माटोसँग मितेरी

माटोसँग मितेरी

परिवारका चार जनाले बेनी बजारमा डोकोमा बोकेर ल्याएको तरकारी बेचेर एकै दिन नौ हजार दुई सय रुपैयाँ आम्दानी हुँदा शर्मा जीवनमै सबैभन्दा खुसी भएका थिए।


 तीन वर्षको हुँदा उनले बुवा गुमाए। छिमेकीको घरमा लागेको आगो निभाउँदा जलेर भवदत्त शर्माको ज्यान गएपछि आमा सेतीले तीन छोरी र छोरालाई खेती किसानी गरेरै हुर्काइन्। दुई दिदी र बहिनीसँगै हुर्केबढेका उनलाई छोरो हुनुको बाध्यताले यसरी थिच्यो कि १० कक्षा पढ्दापढ्दै काम खोज्न भारत जानुपर्ने अवस्था आयो।

केही वर्ष भारतको दिल्लीमा भौंतारिँदा पनि आफ्नो र घरको आर्थिक अवस्थामा सुधार हुन नसकेपछि उनी फेरि गाउँ फर्किए। र, थाले माटोसँग मित्रता। बेनी नगरपालिका–२, खबराका सोवित शर्मा (४३) आफूमात्र उद्यमी बनेका छैनन्, अरू धेरैका लागि प्रेरणास्रोत पनि बनेका छन्।

शर्माले थालेको तरकारी खेतीबाट आफ्नो र परिवारको आर्थिक हैसियतमा ठूलो सुधार ल्याएका छन्। नाम र दाम कमाएका छन्। व्यावसायिक कृषि पेसाबाट सफलता पाएका औंलामा गन्न सकिने कृषक भएको म्याग्दीमा शर्माको नाम अग्रपंक्तिमा आउँछ। २३ वर्षअघि साथमा एक सय १० रुपैयाँ नभएर तरकारीको बीउ किन्न नसकेका उनी आफ्नै परि श्रम र मेहनतबाट अहिले मासिक डेढ लाख रुपैयाँ आम्दानी गर्छन्, करिब पचास हजार बचत।

बढ्दो बजार

धवलागिरि सामुदायिक स्रोत विकास केन्द्रबाट तालिम लिएपछि उनले सधैं लगाउने धानको विकल्प खाजे। ‘ऋण खोजेर डेढ सय रुपैयाँको बीउ किनेर २०५२ साल असारमा धानको बदला बन्दा र काउली रोप्दा छिमेकीहरूले मति बिग्रिएको भने’, शर्मा सम्झन्छन्, ‘भदौमा प्रतिकिलो दुई रुपैयाँमा दिँदासमेत नबिकेको काउली बन्दा जमिनमै पुरेर त्यसैमा लगाएको सागले काउली बन्दाको समेत लगानी उठायो।’

जिल्ला सदरमुकाम बेनी नजिकै भए पनि खबरा गाउँमा तरकारी किनेर खाने चलन थिएन। व्यावसायिक ज्ञानको कमीले उत्पादन गर्नेले पनि सित्तैमा बाँड्नुपर्ने स्थिति थियो। धान रोप्न छाडेर तरकारी खेती गरेको सुनेर तत्कालीन कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत हेम शर्मा तिवारी सोवितलाई भेट्न घरमै पुगे।

तिवारीको प्राविधिक सल्लाह र सहयोग पाएपछि उनको उत्साह झन् बढ्यो। तीन रोपनी खेतमा मौसमी छाडेर बेमौसमी तरकारी खेती गर्न थाले। अन्नबालीबाट घर चलाउन सम्भव नभएको अवस्थामा तरकारी खेती त्यसको राम्रो विकल्प भएको उनले बुझेका थिए। तरकारी किनेर खानेहरू बढ्दै गएका थिए। बजारमा बेमौसमी साग, काँक्रो, गोलभेडा र खुर्सानी खपत हुन थालेपछि आम्दानी पनि बढ्दै गयो।
 
व्यावसायिक यात्रा

तरकारी खेतीमा रमाइरहेका शर्माको परिवारमा २०५८ मा समस्या थपियो। शर्माकी श्रीमती देवी बिरामी भएर उपचार गराउँदा ऋण लाग्यो। एकातिर ऋण त अर्कोतिर देशमा चर्किंदै गएको द्वन्द्व। भर्खर सप्रिँदै गएको तरकारी खेती हेर्न श्रीमती र आमा तयार भएपछि मन नलागी नलागी उनी २०६१ सालमा मलेसिया हानिए।

चार वर्ष मलेसियाको एक इलेक्ट्रोनिक कम्पनीमा काम गर्दा मासिक पंैतीसदेखि चालीस हजार रुपैयाँ आम्दानी हुन्थ्यो। मलेसियाको कमाइले ऋण तिरे। र, केही पैसा बचत पनि गरे। ‘मैले काम गर्ने कम्पनीका मालिक राति १२ बजेसम्म पनि कामदारलाई निगरानी गर्न आउँथे। मैले उनीबाट कामलाई प्राथमिकता दिनुपर्छ भन्ने प्रेरणा पाएँ’, शर्मा सुनाउँछन्, ‘आमा र श्रीमतीले निरन्तरता दिएको तरकारी खेतीलाई थप व्यावसायिक बनाउने सोचेर २०६४ मा घर फर्किएँ।’

देशमा शान्ति प्रक्रिया सुरु भएकाले उद्यम व्यवसाय गर्ने वातावरण भयो। १५ रोपनी जमिनमा तरकारी खेती विस्तार गरेका उनले २०७२ मा खबराको दारिम्पाटामा सापकोटा नमुना कृषि फार्म खोले। फार्म स्थापनाका लागि उनले तरकारी बेचेर कमाएको दुई लाख रुपैयाँले पहिरोले पुरिएको सात रोपनी पाखो बारी खरिद गरे।

‘थप १६ लाख रुपयाँ खर्चेर पहिरो पन्छाई, पाखोलाई प्लट बनाएर चार रोपनीमा दुईवटा टनेल र एउटा सुधारिएको पोली हाउसमा तरकारीका साथै तीन रोपनीमा हजारी जातको केरा खेती गरेको छु’, शर्माले भने।

तरकारी, केरा र घाँस खेतीसँगै उनले बाख्रापालन पनि गरेका छन्। रोहोटेमा रहेको पुख्र्यौली ३८ रोपनी खेतबारीमा केरा, कागती र डालेघाँस खेती गरेका छन्। पोखराको लेखनाथमा हालै घडेरी पनि किनेका छन्।
 

परिवारको साथले सफलता

छोरीले हेल्थ असिस्टेन्ट पढेकी छन्। छोरा बेनी सामुदायिक माविको कक्षा १२ मा पढ्छन्। आफ्नो फार्म र छिमेकीले उत्पादन गरेको तरकारी बिक्रीका लागि शर्माले बेनीको बालमन्दिर चोकमा दुई वर्षयता पसल पनि सञ्चालन गरेका छन्।
 

आफ्नो सफलताको पछाडि आमा, श्रीमती र छोराछोरीको राम्रो साथ रहेको शर्मा बताउँछन्। उनको फार्ममा परिवारका पाँच जना सदस्यबाहेक अन्य तीन जनाले रोजगारी पाएका छन्। उनको दिन, साँझ र बिहान माटोसँगै खेलेर बित्छ।

‘पहिला गुजारा चलाउन गाह्रो थियो, दुई चार हजार आवश्यक पर्दा ऋण खोज्नुपर्ने अवस्था थियो’, शर्माले भने, ‘मलाई अहिले यो अवस्थामा ल्याएको तरकारी खेतीले हो।’ परिवारका चार जना सदस्यले बेनीमा डोकोमा बोकेर ल्याएको तरकारी बेचेर एकै दिन नौ हजार दुई सय रुपैयाँ आम्दानी भएको दिन शर्मा जीवनमा सबैभन्दा बढी खुसी भएको दिन हो।

२०७२ मा तत्कालीन कृषि विकास कार्यालयले पहिलो पटक उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कार प्रदान गर्दा शर्माको जीवनमा अर्को खुसी थपियो। कृषि मेलामा सहभागी भएर उनले थुप्रै पुरस्कार पनि हात पारेका छन्।

कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, विभिन्न संघसंस्थाबाट उनले तालिम र अनुदान सुविधा पनि पाएका छन्। आफ्नो व्यवसायसँगै कृषकसँग सम्बन्धित विभिन्न संघसंस्था र समूहमा पनि उनी सक्रिय छन्। म्याग्दीकाली तरकारी ब्लक, बेनी हाट बजार सञ्चालक समिति र खबराको राधाकृष्ण कृषि सहकारी संस्थाको सञ्चालक समितिको सचिव छन्।

खबरामा व्यावसायिक तरकारी खेती सुरु गर्नेमा शर्मा र चन्द्रबहादुर घिमिरे हुन्। उनीहरूको मेहनत र सफलताबाट प्रभावित भएर खबराका धेरै कृषक व्यावसायिक तरकारी र केरा खेतीतर्फ आकर्षित भएका छन्।

डेढ सय घरधुरीको बसोबास रहेको खबराका करिब २५ जनाले व्यावसायिक तरकारी खेती गरेका छन्। पूरै गाउँको आयस्रोत केराखेती बनेको छ। उनीहरूले उत्पादन गरेको तरकारी र केरा बेनी बजारमा खपत हुन्छ।

कृषकले उत्पादन लागत पहिचान गर्न नसक्नु, कामदार र सिँचाइ अभाव व्यावसायिक कृषिका लागि मुख्य चुनौती भएको शर्माको अनुभव छ। तरकारी खेतीलाई आधुनिकीकरण गर्ने र केरा खेतीलाई व्यवस्थित रूपमा विस्तार गरेर नमुना फार्म सञ्चालन गर्ने योजनामा उनी छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.