द लास्ट रिसोर्ट : साहासिक पर्यटनको पर्याय
द लास्ट रिसोर्टले आफूलाई साहसिक पर्यटनमा मात्र केन्द्रित गरेको छ। क्यानोनिङ, बन्जी, स्विइङ, ट्यान्डम स्विइङ, कायकिङ, र्याफ्टिङलगायत एडभेन्चर स्पोर्ट्समा उसले विभिन्न कार्यक्रम गरिरहेको छ।
पछिल्लो समय नेपालमा साहसिक पर्यटनले फड्को मार्दै गएको छ। यसमा धेरै मानिसको योगदान छ। यसमा एउटा छुटाउनै नहुने नाम हो— डेभिड एलाडाइस। उनले न्युजिल्यान्डबाट आएर नेपालको साहसिक पर्यटनको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरे।
उनैले स्थापना गरेको रिसोर्ट हो— द लास्ट रिसोर्ट, सिन्धुपाल्चोक। यो सन् १९९९ को कुरा हो। त्यति बेला एलाडाइस भोटेकोसीमा र्याफ्ट गाइडका रूपमा काम गर्थे। भोटेकोसीमा र्याफ्टिङ पनि उनैले सुरु गरेका त हुन्। डेभिडले र्याफ्ट गाइड भएर नेपालमा डेढ दशकभन्दा लामो समय काम गरे। र्याफ्टिङ गराउने क्रममा बाह्रबिसेभन्दा १० किलोमिटर माथि तातोपानी नाकातर्फ अहिले नयाँ पुल भएको ठाउँमा उनैले बन्जी गराउन उपयुक्त स्थान देखे।
त्यसपछि न्युजिल्यान्डबाट विज्ञ र स्विस इन्जिनियर ल्याए। र त्यहाँ पुल निर्माण गर्न लगाए। सुरुमा बन्जी मात्र गराइन्थ्यो। पश्चिमाहरूले बाहेक त्यति बेला यस्ता एड्भेन्चर स्पोटर््स कसैले गर्दैनथे। नेपालमा यस्ता एडभेन्चर स्पोर्ट्स टुरिजमको सम्भावना पहिल्याएर यसलाई स्थापित गरिदिएको द लास्ट रिसोर्टले नै हो। त्यस हिसाबले यो रिसोर्टलाई एडभेन्चर स्पोर्ट्स टुरिजमको पायोनियर नै मान्नुपर्छ।
द लास्ट रिसोर्टले आफूलाई साहसिक पर्यटनमा मात्र केन्द्रित गरेको छ। क्यानोनिङ, बन्जी, स्विइङ, ट्यान्डम स्विइङ, कायकिङ, र्याफ्टिङलगायत एडभेन्चर स्पोर्ट्समा उसले विभिन्न कार्यक्रम गरिरहेको छ।
त्यसबाहेक विभिन्न संस्था तथा कम्पनीका लागि विभिन्न तालिम– नेतृत्व विकास, आपसी संवादका सीपहरू तथा टिम बिल्डिङ, स्ट्रेस म्यानेजमेन्टका विभिन्न तालिम तथा खेल खेलाइन्छ। अहिले धेरै कर्पोरेट हाउसहरूले रिक्रिएसन मात्र भन्दा पनि यस्तो खालका टिम बिल्डिङका तालिम तथा स्ट्रेस म्यानेजमेन्टका स्पोर्ट्स गराउने गरेका छन्। नेपालीहरू मात्र होइन, विदेशीहरूसमेत टिम बिल्डिङ र स्ट्रेस म्यानेजमेन्टका लागि आउने गरेको रिसोर्टका महाप्रबन्धक भुवन शर्मा बताउँछन्।
अहिले एडभेन्चर स्पोर्ट्समा नेपालीहरूको आकर्षण पनि बढेको छ। त्यस्तै, धेरै संस्था र कम्पनीहरूले रिसोर्टले अफर गर्दै आएको विभिन्न तालिम तथा खेलका प्याकेजहरू पनि किन्ने गरेका छन्। पछिल्लो समय, रिसोर्टले प्रारम्भिक सिकाइका लागि रक क्लाइम्बिङ, हाइरोप्सलगायत स्पोर्ट्स पनि थपेको छ।
रिसोर्ट सुरु हुँदा देशमा सशस्त्र द्वन्द्वका कारण राम्रो व्यापार हुँदैनथ्यो। सशस्त्र द्वन्द्वको अन्त्यपछि सन् २००५÷०६ देखि पर्यटक आगमनमा वृद्धिसँगै रिसोर्टको व्यवसाय सुधार हुँदै गएको हो। तर भूकम्पपछि तातोपानी नाका बन्द भएपछि व्यापार अझै खस्किएको छ। ‘हवाई यात्रामा चीन गएर तिब्बत हुँदै नेपाल भएर फर्कने धेरै पर्यटकको नेपाल भित्रेपछि पहिलो गन्तव्य द लास्ट रिसोर्ट हुने गथ्र्यो। नाका बन्द भएसँगै त्यहाँबाट आउने पर्यटकको संख्या शून्य छ’, उनले भने।
द लास्ट रिसोर्टबाट सुरुमा भोटेकोसीबाट र्याफ्टिङ गराइन्थ्यो। इन्द्रावती हुँदै सुनकोसीसम्म लामो अवधिको ७÷८ दिनको र्याफ्टिङ गराइन्थ्यो। ‘अहिले भने पर्यटकहरू त्यति लामो अवधि बस्दैनन्, छोटो अवधिमै सबै काम गरिसक्न खोज्छन्’, शर्मा भन्छन्, ‘अहिले मानिसहरूको व्यस्तता बढेकाले पनि होला, पहिलेजस्तो निष्फिक्री समय व्यतीत गरेको देखिँदैन।’ सन् २००२ सम्मको अवधिचाहिँ पर्यटकहरू लमो अवधिको ट्रिपहरूका लागि स्वर्ण युग नै थियो। पहिला महिना दिनको प्याकेजमा पर्यटक आउँथे, अहिले १२–१४ दिनको प्याकेज हुन्छ। त्यसकारण सोहीअनुसार मार्केटिङ रणनीतिहरू तय गर्नुपर्ने उनको भनाइ छ।
सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष आयोजना गर्दै छ। भ्रमण वर्षमा २० लाख पर्यटक भिœयाउने लक्ष्यका साथ सरकार र निजी क्षेत्रले काम गरिरहेका छन्। त्यसले पर्यटन क्षेत्रमा पक्कै पनि उत्साह थप्ने छ। तर, नेपालीले पर्यटकलाई स्वागत गरेको अनुभूति दिलाउन सक्नुपर्ने शर्माको धारणा छ।
लास्ट रिसोर्टले अहिले ५६ जनालाई रोजगारी दिएको छ। यो रिसोर्ट सञ्चालन गरिरहेकै समूहले सहरबाट अलि नजिक अर्को एडभेन्चर स्पोर्ट्सलाई नै केन्द्रित गरेर नयाँ रिसोर्ट स्थापना गर्न खोजिरहेको छ।
नेपाल अहिले साहसिक पर्यटनका लागि आउने युवा जमातका लागि सस्तो गन्तव्य छैन। काठमाडौं आउने हवाई भाडा नै महँगो भएकाले यसमा हस्तक्षेप आवश्यक भएको शर्मा बताउँछन्। ‘काठमाडौं आउने हवाई भाडाले थाइल्यान्ड आउने पर्यटकले कम्बोडिया, भियतनामलगायत दुई तीनवटा देश भ्रमण गर्न सक्छन्, त्यसकारण हामीले यसमा सोच्नुपर्ने जरुरी छ’, उनले भने।
नेपालमा केही समयअघि प्याराग्लाइडिङ दुर्घटनाले साहसिक पर्यटन असुरक्षित हो कि भन्ने सन्देश प्रवाहित भएकाले एडभेन्चर स्पोर्ट्समा काम गरिरहेका सबै व्यवसायी मिलेर यो क्षेत्रको ‘सेफ्टी अडिट’ गराउन आवश्यक रहेको उनको भनाइ छ।
अहिले एडभेन्चर स्पोर्ट्समा आकर्षित हुनेमा भारतीय, चिनियाँ र नेपाली छन्। आन्तरिक पर्यटनमा नेपालीहरू खर्च गर्न हिच्किचाउँदैनन्।
पहिले–पहिले नेपाली पर्यटन क्षेत्रमा सिजन र अफ सिजन भनेर ६ महिना सञ्चालन गर्ने वर्षामा र हिउँद गरी ६ महिना व्यवसाय नै बन्द गर्ने चलन रहेको भुवनको भनाइ छ। ‘अहिले त्यसमा परिवर्तन त आएको छ तर अझै पर्यटन व्यवसायीमा सिजन र अफ सिजनको ह्याङओभर देखिन्छ। हामी त्यसमा अल्झेर हुँदैन। बाह्रै महिना पर्यटक ल्याउन कोसिस गर्नुपर्छ। यसले मात्र पर्यटन क्षेत्रको गुणात्मक विकास र विस्तार हुन सक्छ’, उनले भने।