कवितामा जेन–जीका कुरा

चुकुल कविता

कवितामा जेन–जीका कुरा

कवि जहिले पनि व्यवस्थाको विपक्षमा हुन्छ, कविले आफ्नो चैतन्यले देखेको कुरा लेख्छ। कविले अरूको होइन, आफ्नै मनको कुरा सुन्छ।

क.
को यो फार्ने,
को यो पार्ने मानिस,

मानिसमा अन्तर ?
यो हो चाँदी,
या हो कागत,
–बाट बनेको धूर्त चुकुल
जिउँदो निरन्तर !
ख.
यही हो नेता,
यही हो विजेता,
बाहु प्रबल !
मसिनो मुखको,
मोटो जीउको घुस्न सफल !
ग.
हे बुभुक्षित !
वञ्चित !
कुण्ठित !
चिरियो तिम्रो दल !
लडाइँमा छौ नित्य विफल !
घ.
बुद्धि छ बोक्सी,
चतुरी,
फटाही,
सोही चुकुलको चूल !
सम्मोहनमा पर्छांै राही स्वर्ग पुग्ने भन्छौ,
उडाई जादु –कार्पेट,
थोत्रो सुकुल !
ङ.
सच्चा दिन के शक्ति होइन ?
के जनताले राज हुँदैन ?
माटोले के घर बन्दैन ?
आगो पसीकन,
हेरन मोल !
अविश्वास हो भयंकर भूल !
किन हालेका होउ छातीमा,
सुनको चुकुल ! आर्तदत हो !
किन चिरिएका ?
मुटुले खाई,
झूटो कबुल ?
च.
जनतन्त्रलाई पुँजी रोज्दछ !
पुँजी विभाज्दछ !
नेता भैकन पँुजी गाँज्दछ !
हाय ! सहेको किन यो भूल ?
मिल ए गरिब !
मिल ए दीन !
मिल ए दुःखी !
मिल ए हीन !
फ्याँक, उखेल चुकुल !
छ.
यो पहाड हो,
खाल्डाबीचको !
यो चुकुल हो डँडाल्नाबीचको !
तिम्रो भयंकर शूल !
बेहोश ! हटाऊ भूल !

समालोचक होइन, न त नेपाली साहित्य वा कविताको प्राध्यापक नै हुँ। प्राध्यापक त हुँ, तर कानुनको। तथापि कविका नाताले मलाई लागेका कुरा अन्नपूर्ण पोस्ट् दैनिकको परिशिष्टांक ‘फुर्सद’का संयोजक गोपीकृष्ण ढुंगानाको अनुरोध टार्न नसकेर विशेषतः चुकुल कविताबारे केही लेख्दैछु। देवकोटा मूलतः एक क्रान्तिकारी कवि हुन्। उनका जुनसुकै कविता पढ्दा मेरो मनमा एक किसिमको हौसला, जोश वा विद्रोह भरिएर आउँछ। उनको सबैभन्दा मनपर्ने कुरा नै उनको लेखन शैली हो, कुनै वाद वा समालोचनाका सिद्धान्तको मतलब नराखी आफूलाई भन्न मनलागेका कुरा सोझै भन्ने। कवि जहिले पनि व्यवस्थाको विपक्षमा हुन्छ, कविले आफ्नो चैतन्यले देखेको कुरा लेख्छ । कविले अरूको होइन,आफ्नै मनको कुरा सुन्छ।

चुकुल आजको कविता पनि हो। सबैले चर्चा गर्ने पागल, भिखारी वा यात्री जत्तिकै महŒवपूर्ण कविता हो– चुकुल। जुन ६ टुक्रामा विभाजित छ। पहिलो टुक्रामै चुकुलले विभाजन ल्याउँछ भन्ने कुरा छ। कसले ल्याइरहेछ मानिस, मानिसमा अन्तर, कसले गरिरहेछ विभेद ? यहाँ चुकुल प्रतीक हो विभेदको। दोस्रो टुक्रामा नेताको प्रसंगमा मसिनो मुख र मोटो जीउको कुरा गरेर हामीले अहिले भोगिरहेका नेताहरूको चरित्र स्पष्ट पारिएको छ। अनि तेस्रो टुक्राले अहिलेका भोका र सुविधाबाट वञ्चित आममान्छेलाई सम्बोधन गर्छ, जसले जति गरे पनि जीवन समृद्ध बनाउने आफ्नो लडाइँमा सधैं विफल मात्र भइरहन्छ। 

हामीभित्रको लोभले सधैं अनैतिक गर्न हामीलाई सम्मोहित गरी नै रहन्छ। हामी भित्रै छ रावण, हामी भित्रै छ राम। अर्ती दिन सजिलो छ तर आफूले त्यही गर्न कतिको सहज ? थोत्रो सुकुलमा बसेर जादुई कार्पेटको कुरा गर्ने बानी परेका हामी यथार्थमा भन्दा कल्पनामै बढी रमाइरहेका हुन्छौं। यो कविताको पाँचौं टुक्रा अहिलेको यथार्थ हो। कविले प्रश्न गर्छन्– जनता नै राज्य होइनन् र ? माटोले मात्र घर बन्दैन र ? अनि बताउँछन्– आगोको यथार्थ नभोगी थाहा हुँदैन। जुन विभेद तिम्रो मनभित्र छ त्यही नै हो तिम्रो सबैभन्दा ठूलो भूल वा शत्रु। सुन वा धनको मोह आर्तनाद हो, तिम्रो सहजपना र अबोधपनाको चुकुल।

अर्ती दिन सजिलो छ तर आफूले त्यही गर्न कतिको सहज ? थोत्रो सुकुलमा बसेर जादुई कार्पेटको कुरा गर्ने बानी परेका हामी कल्पनामै बढी रमाइरहेका हुन्छौं।

छैटौं टुक्राले आजको जेन–जी आन्दोलनपछि गरिरहेको प्रश्न गरिएको छ। पैसाले नै हो विभाजन ल्याउने, नेता भएर सेवा गर्न छोडेर वा देश बनाउन छोडेर किन सम्पत्तिमात्र जोड्नतिर लाग्छ र किन आम जनता चुप लागेर यो सब हेरिहन्छ, किन सहन्छ यो अन्याय, यो विभेद। उखेलेर फाल यो विभेदको चुकुल। अनि अन्त्यमा यही चुकुल हो हाम्रो भूल, यही चुकुल हो हाम्रो समृद्धिको शूल। अब पनि यो सहेर बस्नु हुन्न। अब त सबै दीनदुःखी गरिबहरू मिलेर फाल्नुपर्छ यो विभेदको भ्रष्टाचारको चुकुल।

ल अब तपाईं आफैं भन्नुस्, आजभन्दा पाँच दशकअघि लेखिएको यो कविताले आजका कविले भन्ने कुरा भनिसकेको छ कि छैन ? यसैले देवकोटा देवकोटा हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.