‘सभा भोज’को संस्कृति

मधेसको रीतिथिती

‘सभा भोज’को संस्कृति

मधेसमा सभाको भोज केवल भोजन होइन, संस्कार, संस्कृति र सामाजिक सम्बन्धको एउटा जीवित दस्तावेज हो। आँखाले भ्याएसम्म एकैचोटि हजारौं मानिसहरू पलेँटी कसेर खाने, चिनजान नहुनेले पनि सँगै थाल थाप्ने र वर्षौंपछि भेटिएका इष्टमित्रसँग भावुक भेटघाट गर्ने यो संस्कृति अब क्रमश :  फेरिँदै गएको छ।

असोजमा महोत्तरीको बर्दिबास नगरपालिका—१३ बिजलपुराका सामाजिक अगुवा स्वर्गीय हीरालाल महतोको १३औं पुण्यतिथिको अवसरमा सभाको भोज आयोजना गरिएको थियो। बर्दिबास क्षेत्रमा आयोजना गरिएको उक्त भोज स्वर्गीय महतोका छोराहरू विश्वलाल सिंह र राजकरण सिंहले आयोजना गरेका थिए। परम्परागत शैलीमै सम्पन्न यो भोज सम्पन्न भएको थियो। जसले मधेसको सभाको संस्कृतिको स्मरण गरायो। बदलिँदो अवस्थाको संकेत पनि गरायो।

null

निष्ठा र प्रतिष्ठाको प्रश्न  :  मधेसमा सभाको भोज गर्नुलाई सामाजिक रूपमा प्रतिष्ठाको विषय मानिन्छ। जो–कोही परिवारले सहजै सभाको भोज गर्न सक्दैन। लाखौं रुपैयाँ खर्च हुन्छ। सयौंदेखि हजारौंलाई भोजन गराउने सबैसँग क्षमता हुँदैन। भोजको व्यवस्थापन गर्न ठूलै सामथ्र्य चाहिन्छ। सभाको भोज सम्पन्नता मात्र होइन, सामाजिक उत्तरदायित्वको पनि सूचक मानिन्छ। सभाको भोज व्यवस्थानमा खटिँदै आएका बिजलपुराका ८२ वर्षीय हरदेव महतो भन्छन्, ‘सभाको भोजमा खानमात्रै होइन, हेर्न पनि मान्छे आउँछ। इष्टमित्र भेटिन्छ। चिनजान हुन्छ, रमाइलो हुन्छ। जहाँ समाजको कुरा हुन्छ।’

सभाको भोजका लागि ठूलो खुला ठाउँ आवश्यक पर्छ। खाली खेत, खरियान, दरबज्जा वा सामूहिक दलानमा यो भोज खुवाइन्छ। दिउँसो १ देखि ५ बजेसम्म भोज खान ठूलै भिड हुन्छ। पक्की (पुरी, जलेबी, मिठाई) र दाल–भात–तरकारी गरी दुई प्रकारको भोजन हुन्छ। सभाको भोज प्राय :  कुनै परिवारमा कोही स्वर्गबास भएपछि आयोजना गरिन्थ्यो। परिवारले आफ्नै क्षमताअनुसार भोज गर्छन्। गाउँका माइजन र भद्रभलादमीसँग सल्लाह गरेर ठूलो तयारी गरेर भोज आयोजना हुन्छ। भोज आयोजना गर्न कसैको जबर्जस्ती गरिँदैन। पहिला गरिब परिवारलाई कर लगाएर भोज गराउने चलन थियो, जसका कारण जग्गा बेच्नेसम्मको अवस्था आउँथ्यो। अहिले त्यो बाध्यता हटेको छ। बुवाको स्वर्गवास हुँदा गाउँ समाजले विश्वलाललाई सल्लाह दिएका थिए, ‘भोज नगरौं, बरु सामाजिक काम गरौं।’

null

समाज जोड्ने मञ्च  :  प्रोफेसर सन्त सत्यनारायण आलोकका अनुसार सभाको भोज समाज जोड्ने एउटा इन्द्रेणी थियो।
‘पहिला अहिले जस्तो मञ्च, सञ्चारमाध्यम र प्रविधि थिएन। सभाको भोजमै गाउँगाउँका मानिस भेटिन्थे, विचार आदानप्रदान हुन्थ्यो। चोरडाँकाबाट जोगिन चिनजान बढाइन्थ्यो। डाक्टर नभएकाले उपचारका उपायहरू पनि सभामै छलफल हुन्थ्यो’, उनी सम्झन्छन्। त्यतिबेला मिठो भोजन दैनिक जीवनको हिस्सा थिएन। बासमती चामलको भात, रहरको दाल, तरुवा–तरकारी र मिठाई सभाको भोजमा मात्र खान पाइन्थ्यो। साथै, सभाकै बैठार (छलफल)मा विवाह योग्य उमेर पुगेकाहरूको लगनगाँठोबारे छलफल हुने चलन पनि थियो।

null

समयसँगै फेरिँदै संस्कृति  :  आजको समयमा सभाको भोज आयोजना गर्ने अवस्था फेरिएको छ। युवा पुस्ता वैदेशिक रोजगारी, अध्ययन र रोजगारीका कारण गाउँबाट बाहिरिएको छ। भोजमा अब युवाभन्दा बालबालिकाको उपस्थिति बढी देखिन्छ। वृद्धहरू रोगका कारण सहभागी हुन सक्दैनन्।

‘पहिला जस्तो अब गाउँमा युवा उमेरका मान्छेहरू छैनन्, सभाको भोज व्यवस्थापन गर्न निकै कठिन हुन्छ’, प्रा. आलोक भन्छन्, ‘सहरीकरणले खुला स्थान मासिँदै गएका छन्। पानी पर्दा सडक जाम गरेर भोज खुवाउनुपर्ने बाध्यता छ।’ सार्वजनिक स्थलको अभावले सभाको भोज व्यवस्थापन झन् कठिन बन्दै गएको उनी बताउँछन्। यसै कारण विद्वान्हरू सरकार र समाजले सार्वजनिक स्थल निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउँछन्।

null

इतिहास र स्मृतिमा सभाको भोज  :  सभाको भोज दुई प्रकारका हुन्छन्, जातीय भित्र र बाह्रो वरण। संस्कृतिविद् डा. राजेन्द्र विमल भन्छन्, ‘१९५० सालतिर कांग्रेस नेता विमलेन्द्र निधिका हजुरबुवा स्व. राजेश्वर निधिको श्राद्धमा विशाल सभाको भोज आयोजना गरिएको थियो, जुन आज पनि समाजमा स्मरणीय छ’, उनी भन्छन्। उनका अनुसार, पहिला समाज भावनात्मक र खुला थियो। गाउँका सबैलाई सबैको अवस्था थाहा हुन्थ्यो। दु : ख–सुख साझा हुन्थ्यो। 
आज त्यो समाज कथाजस्तै हुँदै गएको छ। व्यक्तिवाद, सहरीकरण र प्रविधिले सम्बन्धहरू खुम्च्याएको छ।null

 

नयाँ पुस्ता, नयाँ अभ्यास  :  परिवर्तनसँगै समाजमा नयाँ अभ्यास पनि सुरु भएका छन्। पहिले भोजसँगै सामाजिक कामहरू पनि गरिन्थ्यो। पहिला आफन्तजनको सम्झनामा सार्वजनिक स्थानमा इनार, कुवा, मठ–मन्दिर बनाइन्थ्यो भने अहिले वृक्षरोपण, अक्षय कोष स्थापना, विद्यालय–कलेजमा सहयोग र सामाजिक प्रतिष्ठान गठनजस्ता कामहरू बढ्दै गएका छन्। सभाको भोजको स्वरूप फेरिँदै गए पनि यसको मूल भाव ‘समाजलाई जोड्ने संस्कार’ अझै जीवित छ। डा. विमल भन्छन्, ‘प्रश्न केवल यति हो  :  के हामी सभाको भोजलाई समयअनुकूल जोगाउन सक्छौं, कि यो केवल स्मृतिमा सीमित हुँदै जानेछ ?’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.