चुनावको विकल्प संविधान संशोधन : बाबुराम
महोत्तरी : पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा.बाबुराम भट्टराईले शान्तिपूर्ण चुनावको एक मात्र विकल्प संविधान संसोधन रहेको बताएका छन्।
आधुनिक जनकपुर निर्माणका लागि सात सूत्रीय माग राख्दै जनकपुर बृहत्तर क्षेत्र विकास परिषद्का अध्यक्ष रामकुमार शर्मा र नयाँ शक्ति प्रदेश २ का सहसंयोजक कलामुदिन राईन ११ दिनदेखि जनकपुरको जनकचोकमा बसेको आमरण अनशनमा आइतबार समर्थन जनाउदै भट्टराईले यस्तो बताएका हुन्।
‘संविधानमा रहेकोे त्रुटिलाई परिमार्जन गरी मधेशी, थारु, आदिवासी जनजातीको मुद्दा सम्बोधन गर्नु अति आवश्यक छ। तर संविधान संशोधन नभई चुनावमा गए फेरी द्वन्द्वको सृजना हुन सक्ने प्रवल सम्भावना छ,’ नेता भट्टराइले भने, ‘संविधान संसोधन नगरी निर्वाचनमा गराउनु भनेको निहँु खोज्नु मात्रै हो।’
आमरण अनशनमा समर्थन जनाउँदै जनकपुरका विकासका लागि आमरण अनशनको ११ दिन पुग्दा पनि स्थानिय प्रशासनको ध्यान नजानु भत्र्सना योग्य रहेको नेता भट्टराईले औंल्याए।
विकासको सवालमा सबै एक भएर लाग्नु पर्नेमा जोड दिँदै डा.भट्राईले जनकपुरमा भइरहेको अनसनको सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराउँदा समेत गैर जिम्मेदवार भएर आफूलाई थाहा नभएको बताएको खुलासा गरे।
अर्को प्रसंगमा उनले छुट्टै मधेशको माग गर्दै अभियान चलाएका डा. सिके राउत पहाडी खस अहंकारवाद र एमालेका अध्यक्ष केपी शर्मा ओलीका कारण मधेशमा आन्दोलन सुरु भएको बताए।
राष्ट्रिय अखण्डता विरुद्धमा देश टुक्र्याउने अभिव्यक्ति गलत रहेको उनले बताए। डा.भट्टराईसंगै नयाँ शक्तिका नेता रामचन्द्र झा, महेन्द्र पासवानलगायतका नेताहरु जनकपुर आएका थिए।