अन्ततः देवकोटाले नेपाली साहित्यमा नै मौलिक महाकाव्यको अभाव भइरहेको अवस्थामा शाकुन्तल (२००२) जस्तो सुन्दर र उत्कृष्ट ललित महाकाव्य रचना गरेर समृद्घ तुल्याउने महान् कार्य गरे।
लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यिक धरातलमा विराट्, अद्भुत र विलक्षण प्रतिभाका रूपमा ख्यातनामा छन्। जनस्तरबाट प्राप्त महाकविजस्तो उच्च सम्मानले विभूषित देवकोटा महान् र बहुमुखी स्रष्टा व्यक्तित्व हुन्। फुटकर कवितादेखि खण्डकाव्य र महाकाव्य संरचनामा समेत साफल्य प्राप्त देवकोटाका सयौं फुटकर कविता, दर्जनौं खण्डकाव्य र आधा दर्जन महाकाव्य प्रकाशित छन्। महाकवि देवकोटाका रचनामा सौन्दर्यका उपासक, कल्पनाका खानी, मानवताका पुजारी, प्रकृतिका भक्त र भावनाका धनी देखिन्छन्। लेख मूलतः देवकोटाद्वारा विरचित पहिलो र प्रख्यात महाकाव्य
शाकुन्तलको संक्षिप्त चर्चामा संकेन्द्रित छ।
महाकाव्यका स्रष्टालाई संस्कृत काव्यिक परम्परामा महाकवि भन्ने गरेको पाइन्छ। देवकोटालाई भने महाकाव्यहरूको रचना गरेकै आधारमा मात्र महाकवि भनिएको होइन, उनका कविता वा काव्यमा पाइने कला, कल्पना र भावका गहनता तथा उच्च मूल्यवत्तालाई मूल आधार मानेर महाकवि भनिएको हो। यिनलाई सबैभन्दा पहिले डा. ईश्वर बरालले महाकवि भनेर लिखित रूपमा सम्बोधन गरेको प्रसंग पाइन्छ। कविताको मूल्यवत्ता एवं महाकाव्य सिर्जना दुवै दृष्टिले देवकोटालाई महाकवि भन्नु उचित दृष्टिगत हुन्छ।
देवकोटामा आशुकवित्व पनि थियो। उनले दश दिनमा सुलोचनाजस्तो महाकाव्य एक रातमा कुञ्जिनीजस्तो खण्डकाव्य र ९३ मिनेटमा आँसु जस्तो खण्डकाव्य रचना गरेर आफूमा निहित आशुकवित्वको प्रदर्शन गरेका थिए। शाकुन्तलजस्तो महाकाव्य पनि यिनले फुर्सदको समयमा तीन महिनामा समापन गरेको कुरा यस काव्यको भूमिकामा उल्लेख छ। आशुकवित्वको चर्चाका क्रममा पारसमणि प्रधानले देवकोटालाई इलेक्ट्रिक कवि भनेका छन्। वास्तवमा देवकोटा साँच्चिकै आशुकवि थिए। कुनै पनि विषयमा कुनै पनि बेला तुरुन्तै कविता रच्न सक्ने क्षमता उनमा थियो।
१० वर्षको उमेरदेखि नै कविता सिर्जनामा प्रवृत्त देवकोटाले ३४ वर्षको उमेरमा महाकाव्य सिर्जनमा हात हालेको देखिन्छ। देवकोटाले महाकाव्य लेखनको प्रारम्भ सुषमालोचनबाट गरेका हुन्। यो अपूर्ण महाकाव्य हो। यसका केही अंश शारदा वर्ष ९ अंक ८ मा प्रकाशित छन्। यसरी नै भक्त प्रह्लाद पनि यिनको अपूर्ण महाकाव्य मानिन्छ। यसको प्रथम सर्गका श्लोकहरू प्रगति वर्ष ६ अंक १७ मा प्रकाशित छन्। यी दुई अपूर्ण महाकाव्यबाहेक बुद्ध चरित्र, संस्कृतमा सिकन्दर, सुन्दरी जल, तथागत, सत्याभासजस्ता महाकाव्य पनि यिनले लेखेको चर्चा पाइन्छ। राधाकृष्ण चरित्रलाई कथावस्तु बनाएर पनि देवकोटाले संस्कृतमा महाकाव्य लेख्न खोजेको र केही सर्ग लेखेको उल्लेख पनि पाइन्छ। यसरी महाकाव्य सिर्जनको प्रारम्भिक चरणमा देवकोटाले धेरै महाकाव्य लेख्न खोजेका तर ती कृतिले पूर्णता नपाएका तथ्यहरू भेटिन्छन्।
अन्ततः देवकोटाले नेपाली साहित्यमा नै मौलिक महाकाव्यको अभाव भइरहेको अवस्थामा शाकुन्तल (२००२) जस्तो सुन्दर र उत्कृष्ट ललित महाकाव्य रचना गरे। यसबाहेक यिनले सुलोचना (२००२), वनकुसुम (२००३), महाराणा प्रताप (२००३), पृथ्वीराज चौहान (२००२–२००३) र प्रमिथस (२००७–२०१०) जस्ता महाकाव्य लेखेर नेपाली काव्य भण्डारलाई समृद्ध तुल्याउने महान् कार्य गरे। यी महाकाव्यहरूका अतिरिक्त देवकोटाको अंग्रेजीमा पनि शकुन्तला नामक महाकाव्य प्रकाशित छ। यसलाई मदनमणि दीक्षितले एउटा समालोचनामा नेपाली शाकुन्तलभन्दा
उच्चकोटीको भनेर मूल्यांकन गरेका छन्।
शाकुन्तल प्रख्यात कथावस्तुमा विरचित महाकाव्य हो। यस काव्यको प्रमुख उपजीव्य ग्रन्थ हो संस्कृत महाकाव्य परम्पराको विशालकाय आर्ष महाकाव्य महाभारत। महाभारत र केही पुराणमा समेत रहेको शकुन्तलोपाख्यान यसको कथावस्तुका बीज हुन् भने संस्कृतका कविकुलगुरु महाकवि कालीदासप्रणित अभिज्ञान शाकुन्तलम् नामक नाटक यसको बिरुवा हो। वस्तुतः कालीदासकृत अभिज्ञान शाकुन्तलम्को काव्यिकता र वैश्विक लोकप्रियताबाट प्रभावित भएर नै देवकोटाले शाकुन्तल महाकाव्य लेखेका हुन्। यसर्थ व्यास र कालीदास दुवैलाई सम्मान गर्दै देवकोटाले शाकुन्तलको रचना गरेका हुन्। कालीदासले शकुन्तलोपाख्यानलाई नाटकको महलमा रूपान्तरण गरे भने देवकोटाले त्यसैलाई महाकाव्यको विशाल दरबारका रूपमा बदले। यस महाकाव्यमा कालीदासकृत अभिज्ञान शाकुन्तलम्को सर्वाधिक प्रभाव छ भन्ने कुरालाई महाकवि देवकोटाले स्वीकारेका छन्।
यो महाकाव्य पूर्वीय र पाश्चात्य दुवैतर्फका महाकाव्यीय लक्षण र मान्यतालाई आत्मसात् गरेर रचिएको छ तापनि पूर्वीय चिन्तनको प्रभाव बढी देखिन्छ। देवकोटाले संस्कृत महाकाव्यका लक्षणलाई आत्मसात् गर्दै आफ्ना ६ महाकाव्यमध्ये पृथ्वीराज चौहानबाहेक सबैमा मंगलाचरणको प्रयोग गरेका छन्। यी मंगलाचरण मूलतः वस्तुनिर्देशनात्मक र आशीर्वादात्मक छन्। यिनको पहिलो महाकाव्य शाकुन्तलमा प्रयुक्त मंगलाचरण हेरौं–
चिम्ली लोचन दीर्घकाल तपमा खोलेर वासन्तिका।
नाच्दी सुन्दर तालले पवनमा देखी फुलेकी लता।।
बिर्से झैं भन को ‘तिमी’ यति भनी गौरी रुलाइकन।
मुस्काएर फुल्याउँदा शिव दिऊन् कल्याणको चुम्बन।।
शाकुन्तलमा मंगलाचरणका रूपमा उपर्युल्लिखित दुई श्लोक मात्र प्रयोग छन्। पहिलो मंगलाचरणलाई वस्तुनिर्देशनात्मक र आशीर्वादात्मक मंगलाचरणका रूपमा लिइन्छ। यसमा एकातिर शाकुन्तल महाकाव्यको कथावस्तुलाई प्रतीकात्मक रूपमा निर्दिष्ट गरिएको छ भने अर्कातिर महाकाव्य संरचनार्थ शिवको कल्याणकारी चुम्बनको निम्ति आह्वान छ। यसरी नै दोस्रो मंगलाचरण आशीर्वादात्मक प्रकृतिको छ। यसमा भारती अर्थात् वाग्देवी सरस्वतीसँग आशीर्वाद मागिएको छ।
शाकुन्तल नायिका प्रधान महाकाव्य हो। राजा दुष्यन्त यसका नायक हुन् तापनि नायिका शकुन्तलाको चरित्रले यसमा प्राधान्य पाएको छ। खासगरी महाकाव्यमा नायकलाई महत्त्व दिने परम्परा पूर्वीय र पाश्चात्य दुवै जगत्मा प्रबल रहेको सन्दर्भमा अंग्रेजी महाकवि स्पेन्सरले ईशाको सोह्रौं शताब्दीमा द फेरी क्विन नामक नायिका प्रधान महाकाव्य लेखेको पाइन्छ भने देवकोटा पनि यसबाट प्रभावित देखिन्छ। शाकुन्तल महाकाव्य २४ सर्गको आयाममा फैलिएको छ। यसमा परिगणित रूपमा १ हजार ९ सय ३७ श्लोक छन् भने पंक्तिगत मापनका आधारमा २३ सयभन्दा बढी श्लोक संख्या हुन आउँछन्।
महाकाव्यमा केही बहुप्रचलित र केही न्यून प्रचलित शार्दूलविक्रीडित, वसन्ततिलका, शिखरिणी, भुजंगप्रयात, पृथ्वी, स्रग्धरा, अनुष्टुप, मन्दाक्रान्ता, मालिनी, द्रुतविलम्बित, कनकमञ्जरी, द्रुता, वियोगिनी, संयुता, स्वागता, इन्द्रबज्रा, उपेन्द्रबज्रा, पञ्चचामर, रथोद्धता, स्रग्विणी, तोटक, शालिनी, समानिका, वंशस्थ, इन्द्रवंशा, दोधक, प्रहर्षिणी, सुन्दरी, प्रमाणिका, बृहती, तामरस, चामर, माणवक, मालती, चन्द्रवत्र्म, प्रमुदितवदना, इन्द्रबज्रा+उपेन्द्रबज्रा उपजाति, वंशस्थ+इन्द्रवंशा उपजाति र मात्रा छन्दसहित तीन दर्जन जति शास्त्रीय पिंगल छन्दहरू प्रयोग भएका छन्। त्यसैले यसलाई छन्दको क्रीडास्थल पनि भनिएको छ।
महाकवि देवकोटाले यस महाकाव्यको भूमिका आफैंले लेखेका छन्। यसको पहिलो वाक्य यसरी लेखिएको छ, ‘नेपाली महाकाव्य आइसल्यान्डको सर्पजस्तो थियो।’ यसको व्यञ्जनार्थ हो, नेपाली भाषामा महाकाव्य लेखिएकै थिएन। देवकोटाले प्रथमतः त्यही अभावपूर्तिहेतु यो महाकाव्य लेखेको देखिन्छ। यसबाहेक पनि यस महाकाव्य लेखनसँग जोडिएका अन्य विविध प्रसंग छन्। तिनको चर्चा यहाँ सम्भव छैन। महाकाव्य महान् हुन्छ, विराट् हुन्छ, भव्य हुन्छ, यो लमाइमा पनि महान् हुन्छ, गरिमामय विशेषताले पनि महान् हुन्छ।
महाकाव्यमा कथानक लामो हुन्छ। घटना र पात्र पनि धेरै हुन्छन्। जीवन र जगत् वा सम्बन्धित विषयको विशद वर्णन र विवेचना हुन्छ। प्राचीन परिभाषाअनुसार यसमा आठभन्दा बढी सर्ग हुनुपर्छ। प्रारम्भमा मंगलाचरण, सर्गान्तमा छन्द परिवर्तन एवं अर्को सर्गमा आउने विषयको संकेतन पनि हुनुपर्छ। नायक धीरोदात्त, उच्चकुलीन हुनुपर्छ। यसमा प्रभात, सन्ध्या, दिवा, षड्ऋतु, पर्वत, नदी, ताल, चन्द्रोदयजस्ता प्राकृतिक सौन्दर्यको वर्णन पनि हुनुपर्छ। विवाह, युद्ध, सिकार आदिको वर्णनका साथै दुर्जनको निन्दा र सज्जनको प्रशंसा पनि गरिनु पर्छ। शाकुन्तल महाकाव्यमा यीमध्ये धेरै कुराको पालना गरिएको छ। आधुनिक महाकाव्यहरूमा भने यसरी सम्पूर्णतः पुरातन मान्यतालाई पछ्याउनै पर्छ भन्ने छैन, तर आकारगत र विषयवस्तुगत विशदता एवं मूल्यवत्तालाई भने उत्तिकै महत्त्व दिइन्छ।
शाकुन्तल शब्द शकुन्तलाकै विशेषण रूप हो। यसले शकुन्तलाको वा शकुन्तलासम्बन्धी भन्ने अर्थ द्योतन हुन्छ। शाकुन्तल सुखान्त महाकाव्य हो। यसको कथावस्तुमा नायक दुष्यन्तको विस्मृतिका कारण नायिका शकुन्तलाले भोग्नु परेको वियोगको पीडा मार्मिक छ। वास्तवमा जन्मनासाथ माता मेनका र पिता विश्वामित्रबाट परित्यजित र कण्वऋषिको आश्रममा पालित, पोषित नायिका शकुन्तलाले राजा दुष्यन्तसँगको प्रणयविवाहपश्चात् भोगेको दुःखकष्ट पनि हृदयविदारक छ। यस महाकाव्यमा विनाप्रायोजन नै अनेक अलंकार, रस, गुण, रीति, ध्वनि, वक्रोक्ति आदि स्वाभाविक रूपमा उत्पन्न भएका छन्। विविध शैलीगत विशिष्टता यसमा भेटिन्छ। यस महाकाव्यमा प्रयुक्त भाषा विशिष्ट र संस्कृतनिष्ठ छ, अतिबौद्धिकता भए पनि पाण्डित्य प्रदर्शन भने छैन। यसको भाषामा अर्थगत कठोरताभित्र भावगत कोमलता पाइन्छ।
पुराकथालाई छनोट गरेर रचिएको यस महाकाव्यले एकातिर अतीतलाई प्रतिविम्बन गरेको छ भने अर्कातिर वर्तमानलाई निर्देशन पनि गरेको छ। यसमा पृथ्वीदेखि स्वर्गसम्मका विभिन्न स्थान, काल र परिवेशको अत्यन्त मनोहर ढंगले चित्रणसहित प्रकृतिलाई मानवीकरण र मानवलाई प्रकृतीकरण गरिएको छ। शाकुन्तल स्वच्छन्दतावादी धाराको प्रभावमा रचिएको महाकाव्यीय दृष्टिले विशुद्ध पहिलो मौलिक महाकाव्यमात्र होइन, यो त नेपाली महाकाव्य परम्पराको अहिलेसम्मकै अनुपम प्राप्ति हो।
प्रतिक्रिया दिनुहोस !