सांसदले खोजे 'एयरपोर्टका दुला'

सांसदले खोजे 'एयरपोर्टका दुला'

काठमाडौं: सांसद्‌ मिलन राजवंशी त्रिभुवन विमानस्थलका कर्मचारीसँग जिज्ञासा राख्दै थिइन्, 'विमानस्थलभित्र पुग्न सामान्य यात्रुले प्रयोग गर्नेभन्दा अन्य बाटो पनि छन् रे, ती कहाँ छन् हेरौं न !'

संसद्को सुशासन तथा अनुगमन समितिको एक टोली बिहीबार दिउँसो विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थानदेखि आगमनसम्मको स्थलगत भ्रमणमा थियो। प्रस्थानतर्फ अध्यागमन पार गरेपछि आगमनतर्फ टोली बढ्दै गर्दा पूर्वमन्त्री कृपासुर शेर्पाले विमानस्थलका कर्मचारीले मात्र प्रवेश पाउने बाटोतर्फ हेर्दै भने, 'माननीयज्यू, हेर्नुस् यो पनि एउटा हात्ती छिर्ने दुलो हो।'

गत महिना त्रिभुवन विमानस्थलबाट बाहिरिनेक्रममा ३३ केजी सुनसहित भरिया पक्राउ परेको र त्यसपछि उच्चपदस्थ प्रहरी अधिकृतसमेत पक्राउ परेको अवस्थामा संसदीय समितिले विमानस्थलको अनुगमन गरेको हो। अनुगमनक्रममा समितिका सदस्यहरू हात्ती छिर्ने दुला खोज्न आतुर थिए।

त्रिभुवन विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्याय, प्रहरी इन्चार्ज नायब महानिरीक्षक (डीआईजी) गोविन्द निरौला, विमानस्थल भन्सार प्रमुख नारायण सापकोटा अनुगमन टोलीलाई आ-आफ्नो क्षेत्रका अधिकार र जिम्मेवारी बुझाउनमै व्यस्त थिए।

अनुगमनमा टोली जतिजति अगाडि बढ्दै गयो, सांसदहरू त्यति नै अचम्मित बन्दै थिए। ठूलो परिमाणमा सुन बरामद भएको सन्दर्भमा खासगरी विदेशबाट आएका नेपाली तथा विदेशी भित्रबाट कसरी बाहिर आइपुग्छन् र उनीहरूको सामान कसरी जाँच हुन्छ भन्नेमा अनुगमन केन्द्रित थियो।

बाहिरबाट आएका गैरव्यावसायिक पार्सल जाँच गर्ने ठाउँ र कार्गो हुने सामानको जाँच देखेर उनीहरू चकित भए। गैरपार्सल जाँच गरिने ठाउँनजिकै केही ठाउँमा ठुल्ठूला भ्वाङ छन्, जहाँबाट सामान एक्स रे मेसिनमा नछिराई भित्र ल्याउन सकिन्छ। त्यसपछि ती सामानले कहीँ पनि 'एक्स रे' जाँच गर्नुपर्दैन। ती प्वाल कसले टाल्ने भन्नेमा भन्सार र विमानस्थलबीच विवाद देखिएको छ।

'एक्स रे जाँचमा कालो दाग देखिए त्यसलाई शंकास्पद भनी भन्सार अधिकृतको जिम्मा लगाइन्छ। सुन र फलाम दुवैको दाग कालै देखिन्छ। कालो दाग नदेखिए व्यक्तिको व्यवहार हेरेर मात्र पुनः जाँच गरिन्छ', विमानस्थल भन्सारप्रमुख सापकोटाले भने। बाहिरबाट एकपटकमा आएका बढीमा १० वटा विमानको सामान जाँच गर्नसक्ने मात्र क्षमता भए पनि अहिले ४० वटासम्म विमान आइरहेकाले शंकास्पद भनी उल्लेख भएका सामानको जाँच राम्रोसँग गर्न नसकिएको कर्मचारी बताउँछन्।

ठूलो परिमाणमा सुन बरामद भएको सन्दर्भमा विमानस्थल अनुगमनमा गएका सांसद बाहिरबाट आएका गैरव्यावसायिक पार्सल जाँच गर्ने ठाउँ र कार्गो हुने सामानको जाँच देखेर चकित परे।

यसैगरी कार्गोका सामान विमानबाट बिनाजाँच सोझै गाडीमा राखेर करिब एक किलोमिटर पर रहेको भन्सार कार्यालयमा पुर्‍याइन्छ। 'गाडीमा ल्याउँदा सामान बीचबाटोमै गायब गर्न सकिने रहेछ', अनुगमन टोलीका अम्बरबहादुर लामाले भने।

सांसदले विमानस्थलमा प्रवेश पास वितरणमा कडाइ गर्नुपर्ने, प्रवेश पास प्रयोगकर्ताको कडा अनगमन गरिनुपर्ने, अनावश्यक बाटा बन्द गरिनुपर्ने, भीआईपी र भीभीआईपीको समेत सुरक्षा जाँच गरिनुपर्ने, सुरक्षाकर्मीको पनि जाँच गरिनुपर्ने बताए।

सांसद जनकराज जोशीले प्रवेश पासका कारण बिनाअवरोध जहाँ पनि जान सकिने भएकाले वितरणमा कडाइ र प्रयोगकर्ताको अनुगमन गरिनुपर्ने बताए। 'विमानस्थलभित्र प्रवेश गर्ने सबैको सुरक्षा जाँच गरिनुपर्छ त्यसमा भीभीआईपी हुन् या प्रहरी वा विमानस्थलकै कर्मचारी।

इमर्जेन्सी ढोका जतिबेला पनि खुला हुँदा त्यसले तस्करी वा अन्य गैरकानुनी काम गर्न सजिलो भएको छ', उनले भने। विमानस्थल प्रहरी प्रमुख डीआईजी निरौलाले विमानस्थलमा कुनै पनि कर्मचारीलाई दुई वर्षभन्दा बढी राख्न नहुने बताए।

'भन्सारका कारण कमजोरी '
सुन तस्करी काण्डमा विमानस्थलको सुरक्षा व्यवस्थालाई जोड्नु त्रुटिपूर्ण भएको विमानस्थल प्रमुख देवानन्द उपाध्यायले बताएका छन्। अनुगमनपछि आयोजित छलफलमा सांसदका जिज्ञासाको जवाफ दिँदै उनले भन्सार कार्यालयको कमजोरीका कारण सुन तस्करी सफल भएको बताए।

'बाहिरबाट आएका हवाईजहाज उतैबाट सुरक्षा जाँच भएर आएका हुन्छन्। हाम्रोबाट बाहिर जानेमा हामीले सुरक्षा व्यवस्था कडा पार्ने हो। बाहिरबाट जहाज र यात्रु हाम्रोमा आइपुगेपछि जाँच गरिनुपर्ने भनेको भन्सारसँग सम्बन्धित विषय हो। भन्सार छलेर कुनै सामान ल्याएको छ कि छैन भन्ने जाँच गर्ने हो', उनले भने।

छलफलमा अध्यागमन, भन्सार, प्रहरी, विमानस्थलका पदाधिकारीले सुन तस्करीमा आफ्नो कमजोरी नरहेको जिकिर गरेपछि सांसदहरू जंगिएका थिए। सांसद नरसिंह चौधरीले विमानस्थलको समस्या भएकाले सम्बन्धित सबै सरोकारवालाले जिम्मेवारी लिएर त्यसलाई सच्याउनुपर्ने बताए।

अम्बिका राजवंशीले विगतमा नेताका कारण बदनाम भएको देश अहिले कर्मचारीका कारण बदनाम भइरहेको बताइन्। 'सुधार गर्न के-के गर्नुपर्छ भन्नुस्। तपाईंहरुले सक्ने भए निर्देशन दिन्छौं। नसक्ने भए माथिबाट भए पनि पहल गर्छौं', उनले भनिन्।

विमानस्थल भन्सार प्रमुख सापकोटाले जर्मनीबाट ११ वटा एक्स रे मेसिन ल्याउन लागिएको जानकारी दिँदै त्यसले विमानस्थलको जाँचमा धेरै सुधार ल्याउने बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.