पहिले सिंहदरबारमा बिहानदेखि अबेलासम्म ठूलाबडाको ओहोरदोहोर भइरहन्थ्यो। दिनमा भरिभराउ रहन्थ्यो, रात झकिझकाउ हुने, दरबार अझै मणि हराएको सर्पजस्तै भएको छ।
पाप लाग्ला शान्ति तिमीलाई
लालीगुँरास भन्छन्
फर्की आउँ शान्ति भन्दै
डाँफे मुनाल रुन्छन्।
पप लाग्ला शान्ति तिमीलाई
बाबु बुद्धको।
श्राप लाग्ला शान्ति तिमीलाई
जन्मभूमिको।
फर्की आऊ शान्ति तिमी होइन भने
बात लाग्ला आउने पिँढीको...।
सिंहदरबार परिसरमा शान्तिका प्रतीक परेवा शान्ति खोजिरहेका देखिन्थे। यो केही साताअघिको सन्दर्भ हो। जतिबेला उनीहरू घरी गँुड खोज्दै भौंतारिन्थे त घरी दानापानी। भदौ २३ र २४ गतेको जेन—जी आन्दोलनले परेवाको दैनिकी बिथोलिएको हो। उनीहरूका गुँडसमेत आगोमा जले। परेवाजस्ता पशुपक्षी सिंहदरबारका गहना हुन्, अनि महलको शृंगार। जेन–जीको नाममा आएका गलत आशयको जमातले ऐतिहासिक सिंहदरबार त जलाए नै, जलाए परेवाको शान्त गुँड जोसँग जल्यो आम नागरिकको मन र बिथोलियो देशकै शान्ति।
बुद्ध जन्मेको भूमिमा शान्तिको खोजी
बडादसैंको मुखमा भएको आन्दोलनमा भएको घुसपैठले नेपालको शान्ति खल्बलिएको छ, आमनागरिकको मन बिथोलिएको छ। शान्तिका दूत गौतम बुद्ध जन्मेको देश नेपाल अशान्त छ यतिबेला। निजी, व्यापारिक तथा सरकारी संरचनामा तोडफोडपछि शान्ति खल्बलिएको हो। जेन्सी पुस्ताको आन्दोलनको आडमा ती जमातका कारण जेलबाट निस्किएर समाजमा अशान्ति मच्चाइरहेका छन्।
हजारौं कैदी समाजमा खुल्लेआम डुलिरहेका छन्। उता आन्दोलनमा ज्यान गुमाएका पीडित परिवार र घाइतेहरू न्याय र शान्तिका खोजीमा छन्। आन्दोलनलगत्तै सिंहदरबार अघि माइतीघर मण्डलामा शान्तिको पुनर्बहाली र संविधानको रक्षार्थ शान्ति र्याली निकालिएको थियो। यो क्रम देशैभरि चल्यो। सिंहदरबार पुग्दा शान्तिकै प्रतीक परेवाले पनि सरकारसँग शान्ति मागिरहेको भान हुन्थ्यो।
देशको शान्ति, सुरक्षा र सुव्यवस्था काम गर्ने प्रशासनिक निकाय सिंहदरबार नै अशान्त छ। पुरानै लयमा फर्किन छिट्टै कठिन छ। तर, यहाँका बोटबिरुवा, चराचुरुंगी, भवन, कर्मचारीको अनुसार निकाल्दा उनीहरूको एउटा माग छ :
पुछिएका सिउँदोहरू
तिम्रै बाटो हेर्छन्।
असहाय–टुहुरा पनि
तिम्रै काख खोज्छन्
फर्की आऊ शान्ति तिमी होइन भने
आँसु लाग्ला नेपाल आमाको
फर्की आऊ शान्ति तिमी...
शान्ति सुरक्षाको जिम्मा लिएका प्रहरीहरूको मन अशान्त छ। समाजमा शान्तिको सन्देश प्रवाह गर्ने सञ्चारकर्मी अझै सम्हालिन सकेका छैनन्। देशको शासन सत्ता हाँक्नेदेखि प्रशासन चलाउनेसम्म त्रसित छन्। अब कसरी देशका शान्ति कायम होला ? सबैको ध्यान यसैमा केन्द्रित छ। शान्ति बिथोलिँदा करिब ७५ जनाको ज्यान गयो। अनि सयौं घाइते भएर अस्पतालमा उपचारत छन्।
भदौ २४ गतेको त्यो दिन सिंहदरबारको पश्चिम ढोकाबाट उठेको कालो धुवाँ राजधानीको आकाशलाई गाढा साँझजस्तो बनाउँदै थियो। हल्का गुनगुनाउँदै उड्ने परेवाको झुन्ड अचानक दिशाहीन बनेर उड्थे, अनि फेरि जलेका पर्खाल वरिपरि घुम्दै बिथोलिन्थे। आगोको रापले तातिएको हावामा परेवा पंख फड्काउँदै कराइरहे—जस्तो लाग्थ्यो, केवल ढुंगा–माटोमात्र होइन, उनीहरूको पुरानो घर र सहरको शान्ति पनि जलेको हो।
यस्तै अवस्थामा गोली लागेर घाइते भएका थिए, सिरहाको धनगढीका २४ वर्षीय निशेष महरा। जो बीबीएको अन्तिम परीक्षा दिएर जेन—जीको आन्दोलनमा आएका थिए। देशमा सुशासन हुनुपर्ने उनको पनि माग थियो। तर, आपराधिक जमातले सिंहदरबारमात्रै जलाएनन्, देशको झण्डा बोकेर लगभग देशैलाई ध्वस्त बनाए। घाइते निशेषकी आमा सरस्वती भन्छिन्, ‘जेन–जीको आन्दोलनले देशमा पहिलो महिला प्रधानमन्त्री बनायो। अब देशका शान्ति र न्यायको अनुभूति होस्।’
मुलुकमा शान्ति कायम गर्ने सिंहदरबार नै अशान्त
व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका जलाएर ध्वस्त छ। जेन—जी आन्दोलनको इपिसेन्टर काठमाडौं रह्यो। राजधानीमा अवस्थित सिंहदरबार, सर्वोच्च अदालत आदिमा सोच्नै नसक्ने क्षति भयो। यसले देशप्रेमी सबैको मन रोएको छ। कसरी भयो शान्ति सुव्यवस्था, विकास र समृद्धिको नीति, निर्देशन दिने स्थान सिंहदरबार आगलागी ? गलत मनसायका जमातहरूले शान्ति सुरक्षामा खटिएका प्रहरीहरूका हतियार, बर्दी र बुट लुटे। प्रहरी कार्यालय जलाए। यस्तै भयो सिंहदरबारमा पनि। यसले देशभरिको शान्ति बिथोलिएको विश्वलाई सूचना प्रवाह गरेको थियो।
भदौ २४ गते सिंहदरबारको शान्ति र सुरक्षाको जिम्मेवारीमा खटिएका थिए, सिंहदबार सुरक्षा गण र नेपाली सेनाको नरसिंह दल। दिउँसो ठूलो त्यो जमात सिंहदरबारको पश्चिम गेट तोड्दै पस्यो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आगो लगायो। त्यहाँका थुप्रै परेवाहरूको गुँड जल्यो। सिंहदरबारका मन्त्रालय, सरकारी कार्यालय र तिनका चमेना गृह (क्यान्टिन)मा आगो लगाए। त्यसले वरिपरि रहेका परेवासहितका चराचुरुंगीको बासस्थान जल्यो। सवारीसाधन खानी बने। त्यो दिन सुरक्षाकर्मीेलाई आफ्नै ज्यान जोगाउन हम्मेहम्मे थियो। सिंहदरबारका संरचना र त्यस वरिपरिका परेवा जस्ता पक्षीको गुँड र रुख कसले जोगाउने ?त्यो धुवाँमा निसासिएको शान्तिको प्रतीक परेवा
अहिले पक्षीहरू बास स्थान खोज्दै सिंहदरबारमा भौंतारिरहेका छन्। चरालाई चारो हाल्ने र खान दिने एकाधबाहेक सबै चमेनागृह जलेर खरानी भयो। खरानी भएका भवन, रुख र बार्दलीमा गँुड लगाएर रात काट्थे परेवाहरूले। साँझपख गुँड खोज्दै परेवाजस्ता पक्षीहरू सिंहदरबार वरिपरि भौंतारिरहेको बताउँछन्, प्रहरी क्यान्टिनका सञ्चालक भूपेन्द्र विश्वकर्मा।
सिंहदरबारभित्र परेवा, सुँगा, लोखर, मैना, कौवा, रूपी, भंगेरा, कुकुरजस्ता हजारौं पशुपक्षीको बास थियो। उनीहरू सिंहदरबारको गहना थिए। ठूला भवन, रुखबिरुवा, फूलले सिंहदरबार यसले गुलजार बनाएको थियो। ‘सिंहदरबार नै जलेर खरानी भयो’, विश्वकर्मा भन्छन्, ‘शान्तिका प्रतीक परेवाहरूको कन्तबिजोग छ। प्रधानमन्त्री कार्यालयको गजुर र भित्तामा परेवाहरूको विशेष गरेर गुँड थियो।
त्यो स्थान जलेर ध्वस्त छ।’
उनीहरूलाई स्नेह गर्दै चारो हाल्ने सबका सब क्यान्टिन जलेर भष्म भएको उनी बताउँछन्। फालिएका खाना, खाजाहरू पशुपक्षीको आहारा थियो। अब क्यान्टिनै छैन, को आउँछ खाजा, खाना खान। अनि तिनले कसरी पाउँलान् त आहारा। विश्वकर्मा भन्छन्, ‘साँझबिहान खाना, पानी र बास खोज्दै पशुपक्षी भौंतारिन्छ। अब हामी नै उठ्ने अवस्थामा छैनौं। ती पशुपक्षीलाई कसले हेर्छ ? उनीहरूको गुँड जलाउनेलाई पनि एक दिन अवश्य पाप लाग्छ।’
उनका अनुसार, आतंककारी शैलीमा उक्त जमात सिंहदरबार पसेको थियो। क्यान्टिनहरूबाट कोक र फेन्टा खान्थे। त्यही बोतलमा मोटरसाइकलबाट पेट्रोल निकालेर भर्थे। पेट्रोल बम बनाएर भवनहरूमाथि प्रहार गरेर आगो लगाउँथे। उनी भन्छन्, ‘क्यान्टिनबाट प्याकेट खोलेको नुन—बेसारधरी लुटेर लगे।’त्यो शान्ति कहिले फर्किन्छ ?
पहिले सिंहदरबारमा बिहानदेखि अबेलासम्म ठूलाबडाको ओहोरदोहोर भइरहन्थ्यो। दिनमा भरिभराउ रहन्थ्यो, रात झकिझकाउ हुने,
दरबार अझै मणि हराएको सर्पजस्तै भएको छ। शान्तिको खोजीमा शान्तिका प्रतीक परेवाहरू भौंतारिरहेका छन् यत्र—तत्र।
जलेका भवनमा चराहरू बास खोज्न जान्छन् तर भेटिनन् तिनले गँुड। त्यो दिनको काला धुवाँमा परेवा, मैना, कौवा निसासिएका थिए। नेपाल टेलिभिजनमा कार्यरत पत्रकार सविना प्रजा भन्छिन्, ‘भोकाएका कौवाहरू जलेका सवारीसाधनमा छन्, जसरी कुनै सिनो होस् ती खरानी भएका गाडीहरू। सिंहदरबारको हालत शव जलाएपछि पशुपति आर्यघाटमा देखिने खरानी भएको कुनै चित्तजस्तो।’
सिंहदरबारमा सन्नाटा छाएको छ। चारैतिर देखिने जलेका भवनहरू, त्यहाँ खरानी भएका सवारी हेर्दा जो कोहीको मनमा डर पैदा हुन्छ। यहाँ कुनै युद्ध भएजस्तो। ‘अब त सिंहदरबारको अवस्था फर्किन पचासौं वर्ष लाग्छ होला। यहाँको शान्ति र सुरक्षा नै हराएको भान हुन्छ। रात एक्लै हिँड्न पनि डरमर्दो हुन्छ’, पुलिस क्यान्टिन अघिल्तिर भेटिएकी उनी भन्छिन्, ‘यहाँ पीपलको रुख थियो। मान्छेहरू त्यहाँ गाडी पर्किङ गर्थे। रुखमा चराहरू चिरबिरको क्या गज्जबको माहोल हुन्थ्यो।’
प्रजाका अनुसार, पहिले कोही क्यान्टिनमा खाना खाजा खान्थे, कोही डीडीसीको डेरीबाट मीठा खानेकुरा ल्याउँथे। खाने टेबलमै परेवा, मैना, रुप्पीहरू आउँथे। उनी भन्छिन्, ‘हामीले पशुपक्षीहरूलाई खानेकुरा दिन्थ्यौं। कस्तो रमाइलो हुन्थ्यो, हुन्थ्यो। अब त त्यो माहोल नै रहने।’ खरानी टेकेर अब कहिले उठ्छ सिंहदरबार ? उनले प्रश्न गर्दै थपिन्, ‘कहिले सुन्न पाइने होला परेवाको शान्तिको धुन
अनि कहिले हेर्न पाइन्छ होला त्यो मन्त्रमुग्ध बनाउने सिंहदरबारको गुल्जार वातावरण।’
शान्तिको खोजीमा नेपाली समाज भौंतारिरहेको पत्रकार सविता प्रजा बताउँछिन्। उनी भन्छिन्, ‘ती व्यक्तिहरूलाई त्यो शान्ति र न्याय कहाँ भेटिन्छ ? जुन आमाको काँख रित्तियो, जुन नारीको सिउँदो सिन्दूर पुच्छियो, जसले सहोदर दाजुभाइ जेन—जी आन्दोलनमा गुमाए।’ ५२ वर्षपछि सिंहदरबारका भदौ २४ गते भागाभागको अत्यास लाग्यो, वातावरण देखिएको थियो। पाँच दशकअघि पनि सिंहदरबारमा आगलागी भएको थियो भने अहिले आपराधिक समूहले आगो लगाएर ध्वस्त बनाए। त्यो बेला पनि अहिले जस्तो परेवाजस्ता पशुपक्षीका गुँड अनि प्रशासनिक भवनहरू जलेका थिए।
‘त्यो दिनको डरमर्दो वातावरण नै सम्झिनु नपरोस्’ भन्छन् त्यहाँ सुरक्षामा खटिएका प्रहरीहरू। उनीहरूले जीवनमा त्यो कठिन मोड देखेको सुनाउँछन्। जलेको प्रधानमन्त्री कार्यालयको सुरक्षामा खटिएका एक नेपाली सेना जवानले भावुक हुँदै सिंहदरबारमा शान्ति हराएको वृत्तान्त सुनाए। जुन दिन उनी आफैं त्यो समयको ड्युटीमा बन्दुक लिएर सिंहदरबारको पश्चिम गेटमा तैनाथ थिए।
‘त्यो दिन बानेश्वरको संसद् भवन जलाएर त्यो जमात सिंहदरबारको पश्चिम गेटमा आए। उता नक्खुको जेल पनि आए। अनि एकाएक गेट तोड्न खोजे। प्रहरीले अश्रुग्याँस प्रहार गर्यो। त्यो दिन पश्चिमबाट पनि हावा चलेको थियो। त्यो ग्याँस हामतिर आयो’, ती सेनाका जवानले सुनाए, ‘हामीले आँखा देख्न सकेनौं। तबसम्म आन्दोलनकारी गेटमै आइपुग्यो। मान्छे मारेर सिंहदरबार बचाउने कि सिंहदरबार जलाउन दिने ? प्रश्न यसैमा अडियो। माथिबाट बिहानै आन्दोलनमा प्रहरीलाई गोली नचलाउने आदेश थियो।’
जवानका अनुसार सेनाको ब्यारेकभित्र भने उनीहरूलाई पुग्न दिइएन। उता एकैछिनमा सिंहदरबारमा पेट्रोल बम प्रहार गयो। आगो दनदनी बन्यो। ह्वार उडेर परेवाहरू आकाशमा उढे। शान्त सिंहदरबारको शान्ति हरायो। लोभलाग्दा महलहरू भटाभट जलेर खरानी हुन थाले, ‘क्यान्टिनको ग्याँस सिलिन्डर पड्किएर लाग्यो, कसैले बम हानेजस्तो।’ सुरक्षा गण सिंहदबारका हबल्दार विजयकुमार राय यादवले आगो लगाएको दिन सिंहदरबारका कार्यालयहरूबाट समानहरू चोरेर लैजानेको भीड नै लागेको थियो। टेबल, कम्प्युटर, सोफाहरू गाडीमा लोड गरेर पूर्वी गेटबाट ओसार्नेहरूको समूह नै थियो। भन्छन्, ‘ती जमातहरूले सिंहदरबारको सिंहहरूलाई जलायो, परेवाहरू रोइरहेका छन्। ठूलो क्षति भयो। कुकुरहरूले खान पाएका छैनन्। ठूला भवन भूतबंगला झैं भएको छ, रात बस्न पनि डरै लाग्छ।’
सिंहदरबारमा क्यान्टिन जलेपछि निराश भएका भूपेन्द्र विश्वकर्मा भन्छन्, ‘सिंहदरबार जलेर कंगालजस्तै बन्यो। शान्तिको भान गराउने परेवाहरू नै शान्ति खोज्दै काठमाडौं सहरमा भौंतारिरहेका छन्।’ देशमा आएको नयाँ सरकारले देशमा पहिला जस्तै शान्ति फर्काउने काम छिटो गर्नुपर्ने उनको माग छ। पशुपक्षी संरक्षणको क्षेत्रमा काम गर्ने सीमा श्रेष्ठ कुकुरजस्ता पशुपक्षीको स्याहारमा खटिरहेकी छन्। दिनहुँदा चारो हाल्ने, कुकुरलाई खुवाउने काम गर्छिन्। उनले पनि सरकार र जनता मिलेर देशमा शान्ति, सुरक्षा र विकासको वातावरण ल्याउनुपर्ने बताइन्।
ooo
अहिले पक्षीहरू बास स्थान खोज्दै सिंहदरबारमा भौंतारिरहेका छन्। चरालाई चारो हाल्ने र खान दिने एकाधबाहेक सबै चमेनागृह जलेर खरानी भयो। खरानी भएका भवन, रुख र बार्दलीमा गँुड लगाएर रात काट्थे परेवाहरूले। साँझपख गुँड खोज्दै परेवाजस्ता पक्षीहरू सिंहदरबार वरिपरि भौंतारिरहेका छन्।
ooo
बडादसैंको मुखमा भएको आन्दोलनमा भएको घुसपैठले नेपालको शान्ति खल्बलिएको छ, आमनागरिकको मन बिथोलिएको छ। शान्तिका दूत गौतम बुद्ध जन्मेको देश नेपाल अशान्त छ यतिबेला। निजी, व्यापारिक तथा सरकारी संरचनामा तोडफोडपछि शान्ति खल्बलिएको हो।
ooo
सिंहदरबार देशको प्रमुख प्रशासनिक निकाय हो। जहाँबाट नेताहरूले सरकार बनाएर सत्ताा चलाउँछन् भने मुख्यसचिवको नेतृत्वमा कर्मचारीले प्रशासन। प्रहरीले त्यहाँ पुग्ने र काम गर्नेहरूलाई सुरक्षा दिन्छ। तर, भदौ २४ गते प्रहरी नै सिंहदबारभित्र असुरक्षित भए।
ooo
जब प्रहरीको ज्यान पत्रकारले बचाए
सिंहदरबार देशको प्रमुख प्रशासनिक निकाय हो। जहाँबाट नेताहरूले सरकार बनाएर सत्ता चलाउँछन् भने मुख्यसचिवको नेतृत्वमा कर्मचारीले प्रशासन। प्रहरीले त्यहाँ पुग्ने र काम गर्नेहरूलाई सुरक्षा दिन्छ। तर, भदौ २४ गते प्रहरी नै सिंहदबारभित्र असुरक्षित भए। प्रहरीको ज्यान रेडियो नेपालमा कार्यरत पत्रकारहरूले जोगाए। ७ घण्टासम्म कार्यालयमा लुकाएर एक दर्जन प्रहरीको ज्यान जोगाइरहेको रेडियो नेपालकी समाचार वाचिका बेञ्जु सुवेदीले बचाइन्। असोज १ गते सिंहदरबारमा भेटिएका नेपाल प्रहरीका हबल्दार विजयकुमार राय यादव र पत्रकार सुवेदीले त्यो दिनको घटनाबारे बेलिबिस्तार लगाए।
प्रधानमन्त्री कार्यालयको शान्तिसुरक्षाका लागि त्यो दिन खटिएका थिए हबल्दार यादव। बिहान ७ बजेदेखि नै प्रहरी जवान लिएर उनी प्रधानमन्त्री कार्यालयको पश्चिमपट्टि खटिएका थिए। उनका अनुसार त्यो दिन दिउँसो ठूलो संख्यामा गलत मनसाय भएका युवाको जमात सिंहदरबारभित्र पस्यो। ‘मार, मार, आगो लगा, आगो’ भन्दै तिनले प्रहरीलाई लखेट्न थाल्यो। तिनको हातमा लाठी, फर्सा, भाला, रड, आगो सल्काउने सलेदो, पेट्रोल, खुकुरी, छुराजस्ता हातहतियार थिए। एउटा समूहले हबल्दार यादवको करिब १२ जनाको प्रहरी टोलीलाई लखेट्न थाल्यो।
प्रहरी ज्यान बचाउन रेडियो नेपालको भवनको पूर्वपट्टिबाट भागेर सिंहदरबारको दक्षिण गेट पुगे। उता संसद् भवन जलाएर आएको समूह पनि सिंहदरबार पसिसकेको रहेछ। प्रहरी टोली ट्र्यापमा पर्यो। उनी भन्छन्, ‘प्रहरीहरूमाथि पेट्रोल छर्किन थाले। तर, आगो लगाउन सकेनन्। हामी उनीहरूलाई छल्दै सिंहदरबारस्थित फेरि रेडियो नेपाल पुग्यौं। त्यहाँ पत्रकार बेञ्जु सुवेदीसहितका पत्रकारले हाम्रो ज्यान बचाउनुभयो।’
प्रहरीले बर्दी र हतियार दराजका कुनामा लुकाए। उनीहरू पनि लुके। लुटपाट र आगजनी गर्ने समूह प्रहरी खोज्दै रेडियो नेपाल पनि नपसेका होइनन्। त्यहाँ तोडफोड पनि गरे। उक्त समूह रेडियो नेपालभित्र पस्न खोज्दा कर्मचारीले अनुनयविनय गरे। ‘यहाँ कोही पनि प्रहरी आएको छैन’ रेडियो नेपालका पत्रकारहरूले उनीहरूलाई हात जोडेर सम्झाएर पठाए। अनि ती प्रहरीहरूको ज्यान जोगिएको थियो। त्यहाँ खटिएका पत्रकारहरू त्यो दिन प्रहरीका लागि भगवान् भएको हबल्दार यादव बताउँछन्। उनी भन्छन्, ‘पत्रकारहरूले शरण नदिएको भए त्यो दिन हामी सबै प्रहरीलाई तिनले जलाएर खरानी बनाउँथे। यो गुण जीवनभर चुकाउन सक्दैनौं होला।’ त्यो दिन रेडियो नेपालमा दिउँसो ३ बजेपछि समाचार वाचन गरेर स्टुडियो बाहिर बेञ्जु निस्किएकी थिइन्। लगत्तै गुहार माग्दै प्रहरी टोली रेडियोको कार्यालयमा पसेको थियो। बेञ्जु भन्छिन्,‘मानवीयताका आधारमा प्रहरीहरूलाई बचायौं, अरू बेला उहाँहरूले शान्तिसुरक्षा दिनुहुन्थ्यो। त्यो दिन हामीले दियौं।’
रौतहट घर भएका हबल्दार २१ वर्षदेखि नेपाल प्रहरीमा कार्यरत छन्। त्यो दिन प्रहरी टोली राति ११ बजेमात्रै रेडियो नेपालबाट बाहिर निस्किए। माओवादी द्वन्द्वमा बुवा गुमाएका हबल्दार यादवको जेन—जी आन्दोलनमा पत्रकारले ज्यान जोगाए।
‘पहाडी मूलका मानिसले मधेसी मूलको मेरो ज्यान बचाइदिनुभयो। हामी भूगोल, सम्प्रदाय आदिमा विभाजित भएर सोच्छौं तर सबैमा त्यस्तो भाव हुँदैन भन्ने पुष्टि भयो। हामी सबै नेपाली हौं, एकलाई पर्दा अर्कोले बचाउनुपर्छ’, त्यो दिनको अवस्था सम्झिँदै हबल्दार यादव सुनाउँछन्। यादव भन्छन्, ‘राति रेडियोबाट बाहिर निस्किँदा सिंहदरबार जलिरहेको थियो। जसरी पशुपतिको आर्यघाटमा लास जलाउँछन् नि त्यसैगरी। हामी पनि जलिरहेको लासलाई हेरिरहने मलामीजस्तै भयौं। निर्जीव संरचना त जलेकै थियो, जीवित पक्षी परेवाहरू पनि गुँड खोज्दै जलेको भवन पुग्थे अनि आगोले पोल्ने डरले फेरि फर्कन्थे। सयौं परेवाको बिजोग पनि सँगै रातभर टुलुटुलु हेरेर बस्यौं।’
प्रतिक्रिया दिनुहोस !