संसदीय व्यवस्थाको विकल्प खोज्ने चन्दको उद्घोष
काठमाडौः नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) ले आठौं महाधिवेशनलाई संसदीय व्यवस्थाको विकल्प खोज्ने संकल्पका रूपमा लिन कार्यकर्तालाई अपिल गरेको छ ।
मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीबाट विभाजित भएर चन्द नेतृत्वको माओवादी गठन भएको थियो । पार्टीका तल्लो तहका कार्यकर्ता सहभागी रहेको उद्घाटन कार्यक्रममा चन्दले संसदीय व्यवस्थाले ल्याएका विकृति र विसंगतिप्रति तिखो प्रहार गर्दै वैज्ञानिक समाजवादी व्यवस्थाले मात्रै जनताका हक र अधिकार सुरक्षित गर्ने दाबी गरे ।
पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्रलाई चुनौती दिनुका साथै राजधानीको खुलामञ्चमा आइतबार भएको उद्घाटनमा कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताले देश बर्बाद पारेको आरोप लगाउँदै चन्दले समाजवादी व्यवस्था ल्याएर निजी क्षेत्र र मध्यम वर्गसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
रोल्पाको थबाङमा बन्दसत्र सञ्चालन गरी फागुन १० गते अधिवेशन सम्पन्न हुनेछ । महाधिवेशनले युवा र मध्यम वर्गमा ध्यान केन्द्रित गरेको सहभागीको उपस्थितिले देखाएको छ । राष्ट्र विखण्डनमा लागेका सीके राउतसँग आफूलाई तुलना गरी उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मन्त्रिपरिषद्मा गरेको सुरक्षा विश्लेषणमा चन्दले घोर आपत्ति जनाए ।
नेपाली सेना र प्रहरीलाई मित्रशक्तिका रूपमा प्रस्तुत गरेका चन्दले अधिकांश समय कांग्रेस, एमाले र माओवादी केन्द्रको आलोचनामा र संसदीय व्यवस्थाविरुद्ध खर्च गरेका थिए । ‘संयुक्त राष्ट्रसंघमा नेपाली सेनालाई भारतमातहत राख्ने विषय उठ्नु र अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय एयर मार्सल राख्न दिने कुरा गर्नु नेपाली सेनाको अपमान हो । यो हामी कसरी सहन सक्छौं ? ' चन्दले प्रश्न गरे ।
कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताले देश बर्बाद पारेको आरोप लगाउँद चन्दले समाजवादी व्यवस्था ल्याएर निजी क्षेत्र र मध्यम वर्गसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रधानमन्त्री पुष्पकमल दाहालले भेटघाटका लागि बारम्बार गरेको आग्रह अस्वीकार्दै आएका चन्दले दाहालमाथि बालकृष्ण ढुंगेललाई बचाउन नसकेको, सुकुमबासीका हितमा काम नगरेको, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग झुकेको आरोप लगाए । ‘कार्यकारी प्रमुखले जनयुद्धकालीन मुद्दाका लागि म जिम्मेवार छु भनेर सबै मुद्दा खारेज गर्न सक्दैनन् ? जनयुद्धका योद्धालाई अपराधी बनाउने ? ' उनले सोधे । उनले जनयुद्धकालीन मुद्दा सुशीला कार्कीले खारेज गर्न नसक्ने भए माओवादीले खारेज गर्ने चुनौती दिए ।
‘यी सबै संकटको कारण संसदीय व्यवस्था हो', उनले सरकार र दलहरूलाई चुनौती दिँदै भने, ‘हामीलाई गिरफ्तार गर्ने हल्ला गरेका छौ । हामी राजधानीमै छौं । हामीलाई पक्रे पनि जनता पराजित गर्न सक्दैनौ । हामी सुकुमबासी, दलित, महिला, जनजाति र जनताको दिलमा छौं । हामीलाई जेल हाल्ने कि देशबेचुवाहरूलाई जेलमा हाल्ने ? हामी होइन, सक्छौ भने देश बेचेर खानेलाई जेलमा हाल ।'
उनले जनयुद्धमा सेना र प्रहरीसँग लडेको माओवादीमाथि कांग्रेस/एमालेजस्ता संसद्वादी दलको शासन स्विकार्न नसकिने बताए । उनले संसद्वादी दलको ४० बर्से शासनमा भ्रष्टाचार अत्यधिक मौलाएको आरोप लगाउँदै संसद्वादी दलले प्रजातन्त्रको पाठ गाउँका किसान र मजदुरसँग सिक्नुपर्ने बताए । उनले भूकम्पपीडितको त्रिपाल र जस्ता बेचेर खानेलाई ४० फिटे खाडलमा पुर्ने आक्रोश व्यक्त गरे । भूकम्पबाट विस्थापितलाई तराईमा राख्नुपर्ने चन्दको तर्क थियो ।
संघीयता र जाति-जनजातिका अधिकारको नाराको भ्रममा नपर्न आग्रह गर्दै चन्दले पहाडी र मधेसी लडाउने खेल भइरहेको बताए । दाहाल र बाबुराम भट्टराईप्रति लक्षित गर्दै उनले माओवादी भनिने केही व्यक्ति किनेर भकारीमा डलर राखिदिँदैमा क्रान्ति नरोकिने दाबी गरे ।
उनले भने, ‘साम्राज्यवादीका जीवाणुले माओवादी संक्रमित भयो । जीवाणुले केही माओवादीलाई खायो । केहीले घुँडा टेके । केही गल्लीमा डुलिरहेका छन् ।' नेकपा (माओवादी) ले नेता र कार्यकर्ता थबाङ लगेर फागुन ५ देखि १० गतेसम्म बन्दसत्र गर्ने भएको छ । उद्घाटनमा विभिन्न सांस्कृतिक झाँकीसहित नयाँ गीत र नृत्य प्रस्तुत गरिएको थियो ।