मनमा वेदनाका घाउहरू अनगिन्ती उम्रिन्छन्। टुसा हाल्छन्, मौलाएर बढ्न खोज्छन्। तिनलाई कसरी पुर्ने ?
तपाईंलाई थाहा छ– हाम्रा मनमा वेदनाका घाउहरू अनगिन्ती उम्रिन्छन्। टुसा हाल्छन्, मौलाएर बढ्न खोज्छन्। तिनलाई कसरी पुर्ने ? भावनाका गुम्फनहरू भित्र अनगिन्ती कोपरेर परेका भावनात्मक घाउहरू बल्झिन सक्छन्। तिनलाई कसरी निको पार्ने ? जीवनमा दुःखका बल्ग्रेन्ती भिडहरू भेला हुन्छन्। तिनलाई कसरी पन्छाउने ? अथवा तिनको नामोनिशान कसरी मेटाउने ? मान्छे न हो। अभाव हुन्छ। अभावका झोलाहरू बोकेर हिँड्दा एउटै ध्याउन्न हुन्छ। त्यो झोला कसरी भरेर अभाव पूर्ति गर्ने ?
साँच्चै चक्कर लाग्छ। साइरन बज्छ जहिल्यै– वेदना, दुःख, अभाव, पीडा र दर्दहरूको। यस्तै कुराले आतंकित हुन्छ मन हरदम। हरपल भयभीत हुन्छ र हरक्षण डराउँदै तर्सिरहन्छ मन। के म चरित्रवान् नभएर यस्तो डर, त्रास र छटपटी भएको हो ? किमार्थ होइन। के मैलै कसैलाई दुःख दिएँ र यस्तो भएको हो ? म अरूलाई नराम्रो बोल्ने दुष्प्रयास त कहिल्यै गर्दिनँ भने अरूलाई दुःखदिनु झन् मेरो विषयमै पर्दैन। संवेदनहीन छैन मेरो मन। मनभरि संवेदनाका ज्वार चल्छन् हरपल। मेरो मन अरूलाई नेताले जस्तो फोस्रो आश्वासन दिनै सक्दैन।
एउटा अटल निष्ठा र इमान्दारीमा विश्वास राख्छ। त्यो विश्वास जोगाएर राख्छ। यही भएर त मेरो मन सङ्लो छ। मन भएकै कारण सुखदुःख महसुस गर्दछ। निस्वार्थ भावले अरूको भलो सोच्छ। अरूको दुःखमा दुःखी हुन्छ। प्रतिशोध जान्दैन। स्वार्थ र छलकपट गर्दैन। ठोकुवा गरेर भन्छु ठगी त परको कुरा मेरो मनको कल्पनामा झुट पनि बर्जित छ। तर आफ्नो जीवनचर्यासँग आफैंलाई नरमाइलो नलागेको चाहिँ होइन। यसमा मनले असन्तुष्टि जाहेर पनि नगरेको होइन। तर चाहे जस्तो नहुने रहेछ।
गरिबीले थिल्थिलो पारिएको शरीर छ। अनिँदा दुई आँखाले आराम गर्न खोज्छन्। सक्दैनन्– झिमझिम गर्न बाहेक। जाडो त आङ ढाक्ने न्यानो कपडा खोज्छ शरीर। कहाँ पाउनु ? अभाव छ। स्वाद खोज्छ फेर्न जिभ्रो तर कसले व्यवस्था गरिदिने सुस्वादु खान्की ? हेर्न मन लाग्छ तर निरीह छन्– आँखाहरू। पटकपटक रुन्छ उसको मन। मन रोएको बेला हरचीज रोएको देखिँदो रहेछ।
अनि मन रुनु भनेको ह्रदय उजाड हुनुको अनुभूति रहेछ। अनि मन रुनु भनेको ह्रदयले यातना पाउनु पो रहेछ। थाहा छ यसो हुनु भनेको अभिसप्त जीवन बाँच्नु पो रहेछ। काँप्दै मन रुनु भनेको अभावले चिसिनु पो रहेछ। मन काँप्नु भनेको त कैयन पीडामा पिल्सिनु पो रहेछ। अझै भन्ने हो भने मन भत्किएपछि जोडिन गाह्रो हुने रहेछ। मान्छेहरू भन्थे मन कठोर बनाउ पत्थर जस्तै। तर कहाँ हुन्थ्यो र त्यस्तो। मन त अभावमा झन् नौनी झैं नरम भएर पग्लिँदो रहेछ।
अनि आँसु बनेर आँखाबाट बग्दो रहेछ। कहिलेकाहीँ मन उड्न खोज्छ, स्वच्छन्द रूपले। तर त्यसबेला बादल र कुहिरोभित्र कताकता रुमुल्लिएर हराउँछ। अनि फेरि खोज्दै जाँदा कताकता घाइते भएर विक्षिप्त रूपले बसेको मन पाइन्छ। कस्तो है यो मन पनि। तर किमार्थ सान्त्वना पाउँदैन मनले। किन यस्तो हुन्छ होला ? कसरी छिचोल्ने होला यी सबका सब। कसरी पार पाउने होला। यस्तै अनेकानेक कुराहरूले ह्रदयमा ज्वारभाटा चल्ने गर्छन्।
मलाई पनि त प्रसिद्धिको रहर जाग्दो होला। चर्चाको शिखर चढ्न मन लाग्दो होला। सम्भावनाका ढोकाहरू खोल्न प्रयास नगरेको पनि होइन। तर सकिएन त म के गरुँ ? तर सत्य र यथार्थमा आकाश र जमिन अन्तर छ। मेरो बशमा सबकुरा छैनन्। नत्र मलाई पनि थाहा थियो नि। अभाव मेरो मनको वरिपरि विचरण गरिरहेर पो। बेमौसममा भटाभट हुर्केर बढिरहेको झारजस्तो अभाव थपिँदै गएर पो पीडा भएको। नत्र मैले पनि जानेको थिएँ। मुटु कमाउने जस्तो अभावको चिसो सिरेटो चलेर पो जिन्दगीमा– नत्र जानेको थिएँ नि।
रनभुल्ल पर्नु जरुरी छैन। मेहनत गरेर लगाएको सुखका फसल पाक्न नपाउँदै असिनाले चुटिदियो भने कसको मन नरोला। तर गुनासो गरेर मात्र हुँदैन हजुर।
गरिबीको कालो बादलले जिन्दगीको वरिपरि घुम्ने स्थान बनाएर पो असमर्थता जाहेर गरेको। नत्र किन गर्थें र आनाकानी। संयम अपनाउँदा अपनाउँदै पनि मनमा कहिलेकाहीँ स्वार्थ खाएर स्वार्थ नै डकार्नेहरूप्रति असीम घृणाको ज्वारभाटा उर्लन्छ। किनकि मेरो मनलाई मन पर्दैन। त्यस्ता कुराहरूबाट प्रभावहीन छ मन। तर पनि जमाना यो मामलामा निक्कै अध्याँरो छ। अझ भनुँ स्वार्थको दुर्गन्ध जताततै। पद र प्रतिष्ठा आर्जन गर्न पैसाको खोला बग्ने जमाना यो। जता हेर्यो धमिलो पानीमा माछा मार्नेकै भिड। सबका सब छरपष्ट छन्। तर सबैले अन्देखा गर्दाछन्।
सुन्दा त नमीठो गन्ध, देख्दा र बेहोर्न पर्नेलाई कस्तो उकुसमुकुस भएको होला ! मेरो मन चाहिँ सहन गर्न सक्दैन यी कुरा। त्यसैले होला बोनसाँई जस्तै साँघुरो भएर बसेको छ मेरो मन। नियाल्छ मन चारैतिर। आफू अनुकूल केही कहीँ देख्दैन। र त एक्लै टोलाउँछ। घरी झस्किन्छ। घरी के के सोची बस्छ। मनको आँखाबाट दृष्टि फ्याँक्छ। यत्रतत्र दुख्छ उसलाई। कोमल हृदय चहर्याउँछ। पोल्छ उस्तै भतभति।
अभावका कारण मनका अनेक सपना क्षत्विक्षत भएर भाँचिएका छन्। टहटह लाग्ने जूनको ठीक मुन्तिर बसेर अभावको त्रासदीमा पिल्सिँदाका पीडा एक्लै पोखिएका छन्। जागृत दुई नयनले टुलुटुलु हेर्न सिवाय केही गर्न नसकेकोमा अफसोच मान्दै भुइँमान्छे हुनुको विडम्बना मौनतामै व्यक्तिएका पलहरू धेरै गुजारेका छन्। हुन त म गरिबीको गहिरो दहमा जहिल्यै डुबुल्की मार्ने मान्छे– खुसीको पहाड कसरी चढुँ। अभावको पोखरीमा खुसी खोज्ने मान्छे– भरिपूर्ण मैदान कहाँ मिलोस् मलाई। अँध्यारो पोतिएको जिन्दगीमा एक टुक्रा उज्यालोको खोजी गर्ने मान्छे– कहाँ खुल्छ उसै पर्दा खुसीको।
मन विचलित हुँदाको परिस्थितिमा पनि बाँच्नु कम्ती गाह्रो हुन्छ र ? तर पनि मान्छे बाँचिरहेको छ। सायद यही होला यस्ता मान्छेको हैसियतको असलियत। खुसीहरू अन्धकारमय पीडामा बदलिएर ओझेल पर्दा कस्ता हुन्छ ? मुटु भक्कानो पारेर जिउनुपर्दा मुस्कान कहाँ लुक्छ ? के नियाल्नु भएको छ कसैले। सुखका चन्द्रमा र जूनसँग लुकामारी खेल्न सबैलाई मन नहुँदो होला त ? कसलाई मन होला तिनलाई त्यागेर काला औंसीका निरव रातजस्तो जीवन मनाउन ? चिन्ताका गह्रुँगा भारी बोकेर को बसिरहन्छ र जिन्दगीमा ? यी सबै प्रश्नभन्दा पर एउटै सबैको रहर हुन्छ, सपना हुन्छ। अनि चाहाना हुन्छ– सुखी जीवन बाँचु। खुसी जीवन बाँचु। आफूमात्र होइन, आफ्नालाई पनि त्यस्तै जिन्दगी बाँच्ने परिस्थिति सिर्जना गरुँ– कसको रहर नहोला र ! गरिबीको सौन्दर्य पनि आफ्नै खालको छ के ! एउटा निरीह आँखा आफ्नै भावमा बोल्न खोज्छ– सायद यसभित्र अशक्तता बुझ्न सकिन्छ। यो आफूसँग आफैं अत्तालिन्छ कहिलेकाहीँ। यसको गाम्भीर्यताको अलगै पहिचान छ। यसको उदासी मुद्रा उसको असमर्थताको उपज हो। यस्तो मनमा संवेदनाको अपेक्षा हुन्छ। हुन त अपेक्षा गर्नै पर्दैन। यहाँ त अश्रुमिश्रित भाव र स्वतः द्रवित भएर बग्ने आँसु दुवैले आफैं अथ्र्याउँछ मनको व्यथा।
दुःखका बादलले सुखका घाम छेलिदिएपछिको अवस्थामा मान्छे ओसिन्छ दुःखैदुःखमा। अभावका गहिरा खाडल नियतिले खनिदिएपछि परिन्छ नि। अनि कसलाई हुन्न र त्यो पहाड ढाल्ने इच्छा ! दुःखका पहाड कसलाई चढ्न रहर हुन्छ र ! सकेसम्म ढालिदिन पाए हुन्थ्यो भन्ने आभास हुन्छ। सुखका तालीहरू परर बजाउन पाए को नबजाउला ? तर खुसीको उज्यालो भुइँमा नखस्दै निभिहाल्छ र दुःखको अँध्यारोले गल्र्याम्म अँगालो हालिहाल्छ। दुःख आगोको लप्का जसरी दन्दनी जलेपछि सुखको पानी नहाली हुन्छ त हाल्न पर्छ। रनभुल्ल पर्नु जरुरी छैन। मेहनत गरेर लगाएको सुखका फसल पाक्न नपाउँदै असिनाले चुटिदियो भने कसको मन नरोला। तर गुनासो गरेरमात्र हुँदैन हजुर। प्रयास, फेरि प्रयास अनि फेरि प्रयास। सफलताको सूत्र यही त हो।
प्रतिक्रिया दिनुहोस !