अभियानमा क्यान्सरका कथा
अंग्रेजी नयाँ वर्ष २०२६ को पहिलो दिनदेखि एउटा अनुकरणीय कामका लागि महत्वपूर्ण अभियान थालिँदैछ– १८ सय किलोमिटर लामो मध्यपहाडी लोकमार्गको यात्रा, त्यो पनि साइक्लिङ गर्दै। अझ त्यसमाथि दुईजना साइक्लिस्ट त क्यान्सर विजेता नै। हो, साइकल कल्चर कम्युनिटीले धुलिखेल अस्पतालसँगको सहकार्यमा पूर्व–पश्चिम मध्यपहाडी लोकमार्ग साइकलयात्रा आयोजना भएको छ।
सन् २०२६ जनवरी १ मा चिवाभन्ज्याङ, पाँचथरबाट सुरु भई उक्त साइक्लिङ अभियान झुलाघाट, बैतडीमा पुगेर अन्त्य हुनेछ। लगभग एक महिना लाग्नेछ, यस अभियानका लागि। यसक्रममा मध्यपहाडी लोकमार्ग अन्तर्गतका थर्पु, फिदिम, संक्रान्तिबजार, म्याङलुङ, लेगुवाघाट, भोजपुर, दोर्पाचिउरीडाँडा, हलेसी, घुर्मी, लुभुघाट, मेलम्ची, विदुर, आरुघाट, सुन्दरबजार, पोखरा, अछतिखोला पुल, बुर्तिवाङ, रुकुमकोट, चौरजहारी, भगवतीमाई, जम्भुकाढ, मंगलसेन, साजघाट, अमरगढी, पाटन हुँदै झुलाघाटमा बिट मार्नेछ, यस अभियानले।
भलै यस साइक्लिङ यात्राको दौरान मोटामोटी १८ सय किमि दूरी पार गरिने भए पनि कुल ५२ हजार मिटर उचाइ समेटिनेछ। माथि उल्लेख गरिए झैं यस अभियानमा त्रिभुवन विश्वविद्यालयका प्रा.डा. तारालाल श्रेष्ठ र धुलिखेल अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. विकास पराजुलीका साथै क्यान्सर विजेताहरू हर्क लामा र कविता चित्रकारले पनि पूरा साइक्लिङ गर्नेछन्। र, क्यान्सर चेतना कार्यक्रम एवं मेडिकल टोलीको छुट्टै टोली साथसाथै हुनेछ। यस साइकल यात्राको नेतृत्व क्यान्सर विजेता एवं सिद्धहस्त साइक्लिस्ट हर्क लामाले गर्नेछन्।
सन् २०२० मा हर्कलाई पिसाब थैलीमा क्यान्सर देखिएपछि धुलिखेल अस्पतालमा उपचार गरिएको थियो। क्यान्सर उपचारपश्चात् उनले साइक्लिङलाई पहिले झैं सक्रियता दिई विभिन्न साइक्लिङ प्रतियोगिता जित्दै पनि आएका छन्। अन्तर्राष्ट्रिय साइक्लिङ प्रतियोगितामा पनि सहभागी जनाइरहने हर्क नेपालका उच्च हिमाली भू–भागमा साइक्लिङ गर्ने साइक्लिङ एथ्लेटमध्ये अब्बल व्यक्तिका रुपमा चिनिन्छन्। उनले केही महिनाअघि मात्र अफ्रिकामा आयोजित संसारकै सबैभन्दा विशाल साइकल प्रतियोगिता ‘क्याप इपिक’मा सहभागिता जनाए। अनि नेपालमा बर्सेनिजसो आयोजना हुँदै आएको विश्व माउन्टेन साइक्लिस्टमाझ निकै प्रख्यात ‘याक एट्याक’मा पनि नियमित सहभागिता जनाउँदै आएका छन्।
हर्क लामाजस्तै यस साइक्लिङ अभियानकी अर्को क्यान्सर विजेता साइक्लिस्ट हुनेछिन्– कविता चित्रकार। कुनै समय प्राणघातक मानिने क्यान्सर अर्थात् अर्बुद रोग चिकित्सा विज्ञानमा भइआएका एकपछि अर्को आविष्कार एवं उन्नतिका कारण अहिले धेरै थरी क्यान्सर उपचारयोग्य भइसकेका छन्। तर पनि नेपालजस्तो विकासशील राष्ट्रमा सीमित स्रोतसाधन एवं दक्ष जनशक्तिको अपर्याप्तताका कारण क्यान्सर प्रभावित व्यक्तिहरू ढुक्क भइहाल्ने अवस्था छैन।
विद्यमान यस्तो परिस्थितिमा कुनै पनि व्यक्तिमा क्यान्सर निदान (डायग्नोसिस) भएदेखि क्यान्सरसँगै मानसिक तनाव, डिप्रेसन, आघातले सताउने गरेको छ। जसले गर्दा क्यान्सर उपचारपूर्व वा रेडियो, केमो एवं शल्यक्रिया उपचारपछि मानसिक बल सही अवस्थामा रहन गाह्रो साह्रो नै हुन्छ। तर यस वास्तविकताबाट पृथक् रहिन् वा पृथक् साबित भइन्– कविता चित्रकार। उनी क्यान्सर विजेता त भइन् नै, त्यसमाथि क्यान्सर उपचारपछि पनि ऊर्जाशील भएर बाँच्न सकिन्छ र क्यान्सर उपचारपछिको जीवनमा एउटा लक्ष्य लिई अन्य सामान्य मानिस सरह अगाडि बढ्न सक्छ भन्ने उदाहरणका रूपमा प्रस्तुत भइरहेकी छन्।
हो, कविता चित्रकारलाई स्तन क्यान्सर लाग्यो, त्यो पनि तेस्रो चरणको। क्यान्सर उपचारबाट तंग्रिएपछि यसैलाई लिएर चिन्तित भई रहिनन्। साइक्लिङ जीवनमा आफूलाई सक्रिय बनाई बाँकी जीवन यसमै समर्पण गर्ने अठोट गरिन्। उनले पनि विश्वकै उच्चतम हिमाली भू–भागमा आयोजना गरिने ‘याक एट्याक’मा सहभागिता जनाइसकेकी छन्। नेपाली महिला साइकल अभियानकर्मीमाझ कविता एक नमुना साइक्लिस्टको रूपमा परिचित छिन्।
क्यान्सर लाग्नुअगावै आफ्नी आमा र दिदी दुवै क्यान्सरबाटै निधन भएको तीतो यथार्थ भोगिसकेकी कविताले आफूलाई पनि क्यान्सर भएको र उपल्लो स्टेजमा पुगेको वास्तविकता थाहा पाएपछि उनको मानसिक अवस्था कस्तो भयो होला ? सहजै अनुमान गर्न सकिन्छ। तर उनले सबै संघर्ष सामना गरिन्। उपचारपछि साइक्लिङलाई जीवनशैली बनाएपछि उनमा आएको सकारात्मक परिवर्तन देखेर उनको उपचारमा संलग्न चिकित्सक नै छक्क परेका छन्। तिनै कविता चित्रकार महिला भइकन, क्यान्सर विजेता भइकन विश्वभरका महिलामाझ नवीनतम उदाहरण बन्न एक महिना लामो मध्यपहाडी लोकमार्ग अभियानमा संलग्न हुँदैछिन्। र, यसै अभियानमार्पmत पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर विषयक स्वास्थ्य चेतना कार्यक्रममा आफ्नो कथाव्यथा सुनाउँदै जान तत्पर हुनेछिन्।
हो, यस एकमहिने पूर्वीनाका (चिवाभन्ज्याङ)देखि पश्चिम नाका (झुलाघाट) सम्मको साइक्लिङ अभियान दौरान ठाउँठाउँमा क्यान्सर रोकथामसम्बन्धी जनचेतना कार्यक्रमको आयोजना पनि गरिँदै जाने योजना छ। र, कतिपय ठाउँमा स्वास्थ्य जाँच कार्यक्रम पनि सञ्चालन गर्ने लक्ष्य छ। यसै सिलसिलामा आज काठमाडौंमा प्रभातफेरि स्वरूप साइकल र्यालीपछि भृकुटीमण्डपमा सांगीतिक शुभकामना कार्यक्रमको आयोजना हुँदैछ। यस अभियान दौरान मेचीदेखि महाकालीसम्मका साइकलप्रेमी तथा सहयोगी मनहरू भौतिक, आर्थिक वा मानसिक तवरमा जोडिन सक्नेछन्। स्थानीय संघसंस्था एवं स्थानीय वा प्रादेशिक सरकारले आ–आफ्नो क्षेत्रबाट साइक्लिङ अभियान टोलीलाई विविध कार्यक्रमको आयोजनासहित यस यात्रालाई सहयोग गर्न सक्नेछन्।
सन् २०२२ को तथ्यांकलाई आधार मान्ने हो भने पनि नेपालमा बर्सेनि २२ हजार नयाँ क्यान्सर रोगी थपिन्छन् भने करिब १५ हजार क्यान्सर प्रभावितको सालैपिच्छे क्यान्सरबाट मृत्यु हुने गरेको छ। फोक्सोको क्यान्सर, मुखको क्यान्सर र पाठेघरको मुखको क्यान्सर नेपालीहरूमा अधिकतर हुने क्यान्सर हुन्। तर नेपालीहरूमाझ फोक्सो, आमाशय, पित्तथैली, स्तन र पाठेघरको मुखको क्यान्सर तुलनात्मक रूपमा प्राणघातक साबित हुँदै आएको छ। एकातिर, अस्वस्थ्य जीवनशैली, खानपिन शैली र खराब आनीबानीकै कारण धेरैजसो क्यान्सर लाग्ने गरेको वास्तविकता छ भने अर्कोतिर अधिकांश क्यान्सर रोकथाम वा उपचारयोग्य भइकन पनि स्वास्थ्यमा पहुँचको कमी वा नियमित स्वास्थ्यजाँचमा गरिने अल्छीपनाकै कारण क्यान्सर प्रभावितहरूको संख्या दिनानुदिन बढ्दो छ। पछिल्लो समय तीन तहका सरकारले थोरै भए पनि आर्थिक सहयोग दिइँदै आएको भए पनि अधिकतर क्यान्सर प्रभावित नेपालीहरू आर्थिक अवस्थाकै कारण आवश्यक उपचार गराउन र क्यान्सरबाट तंग्रिन समस्या भइरहेको छ।
यस साइक्लिङ अभियानले स्वास्थ्य क्षेत्रका चार क्षेत्रहरू (रोकथाम, प्रवद्र्धनात्मक, उपचारात्मक र पुनस्र्थापनात्मक) मा धेरथोर सहयोग पुर्याउनेछ। क्यान्सर विषयमा क्यान्सर विजेता नै संलग्न भएको यस अभियानमा क्यान्सर उपचार अहोरात्र खटिँदै आएका चिकित्सकहरू नै सहभागी भएको, प्राध्यापनमार्फत यस विषयमा प्रत्यक्ष, अप्रत्यक्ष चेतना पैmलाउँदै आएका प्राध्यापकहरू नै समेटिएको यो विश्वकै पृथक् एवं विरलै घटना हुनुपर्छ। यो अभियान साहसिक त छ नै, कीर्तिमानको हिसाबले पनि संसारमै पहिलो होला।
यस साइक्लिङ अभियानलाई किन अनुकरणीय मानिएको हो भने यस अभियानको क्रममा व्यक्तिगत वा संस्थागत रूपमा मुठ्ठीदान, दान, चन्दा एवं सहयोगको मार्पmत संकलित रकम धुलिखेल अस्पताललाई हस्तान्तरण गरिनेछ। उक्त रकम त्यस अस्पतालमा उपचार गराउन आउने क्यान्सर प्रभावितहरूका लागि उपयोग गरिनेछ। विश्वभर नै यस्तो सम्भवतः पहिलो एवं विरल घटना हुनसक्छ। संकलित रकम हस्तान्तरण आगामी विश्व क्यान्सर दिवसको दिन गरिनेछ। त्यसो त फेब्रुअरी ४ विश्व क्यान्सर दिवस हो, केही वर्षदेखि अन्नपूर्ण मिडिया नेटवर्कले त यसलाई अर्थपूर्ण तरिकाले उत्सवको रूपमा मनाउँदै आएको घटना यहाँ स्मरणीय छ नै।
प्रतिक्रिया दिनुहोस !