रामेश्वरको दिव्य चमक

नियात्रा

रामेश्वरको दिव्य चमक
सुन्नुहोस्

विराटनगरको त्यो बिहान, मानौं कुहिरोको एउटा सेतो मलमल ओढेर अलि ढिलो गरी ब्युँझिएको थियो। झ्यालका सिसाहरूमा शीतका थोपाहरू मोती झैं टल्किरहेका थिए। अघिल्लो साँझ नै गाउँको सुगन्ध र पहाडी माटोको ममता बोकेर आमाबुबा सहर आइपुग्नुभएको थियो। बाहिर चिसोको साम्राज्य भए तापनि मेरो मनभित्र भने एउटा तातो र तीव्र उत्साहको लहर चलिरहेको थियो। त्यो उत्साहको केन्द्रबिन्दु थियो– रामेश्वरम्को पावन यात्रा।

आकाशको नौलो उडान :  बुबाआमाले धेरै तीर्थहरू गरिसक्नु भएको छ। बद्रीनाथ र केदारनाथको यात्रा कठिन थियो। जगन्नाथपुरी र काशी पनि पुग्नुभएको थियो। त्यसो त थुप्रै तीर्थ पुग्नुभएको छ। तर हवाई यात्रा उहाँहरूका लागि नयाँ थियो। काठमाडौंसम्मको उडान केवल ४५ मिनेट थियो। यस पटकको भारत उडान भने तीन घण्टाको थियो। आमाले सिटबेल्ट कस्दा हात काँपेको देखियो। बुबा झ्यालबाट बाहिर टोलाएर हेर्नुहुन्थ्यो। चेन्नई पुग्दा भाषा र शैली बदलियो। शब्द नबुझिए पनि भावना प्रष्टै थियो।

‘सबै किन यति छिटो बोल्छन् ?’, आमाले सोध्नुभयो। म मुस्कुराएँ तर केही बोलिनँ। ‘अनाउन्समेन्ट’ बुझ्न उहाँहरूलाई निकै गाह्रो भयो। तर छोरो साथमा छ भन्ने भरोसा थियो। मदुरै उत्रिँदा निकै कडा गर्मी थियो। साँझको ८ बज्दा पनि सहर जाग्राम थियो। हामी सिधै मीनाक्षी मन्दिरतर्फ अगाडि बढ्यौं। आमाले गोपुरम् देखेर हात जोड्नुभयो। आस्था पढेर होइन, अनुभव गरेर जन्मिन्छ। 

बुबाको मुस्कानमा एउटा गहिरो सन्तोष थियो।

मीनाक्षीको भव्य कला :  मन्दिर परिसर २२ बिघामा फैलिएको छ। यहाँ १४ वटा विशाल गोपुरम्हरू रहेका छन्। भित्ताहरूमा ३३ हजारभन्दा बढी मूर्तिहरू छन्। पार्वतीको मीनाक्षी रूप यहाँ निकै प्रसिद्ध छ। शिवजी यहाँ सुन्देश्वर स्वरूपमा रहनु भएको छ। मन्दिरको इतिहास छैटौं शताब्दीदेखि सुरु हुन्छ। वर्तमान स्वरूप १७औं शताब्दीमा बनेको हो। राजा तिरुमलै नायकले यसलाई भव्य बनाए। 

आमाका आँखा मूर्तिहरूमा टक्क अडिएका थिए। बुबा हजार स्तम्भको मण्डपमा हराउनुभयो। दिनभरको तीन हजार किलोमिटर यात्रा बिर्सिएँ। आमाको अनुहारको उज्यालो नै ठूलो पूजा थियो। छोराको रूपमा म निकै धन्य भएँ। मन्दिरको विशालताले हामीलाई मौन बनाइदियो। यो यात्रा धर्म र कर्तव्यको संगम थियो। देवता प्रसन्न हुनुभन्दा आमाबुबा खुसी हुनुभयो। हरेक पाइलामा नयाँ कथा लुकेको थियो। हाम्रो छायाँ पछ्याउँदै उहाँहरू हिँडिरहनुभयो।

समुद्र र समर्पणको लय :  हामीले रामेश्वरम् जान रेल रोजेका थियौं। जुन बंगालको खाडीमाथि रेल तीव्र गतिमा दौडिँदै थियो। जतिबेला समुद्री हावाले मनलाई निकै शान्त बनायो। रामेश्वरम् एउटा सानो टापुजस्तो लाग्छ। हामीले लोकल टुरका लागि गाडी रिजर्भ गर्‍र्यौं। पहिले कोदण्ड राम मन्दिर पुगेर दर्शन गर्‍यौं। यहाँ विभिषणले रामको शरण पाएका थिए। आमाले त्यहाँ निकैबेर आँखा चिम्लनुभयो। 
उहाँको मौन प्रार्थनामा धेरै शक्ति थियो।

त्यसपछि हामी श्वेत बाँधतर्फ अगाडि बढ्यौं। नल र नीलको पौराणिक कथा सम्झियौं। मात्र पाँच दिनमा सेतु निर्माण भएको थियो। अहिले त्यो सेतु भौतिक रूपमा छैन। तर ४८ किलोमिटरको दूरी अझै बाँकी छ। श्रीलंका यहाँबाट निकै नजिक पर्ने रहेछ। दुईवटा सागरको मिलन निकै अद्भुत थियो। समुद्रको शंख बजारमा निकै भिड थियो। यो स्थान मनको विस्तार जस्तो लाग्यो।

विश्वासको अन्तिम विन्दु :  धनुषकोडी पुग्दा बुबा धेरैबेर बोल्नु भएन। समुद्र र आकाशको बीचमा शून्यता थियो। रामायण यहाँ केवल एउटा कथा थिएन। यो त हाम्रो जीवनको एउटा संस्कार थियो। समुद्रका छालहरूले पुराना सम्झनाहरू बगाए। राम–रावण युद्धको सुगन्ध हावामा सुनिन्थ्यो। तेस्रो दिन हाम्रो यात्राको शिखर थियो। हामी बिहानै उठेर मन्दिरतर्फ लाग्यौं। रामेश्वरम् भगवान शिव र विष्णुको एकता हो। 

बिहान ४ देखि ६ बजेसम्म विशेष हुन्छ। त्यही समयमा मात्र ज्योतिर्लिंगको दर्शन मिल्छ। हामी ५ बजेतिर मुख्य गर्भगृहमा पुग्यौं। लिंगको चमक निकै फरक र दिव्य थियो। काँचभित्र बत्ती बलेको जस्तो देखिन्थ्यो। यो मेरो जीवनको पहिलो अनुभव थियो। आमाबुबाको अनुहारमा एउटा अलौकिक शान्ति थियो। मन्दिरको शान्तिले हृदयलाई निकै छोयो। शब्दभन्दा श्रद्धा धेरै गहिरो हुँदो रहेछ।

ज्योतिर्लिंगको अद्भुत चमक :  दर्शनका लागि हामी एक घण्टा जति लाइनमा बस्यौं। त्यो धैर्यपछि भगवान्को दर्शन पायौं। विश्वासलाई स्पर्श गर्ने यो ठूलो अवसर थियो। त्यसपछि हामीले समुद्रमा पवित्र स्नान गर्‍यौं। मन्दिरभित्र २२ वटा पवित्र कुण्ड रहेछन्। हामीले सबै कुण्डमा पालैपालो स्नान गर्‍यौं। यो स्नानले शरीर र मन शुद्ध भयो। तर दिउँसोको दर्शनमा त्यो चमक थिएन। त्यो दिव्य चमक बिहानमात्र देखिँदो रहेछ।

त्यही चमकका लागि हामी टाढाबाट आएका थियौं। आमाबुबालाई त्यहाँ पुर्‍याउनु मेरो कर्तव्य थियो। यी सबै केवल कर्मकाण्डमात्र थिएनन्। माटोसँग खेलेका हातहरूको पानीसँग संवाद थियो। कुण्डको पानीले बुबाको थकान पखालिएको थियो। त्यसपछि लक्ष्मण र पञ्चमुखी हनुमान मन्दिर पुग्यौं। नटराज मन्दिरको कला पनि निकै भव्य थियो। आमाबुबा यी स्थानमा पुग्दा कम बोल्नुभयो। मानौं, मौनताले नै श्रद्धा व्यक्त गरिरहेको थियो।

कर्म र मानवताको सार :  प्रसिद्ध व्यक्तित्व अब्दुल कलामको घर र समाधि पुग्यौं। मैले कलामबारे विस्तारमा बताउन थालें। बुबाले बिस्तारै एउटा गहिरो कुरा भन्नुभयो, ‘गरिबीले मान्छेलाई कहिल्यै सानो बनाउँदैन रहेछ।’ यो वाक्य मेरो मनमा गहिरो गरी गाडियो। कलाम जन्मले मुस्लिम तर कर्मले मानव थिए। उनको सोचाइ र व्यक्तित्व निकै विशाल थियो। बुबाले कलामको जीवनको मर्म बुझ्नुभयो। मानवता नै सबैभन्दा ठूलो धर्म हो।

फर्किंदा हामी बैंगलोरको बाटो भएर आयौं। त्यहाँको इस्कन मन्दिर निकै भव्य देखियो। ओरियन मलमा पनि हामी एकछिन घुम्यौं। आधुनिक सहरको विकास देखेर आमाबुबा छक्क पर्नुभयो। बागडुग्रा हुँदै हामी नेपालको सिमाना काँकडभिट्टा पुग्यौं। यो यात्रा केवल भौगोलिक भ्रमण मात्र थिएन। यो त स्मृतिको एउटा गहिरो सागर थियो। हरेक रात होटलको झ्यालबाट आमा हेर्नुहुन्थ्यो। ‘हामी धेरै टाढा आइपुगेछौं है ?’, आमा सोध्नुहुन्थ्यो।

पुत्रधर्मको मौन स्वीकारोक्ति :  हो, हामी धेरै टाढा आइपुगेका थियौं। यो दूरी केवल बाटोको मात्र थिएन। यो त छोरा र अभिभावकको सम्बन्ध थियो। म शारीरिक रूपमा निकै थाकेको थिएँ। तर अचम्म, उहाँहरूको अनुहारमा चाहिँ निकै सन्तोषजनक चमक थियो। आमाबुबालाई घुमाउनु भनेको एउटा ऋण तिर्नु हो। उहाँहरूले हामीलाई जीवनभर डोर्‍याउनु भएको थियो। आज हामीले उहाँहरूको हात समाउन पायौं। यो नै संसारको सबैभन्दा ठूलो तीर्थ हो। विराटनगर पुग्दा रात निकै छिप्पिएको थियो। हो, यात्रा सधैं मेरो मनमा जीवित रहनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.