कर्णालीका यी पीडा वर्षौंसम्म सिंहदरबारले सुनेन। अहिले प्रान्तीय राजधानी सुर्खेतले बुझोस्, गीतमा कर्णालीवासी यिनै भाव पोख्ने गर्छन्।
नेपालको आदिम संस्कृति र सभ्यता बोकेको देउडा गीत संगीतले राजधानीमा प्रवेश पाएको ४९ वर्षपछि सुदूरपश्चिम र कर्णालीवासीले १५ गते विशेष खुसी व्यक्त गरे। यसो त वैशाख १ गते बिसुपर्व र भदौ महिनामा मनाइने गौरापर्वमा ३० वर्षदेखि निरन्तर यी प्रदेशका विशिष्ट राष्ट्रिय व्यक्तित्वसँग सयौं नरनारी देउडा खेलमा मोह गाँस्दै आएका छन्। देउडा समाज काठमाडौं प्रयासरत छ। बर्सेनि भदौमा राजधानीकै टुँडिखेलमा गौरापर्वमा देउडा खेलको रौनकले घरघरमा चर्चा कमाएको इतिहास जीवन्त छ। जसको श्रेय प्रशंसा संरक्षण समूहलाई जान्छ।
बझांगी समाज, बैतडी समाज, सुदूरपश्चिम विद्यार्थी समाजलगायत संघसंस्थाले पनि देउडा गीतसंगीतको श्रीवृद्धिका लागि समयसमयमा कार्यक्रम गर्दै आइरहेका छन्। संस्कृतिप्रतिको मोहमा सुदूरपश्चिमका नरनारीको विशेष रुचिलाई सामान्य रूपमा लिन सकिँदैन। केही वर्षदेखि कर्णाली प्रदेशका देउडा गीतसंगीतमा मोह भएका असंख्य संस्कृतिकर्मीको उत्साहपूर्ण सहभागिताले अझ योे क्षेत्रको विकासमा दरिलो कदम चालेको मान्न सकिन्छ। पुस १५ गते राजधानीमा दुईवटा देउडा
गीतसम्बन्धी भव्य कार्यक्रम सम्पन्न भए।
सुदूरपश्चिम कलाकार समाजले आयोजना गरेको सांस्कृतिक कार्यक्रम र देउडा खेलमा प्रमुख अतिथि बनेका सूचना तथा सञ्चारमन्त्री जगदीश खरेल आकर्षणका केन्द्र बने। सञ्चारकर्मीसमेत रहेका उनले हौसिएर त्यस क्षेत्रको पुरानो र लोकप्रिय गीत ‘झम्क्यो डालीमा’मा बिना संकोच डेढ कदम मिलाएर नरनारीको हात समातेर नाचे। मीठो गीत र संगीतको तालमा उनी नाचेको देखेर अञ्जु, जानकी, भागीरथी गिरी, अम्बिका भट्टलगायत उपस्थित सबैजना मैदानमा देउडा खेल्न ओर्लिए। प्रज्ञा प्रतिष्ठानको डबलीले सुदूरपश्चिमको आगनीको रूप लियो। जब मन्त्री खरेलको देउडा नाच र गायकको दमदार प्रस्तुति रह्यो, सबैजनालाई गीत र संगीतले ततायो। जमिन, जलस्रोत, जनजीवन, जनभावना
र देउडा गीतसंगीतले नै सुदूरपश्चिम बनेको हो भनी कालीकर्णाली प्रदेशको दिलैदेखि प्रशंसा गरे।
संस्कृति जीवनको ऐना हो, सभ्यताको मुहान हो अनि हो राष्ट्रको वास्तविक पहिचान। सुदूरपश्चिम कलाकार समाजका अध्यक्ष सुरेश बोहोरा, देउडा गायनका राम्रा कलाकार उमाशंकर जोशी, भानुभक्त जोशी, टेक बोगटी, सुनील नेपाली, शोभा थापा, निशा रावल, निरुता खत्री, गौरी भट्ट देउडा गायनको भविष्य बोकेका स्रष्टा हुन्। कुनै बेला देउडा गायनमा नारी आवाजका लागि चन्द्रकला शाह, जानकी भट्टराई, भारती उपाध्याय, प्रार्थना खनाल, बिमाकुमारी दुरा, स्व. इन्दिरा गुरुङ, लोचन भट्टराईलगायतका गायिकाको मद्दत लिनुपथ्र्यो। अहिले त्यस्तो छैन। काली कर्णाली भूमिले नरेन्द्रराज रेग्मी, भोजराज भट्ट, मोतीराज बम, राजेन्द्र शाह बीपी, भुवन दाहाल, प्रकाश थापाजस्ता स्रष्टाको देउडा गीत आवाजलाई साथ दिन डिक्रा वादी, हरिना सावद, संगीता शाह, लक्ष्मी आचार्यलगायत जन्माएको छ। यो गौरव र खुसी प्रत्येक सालको पुसको १५, बिसुपर्व, गौरापर्वमा झल्किन्छ। अझ देउडा खेल र गीतांगीको खुबी र पौरखको विवेचना र व्याख्या बेग्लै पाटो बनेको छ, देउडा गायनको शृंखलामा।
डोटीका दैजाँत राम्णी बान्नीकी चैतली
सुनमेरा भन्याका कुणा हेर मेरी पैतली
(लय झम्क्यो डालीमा )
भावार्थ– सुदूरपश्चिमका नौ वटै जिल्लामा प्रत्येक साल महिनापिच्छे भव्य मेला लाग्छ। जसमा डोटीको देईमाणु (कुनै बेला बैतडीलाई पनि डोटी राज्यमा गणना गरिन्थ्यो, जहाँ दसैंताका देवमाणुमा ठूलो मेला लाग्छ) र बझाङको बान्नीमाणुमा लाग्ने चैतली मेलामा भारी खेल मनाइन्छ। त्यसबेला पाइताला प्रधान देउडा खेल हेर्न र बूढापाकाको गीति अर्ती सुन्नलायक हुन्छ भनी गीतले बताउन खोजेको हो।
यसैगरी, अर्को प्राकृतिक सम्पदासम्बन्धी ऐतिहासिक गीतको पंक्ति यस्तो छ–
वारी ढुगाण पारी तलार माझौदा सेती छ
क्या राम्रो तलारको जियलो क्या राम्रो खेती छ।
ढुंगाण र तलारको माझ भाग भएर हिमनदी सेती बगेकी छन्। धान फल्ने उर्बर भूमि हो, तलार। धान फल्ने सम्म भागलाई सुदूर र कर्णालीमा जिउला भनिन्छ। गीति लयमा स्रष्टाले संगीतमा डुबेर गाएको यो गीत २०४८ वैशाखमा म्युजिक नेपालमा रेकर्ड गरिएको हो। जीवन्त रहेको यो मौलिक गीत र भाकाको संगीत संयोजन वरिष्ठ संगीतकार स्व. गणेश परियारले गरेका थिए। कठै ! देउडा गायन र देउडा संगीतका ती दिनहरू सम्झिँदा मुटु भक्कानिएर आउँछ। कति पीडादायी समय थियो तर जमाना इमान्दार थियो।
खुसीका दिन पनि थिए। बझाङ, बाजुराबाट २०४६ दसैं–तिहारताका देउडा गीतको पहिलो गीति क्यासेट बोरामा राखेर भरिया दाइसँगै बैतडीको पाटन र डडेलधुराको उग्रतारा मेलामा जाँदै गर्दा ढुंगाण भएर पैदल हिँड्नुपथ्र्यो। प्रकृतिले मोहित तुल्यायो। सेतीनदीको किनारामा वरपीपलको छहारीमा बसी संकलन र लय तयार पारिएको सिर्जना हो माथिको। अब ती दिन इतिहास बने। गीतहरू कालजयी बने, श्रोताका बने। मन्त्री माधव चौलागाईं जुम्लावासी हुन्। सानैदेखि देउडा गीतसंगीतमा विशेष अभिरुचि राख्ने उनी गत १५ पुस राजधानीको पर्यटन बोर्डमा प्रमुख अतिथिका रूपमा उपस्थित भएर कर्णाली प्रदेशको संस्कृति र सभ्यताको
उत्थानमा आफ्नो पनि भूमिका रहेको बताउँदै थिए।
कार्यक्रममा कर्णाली प्रदेशका हुम्ला, जुम्ला, मुगु, कालीकोट, दैलेख, जाजरकोट जिल्लाका सयौं संस्कृतिकर्मी र देउडा खेलाडीको उपस्थिति थियो। संस्थाका अध्यक्ष नेत्रराज शाही पनि देउडा गीतका आँसुकवि हुन्। कालीकोट घर भएका उनलाई कर्णालीमा देउडा सम्राट् पनि भन्ने गरिन्छ। देउडा संस्कृतिलाई फैलाउन उनी कहिले हुम्ला, जुम्ला कालीकोट पुगी देउडा खेलाउँछन् त कहिले काठमाडौंमा पुगी देउडा गीतसम्बन्धी विचार गोष्ठी आयोजना गर्छन्। त्यसदिन कर्णाली अञ्चलका सबैथरी गायक, गायिकाहरूलाई भेला गराएर गीति प्रस्तुतिका लागि मञ्च दिलाए।
आआफ्नो प्राचीन पोसाकमा देउडा खेलिरहेका देखिन्थ्ये। लक्ष्मी आचार्य, जशुदा आचार्य, छत्र शाही, हिरकला बीसी., शेरबहादुर बीसीलगायतका कलाकारसँग राजनीतिकर्मी बडो प्रेमपूर्वक देउडा खेलरहेका देखिन्थे। कर्णालीका महिलाले लगाउने छिटको गुन्यू (घाघर) कालो चोलो, उनको बख्खुमा कहिले निहुरेर, कहिले गीतको भाक्या (लय)मा उभिएर स्वरमा स्वर मिलाएर डेढीकदममा अनौठो पारामा देउडा खेलिरहेको दृश्य रोचक थियो।
कर्णाली अञ्चलमा मान्छेलाई मान्ठ भनिन्छ। दुःखी मान्ठ पहाडमा बसे, सुखी मान्ठ र मन्तरी (मन्त्री) काठमाडौंमा पसे। गीतमा उनीहरूको गुनासो थियो। देशप्रतिको मोह जति गाढा देखिन्थ्यो, गीत भेषभूषाप्रतिको मोह लेखी नसक्नुको देखिन्थ्यो। हातमा चाँदीका बाला, घाटीमा चाँदीका कम्पनी माला कम्बरसँग लर्काइरहेका ती महिलावर्ग आफ्नै खस भाषामा बोलिरहेको सुनिन्थ्यो। जुम्ला, कालीकोट, हुम्ला पुगेको आभास मिल्थ्यो।
लाउनलाई कपडा छैन बस्नलाई घर छैन
ओ काल मतिर आइजा मर्नलाई डर छैन।
भावार्थ– लगाउनलाई कपडा नभएको, बस्नलाई घर नभएको मानिसलाई मर्न डर पनि हँुदो रहेनछ। जिन्दगीको पीडादायी अवस्थामा देउडा गीतका पारखीहरू कल्पनामा मर्नका लागि काललाई बोलाउँछन्। कर्णालीका यी पीडा वर्षौंसम्म सिंहदरबारले सुनेन। प्रान्तीय राजधानी सुर्खेतले बुझोस्, गीतमा कर्णालीवासी यिनै भाव पोख्ने गर्छन्।
प्रतिक्रिया दिनुहोस !