बर्खा सुरु भएसँगै किसानले बोक्नुपर्छ
डोकोभरि चिन्ताको भारी
धानको बिउ, मल, पानी सिँचाइ,
ऊ सम्झिन्छ
पेट, छोराछोरीको भविष्य,
र, साहुको रिन।
ऊ चिन्ताकै भारीसँगै सम्झिन्छ
सुनौलो सपना, त्यो सुनौलो दिन
खेतबारीमा सुन जस्तै धानको बाला
मीठो मसिनो खाने परिकार, आफ्नो जामा भोटो
श्रीमतीकी चुरा, घरको छानो, अनि आँगनमा जून।
विडम्बना ! जब धानको बालामा सुन होइन,
पोगटा फल्छ, किसानको गति रोकिए झैं हुन्छ
आकाश भासिए झैं लाग्छ,
छातीमा किला ठोके झैं लाग्छ,
घरको भित्ता ढले झैं हुन्छ,
र, सपनाहरू विक्षिप्त हुन्छन्।
ऊ सम्झिन्छ , थोरै विगत र थोरै आगतहरू
धानको बिउमा षड्यन्त्र,
पानी कुलो नहरमा भ्रष्टाचार,
गोडमेलमा सौदाबाजी, र मलमा आफ्नो–बिरानो।
ऊसँग जिन्दगीको सानो अनुभूति छ
सुन्दर दानाभित्र पोषण नभएको,
कञ्चन पानी सफा नरहेको,
र, माटोभित्र विषादी मिश्रण रहेको।
तर पनि ऊ सोचिरहेछ,
सिंगो देशलाई गोडमेल गर्नुछ
नपलाउने गरी झारपात उखेल्नु छ
किराफट्यांग्राहरू हटाउन
पौरखको कीटनाशक छर्नु छ
अनि, बनाउनु छ हराभरा।
प्रतिक्रिया दिनुहोस !