घरदेशका गीत परदेशमा
सांस्कृतिक धरातल नछोडी देववाणीमा उल्लेखित संस्कृतका शब्दहरू पनि समेटी देउडागीतलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनुलाई सामान्य रूपमा लिन हुन्न।
देउडागीत माया र प्रेमका मात्र मसला होइनन्। देउडागीत कल्पनाका कसौडी पनि होइनन् जहाँ दालभात तरकारी पाक्छ। यी गीतले त देशको भौगोलिक अवस्था, सामाजिक परिवेश, सांस्कृतिक सन्देश बोकेका हुन्छन्।
कहिलेकाहीँ राजनीतिक घोचपेच पनि चल्छ, जसले मनोरञ्जन पनि दिलाउँछ। विशेषगरी संस्कृति समेटेकाले देउडागीतमा इतिहास लुकेको हुन्छ। संस्कृति र इतिहास बुझेका गायक, संकलक देउडा गीति क्षेत्रमा हुनु जरुरी छ। देउडागीतमा संस्कृतका शब्दहरू प्रशस्त भेटिन्छन्। त्यसैले पनि देउडा गीति साधकले थोरै मात्रामा भए पनि संस्कृत भाषा बुझेको भएमा सुनमा सुगन्ध आउँछ।
यसका लागि कर्म गर्दै जानुपर्छ भनेर श्रीमद्भागवत गीतामा नियमित रूपमा कर्म गर भन्नु भएको छ श्रीकृष्णले– ‘कुनै पनि शुभ कर्म गर्दै जाऊ, असल कर्म कहिल्यै पनि अकर्म बन्दैनन्। शरीर चलाउन, अकर्मलाई पनि कर्म सम्झेर गर्दै जानुपर्छ।’ देउडा संस्कृतिमा पनि यिनै कुरा लागू हुन्छन्। नियमित रूपमा नयाँ र पुराना भाका संकलन गर, गीतलाई इमान्दार भएर कण्ठमा राख, भाषा र संस्कृतिको लगातार सेवा गर्दै जाऊ आदि। विगत ५० वर्षदेखि कालीकर्णालीको संस्कृति, शैली र भाषाको सेवा देउडा गीति माध्यमले गर्दै जाँदा अब त्यो क्षेत्रमा मात्र देउडा संस्कृति सीमित रहेन।
रेडियो नेपालको आधुनिक यन्त्रमार्फत हजारौं श्रोतासामु उपस्थिति जनायो २०३४ कात्तिक १४ गते। देउडागीतमा संगीत संयोजन गरी त्यसबेला वरिष्ठ संगीतकार रत्न बेहोसीले ठूलो गुन लगाउनु भएको थियो र दामोदर अधिकारीले पनि सहयोग गर्नुभयो। क्रमिक रूपमा देउडा संगीतको विकास हुँदै जाँदा २०४२ देखि २०५७ सालसम्म देउडागीतका मौलिक भाकामा आधारित २० थरी गीति क्यासेट उत्पादन भए। मुलुकभर गुञ्जिए। यसैगरी, राजधानीको टुँडिखेललगायतका खुल्ला ठाउँमा देउडा खेल्नु र गीति शब्दलाई माटोमा बीजारोपण गर्नुलाई गीत र संस्कृतिको गति फैलिएको मान्न सकिन्छ।
ढुंगा हानु पुग्दाइनप अल्की रुख गुना
दुःखछन् परदेशी साइखी घरका भन्दा दुना।
घरदेशका गीतहरू परदेशमा पुगे। कामको खोजीमा परदेसिएका युवायुवतीले घरकी सौराई मेटाउन कामबाट कोठामा फर्कंदा गीत गुनगुनाउँये। गीतका शब्दशब्दले उनीहरूलाई सपनामा झस्काउने गथ्र्यो। एउटा परदेशीले यौवनावस्थमा मातापिता र परिवार छाडेर अरूको देशको कडा नियमको पालना गर्दा उसको साथी केवल देउडागीत मात्र हुने गथ्र्यो। भावनाका अविरल धारामा नुहाउने परदेशीको दोहोरो भूमिकाको महसुस हुँदै गयो। एउटा कामप्रतिको जिम्मेवारी, अर्को संस्कृतिप्रतिको मोह। नेपालमा आमाबुवाको लाडप्यारमा हुर्केका केटाकेटीले गीति सन्देशबाट मन
बुझाउँदै कठोर मेहनत गरी परदेशमा टिक्न सक्नु बाहेक दोस्रो विकल्प थिएन।
अमेरिका, बेलायत जापान, कोरिया, अस्ट्रेलिया, मलेसियालगायतका मुलुकमा नेपाली युवा काम र अध्ययनको खोजीमा दिनप्रतिदिन जाने क्रम बढ्दै गयो। संगठित बन्नका लागि आआफ्नो समूह तयार पारे। संस्कृतिमा रमाए, स्वदेशका कलाकार बोलाउने कार्य पनि प्रत्येक वर्ष बढ्दै गयो। संस्कृतिले समूहलाई जोड्ने काम गर्छ भनेको यही हो। यसरी संस्कृतिमा जोडिने बेलाबखत आपसमा देखापर्ने, समस्या समाधानका लागि समुदायको महŒवपूर्ण भूमिका दिनप्रतिदिन बढ्दै गयो। अहिले माथि उल्लखित मुलुकमा बस्ने नेपाली समुदायका आआफ्ना समूहहरू परदेशी
भूमिमा दर्ता भएका देखिन्छन्।
गत भदौ महिनामा बेलायतमा नेपाली मेलाको र सुदूरपश्चिम समाजले देउडा गीति कार्यक्रमको आयोजना गर्नुलाई पछिल्लो उदाहरण मान्न सकिन्छ। स्कटल्यान्डमा केही दिन पहिले मात्र पंक्तिकारको संयोजकत्वमा सुदूरपश्चिमी समाजको स्थापनार्थ आपसिक भेटघाट र छलफल भएको थियो। केही साथी जम्मा भएर कोठामा नै देउडागीति कार्यक्रमको आयोजना गर्नु आफैंमा अर्थपूर्ण रह्यो। बझाङका बासुुदेव र शर्मिला उपाध्याय, बैतडीका जय र नीलम धामी, दार्चुलाका रुद्रबहादुर बमलगायतले पंक्तिकारसँग देउडा खेलेर घरको सम्झना मेटे। यसभन्दा अघि अमेरिका न्युयोर्क, मेरिल्यान्ड, न्युजर्सी, वासिङ्टन डीसीमा देउडा खेलको रौनक अविस्मरणीय रह्यो। सुदूरपश्चिम समाजको सांस्कृतिक सभामा मात्र होइन, न्युयोर्कमा वनभोज कार्यक्रमको भव्य समारोहमा सयौं मानिसको उपस्थितिमा देउडा खेल्नु देउडागीत गाउनुलाई सामान्य कार्यक्रमका रूपमा लिन सकिँदैन। सुदूरपश्चिम समाजका अध्यक्ष दानसिंह विष्ट, उपाध्यक्ष रैमान महरा, किशोर पन्त, पूर्वअध्यक्ष गणेश विष्टलगायतका संस्कृतिकर्मीको देउडा खेलले नयाँ रूप लिएको थियो।
अमेरिकाको न्युयोर्कमा कवि किशनसिंह धामी र सकुन ज्ञवाली यसैगरी नेपाल सरकारका पूर्व राष्ट्रसेवक उमाशंकर जोशी र प्रताप गुर्धार्मी (बझाङ) लगायतका व्यक्तिका कारण अब देउडागीत अन्तर्राष्ट्रिय संगीतमा परिणत भयो। मेरिल्यान्ड राज्यका प्रदेश सांसद जो नेपाली मूलका प्रथम प्रतिनिधि बन्ने शौभाग्य पाएका छन्– ह्यारी भण्डारीले त देउडा गायनको विकासक्रम र यो संस्कृतिबारे थप अनुसन्धान गर्नेछु भन्दै थिए। राष्ट्रपति भवन ह्वाइट हाउस अगाडि देउडा खेल्दा र गीत गाउँदा एसिया तथा प्रशान्त क्षेत्रबाट दोभाषे कामको जिम्मेवारी पाएका बैतडीका तीर्थराज पाण्डे भन्दै थिए– देउडा संगीतजस्तो मार्मिक संस्कृति अरू संस्कृति छैन। ह्वाइट हाउसको प्रांगणमा देउडा खेल्न पाउनु त कमै भाग्यमानीले मात्र पाउँछन्।
बल्ल लैझा सेरी मेलैका मैलणो लैझा
तेरा मुख हेरी साउको ऋणकाटिन्या हो कि ?
न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको भवनभित्र देउडागीत गाउन पाउनु आफैंमा देउडागीत संगीतको इतिहासमा ज्यादै ठूलो अवसर हो। मेरिल्यान्डको संसद् भवन र प्रांगणमा तीर्थराज पाण्डे र पंक्तिकारले गीत गाउन पाउनुलाई पनि सामान्य विषय मानिँदैन। बेलायतस्थित नेपाली राजदूतावासमा देउडा खेल्नु, गीत गाउनु र त्यहाँका संस्कृतिकर्मीलाई गीतमा नचाउनुलाई अर्थपूर्ण रूपमा हेर्न सकिन्छ। तत्कालीन राजदूत चन्द्रकुमार घिमिरेले यो चित्रलाई सजीव रूपमा राजदूतावासको सांस्कृतिक इतिहासमा लेखिने र अभिलेखीकरण गरिने बताएका थिए। नेपाल पत्रकार महासंघ यूकेको कार्यक्रममा देउडागीत प्रस्तुत गर्नुलाई नेपाल पत्रकार महासंघका सभापति निर्मला शर्माले विशेष रूपमा लिएकी छु बताइन्। स्कटल्यान्डमा बेलायती महारानी एलिजावेथको एड्रिन कास्टल दरबार अगाडिको ऐतिहासिक स्थलमा देउडागीत गाउनुलाई इतिहाससँग जोडिएको पक्ष र संस्कृतियुक्त गीतसंगीतका रूपमा हेर्न सकिन्छ।
बैतडीका पल्ला कुना गिर खेल्न्या गणो
साई होइझाऊ पालौरी साग मै उडन्या चणो।
अब देउडागीतले अविश्रान्त रूपमा अन्तर्राष्ट्रिय रूप लिइसक्यो भन्न सकिन्छ। मीठो स्वर भएकाले गीत गाउनु ठूलो कुरो होइन, सुविधा सम्पन्न जमानामा आधुनिक शैलीका बाजा समावेश गरी उफार्ने किसिमका गीत गाउनुलाई पनि ठूलो विषय मानिँदैन। अरूका गीतहरू बांगोटिंगो गरी शैलीबद्ध गरेर नक्कली रूप दिनु पनि नौलो विषय मानिँदैन। सांस्कृतिक धरातल नछोडी देववाणीमा उल्लेखित संस्कृतका शब्दहरू पनि समेटी देउडागीतलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनुलाई सामान्य रूपमा लिन हुन्न।
प्रतिक्रिया दिनुहोस !