मनप्रिय खप्तड (फोटोजर्नी)
कल्पनाको स्वर्ग यथार्थमै टेक्न पाउँदा कस्तो अुनभूति हुन्छ ? यो शब्दमा वर्णन गर्न अलि गाह्रै हुन्छ। ‘धरतीको स्वर्ग’ मानिएको खप्तडमा पहिलोपल्ट पाइला टेक्ने जोकोहीको मनमा आनौठो आनन्द सञ्चार हुन्छ। बाहिरबाटै देखेको, सोचेको वा सुनेको भन्दा नितान्त नौलो लाग्छ यहाँको भूगोल, यथार्थभन्दा टाढाको लोक।
जता हे¥यो उतै विशाल घाँसे मैदान। हरित घाँसे मैदानको बीचबीचमा वसन्त ऋतुले रोपी छाडेका रंगीविरंगी भुइँफूलहरूको साम्राज्य। फाँटसँगै कलकल बग्ने कञ्चन त्रिवेणी खोला। छिनछिनमै रूप फेरिरहने मनप्रिय मौसम। यहाँ पुग्ने यात्री यिनै कुराको दृश्यपान गरेर मुग्ध हुन्छन्। जति हेरेर पनि अघाउन नसकिने खप्तड कुनै सिद्धहस्त कलाकारले कुशलतापूर्वक निर्माण गरेर राखिछाडेकोे सुन्दर चित्रकला (पेन्टिङ) जस्तो लाग्छ।
खप्तडलाई परिभाषामा कैद गरेर राख्न सकिँदैन भन्ने मलाई लाग्यो। किनभने यो प्रकृतिको विराट् सौन्दर्यमा बुनिएको चिरिच्याट्ट रुमालजस्तो मात्र छैन, यो आत्मिक शान्तिको विशाल पछ्यौराजस्तो पनि लाग्छ। योगभूमि, आध्यात्मिक भूमि, प्राकृतिक एवं ऐतिहासिक भूमि खप्तड पुग्दा जोकोही पनि मनका सारा पीडा, थकान, उद्वेलन भुलेर विराट् शान्तिमा लीन हुन्छ। सकारात्मक एवं चामत्कारिक ऊर्जा मनमा सञ्चार भएको महसुस गर्छ।
०००
_20180804055218.jpg)
यसपालि ‘खप्तड काव्य यात्रा’को ब्यानर बोकेर खप्तडको काखमा पुग्ने अवसर मिल्यो। हरेक वर्ष ज्येष्ठ शुक्लपक्षमा लाग्ने गंगा दशहरा मेलालाई लक्षित गरी यो सुनौलो अवसर ‘कन्सेप्ट नेपाल’ले जुराएको थियो। कन्सेप्टको आयोजनामा पर्यटन पत्रकार अमृत भादगाउँलेको संयोजकत्व महत्वपूर्ण रह्यो। साथै आयोजक संस्थाका समूह सदस्यहरू पवन शाक्य, देवेन्द्र बस्न्यात, सुरेन्द्र राना, हेमन्त विवशहरूको सक्रियता अविस्मरणीय रह्यो।
कार्यक्रमको उद्देश्य थियो— सर्जकहरूलाई खप्तडको विशाल काखमा विचरण गराउने। र, त्यस भूगोललाई सबैका बीच पहुँचिलो बनाउने। कलमजीविका कुशल कलममार्फत खप्तडलाई अभिव्यक्त गर्ने यसको ध्येय थियो र त्यो पूर्ण पनि भयो।
काठमाडौं, पोखरा, चितवन, हेटौँडा, इटहरी लगायतका स्थानबाट दुई दर्जनभन्दा बढी कवि, लेखक तथा पत्रकार यस यात्रामा सामेल थिए; जसको उत्साहप्रद उपस्थितिले यात्रा निकै रोमाञ्चक रह्यो। अहिले पनि यात्रा सम्झ्यो कि मनमा खप्तड नाच्न थाल्छ। त्यहाँ बिताएका पलहरूको आनन्दले उसै आह्लादित हुन्छ मन।
तीर्थयात्री र पर्यटक सबैका लागि आकर्षक गन्तव्य बनेको छ, खप्तड। बर्सेनि आन्तरिक एवं बाह्य पर्यटकहरू यहाँको पवित्र हावामा निःस्वास लिन आइपुग्छन्। यात्राका क्रममा यहाँको स्थानीय संस्कृति र जीवनशैलीसँग समेत साक्षात्कार गर्न सकिन्छ।
०००
_20180804055217.jpg)
प्रदेश ७ का चारवटा जिल्ला (बझाङ, बाजुरा, डोटी र अछाम)लाई छोएर यो क्षेत्र फैलिएको छ। दुई सय २५ किलोमिटर क्षेत्रफलमा फैलिएको खप्तड समुद्री सतहबाट ३२ सय मिटर उचाइमा अवस्थित छ। ताल, नदी, हिमाल, पहाड, मैदान सबैको अनुभूति यहाँ सँगाल्न सकिन्छ। जैविक एवं भौगोलिक विविधताको यो एक नमुना स्थल पनि हो।
खप्तड क्षेत्रभित्र दुई दर्जन ठूलाठूला पाटन (समथर घाँसे मैदान)हरू छन्। प्रत्येक पाटनको आकार र सौन्दर्य विशिष्ट खालको छ। यौटा पाटनदेखि अर्को पाटनसम्म पुग्न घन्टौं पैदल हिँड्नुपर्छ। विविधतामय पाटनहरूमा यात्रा गर्दा यहाँ थरीथरीका भुइँफूल र वनफूलको अवलोकन गर्न सकिन्छ। फूलहरूको रंगीन एवं सुगन्धदार दृश्यले मनमा छुट्टै रौनक थप्छ।
खप्तड क्षेत्र राष्ट्रिय निकुञ्जका रूपमा संरक्षित छ। प्रसिद्ध खप्तड बाबाको आ श्रम यहाँको अर्को महत्वपूर्ण आकर्षण हो। त्यस्तै त्रिवेणी धाम एक अर्को पवित्र तीर्थस्थल मानिन्छ। यसका साथै खापर दह, शिव मन्दिर, सहस्र लिंग, नागढुंगा, केदार ढुंगाजस्ता धार्मिक महत्वका संरचनाले खप्तडलाई थप सुशोभित तुल्याएका छन्।
गंगा दशहरा मेला सांस्कृतिक विरासतका रूपमा सदियौंदेखि चलिआएको छ यहाँ। पर्यटक एवं तीर्थयात्रीका लागि मेला मुख्य आकर्षण हो। हजारौं तीर्थयात्री मेला भर्न खप्तड पुग्छन् र त्रिवेणीमा स्नान गरी पवित्र अनुभव गर्छन्। मेलामा नाचिने यहाँको प्रसिद्ध देउडा नाचले माहोल झन् रमाइलो बनाउँछ।
_20180804055216.jpg)
खप्तडको ऐतिहासिक महत्व पनि इतिहास पारखीका लागि उच्च छ। यो क्षेत्र मल्लकालीन राजाहरूको शक्तिकेन्द्र थियो कुनै बेला। त्यति बेलाको समय विम्बित गर्ने भग्नावशेष ‘कोट’ अझै पनि छ यहाँ। यसको पौराणिक महत्वसमेत रहेको स्कन्द पुराणमा वर्णित हुनुले पुष्टि गर्छ। राजा युधिष्ठिर स्वर्ग जाँदा खप्तडकै बाटो हुँदै गएको भन्ने जन श्रुति आज पनि यहाँ सुन्न पाइन्छ।
यसको पर्यावरणीय महत्व झनै उच्च छ। छिनछिनमा फेरबदल भइरहने यहाँको मौसमले एकै दिनमा फरकफरक सिजनको अनुभव सँगाल्न पाइन्छ। मौसमअनुसार जेठ–असारमा जंगली भुइँफूल, कात्तिक–मंसिरमा हिमालय, पुस–माघमा हिउँ तथा चैत–वैशाखमा अनेक रङका लालीगुँरास यहाँका विशेष दर्शनीय तŒव हुन्।
०००
_20180804055216.jpg)
प्रख्यात हुँदाहुँदै अहिलेसम्म खप्तड ‘विकट’को कोटीमै छ। यही कारण जोकोहीले चाहेर पनि यसको मनोरम अवलोकन भ्रमण गर्न पाउँदैनन्। विशेषगरी सडक तथा यातायात, होटल र लजहरूको असुविधाले गर्दा यहाँ जोकोही सजिलै पुग्न सक्दैनन्। राज्यद्वारा खास विकास हुन नसके पनि यहाँको स्वतःस्फूर्त प्रचारप्रसारमा भने पछिल्लो समय बढोत्तरी भएको छ।
खप्तड पुग्ने अनेक बाटा छन्। यससँग सिमाना जोडिएका चारवटै जिल्लामा खप्तड प्रवेश मार्ग छन्। यद्यपि बझाङ र डोटीबाट नजिक भएर खप्तड पुग्नेको संख्या अधिक छ। बझाङ सदरमुकाम चैनपुर नपुग्दै तमैलबाट सेती नदी पार गरेर खप्तडको यात्रा अघि बढाउन सकिन्छ।
काठमाडौंबाट यहाँ जान चाहनेका लागि हवाईमार्ग वा स्थलमार्ग प्रयोग गर्न सकिन्छ। कैलालीको धनगढी, अत्तरिया हँदै डोटीको दिपायल, सिलगढी पुगेपछि त्यहाँ एक रात बास बस्नुपर्ने हुन्छ। अर्को दिन सबेरै झिंग्राना हँदै खप्तडको यात्रा तय गर्न सकिन्छ। झिंग्रानादेखि बिचपानीसम्म करिब चार घन्टाको उकालो भने चढ्नैपर्ने हुन्छ। त्यसपछि चार घन्टाजति नै समथर बाटो हिँडेपछि खप्तडको काखमा पाइला टेक्न सकिन्छ।
हिउँदयाममा खप्तडले प्रायः बाक्लो हिउँको च्यादर ओढिरहेको हुन्छ। त्यसैले पनि खप्तडको काखमा सुस्ताउन वैशाखदेखि भदौसम्मको समय उत्तम मानिन्छ।
_20180804055215.jpg)
_20180804055214.jpg)
_20180804055214.jpg)
_20180804055213.jpg)
_20180804055212.jpg)
_20180804055212.jpg)
_20180804055211.jpg)
_20180804055210.jpg)
_20180804055214.jpg)
_20180804055210.jpg)
प्रतिक्रिया दिनुहोस !