संगीतमा सदा नयाँपन

संगीतमा सदा नयाँपन

भनिन्छ–‘बिहानीले दिनको संकेत गर्छ।’ हुन पनि अपवादबाहेक दिन कस्तो होला भन्ने छनक बिहानै पाइन्छ। हो– उनको हकमा यस्तै भयो। भविष्यमा कुन पेसा अँगाल्लान् वा कस्तो बाटो रोज्लान् भन्ने आकलन त्यतिबेलै गरिएको हो– जतिबेला उनी काँचो माटोजस्तै १०/११ वर्षीय बालक थिए। कलिलो उमेरबाटै एउटै क्षेत्र रोजे, त्यसैलाई निरन्तरता दिइरहे अनि सफल–चर्चित पनि भए।

परिणाम त आज अब्बल कलाकारको श्रेणीको दर्जा–प्रशंसा पाएका छन्। यो यात्रालाई अझै शिखरतर्फ लम्काउँदै छन्। नेपालका असंख्य कलाकारको भिडमा पृथक् पहिचान बनाएका, आफ्नो विधामा पूरापूर खारिएका लोकप्रिय गायक नारायण थापाको साझा परिचय हो यो। नारायणको जन्म २०४० साउन २४ गते सिन्धुली जिल्लाको हालको सुनकोशी गाउँपालिका–५ थापाथुम्कामा रामु थापा क्षेत्री र चम्पादेवीका तीन छोरा तथा एक छोरीमध्ये दोस्रो सन्तानको रूपमा भएको हो।

मध्यमवर्गीय परिवार भएकाले नारायणको बाल्यकाल सामान्य ढंगले बित्यो। उनलाई त्यस्तै ३/४ वर्षको उमेरमा घरनजिकैको श्री गणेश माध्यमिक विद्यालयमा भर्ना गरियो। त्यहाँ कक्षा ७ सम्म अध्ययन गरे। त्यसपछि रातमाटास्थित प्रगतिशील उच्च मावि जान थाले। २०५५ सालमा त्यहाँबाटै एसएलसी र पछि १२ कक्षा पास गरे। अन्ततः थप अध्ययनसँगै सैद्धान्तिक/व्यावहारिक शिक्षासहित संगीतकै क्षेत्रमा जम्ने जमर्को गरेर २०५८ मा काठमाडौं भित्रिए।

उसो त नारायणमा संगीतप्रतिको सोख सानैबाट जागेको हो। ‘म पहिलेबाटै गुन्गुनाउथें, गाउँघरको पूजाआजा, बिहेबटुलो, चाडबाड आदिमा जसरी पनि सहभागिता जनाउथें अनि गाउँथें पनि। त्यतिबेला विद्यालयमा हरेक शुक्रबार आयोजना हुने अतिरिक्त क्रियाकलापमध्ये सांस्कृतिक कार्यक्रममा म सदा प्रथम हुन्थें। विद्यालय, अन्तरविद्यालय, क्षेत्रस्तरीय, जिल्लास्तरीय, अञ्चलस्तरीय आदिमा समेत सर्वोत्कृष्ट गायकका रूपमा धेरै पुरस्कार हात पारेको छु। त्यसले ममा थप हौसला बढायो’ उनी विगतका ती क्षण स्मरण गर्छन्– ‘त्यो समयमा नारायणगोपाल, रामकृष्ण ढकाल, यम बराल, राजेशपायल राई, तारादेवी, अरुणा लामा, कुन्ति मोक्तान आदि गायक–गायिकाको गीत सुन्थें। उहाँहरूकै जसरी मैले कहिले गाउने होला ? मेरो नाम पनि रेडियो–टीभीमा यसैगरी कहिले बज्ला ? भन्नेजस्ता अनेक जिज्ञासा आफूले आफैंलाई राख्थें।’ 

काठमाडौं आएर नारायणले बागबजारमा अवस्थित ‘नेपाल आर्टस् एन्ड कलिउड कला केन्द्र’मा गुरु सुरेन्द्र श्रेष्ठसँग ६ महिना संगीत प्रशिक्षण लिएँ। अनि डिल्लीबजारको ‘हिमालय कला मन्दिर’मा थप तीन महिना सिके। त्यसपछि तत्कालीन केएटीएच ९७.९ मेगाहर्ज (हालको इमेज एफएम) अन्तर्गतको ‘रमपम स्वर संगम’मा विजेता–फस्स बने। त्यस्तै, छात्रवृत्तिमा ‘मधुरिमा कला केन्द्र’मा दुई वर्ष संगीत कक्षा थपे। त्यसपछि गायनसँगै संगीत विधाको थप सैद्धान्तिक–व्यावहारिक अध्ययनमा जुटे। यो क्रम २०७० सालसम्म चल्यो। त्यो बेलासम्म आइपुग्दा उनले व्यावसायिक रूपमै संगीतको राजमार्ग समातिसकेको थिएँ। त्यसपछि भने सांगीतिक यात्रामा नयाँ अध्याय सुरु भयो।

यही दौरानमा नारायणको पहिलो गीति एल्बम ‘अजम्बरी’ २०७२ सालमा सार्वजनिक भयो। त्यसमा ‘चोखो मायामा...’, ‘आज मृत्युले मलाई...’, ‘रातभरि आएर तिम्रो याद...’, ‘जलाएँ तिम्रो सारा तस्बिर...’, ‘तिमीलाई नै सधैं किन..’ बोलको गरी पाँच वटा गीत समावेश छन्। यसमा गीतकार डा. राजुबाबु श्रेष्ठ, बीबी थापा, रमेश दाहाल, सुशीला पौडेल र डब्बु क्षेत्री छन्। एउटा गीतमा केशव पौडेलले साथ दिए भने बाँकी सबैमा नारायण आफैंले संगीत भरेका हुन्। त्यस्तै, दोस्रो एल्बम ‘परिवेश’ २०७७ सालमा आयो। त्यसमा ‘आजकलका मुनामदन...’, ‘लेख्या माया पाइएन...’, ‘तिम्रो मुटु मेरो मुटु...’, ‘कुनै दिन त भेट होला...’, ‘दिलमा आगो...’ बोलको गरी पाँचवटा नै गीत समेटिएको छm जसको गीतकारमा कालीप्रसाद रिजाल, डा. कृष्णहरि बराल, राजेन्द्र थापा, बीबी थापा र सुन्दर पन्त छन् भने संगीतकारमा नारायणका अलावा वसन्त सापकोटा, शिखर सन्तोष, गैरे सुरेश, कर्सिङ लामा छन्। यसैगरी, तेस्रो एल्बम ‘आकर्षण’ २०७९ मा ल्याए। यसमा ‘तिम्रो आकर्षणले...’, ‘माया जालैमा...’, ‘बुङ्गो...’, ‘एउटा यस्तो पुल बनोस्...’, ‘उठ्ने छौं हामी..’ समेत पाँचैवटा गीत समाविष्ट छन्। यसको गीतकार आनन्द अधिकारी, दीपक शर्मा, मुकुन्द कोइराला, गोमा न्यौपाने र सरोज बिडारी हुन्। संगीत शिखर सन्तोष, दीपक शर्मा, विशाल निरौला र दीपकराज विश्वकर्माले भरेका छन्। 

विगत करिब दुई दशकभन्दा अघिदेखि व्यावसायिक रूपमा नै अनवरत संगीतमा समर्पित नारायणले हालसम्म सात दर्जन बढी गीतमा स्वर दिइसकेका छन् भने झन्डै एक दर्जन रेकडिङको क्रममा छन्। आफ्नो चमत्कारिक कलाले तीनवटा गीति एल्बममा अपार सफलता पाएपछि चौथो एल्बम ‘आभूषण’ मार्फत् श्रोता–दर्शकमाझ फरक–मिठो स्वाद पस्कने–चखाउने अन्तिम तयारीमा जुटेका उनी सुगम संगीतमा विशेष आकर्षित पार्न सक्ने क्षमता भए पनि हरेक विधाको गीत गाउन र संगीत भर्नसमेत उत्तिकै माहिर मानिन्छन्। 

त्यसो त ‘राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठान’को अध्यक्ष, ‘राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान’ र ‘सहयात्रा नेपाल’को मानार्थ सदस्यसमेत रहेका नारायणले ‘राष्ट्रिय वर्ष व्यक्ति सम्मान– २०७८’, ‘राष्ट्रिय संगीतकर्मी सम्मान– २०७९’, ‘राष्ट्रिय व्यक्तित्व तथा प्रतिभा सम्मान– २०८०’, ‘सगरमाथा कला सम्मान– २०८०’, ‘राष्ट्रिय विलक्षण प्रतिभा सम्मान’, ‘राष्ट्रिय व्यक्तित्व सम्मान– २०८१’ अनि ‘जिनियस म्युजिक अवार्ड– २०७८’ आदि प्राप्त गरिसकेका छन्। यसैगरी, ‘११औं नेपाल–अफ्रिका फिल्म फेस्टिभल– २०२३’, ‘११औं म्युजिक खबर म्युजिक अवार्ड– २०८१’, ‘विशेष नागरिक अवार्ड तथा स्रष्टा सम्मान–२०८१’, ‘९औं नेसनल क्यापिटल अवार्ड–२०८१’ लगायतमा कुशल निर्णायकको भूमिकासमेत निर्वाह गरेका छन् ।

‘मेरो बुझाइमा मानिसले जे कर्म गरिरहेको हुन्छ कि त ऊ आफू खुसी हुन गरिरहेको हुन्छ कि त खुसी भएर गरिरहेको हुन्छ। कलाकारितामा खुसी हुन र खुसी भएर दुवै अर्थका लागि छु। जे गरिरहेको छु, जे गर्दैछु ठीकै गर्दैछु’ नारायण आफ्नो पेसाप्रति सन्तुष्टि व्यक्त गर्छन्– ‘यो क्षेत्रमा लागेर गुमाउनु परेको छैन। बरु, लाखौं श्रोता–दर्शकको सद्भाव, माया अनि सुन्दर मनहरूको मीठो संगत पाएको छु। लाग्छ, संगीतले मलाई पूर्ण बनाइदिएको छ। यसबाट अझै धेरै गर्नु छ। त्यही प्राप्तिका लागि अनवरत साधनारत छु ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.