फास्ट-ट्रयाकको शिलान्यास आफैं गर्छु : प्रधानमन्त्री प्रचण्ड
पथलैया : प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले काठमाडौं तराई जोडने फास्ट-ट्रयाक (द्रुतमार्ग) निर्माणको शिलान्यास आफ्नै कार्याकालमा हुने बताएका छन्।
राष्ट्रिय गौरवका आयोजना निर्माणलाई तत्काल अघि बढाउन दबाब दिने उद्देश्यले निजगढमा भइरहेको रिले अनशन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘फास्ट-ट्रयाक मेरै कार्यकालमा शिलान्यास गर्ने गरी कामअघि बढिरहेको छ, यसको शिलान्यास एक महिनामै हुन्छ ।’
फास्ट-ट्रयाक निर्माण कसले गर्ने भन्ने देखिएको अन्यौलताको अन्त्य भसकेको भन्दै प्रचण्डले बढीमा एक महिनाभित्र काम सुरु हुने प्रष्ट पारे। जनताले योजना निर्माणका लागि दिइरहेको दबाबलाई सम्बोधन गर्न आफूले गम्भीर पहल गरिरहेको उनको भनाइ छ।
फास्ट-ट्रयाक कस्तो नमुनाको बनाउने र वित्तीय व्यवस्थापना कसरी गर्ने भन्ने बिषयमा एक हप्ताभित्र प्रतिवेदन तयार हुने र त्यसपछि काम अघि बढ्ने प्रधानमन्त्रीको विश्वास छ।
‘समितिले प्रतिवेदन बुझाएपछि प्रतिवेदन अनुसार काम अगाडि बढाउनेछौँ’, प्रचण्डले भने, ‘अब अन्यौलमा बस्नु जरुरी छैन, यो योजनालाई मैले गम्भीर रुपमा लिएको छु ।’
त्यस्तै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा देखिएको बसोबास व्यवस्थापन र मुआब्जाका समस्यालाई सम्बोधन गर्न आफू लागिपरेको समेत प्रधानमन्त्रीले बताएका छन्।
‘विमानस्थल निर्माणमा ढिलाई हुनुको मुख्य कारण बस्ती व्यवस्थापन र मुआब्जाको हो, त्यसका लागि काम भइरहेको छ’, प्रचण्डले भने ।