्दा लामो समय न्याय सेवामा रहेर अवकाश प्राप्त गरेपछि पनि नेपाल महिला न्यायाधीश मञ्चमा संलग्न रहेर न्यायिक सामाजिक सेवामा निरन्तर लागिपरेका प्रशंसनीय प्रसंग छन् । न्यायको क्षेत्रमा नलेखिएका र नदेखिएका प्रसंगहरू पनि छन् ।
शारदा ३ वैशाख २०६१ मा सर्वोच्च अदालतको न्यायाधीश भएकी थिइन् भने २० जेठ २०६५ मा अवकाश पाएकी थिइन् । उनको यो आत्मवृत्तान्तमा जीवनमा सकारात्मक सोचसहित कर्ममा लागिरहने हो भने सफलताले पाइला पछ्याइरहन्छन् भन्ने सार छ । अन्त्यमा, नेपालको प्रथम महिला न्यायाधीश बनेर इतिहास रचेकी शारदा श्रेष्ठको अनुभवको निचोड यस्तो छः ‘...मैदान नछोड्नुस् । अघि बढिरहनुस् । अँध्यारो सुरुङको यात्रा छिचोलेपछि पर कतै सुनौलो बिहानीले यात्रीलाई पर्खिरहेको हुन्छ । सफलताका सुवासिला फूलहरू ढकमक्क फुलेर स्वागतका लागि शृंखलाबद्ध उभिएका हुन्छन् (पृ. २२४) ।’
प्रतिक्रिया दिनुहोस !