राते काइँला : जस्तो पर्दामा, उस्तै जीवनमा

ओस्कारमा नेपाली सिनेमा मनोनयनमा पर्नु र आफू दौरासुरुवाल लगाएर त्यहाँ उपस्थिति हुन पाउनु सुनिलको सपना थियो तर त्यो सपना पूरा हुन सकेन।

राते काइँला : जस्तो पर्दामा, उस्तै जीवनमा

सिक्किमको गान्तोकमा हिन्दी सिनेमा सफतको छायांकन भइरहेका बेला एक्कासि एकजना लिम्बू युवा आजभन्दा ४० वर्षअघि उनलाई खोज्दै आए। उनको शारीरिक सुगठन देखेर होला आफ्नो निर्देशनमा बन्दै गरेको सिक्किमको पहिलो नेपाली सिनेमा मसालमा टाइटल रोलमा अभिनय गर्न उनलाई अफर गरे। ती युवा थिए त्यतिखेरका जल्दाबल्दा निर्देशक प्रताप सुब्बा जसले ‘परालको आगो’ जस्तो मौलिक नेपाली सिनेमा बनाइसकेका थिए। त्यस्ता अग्र्यानिक निर्देशकले भनेपछि बोली भुइँमा नखस्दै उनले नस्विकार्ने कुरै भएन।

गान्तोकमा हुन गइरहेको शुभमुहूर्तका लागि भनी बम्बईबाट जहाजमा सिलिगुडी हुँदै सिक्किम जाँदै गर्दा बागडोगरा एयरपोर्टमा उनका सबै सामान तथा झोला हराए। खाली हात जिउमा लगाएको लुगाका भरमा उनी सिक्किम पुगे र सुब्बालाई आफ्नो यथार्थ घटना बताए। उनको रोल अनुसार उनलाई थप कस्ट्युमका रूपमा एउटा टीसर्ट भए पुग्थ्यो, जो प्रतापले नै किनिदिएका थिए। आफ्नो पहिलो नेपाली सिनेमाको डेब्युमा घटेको रोचक संस्मरण यस्तो छ उनको। उनी थिए, राते काइँला अर्थात् नेपाली सिनेमामा खलनायकत्वको आवश्यकतालाई पुष्टि गर्ने वरिष्ठ खलनायकी चरित्रका कलाकार सुनील थापा।

पंक्तिकारसितको वार्तामा दुई वर्षअघि थापाले मसाल चलचित्रको रमाइलो घटना सुनाएका थिए। टिस्टा नदीमा हामफाल्नु पर्ने थियो, जसलाई सुनीलले सहजै स्वीकारेका थिए। ‘ए प्रताप... सुनीलको छातीमा यसको ठेगाना लेखेर टाँसिदिनु है। यताउता केही भयो भने घरपरिवारलाई खोज्न सजिलो हुन्छ। यसो भनेर मसालका वरिष्ठ बलिउड कलाकार डेनी डेन्जोङ्पाले ठट्टा गरेको थापालाई निधनपर्यन्त आजैजस्तो लाग्थ्यो।

क्यामरामेन तेज रसाइलीलाई मसालमा नायकका रूपमा डेब्यु गराउने प्रतापलाई सुनील जिउडाल नमिलेको नेपाली सत्यजित राय भनी जिस्क्याउँथे। यसो भन्नुमा प्रतापमा विराट प्रतिभा देखेर हो या बंगाली समानान्तर सिनेमाको प्रभाव ग्रहण गरेको देखेर हो त्यसको अलग खण्डमा चर्चा गर्न सकिन्छ। कलाकारप्रति अत्यन्त मिजासिलो व्यवहार गर्ने निर्देशकका रूपमा सुनीलले प्रतापलाई लिए। तर यति रमाइलो वातावरणमा काम गरेको आफ्नो पहिलो नेपाली सिर्जना मसाल सुनील आफूले भने आजन्म हेर्न पाएनन्। यो भने सुनीलको दुखेसो रह्यो।

२०१२ सालमा दाङमा जन्मेका सुनीलको हुर्काइ र विद्यालयको पढाइ भारतको मुम्बईमा भयो। ठट्टाप्रिय थापा वास्तवमा गुरुङ बाबुका छोरा थिए। पछि भारतीय सेनामा रहन पुगेका आफ्ना बाबु गाउँमा भारतीय सेनामा भर्ना लिन गल्लावाल आएका बेला तिनैमध्येका एकजना नाइकेले बाबु गणेशबहादुर गुरुङलाई ठट्टामै थापा बनाइदिए। उनका बाबुले पनि विवाद गरेनन् किनकि विवाद गरे भर्नामा छनोट हुन नसकिएला भन्ने पिर पनि हुँदो हो। लहैलहैमा आजसम्मको उनको तीन पुस्ता गुरुङबाट थापा भइसकेको छ। बक्सिङ खेलाडी थिए, किशोरावस्थामा । फुटबल र बास्केट बलमा धुरन्धर, अझ घोडचढीका पनि सौखिन उनी।

त्यतिबेला नै बम्बईको आईसी एल क्लब र ओर्के क्लबसित जोडिएर उनी व्यावसायिक फुटबल खेलाडी बनिसकेका थिए। कसोकसो एक दिन हिन्दी सिनेमाका तत्कालीन महसुर नायक, निर्माता तथा निर्देशक देव आनन्दको भेटले उनलाई अर्कातिर मोड्यो। त्यो अर्कोतिर अर्थात् सिनेमाको मायावी संसारतिर। सुरुमा मोडेलका रूपमा काम गरेका उनी त्यस सँगसँगै फोटो पत्रकार पनि बने भारतीय दैनिक जुनियर स्टेटम्यानको। देव आनन्दको साहब बहादुरमा ब्रेक पाए सुनीलले सन् १९७७ मा जसबाट उनको बाटो सोझियो अभिनयकर्मतिर। देव आनन्दले देखाएको बाटोमा हिँडे पाँच वर्ष जति फुटबललाई पनि सम्हाल्दै।

सिनेमाको मायावी संसारमा उनका जीवनमा चार चरण आए। पहिलो चरणमा उनको साहब बहादुरमा प्रवेशदेखि के. बालाचन्द्रनको सुपर हिट हिन्दी चलचित्र एक दुजे के लिएसम्मको यात्रा रह्यो। यो सन् १९८१ सम्मको यो यात्रा र यसपछि उनले अभिनयी क्षमता प्रशस्त देखाए। एक दुजे के लिएको सफलतापछि सिनेमामा एकोहोरिँदै सफर, मानव हत्या, आजकी आवाज, मनु द ग्रेट, अलबेला तथा नसिबवाला आदिमा व्यस्त भए। हिन्दी, तेलगु, भोजपुरी, बंगाली, दक्षिण भारतीय तथा मलायलम चलचित्रमा दरिलो उपस्थिति रह्यो।

यसो भए पनि दाङमा जन्मेका गुरुङ बाबुका थापा छोरा सुनीलका नसानसामा नेपाली रगत त बगेकै थियो। अघि उल्लेख भइसकेको छ, सिक्किममा सफर नामको हिन्दी सिनेमाको छायांकन सन्दर्भ र मसाल चलचित्रको निर्माण जसबाट उनी नेपाली रजतपटमा भित्रिए जो उनको सिनेमा जीवनको दोस्रो चरण कायम हुन पुग्यो। त्यतिखेर नेपालमा सिनेमा जसोतसो वर्षमा एकदुई ओटा बन्थे, अत: उनी बम्बईमै रहे। मसालको काम सकिएको चार पाँच वर्षपछिको कुरा हो, वरिष्ठ निर्देशक तुलसी घिमिरे। जो आफ्ना गुरु कमलाकार कार्खानिजलाई गुरुदक्षिणा चढाउन नेपाली सिनेमा बनाउने क्रममा नेपाल भित्रिसकेका थिए।

सर्वाधिक लोकप्रिय चलचित्र चिनोको कथा लेखिसकिएको थियो। यही चिनोको बुलन्द चरित्र राते काइँलाको भूमिकामा शिव श्रेष्ठमार्फत सुनील जोडिए। चिनो यस्तो रह्यो नेपाली सिनेमाको इतिहासमा जसले प्रदर्शनको रजत जयन्ती नै मनाउन सक्यो। यो सक्नुमा निर्देशक घिमिरेको समर्पण र निर्देशकीय क्षमता त छँदैछ, राते काइँलाको युगान्तकारी खलनायकी चरित्रको पनि उत्तिकै ठूलो भूमिका रहेको छ। यसको संगीत पक्षको सफलताले पनि रजतजयन्ती मनाउनुसित तारतम्य राख्छ तर नायकलाई असली नायकत्व देखाउन त्यत्तिकै बेजोडको खलनायकी चरित्र पनि चाहिन्छ भन्ने मान्यतालाई सुनीलले पुष्टि गरे। परम्परागत रूपमा भिलेन भन्नु मारधाड गर्ने, हिरोइनलाई कुदृष्टि राख्नेमात्र होइन, हातपात नै गर्ने, हिरो कुट्ने र हिरोबाट कुटिने पात्र मात्र हो भन्ने साँघुरो चेत कायम रहेका बेला सिनेमाको कथावाचनमा खलनायकको अलग्गै दर्शन हुन्छ भन्ने मान्यता पनि सुनीलले स्थापित गरे। यो पुष्ट्याइँले उनको सिनेमाको तेस्रो चरणको निर्धारण गरेको छ। सुनील कर्मप्रति यति समर्पित भएर काम गर्थे जसको प्रमाण बडो रोचक छ। 

चिनोमा राते काइँलाको छायांकन सुरु हुँदै गर्दा उनको छोरो जन्म्यो तर परिवार बम्बइमै थियो। पहिलो सन्तान जन्मदाको खुसी साट्न र छोराको मुख हेर्न उनलाई ४३ दिन कुर्नु पर्‍यो किनभने उनी छायांकन कार्य नसकी छोराको मुख हेर्न जान सक्दैनथे, जो उनको व्यावसायिक धर्मको विपरीत हुन्थ्यो, निर्माताप्रतिको घात हुन्थ्यो। जसोतसो ४२ दिनमा छायांकन सकियो उनी हुर्रिदै ४३औं दिनमा बम्बई पुगेर छोराको मुख हेरे। यसरी, नवजात शिशुलाई असीम प्रेमले काखमा लिए। यो घटना जति रमाइलो छ त्यत्ति नै मार्मिक पनि। चिनोको विराट सफलतापछि सुनीललाई पछाडि फर्केर कहिल्यै हेर्नु परेन।

त्यसयता नेपालमा सिनेमा निर्माणको क्रम पनि ह्वात्तै बढ्यो भने भिलेनवीना हिरोको हिरोइज्म कमजोर हुन्छ भन्ने मान्यता राख्ने सुनील यसयता सम्बन्ध, ठूल्दाइ, क्याप्टेन, एन्जिला, तँ त साहै बिग्रिस् नि बद्री, आगो, पापी मान्छे, सिकारी, देउकी, जेठो कान्छो, गोर्खा पल्टन, भरिया, मुखौटा, नेपाली बाबु, यो मायाको सागर, सगुन, मिसन पैसा, देवर बाबु, राँको, परिभाषा, कर्मयोद्धा, आफन्त, सपना, लक्ष्य, प्रेम गीत–३ आदिमा व्यस्त भए। लगभग तीन सयभन्दामाथि नेपाली र भारतीय चलचित्रमा सिर्जना पोखेका उनी सिनेमामै पनि अभिनयभन्दा अर्को विधामा लहसिएनन्। पैसाभन्दा सदा कर्मलाई माथि राखे। 

सन् २०१४ मा आएर सुनीलको सिनेमा जीवनका चौथो र सर्वाधिक गर्व गर्न लायक चरणको सुरुवात भयो। सर्वाधिक चर्चित सिनेमाकर्मी सञ्जयलीला भन्सालीको निर्माण र उमंगकुमार निर्देशक रहेको सत्यघटनामा आधारित चलचित्र मेरिकोममा अभिनय गरेपछि उनले बलिउडमा धमाका नै ल्याए। अन्तर्राष्ट्रिय रूपमै चर्चित मेरीकोम चलचित्रमा नायिका प्रियंका चोपडाको कोचको भूमिकामा अभिनय गरेपछि उनी बलिउडमा सबैको फ्यानमात्र होइन प्रतिनिधि पात्र नै बन्न पुगे। 

बम्बईका वरिष्ठ नेपाली छायाकार विनोद प्रधान, बलिउड अभिनेता अमिताभ बच्चन आदिले खुलेर नै उनको प्रशंसा गरे। अर्को सफलताको खुट्किलो त उनले यो चरित्रबाट बलिउडको प्रतिष्ठित फिल्मफेयर अवार्ड नै प्राप्त गर्न सके।
सुटिङ हेर्ने सबै दर्शक कलाकार सुनील होइन, वास्तविक नरजोत सिंह नै त्यहाँ उपस्थित भएको ठान्थे। नरजोत वास्तवमा मेरिकोमका वास्तविक जीवनका कोच थिए। आफ्नो चरित्रप्रति कति न्याय गर्दा रहेछन् थापा भन्ने कुराको थप प्रमाण पनि हो यो। संयोग पनि कस्तो आफू किशोरावस्थामा बक्सिङको खेलाडी रहेको र जीवनको पाँचौं दशकमा बक्सिङको विश्वविख्यात खोलाडी मेरिकोमको कोचको भूमिकामा पर्दामा देखिएमात्र होइन, त्यसबाट युगान्तकारी सफलता समेत प्राप्त गरे। एक प्रसंगमा उनले भनेका थिए, सुनील थापाको सफलता होइन मेरिकोमको चिनारी– समग्र नेपाली चलचित्रको सफलता हो।

गएको माघ २४ गते सुनीलले भौतिक रूपमा नेपाली दर्शकलाई सदाका लागि बाइबाइ गरे। जीवनमा देव आनन्द, प्रताप सुब्बा, तुलसी घिमिरे, के. बालाचन्द्रन र सञ्जयलीला भन्साली उनका जीवनमा कोशेढुंगाका विधाता बनेर आए। नेपाली र बलिउड चलचित्र उद्योगका पर्याय रहेका सुनील हेर्दा जति खतर्नाक भिलेन लाग्ने व्यवहारमा त्यत्तिकै नरम स्वभाव र सहयोगी व्यवहार थियो उनको। जीवनमा लामो समय परिवारमा श्रीमती रजनी सुब्बा, छोरा अनमोल, छोरी प्रेसियस, नाति र बुहारीसँगै बस्न नपाउँदाको पीडा त छँदै थियो थापालाई तर आफू कर्ममै लीन हुन पाउँदा यो अवस्था आएको हो भनेर बुझे ।

हुन पनि हो परिवारभन्दा केही पर समाजसम्म पनि सोच्ने मान्छेले नै मलामी धेरै कमाउँछ। उनी यसो भन्थे नै अपितु व्यवहारमा पनि यस्तै भयो। आफू नेपालमा र परिवार मुम्बईमा यस्तै चक्र चल्यो उनको जीवनमा। सिनेमाको कथावाचनमा द्वन्द्वको उठान गर्न आवश्यक पर्ने खतरनाक खलपात्रले सिनेमाको चरमसीमामा दर्शकलाई त्यत्तिकै प्रभाव पार्न सक्छ, जसका कारण सिनेमा सफल हुन्छ भन्ने मान्यता स्थापित गर्ने क्षमता सुनीलसित रहेको साँचो हो। राते काइँला देखेर कति युवती वास्तविक जीवनमा भागाभाग पनि गरे होलान् तर वास्तवमै उनको निधनमा तिनै महिलाले आँसुको सागर बगाउनुमा पनि खलनायकी मनोविज्ञानले काम गरेको छ।

मेरिकोमकी उनकी चेली तथा नायिका प्रियंका चोपडाले सुनीलको महाप्रस्थानको प्रसंगमा सुनीललाई पर्दाको मात्र कोच नभई वास्तविक जीवनकै कोच मानेकी छन्। वास्तविक जीवनमा पिताको निधनमा सुनीलले प्रियंकालाई दिएको सान्त्वना र हौसलाले आफूलाई नयाँ जीवन प्राप्त भएको ठानेकी छन्। बलिउडका महान् शिल्पी तथा महानायक अमिताभ बच्चनले नेपाल र बलिउडका लिजेन्ड्री नायक थापाको अभाव सदा खड्किने बताएका छन्। नायक अक्षय कुमारले राते काइँलाको निधनले बलिउड पनि शोकले आक्रान्त रहेको सन्देश दिए।

यसैगरी, बलिउडकै प्रख्यात नेपाली छायाकार विनोद प्रधान, भारतको सिक्किम राज्यका मुख्यमन्त्री पीबी गोले, बलिउड कलाकार मनोज वाजपेयी, आमिर खान, दिलीप ताहिल आदिले थापालाई एउटा युगले जन्माएको प्रतिभा मानेका छन्। अर्को एउटा दु:खान्त तालमेल, गोर्खा पल्टनमा मामाभान्जाको चरित्रमा रहेका अभिनेता तथा इन्डियन आइडल प्रशान्त तामाङ र सुनील थापाको अनन्त यात्राको समय अन्तराल मात्र २८ दिनको रह्यो।

नेपाली चलचित्रको माया उनमा कति रहेछ भन्ने कुरा यो यो प्रसंगले पनि पुष्टि गर्दछ। ओस्कारमा नेपाली सिनेमा मनोनयनमा पर्नु र आफू दौरासुरुवाल लगाएर त्यहाँ उपस्थिति हुन पाउनु उनको सपना थियो तर त्यो सपना पूरा हुन सकेन। भविष्यको खाका कोरिदिने निर्देशक तुलसी घिमिरेको सुनील अभिनीत चलचित्र पहाड दर्शकमा आउनै बाँकी थियो। वरिष्ठ रंगकर्मी विष्णुभक्त फुयालको रंगमञ्चमै अभिनय गर्दागर्दै मर्न पाउँ भन्ने सपना यथार्थमा एक दशकअघि नै सार्थक भएको थियो।

सुनील पनि चाहन्थे सुटिङको सेटमै मेरो अन्तिम सास जाओस् भनेर तर अलिकति फरक पर्‍यो, इन्ड क्ल्याप हुनै बाँकी राम नाम सत्यको सुटिङ सेटमै होइन, सुटिङ गरेर फर्केको ७/८ घण्टापछि उनले जीवनको अन्तिम सास फेरे। पर्दाको राम नाम सत्य र उनकै जिन्दगीको राम नाम सत्य केही घण्टाको अन्तरालपछि मात्र भयो (अघिल्लो दिन पर्दामा उनी मरिसकेका थिए तर उनको शवलाई अग्निचित्तामा चढाउने दृश्य भोलिपल्ट खिच्नु थियो)। यो मामलामा विधाताले अलिकति सुनीललाई अन्याय गरे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.