वनजंगलमा गाउने देउडा गीत

समाज/संस्कृति

वनजंगलमा गाउने देउडा गीत
फाइल तस्बिर
सुन्नुहोस्

वनजंगल, खोला खहरे, अग्लाअग्ला धुरा (डाँडा)हरू अनि बग्दै गरेका नदी र गाण (साना नदी)हरू देउडा गीतका उर्वर भूमि हुन्। यसो त नेपाल पहाडी भूमि भएका कारण हरेक क्षेत्र र बस्तीहरूमा ठाउँअनुसारका गीतहरू जन्मेका हुन्छन्। डाँडापाखाका गीतहरूले दुईवटा महत्वपूर्ण सन्देश दिएको हुन्छ– पहिलो, देशको भौगोलिक बनोट, दोस्रो, लोकसंस्कृतिमा विविधता। दक्षिण एसियाली मुलुकहरूमा नेपाल यस्तो मुलुक हो, जहाँ विविध जातजातिका मानिसका अनेक संस्कृति भेटिन्छन्। एक जातिले अर्को जातिको 
संस्कृतिको मर्यादा त्यति नै गर्छन्। गुरुङ, राई, लिम्बू, मगर, थारूहरूले भेषभूषा र भाषागत शैलीमा संस्कृतिको अपनत्व ग्रहण गर्छन्।

तर कर्णाली र सेती महाकाली प्रदेशमा जातीयताको आधारमा न भएर लोकपरम्पराको आधारमा संस्कृतिको सामूहिक रूपमा संरक्षण गरिराखेका हुन्छन्। त्यही संस्कृतिले बाहुन, क्षेत्री, जनजाति र दलितवर्गले निःसंकोच हातमा हात समाई गलामा गला मिलाई पैतालाप्रधान खेल देउडा खेलिराखेका हुन्छन्। खेलका ती गीतहरूमा विशेषगरी प्राकृतिक सम्पदा, डाँडाखोला, नीलो गगन र हरियाली भुइँको वर्णन प्रशस्त मात्रामा गरिएको हुन्छ। तिनै गीतहरू कालजयी हुन्छन्, चीरकालसम्म रहन्छन्। वनजंगल डाडाखोला नै देउडा गीतका पाठशाला भएका कारण सुदूर र कर्णालीका बस्तीबस्तीमा आँसुकवि जन्मेका छन्। जसका गीतहरू महाकवि लक्ष्मीप्रसाद देवकोटाका कविताको स्तरभन्दा कम देखिँदैन। बझाङको विशेष गाउँपालिका साइपालमा जन्मँदै अपांगता भएकाहरू (दृष्टिविहीन)ले रचना गरेको गीत यस्तो छ ः

धामीलेक धामीज्यूका दुई हात तीन बाला।
दुःखारी हुनाले हो कि रातभन्दा दिन्काला।।

पहाडी भूभागमा फेटा बाँधेका धामीलाई भगवान् सरह सम्मान गर्छन्। धामीहरू स्थानीय देवीदेवताका नामले पुजिन्छन्। माणु (मन्दिर)मा चल्ने ती धामीहरूको बोल्ने भाषा नै बेग्लै हुन्छ। भूत, वर्तमान र भविष्यबारे खुलस्त बताउने हुँदा धामीप्रति जनमानसमा दैवीय शक्ति रहेको विश्वास छ। हातमा चाँदीका बाला, कानमा सुनको मुन्द्री लगाएका उनीहरूको पहिरन सेतो कपडाको मात्र हुन्छ। ती धामीलाई सम्बोधन गरेर अपांगता भएकाहरूले आफू दुःखारी भएर हो कि घाम लागेर पनि दिनहरू औंसीको रात झैं काला लाग्छन् भनी दर्दका गीत सुनाउँछन्।

धामी संस्कृतिबारे बेग्लै लेख भविष्यमा लेखिनेछ। वनजंगलमा गाइने गीतहरू अक्सर विरही भावका र करुण रसमा आधारित हुने हुँदा श्रवणीय हुन्छन्। कुनै गीतले एकताको सन्देश दिन्छन् भने कुनै गीतले गरिबीको चित्रणबारे व्याख्या गरेका देखिन्छन्। यसैगरी, कुनै गीतले मायाप्रेमलाई जिन्दगीको अभिन्न अंगका रूपमा हेरेका हुन्छन्। जस्तो–
यै रानी वनका दौरा हात् लायाले भाग्या। 
अकालै ज्यान झान लाग्यो पिरतीका लाग्दा।।

प्रेम एकोहोरो हुन्छ, रानीवनका दौरा नरम काठ हुन्छन्। दाउरा काट्न बन्चरो, आँसी (हँसिया) नै चाहिँदैन। हातले भाँच्न सकिन्छ भने झैं पिरतीका कारण, शरीरलाई, मनलाई सम्हाल्न नसकेर अकालमा नै मृत्युको मुखमा पनि धकेल्न सकिन्छ भन्न खोजेको हो। यसो त सबैथरी देउडा गीत डाँडापाखाका आफ्ना गीतहरू हुन्। जसलाई अहिले पनि वनगीत भनिन्छ। ती गीतहरू गाउँघरमा गाउँदा लज्जाबोध हुन्छ, मान्यजनका सामु ती गीत गाउँदा आपसमा पछुतोको अनुभूति हुन्छ। जसलाई मर्यादित संस्कृति भनिन्छ।

पूर्वाञ्चलका हाकपारे, पश्चिमका सोरठी, काठमाडौं उपत्यका वरिपरिका घाँसे र रोपाइँ गीतजस्ता पटक्कै होइनन्, देउडा गीत। देउडा गीत मातृशक्ति गीत हुन्, देवतालाई जगाउने मर्यादित गीत हुन्। वनजंगलमा गाइने यी हजारौं गीतहरू वसन्त ऋतुका पालुवा झैं पलाउँछन् तर शिशिरका बेला झैं झर्दैनन्, मनमस्तिष्कमा ताजा रहन्छन्। घरगीत भनेका मांगल हुन्। घरको मांगलिक कार्यमा विशेषगरी महिलावर्गले एक सुरमा गाउने गर्छन्। मांगल गाउँदा केही उत्साह र उमंग, केही शुभकार्यको संकेत देखापर्छ। तर देउडा गीत परिस्थिति जन्य अवस्थामा जन्मिन्छन्, अजर अमर हुन्छन्। अमर ती गीतले युगबोध दिलाउँछन्ः–
डाँडा गाउन्या को हो को हो गैरी गाउन्या लछु
इन्द्र दुःखी कालो बादल मान्छे दुःखी म छु।
लय– आरु फुलेली फुलेली,
अछामका लेक बझाङ धुरा झम्का गुलेली।

‘सेतीको सन्देश महाकालीको मौसम’ नामक अमर गीति क्यासेटमा समावेश यो डाँडापाखामा गाउने गीत हो। पंक्तिकारले २०४५ फागुनमा काठमाडौंमा रेकर्ड गरिएको हो। केवल सेती महाकाली, कर्णालीका डाँडाहरू, धुराहरू (अग्लाअग्ला पर्वत शृंखला)लाई मात्र सम्बोधन नगरेर इलामस्थित अन्तुको डाँडा, लमजुङस्थित दुराडाँडा, हिरण्य भोजपुरेले गाउनु भएको ट्याम्के डाँडा र काठमाडौं भक्तपुरका फुलचोकी शिवपुरी र नगरकोटलगायतका रमणीय डाँडाहरूलाई सम्बोधन गर्दछ। यो गीतको भावार्थ अत्यन्त गहिरो, संवेदनशील र ऐतिहासिक भएका कारण अहिले पनि जीवन्त छ। लय गौरी भट्टको हो, कुनैबेला राजनीतिमा उदाएकी गौरी अहिले कता छिन् ? अत्तोपत्तो छैन। सिर्जना 
र राजनीति फरक विषय हो। 
डाली बस्या मै बसुँला गै झा सुवा गै झा 
म पनि निझर्की हौला साईको माया लै झा।

देउडा गीत भाषागत गीत भएकाले नेपाली भाषाको विस्तार पनि भएको देखिन्छ देउडामा। माथिको गीतमा पनि काली कर्णालीको प्राचीन भाषाको विस्तार भएको देखिन्छ। जानुलाई बझाङ, डोटी र बैतडीमा झानु भनिन्छ। फूलको डालीमा या वसन्त ऋतुका रूखहरूमा बसी सुवा (केटी) र साई (केटा)बीच प्रेमपूर्ण वार्ता भइरहेको देखाउँछ यो गीतले। सुवाले आफ्नी सखीलाई ‘निझर्की’ (एकोहोरी) भएर मै बस्छु, साईलाई लिएर जाँदा पनि फरक नपर्ने कुरा बताउँछ। यो गीतको भावार्थले कुनै बेला त्यो समाजमा बहुबिहे प्रथा पनि रहेछ भन्ने बताउँछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.