एमाले र मधेसवादीको अनुहार हेरेर चुनाव रोकिन्न : भट्टराई
दमौली : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्राईले तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेस व्यास नगर समितिको आयोजनामा सञ्चालित प्रशिक्षणको उद्घाटन गर्दै उनले चुनाव कहिलेसम्म पर्खेर बस्ने भन्दै प्रश्न गरे। ‘अब एमाले वा मधेसवादीले के भन्ला भनेर कहिलेसम्म कुर्ने ?’, उनले भने, ‘सबै बाधालाई पार गरेर चुनावमा जानु जरुरी छ।’
भट्टराईले एमालेले कुनै काम नै नगरी राष्ट्रवादी बन्न खोजेको आरोप लगाए। ‘अरुलाई गाली गरेर कोही पनि राष्ट्रवादी हुन सक्दैन,’ एमालेप्रति लक्षित गर्दै उनले भने, ‘काम गरेर देशलाई आत्मनिर्भर बनाउन सके मात्र राष्ट्रवादी भइन्छ।’
कार्यक्रममा सांसद झुलबहादुर आलेले स्थानीय निर्वाचनका लागि कार्यकर्ता तयार हुनुपर्ने बताए। पार्टी सभापति बैकुण्ठ न्यौपानेले अहिलेसम्म कांग्रेसले प्रतिस्पर्धी पार्टीसँग लड्नका लागि संगठन मजबुत पार्नु पर्नेमा जोड दिए।