अभिभावक–विद्यार्थीको औषधि

समीक्षा

अभिभावक–विद्यार्थीको औषधि

झैझगडा आफैंमा राम्रो कार्य होइन।  झगडाले संसार खरानी बनाउन सक्छ।  झगडाले समाज र घरपरिवार तहसनहस बनाउन सक्छ।  झगडा मानिसको सबैभन्दा ठूलो दुश्मन हो।  आगोले संसार जलाउन सक्छ।  हुरीले संसार तहसनहस पार्न सक्छ।  अनि भेलले पनि सारा जगत् बगाउन सक्छ।  भूकम्पले पनि सारा जगत् सकाउन निमेषभर लगाउँदैन।  मानिसको रिस पनि प्रकृतिले गर्ने झगडा जस्तै निकै डरलाग्दो हुन्छ।  प्रकृतिले बेलाबेलामा गर्ने झगडा र मानिसबीच हुने झगडा मापन गर्ने हो भने कतिपय झगडा समान प्रकृतिका लाग्छन्।  तर मानिस विवेकशील प्राणी हो।  मानिसले नै संसारमा असम्भव भन्ने केही कुरा बाँकी राखेका छैनन्।  झगडालाई पनि विभिन्न उपाय, मनोविज्ञान र समझदारीका औषधि प्रयोग गरेर खुवाएर, लगाएर वा मनन् गराएर यसलाई रोक्न सकिन्छ र रोकेका छन्। 

यी भनाइ यमुना पराजुली अधिकारीको ‘झगडाको ओखती’ बालउपन्यास कृति पढेपछि उपन्यासका नायक नीतिन र नायिका सुनिशा (भाइ र दिदी)ले ‘बालबालिकाले पनि चाह्यो भने अभिभावकको मनोविज्ञानमाथि खेलेर पारिवारिक वातावरण सुन्दर बनाउन सकारात्मक परिणाम निकाल्न सफल हुन्छन्’ भन्ने ज्ञान दिलाउने सन्दर्भ हुन्।  उपन्यासको पहिलो भाग ‘झगडा पर्‍यो भने मुखमा पानी राख्नू रे !’ बाट सुरु भएको छ।  एक समय मुख–मुखमा झुन्डिएको झगडाको ओखती कथांशका केही शब्दबाट प्रमुख पात्र नीतिनले आख्यान विस्तार गर्छ। 

‘झगडाको ओखती’ कथा कुनै समय हजुरबुवा पुस्ताले नाति पुस्तालाई सुनाउने कथा हो।  दशकौं अघि विद्यालयमा पढ्ने बालबालिकाका लागि पाठ्यक्रममै पनि झगडाको ओखती कथा समावेश गरिएको थियो र म पुस्ताहरू यही कथा पढेर यहाँसम्म आइपुगेका हुन्।  त्यसो हो भने के यो उपन्यास उहिलेको झगडाको ओखती कथाकै सार हुन् त ? धेरैलाई यो उपन्यासको नाम सुन्नेबित्तिकै ‘झगडाको ओखती’ कथा पढेका पुस्ताहरूको मनमा यो जिज्ञासा उठ्न सक्छ।  तर त्यसो होइन।  उनले परम्परित धारलाई चटक्कै बिट मारेर नयाँ शैलीको प्रयोग गरेको छ। 

उपन्यासको पहिलो अध्यायको सुरुवातकै केही अंश हेरौं :
‘झगडाको ओखती कथा नीतिनले हजुरआमाको मुखबाट पहिले नै सुनेको हो।  तर उसले आफ्ना बाबाआमाले मुखमा पानी राखेको कहिल्यै देखेको छैन।  मुखमा पानी नराख्दै उहाँहरू दुवै जना प्रायः चुपचाप हुनुहुन्छ। ’ यति नै हुन् झगडाको ओखती उपन्यासको नामसँग पहिलो अध्यायमा जोडिएका सन्दर्भ।  यस उपन्यासका नायक नीतिन पात्रबाट झगडाको ओखती कथाकै पृष्ठभूमिको स्मरण गराएर आख्यान सुरु भएको छ।  उपन्यासमा पात्रहरूबीच चरम द्वन्द्व सुरु भई अन्तमा उपन्यासकारको मौलिक आख्यान बुनोट बडो रोचक तरिकाले सम्पन्न भएको छ।  जुन पाठकले उपन्यास पढेपछि नै रसास्वादन गर्न सक्नेछन्।  

झगडाको ओखतीको कथानक : कथानकलाई उपन्यासकारले शिल्पीगत ढाँचामा उनेर बालमनोविज्ञानमा रहेर घटनाहरूको निर्माण गरी क्रियात्मक, शृंखलायुक्त रूपमा प्रामाणिक सन्तुष्टि दिन सफल भएको छ।  बाल आख्यानमा चरित्र, विचार, बुद्धि र कल्पनाको प्रचुर प्रयोग गरी कथानकताकलाई बलियो बनाउन सफल भएको देखिन्छ।  सुरुमा बुवा पात्रप्रति उपन्यासका नायकका माध्यमबाट शालीन वितृष्णा पैडा गराएर अन्तमा कथानकलाई रोमाञ्चक मोडमा पुर्‍याएर उठान गरेका समस्यालाई उत्कृष्ट योजना विधानका लेखक सफल देखिन्छ। 
चरित्र र चरित्र चित्रण : उपन्यासलाई पूर्णता दिन जसरी मंसिरमा धान दाइँ गर्न मियोको भूमिका सबल रहन्छ त्यसरी नै उपन्यासको मियोका रूपमा चरित्र र चरित्र चित्रणको महत्वपूर्ण भूमिका हुन्छ।  यस उपन्यासमा चरित्र चित्रणका रूपमा नीतिन र सुनिशालाई गतिशील पात्रका रूपमा उभ्याइएका छन् भने बुवा र आमा पात्रलाई सुरुमा गतिहीन पात्रका रूपमा प्रस्तुत गर्दै अन्तमा गतिशील बनाइएको छ।  जीवन चेतनाको आधारमा चित्रण गरिएका छन्।  बुवा, आमा, काका, काकी, नीतिन, सुनिशा, शिक्षक, विद्यार्थी, दाजु, हजुरबा, हजुरआमा, प्रदिन, स्पन्दन र रियालगायतको चरित्रको चित्रण गरिएका छन्।  गौण पात्रहरूमा पर्यटक, विद्यालयका साथीहरू, शिक्षक, विद्यार्थीलगायत छन्। 

औपन्यासिक पर्यावरण : उपन्यासमा आख्यानलाई आवश्यक पर्ने सीमित पर्यावरण क्षेत्रको प्रयोग गरिएको पाइन्छ।  पर्यावरणीय क्षेत्रमा काठमाडौं, जावलाखेलको चिडियाखाना, वीरगन्ज, रक्सौल, एयरपोर्ट, आकाश, बादल, पोखरा, भक्तपुर नारायणहिटी संग्रहालय, नीतिनको कोठा, भान्छा, विद्यालय, आँगन, फूल, जस्ता क्षेत्रलाई लिएर औपन्यासिक कार्य व्यापार गर्न सफल देखिन्छ। 

दृष्टिविन्दु र परिवेश : बाह्य दृष्टिविन्दुमा लेखिएको यो उपन्यासमा उपन्यासकारले चरित्र, कार्यव्यापार र परिवेशलाई प्रचुर ध्यान दिइएको छ।  एउटा बालकको मनमा आमाबुवाबीचको बुझाइमा भएको कमीले उत्पन्न अन्तरद्वन्द्वको व्यवस्थापन गर्न विभिन्न परिवेश सिर्जना गरिएको छ।

 ‘नीतिनको बुवा विद्यालयमा उसको साथमा नआएका सन्दर्भदेखि सुनिशा र काकाकाकीको आगमन, मुरब्बा, ठेकुवा र सेवई परिकार यससँग जोडिएका सांस्कृतिक तथा भौगोलिक परिवेश, परिवारसँग काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थान र सम्पदा यस उपन्यासको परिवेशले मुख्य पात्र बालक नीतिनमा एक किसिमको परिवर्तन आउनुलगायतका विविध परिवेशले उपन्यासलाई निकै रोमाञ्चक र मर्मस्पर्शी बनाएको छ।  उपन्यास रोमाञ्चक, ज्ञानवद्र्धक र पढूँ पढूँ लाग्ने बनेको छ।  बालबालिकामा यसपछि के हुन्छ ? भन्ने हुटहुटी उपन्यासले जगाउन सफल भएको छ। 

सारवस्तु : उपन्यासको सार हेर्दा समग्रमा उत्तरआधुनिक शैली अपनाइएको छ।  छोराछोरीलाई पाँच वर्षसम्म माया दिएर हुर्काउनु पर्छ।  १० वर्षसम्म कठोर शिक्षा दिनुपर्छ र १६ वर्षमा साथीजस्तै व्यवहार गर्नुपर्छ।  आचार्य चाणक्यको यो भनाइ लामो समय उपयोगमा रह्यो।  तर पछिल्लो समय अभिभावक व्यस्त भएको निहुँमा होस् वा देखासिकीमा बच्चाहरू जन्मेको एक वर्षपछि नै फुल्ने र हुर्कने उमेरमै व्यावहारिक काखे शिक्षाभन्दा औपचारिक शिक्षालाई जोड दिँदै केजीमा राखिदिने गर्दा चराजस्तै स्वतन्त्र भएर जिउने बालबालिकाको अधिकार खोसिएको आभास हुन्छ। 

पाँच वर्षसम्म बालबालिका बाबुआमाको काखमा लडीबुडी गर्दै शारीरिक र मानसिक अंकुरणको समय हो।  यो समय बालबालिका पूरै समय आमाबाबुसँग रहेर जीवनको प्रारम्भिक सिकाइ गर्ने सुनौलो अवसर पनि हो।  आधुनिक शिक्षाको नाममा बालबालिकाले आमाबुवाबाट उनीहरूले पाउनुपर्ने माया पाउन नसक्दा त्यसको असर उनीहरूको जीवन र व्यवहारमा पर्ने गरेको देखिन्छ।  उपन्यासले यही सिकाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.