उनले देखाएको यो समाज

‘म शून्यमा शून्यसरी बिलाएँ’ कविता

उनले देखाएको यो समाज

देवकोटाको प्रस्तुत कवितालाई अहिलेको बहुआयामिक सामाजिक समस्याको समाधानका लागि एक ओखतीको रूपमा लिन सकिँदैन र !

नेपाली काव्यधारा जन–मन उसका सिर्जना सिन्धु बग्छ 
हाम्रो साहित्य सारा अझ गुण गरिमायुक्त पार्छन् जीवन्त 
बाँच्नेछौ देवकोटा युग युगतक लौ काव्य सिज्र्यौ सुनौला 

तिम्रो जीवन्त स्रष्टा शिखरतिर सधैं भावले युक्त नौला।
व्यक्तिको चिन्तन उसको उमेर, शिक्षा, ज्ञान, अनुभव, सरसंगत आदिका आधारमा विकसनशील रहने गर्छ। देवकोटाको जीवनको अन्त्य समय अर्थात् पशुपतिमा मृत्युशय्यामा रहँदा देवकोटाको अन्तिम कविताका रूपमा परिचय पाएको ‘म शून्यमा शून्यसरी बिलाएँ’ कविता देवकोटाको चिन्तन, दर्शन र दृष्टिकोणको निचोडका रूपमा आएको देखिन्छ।

‘शाकुन्तल’ महाकाव्यमा महाकवि देवकोटा पूर्वीय सभ्यता, संस्कृति, धर्म तथा जीवनपद्धतिको मुक्तकण्ठले गान गर्छन्। वर्तमान समयमा मनुष्य जीवनमा आएको सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक, पर्यावरणीय दुष्प्रभावको कारक तŒव मान्छेको पाश्चात्य भौतिकवादी जीवनशैलीको प्रभाव हो भन्ने कविलाई लाग्छ। कवि प्राचीन सभ्यता, संस्कृति मन पराउँछन् र भारतवर्षीय सभ्यताको उषाकालीन प्रभातर्फ आफू आकर्षित बनेको कुरा शाकुन्तलका यी पंक्तिले स्पष्ट पार्छन्:
मीठो लाग्छ मलाई ता प्रिय कथा प्राचीन संसारको 
हाम्रो भारत वर्षको उदयको हैम प्रभासारको।

‘म शून्यमा शून्यसरी बिलाएँ’ कवितामा अध्यात्म: देवकोटाको जीवनको अन्तिम प्रहरमा आएको, उनमा अन्तिम सत्यको बोध हुन पुगेको र सांसारिक जीवन क्षणिक रहेको, मान्छे क्षणिक सुख एवं ऐश्वर्यमा भुलेर मानव जीवनलाई त्यसै खेर फालिरहेको जस्ता गम्भीर चिन्तन यस कवितामा प्रस्तुत गरेका छन्। जसमा उनी मानवजीवनको महŒवपूर्ण उपलब्धि उसको शाश्वत, अमृत, बोधस्वरूप, ज्ञानस्वरूप अर्थात् सच्चिदानन्द स्वरूपलाई चिन्ने र साक्षात्कार गर्ने अवसरबाट वञ्चित हुन पुगेको पश्चातापयुक्त अभिव्यक्ति छ।

कविले मान्छेले जीवनलाई शारीरिक वा इन्द्रीयजन्य सुखको रूपमा लिँदा जीवनको अन्तिम उपलब्धिका रूपमा हात लाग्यो शून्य उपलब्धि भएको भाव व्यक्त गरेका छन्। मान्छेले आफ्नो आविनाशित्व स्वरूपलाई नजानेर नाशवान् शरीरलाई नै म ठान्न पुग्दा मान्छे राम्रो लाउने, मीठो खाने, मनमुखी भएर इन्द्रिय सुखमा भुल्न पुगेको र उज्यालोको खोजी गर्ने अवसरबाट टाढा भएको, आफ्नो सच्चिदानन्द स्वरूपको बोध गर्ने अवसरका रूपमा आएको मानव जीवन नै उपलब्धिहीन हुन पुगेको अधिकांश मान्छेको जीवनबोधलाई कवितामा यसरी प्रस्तुत गरिएको छ:  
संसाररूपी सुख स्वर्गभित्र 
रमें रमाएँ लिई भित्र चित्र।
सारा भयो त्यो मरुभूमि तुल्य,
रातै परे झैं अब बुझ्छु बल्ल।

आस्तिक जीवन दर्शनले स्वर्गीय सुख वा स्वर्गलाई पनि क्षणिक मान्छ। त्यहाँ पनि नित्य आनन्द उपलब्धि नहुने कुरा व्याख्या गर्छ। सांसारिक सुख र स्वर्गको सुख उस्तै रहेको हुँदा संसारलाई देवकोटाले स्वर्गको रूपमा अथ्र्याएका छन् कवितामा। सांसारिक सुख, उपलब्धि, ऐश्वर्य भनेको यो शरीर रहँदासम्मका लागि मात्रै हो। उक्त उपलब्धिलाई मान्छेको शरीरको अवसानपछिको जीवनयात्राका लागि पृष्ठिभूमि बनाउन सकेन भने सो ऐश्वर्यको कुनै अर्थ नरहने कुरा जीवनको अन्तिम क्षणमा आएमा मात्र बुझेको कुरा देवकोटाद्वारा प्रस्तुत कवितामा व्याख्या गरिएको छ।

शारीरिक मनमुखी हुनु दुःखको बाटो हो भन्ने ठान्छ आस्तिकताले। तर ज्ञानको अभावमा मान्छे मनोसुलभ सुख–सुविधा, सम्पन्नता र मोजमा रमाउँदै मान्छे जीवनको सान्ध्यप्रहरमा पुग्छ। यस बेलासम्ममा उसले जीवनमा प्राप्त गर्नुपर्ने कुरा बोध गर्न नै पाउँदैन। तर जुन कुरा ज्ञान र बोध गर्नुपर्ने हो सो हासिल गर्ने शारीरिक–मानसिक आँट, बल, सामथ्र्य र तन्दुरुस्ती गुमाइसक्ने भएकाले पछुतो गर्नुभन्दा अरू कुनै उपाय नभएको कुरा जीवनमा सबैले भोगेको सत्य हो। देवकोटाले पनि यही सत्यलाई यस कवितामा अभिव्यक्त गरेका छन्। भौतिक जीवनको अन्त्य निशा समान हुने कुरा बालकृष्ण समले समेत उल्लेख गरेकै छन्– ज्ञान मर्दछ हाँसेर रोई विज्ञान मर्दछ। 

नेपाली समाजका लागि सुसंस्कारित, संयमी, अनुशासित, नैतिक, जिम्मेवार एवं शालीन नागरिक आवश्यक भइसकेको छ। हामी आक्रोशको जीवन बाँचिरहेका छौं। सहनशीलताको सामथ्र्य हामीले गुमाइसक्यौं। लोभ, ईर्ष्या, क्रोधयुक्त संस्कारले यो समाज र राष्ट्रलाई कहाँ पुर्‍याउला?

भौतिक सम्पन्नतालाई आत्मिक उन्नतिको भर्‍याङ बनाएमा नै भौतिक उपलब्धिको वास्तविक उपयोग हुन सक्ने नत्र धन, दौलत, सुखसुविधा केवल बन्धनको कारक मात्र बन्न जाने यथार्थ यस कविताको सार हो। भौतिकता अन्धकारको जग नबनोस्, परन्तु उज्यालो वा ऊध्र्वगतिको आधार बन्न सकोस्। अन्धकारको ज्ञान आउन पनि जीवनको अन्तिम क्षण नै पर्खिनुपर्ने तीतो यथार्थ पनि यो कविताको विषयवस्तु हुँदै हो। जीवनको सार भनेको त हरेक मान्छेको हृदयलाई घर बनाएर साक्षीको रूपमा बस्ने आत्मा र आत्मालाई घर बनाएर बस्ने परमात्माको अंशलाई जानेर सोलाई साक्षात्कार गर्नुमा रहेछ।

अन्तर्यामीका रूपमा रहने तŒव जसलाई ईश्वर, परमात्मा, भगवान् आदि जे नाम दिए पनि तत्व यौटै हो लाई प्राप्त गर्नु हो या यस जीवनमा प्राप्त नगरे पनि उसको निकटतर्फ जानु हो। हामीले राम, कृष्ण, नारायण, हरि, गोविन्द, माधव वा अरू हजारौं जे नाम दिइएको छ, त्यसलाई साक्षात्कार गर्नु हो। यस आध्यात्मिक सत्यलाई बोध गर्नको अवसरबाट आफू वञ्चित बनेको कुरा कवितामा यसरी अभिव्यक्ति भएको छ ः ‘आखिर श्रीकृष्ण रहेछ एक, न भक्ति भो, ज्ञान, न भो विवेक।’
आफू पाश्चात्य प्रभावबाट प्रभावित भएको र आफ्नो अस्तिŒव गुमाउन पुगेकोमा पश्चाताप गरिरहेको भाव अभिव्यक्त छ। आफ्नो सनातन संस्कार नचिनेर पाश्चात्य प्रभावमा पर्न पुग्दा स्वसंस्कार गुमाउन पुगको जसले आफू पूरै समाप्त बन्न पुगेको कविको अनुभव यस प्रकारको रहेको छ:
संस्कार आफ्नो सब नै गुमाएँ,
म शून्यमा शून्य सरी बिलाएँ।
जन्मेँ म यो स्वर्गविषे पलाएँ,
आखिर भै खाक त्यसै बिलाएँ।।

निष्कर्ष : अहिले नेपाली समाजका लागि सुसंस्कारित, संयमी, अनुशासित, नैतिक, जिम्मेवार एवं शालीन नागरिक आवश्यक भइसकेको छ। हामी आक्रोशको जीवन बाँचिरहेका छौं। सहनशीलताको सामथ्र्य हामीले गुमाइसक्यौं। लोभ, ईष्र्या, क्रोधयुक्त संस्कारले यो समाज र राष्ट्रलाई कहाँ पुर्‍याउला ? समाजलाई शालीन र जिम्मेवार बनाउन नयाँ पुस्तामा आध्यात्मिक, नैतिक एवं स्वव्यवस्थापनको ज्ञान अपरिहार्य भइसकेको छ। यसका लागि हामीलाई हाम्रा ऋषिमुनिहरूले दिनुभएको आत्मसंयम र अनुशासित बन्ने शाश्वत ज्ञान पाठ्यक्रम तथा पाठ्यपुस्तकमार्फत प्रवाह गर्न ढिला भइसकेको छ।

मनुष्य जीवनको कर्तव्य के हो, उसको गन्तव्य के हो ? कर्म र कर्मफलको सिद्धान्त नबुझेसम्म मान्छे लोभी र स्वार्थी भइरहने सत्य हो। मान्छेले किन पछुताउनु पर्छ ? देवकोटा सामान्य मान्छे नभएर दिव्य चेतना, अप्रतीम प्रतिभा हुन्। उसको दिव्य चेतनाले मान्छेको जीवनको गन्तव्य नपहिल्याएको भनेर पत्याउन गाह्रै पर्दछ। उनले त जीवनको अन्त्य क्षणमा पछुताउनु पर्‍यो। जसरी अर्जुनलाई माध्यम बनाएर भगवान् कृष्णले गीतादर्शन प्रस्तुत गर्नुभएको छ, यो केवल अर्जुनका लागि नभएर हाम्रा लागि प्रस्तुत भएको हो। देवकोटाको प्रस्तुत कवितालाई अहिलेको बहुआयामिक सामाजिक समस्याको समाधानको लागि एक ओखतीको रूपमा लिन सकिँदैन र !


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.