अल जुबरा कतारको राजधानी दोहाबाट लगभग १०५ किलोमिटर उत्तारपश्चिम दिशामा अवस्थित छ। यो कतारमै सबैभन्दा ठूलो पुरातात्तिवक महत्तवको ठाउँ हो।
श्रीलंकाली सहकर्मी इम्हादले घुम्ने ठाउँ सुझाउँदै भने, ‘पुरानो कतार हेर्नु छ भने अल जुबरा र अल जुमैल अर्थात् कतारका छाडिएका गाउँ जानुस्। गाडीमा ठाउँ छ भने म पनि जाउँला तपाईंहरूलाई गाइड गर्न।’ उनले आफ्नो सहयोगीपन अघि बढेरै देखाए। करिब दुई वर्षअघि कतारमा गर्मीको पारो ४२ डिग्रीभन्दा तल झर्न नमानिरहेको बेला थियो त्यो।
सहकर्मी मित्र प्रकाशको यसपालिका लागि कतार बसाइ मैजारो हुन लागेको थियो। त्यसैले बढ्दो गर्मीको प्रवाह नगरी हामी उहाँको कतार बसाइको अन्तिम समयलाई यादगार बनाउन कतै घुम्ने योजना बनाउँदै थियौं। सानो देश। दोहा र आसपासको हालसालै भएको विकासको वरिपरि घुमेर दिन बितिरहेका हामीलाई उनको प्रस्ताव मन प¥यो। विश्वस्तरको विकास गरेर २०२२ को विश्वकप फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको कतारको इतिहास बुझ्न त्यता जानु ठीक ठानेर सोही मुताविक योजना बन्यो। दुईवटा गाडीमा आठ जनाको सहकर्मीको टोली पुरानो कतार चिहाउने हुटहुटीसहित सुरुवाती गन्तव्य जुवारा सहरतर्फ लाग्यो।
पृथ्वीमा लामो मानव इतिहासको कालखण्डमा विभिन्न कारणले पहिले गुलजार रहेका मानव बस्तीहरू खण्डहरमा परिणत भएको सम्झनामा आयो। जातीय द्वन्द्वको कारणले छोडिएको अजरबैजानका नागार्नो काराबाग क्षेत्रदेखि पछिल्लो पुस्ताले परम्परागत खेती र पशुपालन नगरी फरक जीवनशैली अपनाएका कारण छोडिएको स्पेनको मेराडिस क्षेत्रसम्म। त्यस्तै महाबारीका कारण छाडिएका मध्यकालका ब्रिटेनका गाउँहरू र प्राकृतिक बिपत्तिका कारण त्यागिएका इन्डोनेसियाको पेटोबोसम्म। युद्ध, भोकमरी, पूर्वाधार र विकासको अभाव, प्राकृतिक विपत्ति, आर्थिक उन्नति र विकसित ठाउँकेन्द्रित बसाइँसराइजस्ता विभिन्न कारणले खण्डहरमा परिणत गाउँ वा सहर संसारमा दसौं हजार छन्।
अर्को गन्तव्य थियो, अल जुमैल ‘द अवनडेन्ड भिलेज अर्थात् छोडिइएको गाउँ’। जुमैलको अर्थ अरबी भाषामा सुन्दर भन्ने हुन्छ।
त्यसो त नेपाल पनि युद्धबाट अछुतो छैन, यहाँका ग्रामीण बस्तीहरू विभिन्न कारणले रित्तिँदै गएका छन्। कतारका केही पुराना ठाउँ घुम्ने अवसर प्राप्त भएकोमा उत्साहित थियौं। दोहा र त्यहाँको वैभव छोडेर उत्तर पश्चिम ताकेर दोहा बाहिर मरुभूमिबीच कालोपत्रे सडकमा गुडिरहँदा मित्र सत्यजी बोल्नुभयो, ‘यस्तो ठाउँमा पनि यति राम्रो बाटो बनाको छ हो।’ सहरभन्दा पर केही बुट्ट्यानमात्र भएको मरुभूमिको यो स्थानमा पनि विकासले फड्को मारेको देखेपछि नेपालको विकास नहुनुमा एक, दुई थान दोषका शब्द नेतामाथि थोपर्दै हामी अघि बढ्यौं। त्यहाँको भौगोलिक अवस्था हेर्दा पहिला समुद्र रहेको र समुद्र सतह घटेर बनेको जस्तो ढुंगा, गेग्रयान थियो। अनकन्टार मरुभूमिमा केही ससाना पोथ्राहरूले आँखालाई केही राहत दिए। अन्ततः मानव बस्ती देखिन छाड्यो। लगभग सवा घण्टाको गाडीको यात्रापछि पहिलो गन्तव्य अर्थात् अल जुबरा पुग्यौं।
अल जुबरा गाउँ : अल जुबरा कतारको राजधानी दोहाबाट लगभग १०५ किलोमिटर उत्तरपश्चिम दिशामा अवस्थित छ। यो कतारमै सबैभन्दा ठूलो पुरातात्त्विक महत्त्वको ठाउँ हो। कुनै जमानामा ६ हजार जति मानिसको बसोबास रहेको यो स्थान समुद्रबाट मोती निकाल्ने स्थानका रूपमा परिचित हुँदै, पछि व्यापारिक बन्दरगाहका रूपमा यसको प्रसिद्धि थपियो। यो स्थानमा मानिसलाई चाहिने आवश्यक पूर्वाधार मस्जिद, बजार, माछा मार्ने मानिसबस्न बस्न बनाइएका टहराका भग्नावशेष अझै छन्। १८औं र १९औं शताब्दीमा पर्सियन गल्फको संरक्षित क्षेत्रमध्ये यो संरक्षणको सबैभन्दा राम्रो उदाहरण हो। 
अल जुबरामा अवस्थित अल जुबारा फोर्ट अर्थात् किल्ला पुग्दा हामीलाई अफ्रिकी मूलका सुरक्षा गार्डले स्वागत गरे। उनीबाहेक त्यहाँ अरू कोही पनि देखिएनन्। उत्सुकताबस सोधें, ‘तपाई यही बस्नुहुन्छ ?’ उनले उत्तर दिए, ‘हैन ड्युटी गर्न मात्रै आउँछु। अल जुवाराको मुख्य आकर्षण भनेको यहाँको फोर्ट अर्थात् किल्ला हो। कतारका तेस्रो अमिर शेख अब्दुल्लाह बिन जसिम अल थानीले समुदी्र तटमा सुरक्षाका खातिर यो किल्लाको स्थापना गरेका थिए। बर्गाकार यो किल्लाभित्र खुल्ला स्थान छ। यसको माथी चारवटा सुरमा तीनवटा गोलाकार र एउटा आयातकर टावर छन्, जुन टावरहरू शत्रुहरूको निगरानी गर्न र आक्रमण गर्न प्रयोग गरिन्थे।
यहाँको इतिहास, पहिलेको जीवनशैली झल्काउने तस्बिर र सामग्री पनि संग्रहित छन्। पछि यसलाई विभिन्न कला र विशेषगरी पुरातात्त्िवक संग्रहालयका रूपमा विकास गरिएको छ। अल जुवारा क्षेत्र २०औं शताब्दीमा कतारमा तेल र प्राकृतिक ग्याँस पत्ता लाग्नुभन्दा अघिको जीवन, सामूहिक जीवन पद्धति र आर्थिक इतिहास आदि बुझ्न महत्त्वपूर्ण छ। बीसौं शताब्दीको अन्त्यतिर पूर्णरूपमा छोडिएको यो ठाउँ कतारको एक मुख्य ऐतिहासिक र पुरातात्त्विक महत्त्वको स्थान मानिन्छ। जसका कारण यो हाल विश्व सम्पदा सूचीमा सूचीकृत छ।
बाटैमा अइन मोहम्मद गाउँ : जुबरा सहरबाट अइन मोहम्म्द हुँदै अल जुमैल अर्थात् त्यागिएको गाउँतर्फ लाग्यौं। केहीबेरको गेग्रयानी मरुभूमि र पातला बुट्यानबीचको बाटो हुँदै अघि बढेर उत्तरी कतारमा अवस्थित अर्को छोडिएको गाउँ अइन मोहमम्द पुग्यौं। अल समाल नगरपालिकामा अवस्थित यो पनि अर्को प्राचीन गाउँ रहेछ। दुईवटा मस्जिद र एउटा किल्लासहितका संरचना रहेको अइन (इनार) र इनार बनाउने मान्छे मोहम्मदको नामबाट नामकरण भएको मानिँदो रहेछ।
केही प्राकृतिक स्वरूपमै जीर्ण रूपमा छाडिएका स–साना घरहरू, केही जीर्णोद्वार गरिएका संरचना थिए त्यहाँ। पुरानै जीवनशैलीको झल्को दिन घोडा र उँट पनि अझै पनि पालिएको रहेछ। १९औं शताब्दीमा बसोबास गर्न थालिएको मानिएको यो गाउँ २०औं शताब्दीको अन्त्यतिर छोडिएको रहेछ। सकेसम्म प्राकृतिक स्वरूपमै छोडिएको यो गाउँले प्राचीन कतारको रहनसहन र जीवनशैली चिहाउने आँखीझ्यालको एक झल्को दिन्छ।
प्राचीनता र इतिहास कायम राख्दै यस्ता ठाउँलाई कसरी पर्यटकीय आकर्षणको केन्द्र बनाउन सकिन्छ भन्ने राम्रो उदाहरण हो, अइन मोहम्मद। हामी त्यहाँ पुग्दा मुख्य प्रवेशद्वार बन्द भएकाले नजिकबाट नियाल्न नपाए पनि बाहिरबाटै त्यो जीवन्त कतारी इतिहासको अवलोकन गर्दै हामी
अर्को गन्तव्य अल जुमैलतर्फ लाग्यौं।
अल जुमैल अर्थात् छोडिइएको गाउँ : हाम्रो अर्को गन्तव्य थियो अल जुमैल ‘द अवनडेन्ड भिलेज अर्थात् छोडिइएको गाउँ’। जुमैलको अर्थ अरबी भाषामा सुन्दर भन्ने हुन्छ। समुद्र किनारमा रहेको, शीतलता अनुभव हुने, मरुभूमिमा रहेका केही बुट्ट्यान, जीवनयापनका तुलनात्मक रूपमा सहज ठाउँ भएकाले त्यस ठाउँलाई सुन्दरको विशेषण दिइएको होला भन्ने अनुमान गरें। कतारको उत्तरी क्षेत्र अल समाल नगरपालिकास्थित त्यो ठाउँमा पुग्दा कतारको पुरानो समयको यात्रानुभूति भयो। एकातिर समुद्र अर्कोतर्फ
मरुभूमिको विरोधाभास संगम। समुद्रका ढुंगा, चुनढुंगा, मुगाका खबटाबाट निर्मित घरका भत्किएका अवशेषहरू। बाक्लो गारो भएका घरहरूका अवशेषले, गर्मीबाट बच्न पम्परागत पद्धतिको उत्कृष्ट प्रयोग झल्काउँथ्यो।
माटाका भाँडाका टुक्राहरू र मानिसहरूले प्रयोग गरेका सामानका केही अवशेषहरूले त्यहाँको परम्परागत जीवनशैलीको सचित्र वर्णन गरे झैं लाग्यो। गाउँको संरचना र वस्तुस्थिति इस्लामिक परम्पराबाट निर्देशित भएर निर्माण भएको देखियो। अझै पनि मानवविहीन गाउँको भग्नावशेषलाई संरक्षण गरेर बसे झै त्यहाँको अल हुसैन मस्जिद भने दह्रोगरी उभिएको थियो। समुद्र किनारमा अवस्थित यस ठाउँका मानिसको यहाँ बस्ती रहनुको कारण मानवको जीवनयापन समुद्रसँग जोडिएको र गर्मी छल्न सजिलो भएकाले हो भन्ने अनुमान गर्न गाह्रो पर्दैन। उतिबेला यहाँका मानिसको जीवनयापनको मुख्य स्रोत माछा मार्ने र समुद्रबाट निकालिने मोती रहेछ।
१९औं शताब्दीमा सुरुवाततिर माछा मार्न र मोती निकाल्न प्रख्यात मानिएको यो ठाउँ २०औं शताब्दीमा व्यापारिक केन्द्रका रूपमा विकसित भयो। सन् १९४० को दशकयता कतारमा तेल र ग्याँस पत्ता लागेर उत्खनन भएर देशले आर्थिक फड्को मारेसँगै मानिसले बिस्तारै यो गाउँ छोड्दै गए। मानिसहरू राजधानी दोहा केन्द्रित हुन थाले। विकासको जति फड्को मारे पनि आफ्नो इतिहासको धरातललाई सकेसम्म उही स्वरूपमा नै राखेर आफ्नो विगतलाई सम्मानित रूपमा संरक्षण गर्ने कतारको यो कार्य सराह्रनीय छ।
हाम्रो नेपालमा रहेका ऐतिहासिक, पुरातात्त्िवक र ऐतिहासिक महत्त्वमा ठाउँहरू र हाल तीव्र बसाइँसराइका कारण रित्तिँदै गएका गाउँहरूलाई तिनीहरूकै स्वरूपमा संरक्षण गर्न सके भन्ने भावना मनमा आउनु स्वाभाविकै भयो। यति त्यसो गर्न सके आफ्नो इतिहासलाई ज्युँका त्युँ राखेर त्यस्ता स्थानहरूलाई आफू र भावी पुस्तालाई आफ्नो धरातल चिहाउने आँखीझ्याल अनि उत्कृष्ट पर्यटकीयस्थलका रूपमा विकसित गर्न सकिने रहेछ। छोडिएका गाउँ र संरचनाहरूलाई संरक्षण गरेर आफ्नो विगतप्रति कृतज्ञ अनि गौरवान्वित हुँदै कसरी आधुनिकतालाई आत्मसात् गर्न सकिन्छ भन्ने राम्रो पाठ हुन कतारका अबेन्डेन्ड भिलेजेज अर्थात् छोडिएका बस्तीहरू।
करिब मध्याह्नतिर हामी कतारी इतिहासको साक्षी बनेर अन्य त्यस्तै ऐतिहासिक महत्त्वका ठाउँहरू अल आरिस, अल जसासियालाई अर्को पटकको भ्रमण तालिकामा राख्दै पुरानो कतारबाट आधुनिक कतारको वैभव दोहातिर फर्कियौं।
प्रतिक्रिया दिनुहोस !