युरेसियामा झांगिएको विश्वकाव्य चेतना

महाकवि सिर्जना

युरेसियामा झांगिएको विश्वकाव्य चेतना
सुन्नुहोस्

नेपाली साहित्यलाई विश्वसाहित्यको मैदानमा बिस्तार गराउने सम्भावनाका एक सूत्रधार पनि हुन्, महाकवि देवकोटा।

ग्रीक दार्शनिक सुकरातले कुनै प्रसंगमा कवि हृदयलाई ‘दिव्य पागलपन’सँग जोडेका छन् भने प्लेटो पछिका अर्का ग्रीक दार्शनिक एरिस्टोटलले कविहरूमा ‘सम्भावनाहरूको चित्रण’ गर्ने क्षमता पनि हुन्छ भन्ने यथार्थलाई स्वीकारेका छन्। तलका कविता हेर्दा लाग्छ, पाश्चात्य दार्शनिकहरूले महाकवि लक्ष्मीप्रसाद  देवकोटाको भावनामाथि अग्रिम सम्बोधन गरिरहेका थिए :
‘म शब्दलाई देख्दछु !
दृश्यलाई सुन्दछु !

वासनालाई स्वाद लिन्छु।
आकाशभन्दा पातला कुरालाई छुन्छु ! (कविता– पागल)
‘के हो ठुलो जगत्मा ? ‘पसिना विवेक’
‘उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक’ (कविता– प्रश्नोत्तर)

नेपाली साहित्यलाई विश्व साहित्यको मैदानमा बिस्तार गराउने सम्भावनाका एक सूत्रधार पनि हुन्, महाकवि देवकोटा। नेपाली साहित्यको विकासमा पुर्‍याएको ठूलो योगदानको मूल्यांकन गर्दै देवकोटालाई महाकवि, नेपाली साहित्यका उज्ज्वल नक्षत्र, सरस्वतीको प्रसादजस्ता विविध विशेषण प्रयोग गरेर होस् वा अंग्रेजी कवि टिएस एलियट, उर्दुका कवि इकवाल, बंगाली कवि रवीन्द्रनाथ टैगोर, अरबी कवि खलिल जिब्रानजस्ता व्यक्तित्वसँग तुलना गरेर होस्, हाम्रा समालोचक एवं लेखकले उनीप्रति सम्मान गर्ने गरेको पाउँछौं। राहुल सांकृत्यायनले देवकोटालाई गौतम बुद्धपछिका महान् चिन्तक मानेका थिए।

सन् १९९२ मा नेपाल भ्रमण गरिसकेका ‘सोभियत नायक’ एवं अन्तरिक्ष यात्री युरी मालिशेभले लेखेका थिए। यो संसारलाई एउटा साझा सुन्दर घर बनाउन हामीसँग नम्र हृदय हुनुपर्छ। हामीले यो संसारलाई टुक्राटुक्रा पार्नु हुँदैन। यस असल उद्देश्यका लागि महान विचारक, लेखक र कविहरू सक्रिय रूपमा काम गरिरहेका छन्। तीमध्ये देवकोटा पनि छन्, विश्व सभ्यताका एक प्रतिभाशाली कवि। तर उनको साहित्यिक र मानवीय व्यक्तित्वको सही पहिचान गर्न हामीले पढेको, सुनेको र लेखेको परम्पराको सीमाबाहिर पनि उनको खोजी हुनुपर्छ, किनकि स्वच्छन्दतावादी र मानवतावादी देवकोटा यो संसारको एक अद्भुत महामानव मात्र होइनन् विश्व साहित्यिक चेतनाको एक विराट रूप पनि हुन्।

रूसी महाकवि अलेक्सान्दर पुस्किनको व्यक्तित्वलाई जनमानसमा बढी लोकप्रिय बनाउन कवि मिखाइल लेर्माेन्तोभले जुन भूमिका खेले, कवि मोतीराम भट्टले पनि आदिकवि भानुभक्तलाई चिनाउन त्यस्तै ठूलो गुण लगाएका थिए। जीवनकालमै दक्षिण एसियामा प्रसिद्धि कमाइसकेका देवकोटाको साहित्यिक व्यक्तित्वलाई युरोपको रूसी भूमिदेखि अन्यत्रसम्म स्थापित गराउने र नेपाललाई चिनाउने महान रूसी विदुषी हुनुहुन्थ्यो। डा. ल्युदमिला अलेक्सान्द्रोभ्ना आगानिना, जसलाई नेपाली रूसी भाषाविद् एवं अनुवादक स्व. कृष्णप्रकाश श्रेष्ठले ‘रूसमा नेपाली साहित्यको जननी’ भनेर सम्बोधन गर्नुभएको थियो।

‘उहाँको नाम लक्ष्मीप्रसाद देवकोटा हो। उहाँको मातृभूमि नेपाल हो। उहाँ एक कवि हुनुहुन्छ।’ ‘एक प्रतिभाशाली नेपाली कवि, एक स्वतन्त्रताप्रेमी, एक देशभक्त, एक शब्दहरूको वास्तुकार, एक औपनिवेशिक विरोधी र एक सकारात्मक कार्यको मानिस, देवकोटा सोभियत संघका सौहाद्र्रपूर्ण मित्र थिए।’ ‘एक कवि मर्छ तर उनको काम अमर हुन्छ। देवकोटाका कविताहरू जीवित उदाहरण हुन्।’ एसिया–अफ्रिका टुडे, रूसी एकेडेमीको मासिक प्रकाशन (सन् १९६३) मा सम्पादकले लेखेको माथिका हरफका कारण रूसी साहित्यिक जगतमा नेपाली साहित्य र देवकोटा बृहत् 
चासोको केन्द्र बन्न पुगेका थिए।

सन् १९५८ मा सोभियत संघको उज्बेकिस्तानको राजधानी तासकंदमा आयोजित अफ्रो–एसियाली लेखक सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्न गएका महाकवि देवकोटाको दोभासेको रूपमा खटाइएकी आगानिना (नेपाली भाषा र अंग्रेजी भाषाको विद्यार्थी) देवकोटाको प्रतिभा देखेर सुरुमै आश्चर्यचकित बनेकी थिइन्। विश्वभरबाट आएका झन्डै दुई सय जना विशेष साहित्यिक प्रतिनिधिमाझ नेपाली साहित्यको अवस्था, विकासका भावी योजनाबारे प्रस्तुत देवकोटाको ओजपूर्ण अभिव्यक्तिले छुट्टै लोकप्रियता ग्रहण गरेको थियो।

सम्मेलनपछि क्यान्सर उपचारको क्रममा केही समय मस्को अस्पतालमा रहँदा आगानिनाले आफ्ना लागि केही कविता लेखिदिन अनुरोध गरिन्। छोटो समयमै महाकविले कापीभरि अंग्रेजी कविता लेखी दिनुभएपछि तिनले थप कापीहरू थमाई दिइन्, देवकोटाका कविता ती कपीमा धाराप्रवाह लेखिँदै गए, ‘नीला छन् पहाडहरू’ आदि। पृथ्वीमा यस्तो अद्भुत प्रतिभाका कविहरू पनि हुँदा रहेछन् भन्ने थाहा पाएपछि आगानिना देवकोटाको खोज अनुसन्धानमा जीवनभर लागिपरिन्। तिनले मस्को स्टेट युनिभर्सिटीबाट महाविद्यावारिधि गर्दा शोधपत्रको शीर्षक थियो, ‘समकालीन नेपाली कवितामा मानिस, समाज र धर्म।’

सोभियत संघको विज्ञान प्रतिष्ठानअन्तर्गतको पूर्वीय अध्ययन संस्थानले सन् १९७० मा ल्युदमिला अलेक्सान्द्रोभ्नाद्वारा लिखित ‘नेपालका महाकविको कथा (लक्ष्मीप्रसाद देवकोटाको व्यक्तित्व र कृतित्व) नामक पुस्तक रूसी भाषामा प्रकाशन गरेको थियो। विस्तारै देवकोटाद्वारा लिखित अंग्रेजी कविता रूसी भाषामा प्रकाशित हुँदै गए र अन्य भाषामा पनि अनुवादित हुन थाले। रूसी भाषामा उपलब्ध भएका महाकविका कविता र उहाँसँग सम्बन्धित केही लेख पुस्तकको रूपमा नेपाली भाषामा प्रकाशित भएका छन्, देवकोटा।

एआई, आभासी यथार्थ र साइबर संस्कृतिमा प्रवेश गरिसकेको आजको समुन्नत विज्ञान र प्रविधिको युगमा महाकवि देवकोटाको बहुआयामिक चिन्तनलाई क्वान्टम साहित्य र दर्शनसँग जोडेर अध्ययन, अनुसन्धान गर्नु, विचार–विमर्श गर्नु समयको माग हुनसक्छ। समष्टिमा, मानव सभ्यताले युगयुगान्तर पढ्न बाँकी मूर्त–अमूर्त कविताका जीवन्त प्रतिमूर्ति हुन्, महाकवि लक्ष्मीप्रसाद देवकोटा, जसले कवितालाई नै सत्य मान्थे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.