एमाले र मधेसी मोर्चा अप्रजातान्त्रिक बाटोमा हिँडेः कोइराला
बुटवलः नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रमुख प्रतिपक्षी दल एमाले र मधेसवादी दल अप्रजातान्त्रिक पद्धतिमा अघि बढेको आरोप लगाएका छन्।
नेपाल प्रेस युनियन रुपन्देहीले सोमबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा कोइरालाले संसदमा दर्ता भएको संशोधन प्रस्ताव छलफल गर्न नदिनु र पास फेल नतिजालाई स्वीकार गर्दिन भन्नु दुबै अप्रजातान्त्रिक भएको बताएका हुन्।
उनले एमाले र मधेसी मोर्चाको यस्ता गतिविधिले संसदमा गलत नजिर बस्ने बताए। संविधान कार्यान्वयनका लागि तत्काल निर्वाचनमा जानु पर्ने बताउँदै उनले संसदमा दर्ता भएको संशोधन प्रस्तावलाई टुंग्याएर अघि बढ्नु पर्ने बताए। कोइरालाले कानुन निर्माणको काम तत्काल नसके जेठमा चुनाव हुन नसक्ने बताए।
थ्रेस होल्डको विषयलाई टुंग्याएर तत्काल निर्वाचन घोषणा हुनुपर्ने उनको भनाई छ। कांग्रेस–एमाले मिल्दैमा मुलुकले निकास नपाउने भन्दै उनले मधेसवादी शक्तिलाई पनि साथमा लिएर अघि बढ्नु पर्ने बताए। ‘एमालेलाई बाहिर राखेर पनि जानु हुँदैन, मधेसी मोर्चालाई पनि कमजोर आकलन गर्नुहुँदैन, ’उनले भने,‘चार शक्ति मिलेर नै निर्वाचनमा जानुपर्छ।’