त्यो धर्म जसले संसार चलाउँछ

समाज/संस्कृति

त्यो धर्म जसले संसार चलाउँछ

जहाँ नारी अपमानित हुन्छिन्, त्यहाँ धर्म घरभित्रै मर्छ। घरभित्र अन्याय छ भने बाहिरको धर्म केवल अभिनय हुन्छ।

धारणाद् धर्म इत्याहुर्धर्मो धारयते प्रजा : ।
यत्स्याद्धारणसंयुक्तं स धर्म इति निश्चय : ।।

जब पाण्डवहरू वनबासमा थिए। जसले तिर्खाएका बेला सुन्दर तालको पानी पिउन खोजे। तब यक्ष (चौकीदार, रक्षक)ले धर्म के हो ? भनी प्रश्न गर्दा युधिष्ठिरले दिएको उत्तर यही थियो। यसका गलत उत्तरका कारण युधिष्ठिरका अन्य भाइको मृत्यु भएको थियो। तर उनको यही उत्तरले सबै भाइ जीवित पनि बनाइए। उनको यस श्लोकले स्पष्ट भन्छ— धर्मले संसार धान्छ। समाजलाई स्थिर राख्छ र मानवमा मानवता कायम राख्छ। धर्मलाई कुनै घेराभित्र बन्द गरिएको छैन; बरु धर्मलाई जीवन धान्ने आधारका रूपमा प्रस्तुत गरिएको पाइन्छ।

घरलाई घर बनाइराख्ने, समाजलाई समाज बनाइराख्ने र अन्तत :  मानवतालाई मानव बनाइराख्ने तŒव नै धर्म हो। धर्म भनेको धारण गर्ने शक्ति हो— मानिसको विवेकलाई, समाजको मर्यादालाई र सभ्यताको निरन्तरतालाई। धर्मले कहिल्यै शक्ति खोज्दैन। शक्ति खोज्नेले धर्म प्रयोग गर्छन्। यही बिन्दुमा धर्म र अधर्म छुटिन्छ। जब धर्म सत्ता, वर्चस्व वा पहिचानको हतियार बन्छ— त्यतिबेला समस्याको जन्म हुन्छ, मानिसमा अहंकार बढ्छ। इतिहासमा राजा, महाराजाको कथाहरूले त्यही देखाउँछ। धर्मको मूल काम डर सिर्जना गर्नु होइन, विवेक जगाउनु हो।

त्यसैले धर्मको भाषा आदेशको होइन, प्रश्नको हुन्छ। ‘के यो उचित छ ?’, ‘के यसले सृष्टिलाई धान्छ ?’, ‘के यसले कमजोरलाई अझ कमजोर बनाउँछ ?’— यी प्रश्न उठ्ने ठाउँमै धर्म जीवित हुन्छ। धर्म जीवनसँग गाँसिएको जिम्मेवारी हो, आचरण हो, विवेक हो। त्यसैले भनिएको छ— ‘धर्मेण धार्यते लोक : ।’ अर्थात्, धर्मद्वारा नै यो संसार चलेको छ। यदि धर्म केवल पूजापाठमा सीमित हुन्थ्यो भने संसार चलायमान हुने थिएन। संसार चलायमान छ, किनकि धर्म कर्तव्य, उत्तरदायित्व र नैतिक सन्तुलनको अभ्यास हो।

यही बोधका साथ हैदरावादनजिक कान्हा शान्ति वनम्मा सम्पन्न विश्व संघ शिविरमा सहभागी हुन पाएँ। त्यहाँ ८० भन्दा बढी देशका करिब दुई हजार हिन्दुको उपस्थितिमा चलेको त्यो विमर्श कुनै कर्मकाण्डीय सभा थिएन। त्यो धर्मलाई कसरी बुझ्ने भन्ने प्रश्नको साझा खोज थियो। ‘धर्मे सर्वं प्रतिष्ठितम्’ (सबै कुरा धर्ममा प्रतिष्ठित हुन्छ) भन्ने विषयमा नै पाँचदिने शिविर केन्द्रित थियो। शिविरमा स्वामी गोविन्द गिरी महाराज (श्रीराम जन्मभूमि तीर्थ ट्रस्ट, अयोध्याका कोषाध्यक्ष) लगायत विश्वभरिका विद्वानहरूको प्रवचन सुन्ने अवसर पाएँ। त्यहाँ धर्म पहिचानको गर्वभन्दा जिम्मेवारीको बोधका रूपमा प्रस्तुत भयो। त्यही अनुभूतिले यो लेखलाई दिशानिर्देश दिएको छ।

धर्मको दार्शनिक आधार, रीत, कर्तव्य र सन्तुलन  :  धर्म केवल नाम, पूजा वा आस्थामा सीमित छ ? वेद–उपनिषद्ले भनेको छ— धर्म ब्रह्माण्डीय सन्तुलनको नियम हो। ‘ऋतं च सत्यं चाभिद्धात् तपसोऽध्यजायत’, अर्थात् तपस्याबाट रीत (सन्तुलित व्यवस्था) र सत्य उत्पन्न भयो। यस श्लोकले धर्मलाई बाह्य आचरणभन्दा पहिला आन्तरिक अनुशासन र सन्तुलनसँग जोड्छ।

रित भन्नाले केवल धार्मिक नियम बुझिँदैन। यो कारण–परिणामको अटल व्यवस्था हो, जहाँ प्रकृति र नैतिकता एकअर्कासँग गाँसिएका छन्। सूर्य समयमै उदाउनु, ऋतुहरूको नियमित चक्र, नदीको प्रवाह— यी सबै रितका प्राकृतिक रूप हुन्। मानिस जब लोभ, हिंसा र अहंकारबाट माथि उठेर यस सन्तुलनसँग तालमेलमा बाँच्दछ, त्यही जीवन धर्ममय हुन्छ। यस दृष्टिले धर्म प्रकृतिविरोधी हुनै सक्दैन।

उपनिषद् परम्पराले धर्मलाई कर्तव्यसँग पनि गहिरो रूपमा जोड्छ। कठोपनिषद्मा भनिएको छ— ‘उत्तिष्ठत जाग्रत प्राप्य वरान्निबोधत’, अर्थात् उठ, जाग र सत्यलाई बुझ। यहाँ धर्म निष्क्रिय आज्ञा पालन होइन, चेतनाको प्रयास हो। धर्म भनेको जिम्मेवारीबाट भाग्नु होइन, चेतनासहित त्यसको सामना गर्नु हो। भगवद्गीताले पनि यसै चेतन कर्तव्यलाई कर्मयोगको रूपमा व्याख्या गर्छ। ‘योगस्थ :  कुरु कर्माणी’, अर्थात्, समत्वमा स्थित भएर कर्म गर। यहाँ धर्म न त पलायन हो, न त अन्धआवेश। धर्म भनेको न्यायपूर्वक, आशक्तिरहित र विवेकयुक्त कर्म हो— संसारभित्र रहेर संसारलाई सन्तुलनमा 
राख्ने प्रयास हो भनिएको छ।

यसरी हेर्दा धर्म कुनै स्थिर नियमको संग्रह होइन। धर्म सन्दर्भअनुसार विवेकले निर्देशित हुने जीवन पद्धति हो। रित (सन्तुलन) बिना कर्म अराजक हुन्छ। कर्मबिना चेतना पलायन बन्छ। र विवेक बिना धर्म कट्टरता बन्छ। त्यसैले धर्मको दार्शनिक आधार तीन स्तम्भमा उभिएको देखिन्छ— रित (सन्तुलन), कर्तव्य (कर्म) र चेतना (विवेक)। यीमध्ये कुनै एक कमजोर भयो भने धर्ममा विकृत निम्त्याउँछ र सन्तुलन भंग हुन्छ।

घरदेखि समाजसम्म– धर्मको व्यावहारिक स्वरूप  :  धर्म कुनै अमूर्त दर्शनमात्र होइन; धर्म तब अर्थपूर्ण हुन्छ, जब त्यो व्यवहारमा देखिन्छ। वास्तवमा धर्म मन्दिरमा होइन, घरभित्रै सुरु हुन्छ। हामी सहजै भन्छौं— बाबुको धर्म, आमाको धर्म, सन्तानको धर्म। यहाँ धर्मको अर्थ पूजा–पाठ होइन, जिम्मेवारी हो। बाबुको धर्म केवल कमाएर ल्याउनुमात्र होइन— सुरक्षा दिनु, दिशानिर्देश दिनु र भरोसाको छाता बन्नु हो। आमाको धर्म माया मात्र होइन— संस्कार, आत्मबल, संवेदनशीलता र भावनात्मक सुरक्षा पनि हो। सन्तानको धर्म आज्ञाकारिता मात्र होइन— कृतज्ञता, जिम्मेवारी र सम्बन्ध जोगाउने चेतना पनि हो।

मनुस्मृतिमा भनिएको छ, ‘यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता : ।’ अर्थात्, जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ जीवन स्वयं फलिफाप हुन्छ। यो श्लोक पूजा–पाठको घोषणापत्र होइन; यो सामाजिक चेतावनी हो। जहाँ नारी अपमानित हुन्छिन्, त्यहाँ धर्म घरभित्रै मर्छ। घरभित्र अन्याय छ भने बाहिरको धर्म केवल अभिनय हुन्छ। यदि घरभित्र धर्म छैन भने मन्दिर गएर धर्म स्थापित हुँदैन। यही नियम समाजमा पनि लागू हुन्छ। समाजमा हरेक भूमिकाको आफ्नै धर्म हुन्छ।

शिक्षकको धर्म केवल पाठ्यक्रम सक्नु होइन— विद्यार्थीभित्र विवेक र आत्मविश्वास जगाउनु हो। चिकित्सकको धर्म केवल उपचार गर्नु होइन— पीडामा परेको मान्छेलाई मान्छेकै रूपमा हेर्नु हो। चिकित्सकले रोगीलाई सेवा दिनु धर्म हो। यो सेवा केवल शारीरिक उपचारमा सीमित हुँदैन। यसमा करुणा (रोगीप्रति सहानुभूति), कर्म (उचित उपचार दिने कार्य) र कर्तव्य (आफ्नो पेसागत दायित्व) तीनै समावेश छन्। प्रत्येक पेसामा धर्मको आफ्नै अभिव्यक्ति हुन्छ। चिकित्सकको धर्म, शिक्षकको धर्म, किसानको धर्म, नेत्रको धर्म— सबै आफ्नो स्थानमा रहेर कर्म, करुणा र कर्तव्यको सन्तुलन कायम राख्नु हो।
राज्य र सत्ताको सन्दर्भमा धर्मलाई राजधर्म भनिएको छ। महाभारतमा स्पष्ट चेतावनी दिइएको छ— ‘राजा धर्मेण पालयेत्।’ अर्थात्, शासकले धर्मका आधारमा शासन गर्नुपर्छ। यहाँ धर्मको अर्थ कुनै धार्मिक आस्था होइन; यहाँ धर्मको अर्थ न्याय, उत्तरदायित्व र जनहित हो। जहाँ सत्ता करुणाविहीन हुन्छ, जहाँ कानुन कमजोरमाथि कठोर र शक्तिशालीमाथि मौन हुन्छ, त्यहाँ अधर्म संस्थागत हुन्छ।

धर्म व्यावहारिक हुँदा मात्र जीवित रहन्छ। धर्म देखाउने कुरा होइन, निभाउने कुरा हो। सुविधा हेरेर कर्तव्य छान्नु धर्म होइन। कर्तव्यबाट भाग्नु अधर्म तर्फको यात्रा हो। त्यसैले सधैं धर्म सजिलो हुँदैन। धर्म त्यतिबेला गाह्रो हुन्छ, जब स्वार्थ र न्यायबीच, मौनता र प्रतिरोधबीच, सजिलो र सत्यबीच छनोट गर्नुपर्छ। भगवद्गीताले यसै कठिन क्षणलाई लक्षित गर्दै भन्छ— ‘श्रेयान् स्वधर्मो विगुण :  परधर्मात् स्वनुष्ठितात्।’ अर्थात्, आफ्नो धर्म अपूर्ण भए पनि, अरूको धर्मभन्दा श्रेष्ठ हुन्छ। यसको अर्थ धर्म कहिल्यै प्रदर्शन होइन; धर्म आफ्नै भूमिकामा इमानदार हुनु हो। धर्म भनेको अरूलाई उपदेश दिनुमात्र होइन— आफ्नो जिम्मेवारी नछोड्नु पनि हो।

यसरी, धर्म कुनै ठूलो घोषणापत्र होइन। धर्म त स–साना रोजाइहरूको शृंखला हो। घरभित्र नारीलाई सम्मान गर्ने कि मौन बस्ने, अन्याय देख्दा बोल्ने कि टाढा हट्ने, सुविधा रोज्ने कि सत्य। यी रोजाइ नै धर्मका परीक्षा हुन्। र जहाँ मानिसहरू यी परीक्षामा उभिन्छन्, त्यहीँ धर्म जीवित हुन्छ।

आजको संकट– धर्म वा धर्मबारे गलत बुझाइ  :  आज समाजमा देखिएको संकट धर्मको होइन, धर्मको गलत प्रयोगको हो। जब धर्मलाई राजनीतिको हतियार बनाइन्छ, जब धर्मलाई स्त्री, दलित र कमजोरमाथि थोपर्ने साधन बनाइन्छ, जब धर्मको नाममा अन्धविश्वास फैलाइन्छ। त्यतिबेला धर्म बदनाम हुन्छ। तर दोष धर्मको होइन; दोष धर्म नबुझेको समाजको हो।
महाभारतले यस विषयमा कठोर चेतावनी दिएको छ— ‘धर्मो रक्षति रक्षित : ।’ अर्थात्, धर्मको रक्षा गरियो भने मात्र धर्मले समाजको रक्षा गर्छ। धर्मको नाम लिएर गरिने अन्याय धर्मको रक्षा होइन; त्यो धर्ममाथिको आक्रमण हो। जहाँ धर्मलाई घृणाको औजार बनाइन्छ, त्यहाँ धर्म स्वयं असुरक्षित हुन्छ। धर्म प्रकृतिविरोधी हुन सक्दैन। वेदहरूले धर्मलाई प्रकृतिसँग जोडेको छ।

अथर्ववेदमा भनिएको छ— ‘माता भूमि :  पुत्रो अहं पृथिव्या : ।’ अर्थात्, पृथ्वी मेरी आमा हुन्, म उनको पुत्र हुँ। यस दृष्टिले वातावरण नष्ट गरेर, प्रकृतिलाई लुटेर, धर्मको रक्षा हुँदैन। प्रकृतिविरोधी विकास धर्म होइन, अधर्म हो। धर्मले सधैं संरक्षणको पक्ष लिन्छ, विनाशको होइन। त्यस्तै धर्म शक्ति होइन; धर्म शक्ति माथिको संयम हो। मनुस्मृतिमा भनिएको छ— ‘दण्ड :  शास्ति प्रजा :  सर्वा : ।’ अर्थात्, दण्ड (शक्ति)ले शासन गर्छ तर यस दण्डलाई धर्मले नियन्त्रण नगरे शक्ति आतंक बन्छ। धर्मबिना शक्ति अराजक हुन्छ। धर्मबिना ज्ञान अहंकार बन्छ। धर्मबिना विज्ञान विनाशकारी हुन्छ। इतिहासले यही देखाएको छ।

यसैले प्रश्न उठ्छ— धर्म संकटमा छ कि धर्मको नाममा हुने अधर्म संकटमा छ ? भगवद्गीताले स्पष्ट संकेत गर्छ— ‘यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत।’ अर्थात्, धर्म क्षीण हुँदा अधर्म बढ्छ। यहाँ धर्म क्षीण हुनु भनेको धर्म हराउनु होइन; धर्मको अर्थ बिग्रनु हो। जब धर्मलाई सही अर्थमा बुझिन्छ, धर्म समस्या होइन— धर्म समाधान बन्छ। जब धर्मलाई गलत अर्थमा प्रयोग गरिन्छ, धर्म स्वयं पीडित बन्छन्।

धर्मको मर्म, विवेक, करुणा र प्रतिरोध  :  धर्मको मूल मर्म करुणा हो, तर कायर करुणा होइन। सहिष्णुता हो, तर अन्याय सहने सहिष्णुता होइन। ‘अहिंसा परमो धर्म : ’को अर्थ केवल हिंसा नगर्नुमात्र होइन; शब्दले नघोच्नु, निर्णयले नथिच्नु, शक्तिले नदबाउनु पनि हो। जहाँ मानव गरिमा र सामाजिक न्यायमाथि प्रहार हुन्छ, त्यहाँ मौन बस्नु धर्म होइन। सत्यको पक्षमा उभिनु जोखिमपूर्ण हुन सक्छ, असहज हुन सक्छ, तर त्यही धर्म हो। सुविधा–केन्द्रित धर्म धर्म होइन। धर्ममा प्रतिरोधको साहस हुन्छ, न्यायको पक्षमा उभिन सिकाउँछ।

चिकित्सकीय दृष्टिकोणबाट हेर्दा जसरी शरीरको स्वास्थ्यको लागि विभिन्न प्रणालीको सन्तुलन आवश्यक हुन्छ, त्यसैगरी समाजको स्वास्थ्यका लागि पनि कर्म, करुणा र कर्तव्यको सन्तुलन आवश्यक छ। र, यही नै धर्मको मूल त्रिकोण हो। धर्म भावनामात्र होइन, भूमिकाअनुसार कर्तव्य पालन पनि हो। करुणाबिना धर्म कठोर नियम बन्छ। विवेक बिना धर्म कमजोर हुन्छ। र प्रतिरोधबिना धर्म कायर बन्छ। यी तीनै तŒवको सन्तुलन 
नै धर्मको आत्मा हो।

सर्वे भवन्तु सुखिन : को मार्ग  :  अन्तत :  धर्म के हो ? धर्म कुनै स्थिर नियम होइन, कुनै एक समुदायको सम्पत्ति होइन। धर्म विवेकसहितको कर्म हो, करुणासहितको कर्तव्य हो। धर्म जित–हारको खेल होइन; धर्म सबैलाई समेट्ने चेतना हो। ‘सर्वे भवन्तु सुखिन : ’ कुनै भावुक कामनामात्र होइन; यो सामाजिक दायित्वको घोषणा हो। यदि कुनै विचारले घृणा सिकाउँछ, बहिष्कार गर्न सिकाउँछ, अरूलाई सानो बनाउँछ भने— त्यो धर्मको नाममा गरिएको अधर्म हो। शिविरको एक अर्को सत्रमा मैले धर्मको नैतिक आधार र चिकित्सकीय नीतिको आधारबीचको समानता बुझें।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.