बिजुक्छेविरुद्ध नाराबाजी गर्ने मधेसी मोर्चाका १९ कार्यकर्ता पक्राउ
राजविराज : नेपाल मजदुर किसान पार्टीको भातृ संगठन नेपाल क्रान्तिकारी किसान संघको अधिवेशन विथोल्न सक्रिय १९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
राजविराजमा शुक्रबार आयोजित दोश्रो राष्ट्रिय अधिवेशन बिथोल्न खोज्ने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका डेढ दर्जन नेता कार्यकर्ता पक्राउ परेका हुन्। संघको ब्यानर र झण्डा च्यात्ने प्रयास गर्दै नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेविरुद्ध नाराबाजी गरेपछि प्रहरीले मोर्चाका कार्यकर्तालाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका मोर्चाका १९ जना स्थानीय नेता, कार्यकर्तालाई उद्घाटन सकिएपछि रिहा गरिएको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।
दुई दिनसम्म चल्ने अधिवशेनको बन्द सत्र शुक्रबार रातिबाट सुरु भएको हो। पार्टी अध्यक्ष बिजुक्छे बिरामी परेका कारण उपस्थित हुन नसकेपछि सचिव सुनिल प्रजापतिले अधिवेशनको उद्घाटन गरेका थिए।
पार्टीका केन्द्रीय सचिव सुनिल प्रजापतिले अधिवेशन उद्घाटन गर्दै कृषीझै हरेक क्षेत्रमा मुलुक परनिर्भर बन्दै गएको बताए। सत्तामा पुग्नका लागि विदेशीको आर्शीवाद लिनुपर्ने चरित्र रहेसम्म देशले काँचुली फेर्न नसक्ने उनले दाबी छ ।
किसान संघका केन्द्रीय अध्यक्ष एंवम् सांसद डिल्लीप्रसाद काफ्लेको अध्यक्षतामा आयोजित उद्घाटन समारोहलाई नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय अध्यक्ष दीर्घवहादुर शाही, विद्यार्थी संघका अध्यक्ष सरोज साह, महिला संघकी अध्यक्ष कमलमाया सुवाल, युवा संघका अध्यक्ष मुक्ति यादव, नेमकिपाका सप्तरी जिल्ला अध्यक्ष दिगम्बर यादवले शुभकामना मन्तव्य व्यक्त गरे ।
शनिबारसम्म चल्ने अधिवेशनमा ५० जिल्लाका दुई सय ५० जना प्रतिनिधि, पर्यवेक्षक रहेको अध्यक्ष काफ्लेले बताए ।