यात्राको कैरन

समीक्षा

यात्राको कैरन
सुन्नुहोस्

हरेक नागरिक देश, समाज र देशको कानुनप्रति उत्तारदायी भएमा स्वत:  देश प्रगतितर्फ उन्मुख हुने रहेछ भन्ने उदाहरण हो अमेरिका।

‘जीवन एउटा यात्रा हो, हजारौं माइलको यात्रा गर्न शून्यबाटै सुरु गर्नुपर्छ। संसार देख्न यात्रा जरुरी छ‌।’

यस्तो धारणासहित लेखन यात्रा गरेका वा यात्राका अनुभूति मिहिन ढंगले अभिलेखीकरण गरिरहेका समकालीन स्रष्टा हुन्, छविरमण सिलवाल। यिनले घाम वा सूर्यमा सार्वभौम साक्ष्यभाव प्रकट गर्दै लेखेका छन्– ‘एउटै घाम हुन्, संसारमा जहाँ गए पनि भेटिने। तर घामका दृष्टिमात्र फरक हुँदोरहेछ। एउटै घामको प्रकाश तापेकाहरूका भेषभूषा, भाषासंस्कृति, रहनसहन फरकफरक हुन्छन्’ (पृ.२६)। यसै वाक्यांशको डोबबाट उम्रिएको छ ‘अमेरिकाको घाम’ नाम राखिएको कृति।

‘अमेरिकाको घाम’ नियात्राकार सिलवालको दसौं कृति हो। जुन मूलत:  भावना, अनुभूति र यात्राका कैरनले बनेको त्रिवेणी हो। कुनैबेला अमेरिका जाने उपक्रम असफल हुँदा दूतावासका कर्मचारीसँग ‘तिमीहरूको देशमा जान्नँ’ भनेर बाहिरिएका स्रष्टा छविरमणलाई नियतिले एकदिन अमेरिका पुर्‍यायो नै। यिनी करिब दुई वर्षअघि छोरा दीक्षित हुने समारोहमा भाग लिन सपरिवार पुगेका हुन् आम मानिसको सपनाको देश। घुमे, नजिकबाट नियाले र तिनलाई स्मृतिमा सजाए। त्यहाँको शिक्षा, जनजीवन, अनुशासन, उन्नति, वैभव देखेर प्रभावित भए। र, भावुक हुँदै व्यक्त गरे एउटै घाम ताप्ने मानिसको भूगोल र तिनका व्यथा लेखे, ‘...हामीसँगै नेपालबाट यात्राको साक्षी बनेर अमेरिकामा पनि साथै साथ रहेको थियो।’

यही प्रसंगबाट प्रस्तुत कृति साकार भएको भेटिन्छ। यसरी भूलोकको जहाँ पुगियोस्, घाम चाहिँ साँचो सहयात्री बन्छ भन्ने अभिप्राय नियात्राकारको छ। यसमा १३ वटा नियात्रा रचना समेटिएका छन्। देश, काल र परिस्थितिका दृष्टिले नियाल्दा यी रचनामार्फत नियात्राकारले त्रिमहादेशीय वा त्रिदेशीय परिवेश प्रस्तुत गरेका छन्। संग्रहको सुरुमा राखिएका आधा दर्जन सिर्जना पुगनपुग दुई वर्षपहिले (एक महिनाको अवधिमा) भएको परिभ्रणमा आधारित छन् भने बाँकी। करिब सातदेखि एक दशकभित्रको अवधिमा लेखिएका छन्।

वैयक्तिक तथा व्यापारका सिलसिलामा भएका परिभ्रमण अनुभूति नै नियात्रामा साझा गरिएका भेटिन्छन्। त्यतिमात्र होइन, विभिन्न सिलसिलामा पुगेको युरोप र चीनको कथालाई जोड्ने तन्तु पनि ‘घाम’ नै बनेको भेटिन्छ। अर्थात् लगभग एक दशकअघि –दस दिनका लागि) पुगिएको ‘स्लोभानिया’का पाँच र (एक हप्ते) ‘चीन’ यात्राका दुई थान आत्मसंस्मरण यसै मेसोमा समेटिन पाएका छन्। हरेक मानिस एउटा यात्रु हो। विभिन्न प्रयोजनमा हुने यात्राका सम्झनाहरूको अभिलेखीकरण गरियो भने साहित्यिक विधामा आत्मसंस्मरण बन्छन्। तसर्थ आत्मसंस्मरण नै नियात्रा हुन्। लेखकले देशबाहिरको यात्राका अनुभूतिहरूलाई केबल वर्णनमात्रै होइन; भावना, दृष्टि र सामाज–संस्कृतिको तुलनात्मक चेतनासहित प्रस्तुत गरेका छन्।

कृतिमा शीर्ष बनाइएको अमेरिकाका ६ थान निबन्ध छन्। सात वटा थपेर कृतिले लिएको यो आयतन नियात्रा विधामा ठिक्कको पुस्तक बनेको छ। पाठकले कृति पढ्दा त्रिदेशीय अनुभूतिमा नियात्राकारसँगै विचरणको सहजै आनन्द लिन सक्छन्। तर यो ‘अमेरिका’ नै शीर्षकको टाउको हुन किन आयो होला ? 

पाठकीय कौतुहल भने जाग्छ नै। निम्नानुसार उपकरणमार्फत कृतिको चिरफार गर्ने प्रयास भएको छ : –
१. संरचना :  नियात्रा सिर्जना केवल वर्णनमात्र होइन, भावना, दृष्टि र समाज–संस्कृतिको तुलनात्मक चेतनासहित प्रस्तुत दस्तावेज हो। नियात्राकारले यी तथ्यमा समुचित न्याय गरेका छन्। प्रस्तुत कृतिको कृतिपरक (आन्तरिक) अध्ययन गर्दा भाषा अपवादबाहेक अत्यन्त सरल, प्रवाहमय र दृश्यात्मक भेटिन्छ। संरचनाका दृष्टिले कम्तीमा ४ पेजदेखि बढीमा १४ पेजसम्मका निबन्धको आयाम भेटिन्छ। स्थानका आधारमा हेर्दा मुख्य तीन देशको सेरोफेरोमा परिभ्रमण केन्द्रित छ। थालनीमा शीर्ष अर्थात् नामजुराई प्रखण्डमा राखिएका ६ वटा निबन्धले ५ देखि १२ पेजम्मको ५० पेज ठाउँ लिएका छन्। क्रमश:  युरोपियन सेरोफेरोमा आधारित पाँचवटा निबन्धले ४ देखि ९ पेजसम्मका ३६ पेज र एसियाली देश चीनको परिवेशमा संरचित दुईवटा निबन्धले २३ पेज ठाउँ पाएका छन्। 

छविरमणले प्रत्येक नियात्रामा दृश्यहरूलाई चित्र झैं प्रस्तुत गरेका छन्, जसमा पाठक सँगसँगै डुलेको, घुमेको प्रत्यक्ष अनुभव गर्न पुग्छ। प्रत्येक संस्मरण सूचनाप्रद र तथ्यपरक बनाउन लेखकले सक्दो मेहनत लगाएका छन्। भेटेसम्मका ऐतिहासिक जानकारी समेटेका छन्। यिनको कथनशैली पनि सहज नै छ। त्यसैगरी यिनका प्रत्येक निबन्धको संरचनामा यात्राको क्रमबद्ध प्रस्तुति पाइन्छ– स्थान, घटना र अनुभूति सन्तुलित रूपमा आएका छन्।

२. प्रभाव :  नियात्रा कृतिले पाठकमा नयाँ ठाउँप्रति जिज्ञासा र आकर्षण जगाउँछन्। यस दृष्टिले नियात्राकार छविरमणको प्रस्तुत ‘अमेरिकाको घाम’ कृति सफल भेटिन्छ। लेखकको अनुभव सजीव भएकाले पाठकले आफू पनि यात्रामा रहेको र लेखक वर्णित भोगाइमा साक्षी रहेको अनुभूत गर्छ। नियात्राकारको यो सफलता गज्जबको छ। नियात्राकारले प्रयोग गर्ने सामान्य र कुरागराइको भाषा आमपाठकको मन जित्न सक्नेछ। कतिपय स्थानमा संवेदनात्मक गहिराइ, विस्मय, तुलनाले पाठकलाई सोच्न बाध्य बनाउँछ। अमेरिका जाँदा होस् या युरोप जाँदा होस्, देशको उन्नति, विकास, मानिसका व्यवहार, आर्थिक, सामाजिक पाटो, भाषा, रीतिरिवाज आदिसँग तुलना गर्दै भावुक भएका छन्। यस दृष्टिले कृति प्रभावकारी र मनोवैज्ञानिक रूपमा सफल देखिन्छ।

३. समाज–सांस्कृतिक :  अमेरिका, युरोप र चीनको आधुनिकता, प्रविधि, अनुशासन र जीवनशैलीको चित्रण स्पष्ट छ। विकसित देशको व्यवस्था, अवस्था र जीवनसँग नेपाली समाजसँगको तुलनात्मक दृष्टि प्रस्तुत गरिएको छ– विकास, संस्कार, जीवनशैलीमा भिन्नता पनि केलाइरहेका भेटिन्छन् उनी। प्रकृति, पर्यटन, भव्यताको प्रशंसा हरेक निबन्धमा भेटिन्छन्। लेखकले हरेक निबन्धमा यथार्थपरक भाषाशैलीको प्रयोग गरेका छन्। घटना र परिवेश सुहाउँदो भाषामा प्रस्ट धारणा राखिएको छ। यसले कृतिलाई केवल यात्रा विवरण होइन, सांस्कृतिक जीवनको अध्ययनसमेत प्रस्तुत गरेको छ।

४. लेखक–दृष्टिकोण (व्यक्तिगत चेतना) :  लेखकको दृष्टि प्राय:  जिज्ञासु, संवेदनशील र विश्लेषणात्मक अनुभूतिमा आधारित छ। आफूले नियालेको विषयमा भरसक अन्याय गरेका छैनन्। ‘हरेक नागरिक देश, समाज र देशको कानुनप्रति उत्तरदायी भएमा स्वत:  देश प्रगतितर्फ उन्मुख हुने रहेछ भन्ने उदाहरण हो अमेरिका’ (पृ.४४)। छविको लेखनीमा प्रशंसात्मक तथा आलोचनात्मक दृष्टिकोण सन्तुलित देखिन्छ। ‘म’को स्पष्ट उपस्थितिद्वारा कृतिलाई आत्मीय र सहृदयी बनाएका छन् उनले। देशमा समायोजन हुन ठूलो संघर्ष गरे पनि युरोप पलायन हुन पुगेका ‘वीरमान’को कथा अत्यन्त मार्मिक रूपमा आएको छ।

५. समग्र मूल्यांकन :  ‘अमेरिकाको घाम’मा नियात्राकारले इतिहास, शिक्षा, वाणिज्य, कला संस्कृति, भाषा, साहित्य र अनुशासनले व्यक्तिको जीवनमा पार्ने प्रभावको नजिकबाट अनुभव गरेर सिर्जनामा स्थान दिएका छन्। यिनको बिम्बात्मक र प्रतीकात्मक कथन शैलीले स्वाभाविक पाठकीय आकर्षण जगाएको छ। स्थान, पात्र र समय बलियोसँग ल्याएका छन्। वैश्विक परिवेशमा आजका मानवको चेतना र अविकसित समाजका मानवको जीवनचेतनाको प्रस्ट खाका पनि प्रस्तुतिमा भेटिन्छ। तसर्थ नियात्रा साहित्यमा यो कृति अनुभूति, अवलोकन र विश्लेषणको पनि सफल संयोजन हो।

समग्रमा भाषा–शैली, प्रभाव र सामाजिक दृष्टिकोणका हिसाबले समेत यो कृतिलाई सफल मान्न सकिन्छ। यसले नेपाली पाठकलाई विदेशी जीवन बुझ्नमात्र होइन, आफ्नै समाजको अवस्थितिबारे सोच्न प्रेरित गर्दछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.