महान् मनकेसी
एउटा आँखाकै भरमा संघर्ष गरिरहेकी मनकेसी चौधरीले श्रीमान् भने दुवै आँखाको ज्योति गुमेका महेशलाई रोजिन्। आफूले थोरै देखेकै कारण पूर्णरूपमा आँखा नदेख्नेलाई साथ दिने सोच आफ्नो रहेको उनी सुनाउँछिन्।
अन्तर्राष्ट्रिय प्रतियोगिताका ट्रफी टेबलमा छरिएका छन्। कोठाका भित्तामा नेपाल सरकारसहित विभिन्न संघसंस्थाको प्रशंसापत्र झुन्डिएको देखिन्छ। तर यी ट्रफी र प्रशंसापत्रकी धनी मनकेसी चौधरी भने त्यही कोठाको छेउमै रहेको चाउमिन उद्योगमा व्यस्त देखिन्छिन्।
कोठाभित्र देखिएका ट्रफी र प्रशंसापत्र हेर्दा उनी चाउमिन उद्योगमा नभई क्रिकेट नेटमा व्यस्त हुनुपर्ने हो र उनको हातले पीठोका डल्ला नभई क्रिकेटका ब्याट समाउनुपर्ने हो। तर नेपाललाई अन्तर्राष्ट्रिय उपाधि जिताउने दृष्टिविहीन राष्ट्रिय महिला क्रिकेट टिमकी महत्त्वपूर्ण सदस्य मनकेसी चौधरीको दैनिकी भने यसै उद्योगभित्र बित्ने गरेको छ।
काममा अभ्यस्त भइसकेकी मनकेसी चौधरीको देब्रे आँखाले कत्ति पनि देख्दैन। दाहिने आँखा पनि प्रस्ट छैन। तर उनले काम गरेको हेर्दा उनको दुवै आँखा सकुशल झै लाग्छ। सिमरा चाउमिन उद्योगमा काम गर्ने मनकेसी चौधरी आफैं पीठो मुस्छिन् र मेसिनबाट चाउमिन तयार पारेर दैनिक जीविका चलाउँछिन्। उद्योगमा काम गरेर आउने दैनिक ज्यालाबाटै उनको दुई छाक टर्ने गरेको छ।
मनकेसी चौधरी दृष्टिविहीन राष्ट्रिय महिला क्रिकेट टिमको विकेटकिपर र ब्याट्सम्यान हुन्। तीन महिनाअघि पाकिस्तानमा सम्पन्न अन्तर्राष्ट्रिय दृष्टिविहीन महिला क्रिकेट प्रतियोगितामा घरेलु टोलीलाई हराउँदै नेपालले उपाधि जित्ने क्रममा मनकेसी चौधरीले उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी हुँदै उनले ५५ हजार नगदसमेत हात पारेकी थिइन्। देशलाई उपाधि जिताएर नेपाल फर्किएकी मनकेसी चौधरी त्यसपछि उनको दिनचर्या उद्योगमै बित्ने गरेको छ।
उपाधिले उत्साहित मनकेसी चौधरी क्रिकेटमै भविष्य बनाउन चाहन्छिन्। देशका लागि खेल्ने र थुप्रै उपाधि जित्ने उनको चाहना छ। तर निरन्तर प्रतियोगिता नहुनु र राज्यले दृष्टिविहीन महिला क्रिकेट खेलाडीलाई गरेको उपेक्षाबाट भने उनी निराश छिन्। पाकिस्ताविरुद्धको खेलकै लागि तयार पारिएको राष्ट्रिय टिमलाई राज्यले खासै चासो नदिँदा अहिले खेलाडीहरू आफ्नै दैनिकीमा फर्किएका छन्।
‘पहिला दृष्टिविहीन महिला राष्ट्रिय टिम थिएन, भर्खरै बनेको हो। प्रतियोगिता पनि धेरै हुँदैन त्यही भएर आफ्नो काम नगरे खान पुग्दैन,’ मनकेसी चौधरीले भनिन्, ‘देशका लागि खेल्न पाउनु ठुलो कुरा हो। यस्ता प्रतियोगिता भइरहे हामी पनि अभ्यस्त हुँदै जाने थियौ। शारीरिक रूपमा पनि फिट हुनका लागि निरन्तर प्रशिक्षण हुन जरुरी छ। तर अहिले त्यस्तो केही छैन। यस्तो कुरामा ध्यान दिन सके हामी देशलाई थुप्रै उपाधि दिने थियौं।’
सानै उमेरदेखि क्रिकेटमा रुचि भएकाले यसै खेलमा आफूलाई अघि बढाउन उनि तयार देखिन्छिन्। मनकेसी चौधरीका अनुसार उनले ११ वर्षको उमेरमा कक्षा ५ मा पढ्दा पहिलो पटक ब्याट समातेकी थिइन्। चितवन टाँडीस्थित झुवानी उच्च माध्यमिक विद्यालयको दृष्टिविहीन छात्रावासमा बसेर पढ्ने गरेकी उनले स्कुलमा भएको दृष्टिविहीन क्रिकेट खेलाडी छनोटमा सहभागी भएकी थिइन्। सानो भएका कारण छनोटमा सहभागी हुन उनलाई सहज भएन्। तर उनले हिम्मत हारिनन् र छनोटको समयमा उत्कृष्ट प्रदर्शन गरिन। जसका कारण आज उनी राष्ट्रिय टिमको महत्त्वपूर्ण हिस्सा छिन्।
चितवनको पर्सास्थित मझुवाईमा २०५४ सालमा जन्मिएकी मनकेसी चौधरीले झुवानी उच्च माध्यमिक विद्यालयबाट प्रवेशिका उत्तीर्ण गरिन्। बुवा भुखन र आमा पल्ली महतोको एक्ली छोरी मनकेसी चौधरीले नारायणघाटस्थित बालकुमारी उच्च माध्यमिक विद्यालयबाट कक्षा ११ पास गरिन्। तर कक्षा १२ को परीक्षा भने उनले दिन सकिनन्। परीक्षा दिन सक्ने वातावरण नभएपछि छाडेको बताउने मनकेसी चौधरी देशका लागि खेल्न जुनसुकै बेला पनि तयार रहेको बताउँछिन्।
मनकेसी चौधरी दुई वर्षअघि विवाहबन्धनमा समेत बाँधिइन्। उनले बारा अमुवाका पूर्ण दृष्टिविहीन महेश साह कानुसँग विवाह गरिन्। एउटा आँखाकै भरमा संघर्ष गरिरहेकी मनकेसी चौधरीले श्रीमान् भने दुबै आँखाको ज्योति गुमेका महेशलाई रोजिन्। आफूले थोरै देखेकै कारण पूर्णरूपमा आँखा नदेख्नेलाई साथ दिने सोच आफ्नो रहेको उनी सुनाउँछिन्। ‘मैले त थोरै भए पनि देख्छु, नदेख्नेको सहारा बन्ने मेरो सोच थियो,’ मनकेसी चौधरीले भनिन्, ‘मेरो सोचअनुसार नै विवाह पनि भएको छ। मलाई सहयोग र साथ दिने श्रीमान् पाएकी छु।’
चितवनमा देउसी कार्यक्रममा एकअर्कालाई भेटेका महेश र मनकेसी त्यसयता नजिकिएका थिए। महेशसँग विवाह गरिदिन मनकेसीको परिवार राजी नभए पनि उनले महेशलाई साथ दिने निर्णय गरिन्। महेशसँग विवाह गरेर आफूलाई धेरै खुसी लागेको मनकेसी बताउँछिन्। ‘परिवारले त सुरुमा मान्नु भएन। मैले त सुरुमै आफूभन्दा बढी आँखा नदेख्नेलाई साथ दिनुपर्छ भनेर अगाडि बढेको थिए’ उनले भनिन्, ‘पछि त्यस्तै परिवारबाट कुरा आएपछि मैले सहजै स्विकारेँ। तर आफ्नो परिवारलाई सम्झाउन गाह्रो भयो। अहिले मसहित सबै खुसी छौं।’
मनकेसीका श्रीमान् महेश पनि उनीसँगै चाउमिन उद्योगमा काम गर्छन्। महेशलाई मनकेसीले नै काम सिकाइन्। पूर्ण दृष्टिविहीन भएका कारण उद्योग सञ्चालकले महेशलाई काम गर्न अनुमति दिएनन्। तर मनकेसीले काम सिकाउँदै महेशलाई समेत अभ्यस्त बनाइन्। अहिले मनकेसी र उनको श्रीमान् महेशले उद्योग चलाउछँन्। उद्योग सञ्चालक सुनील तामाङले दुई जनाकै भरमा आफूले उद्योग छाड्ने गरेको र उनीहरूको काम गर्ने शैलीबाट आफू सन्तुष्ट रहेको प्रतिक्रिया दिए।
‘सुरुमा त मनकेसीले समेत काम गर्न सक्छिन् जस्तो लागेको थिएन्। मेसिनको काम हो खतरा हुन सक्छ। तर उनको आत्मविश्वास हेरेर मैले अवसर दिए। केही महिना सिकाएपछि उनले आफूलाई प्रमाणित गरिन्,’ तामाङले भने, ‘तर उनको श्रीमान् महेशको कामबाट भने म निकै प्रभावित छु। आँखा नै नदेखे पनि महेशले उद्योग सम्हालिरहेका छन्। उनीहरू समाजका लागि समेत उदाहरण बनेका छन्।’
विवाहपछि रोजगारीका लागि भौतारिन पुग्दा निकै पीडा भोग्नुपरेको भन्दै मनकेसीले अहिलेको कामबाट गुजारा चलिरहेको बताइन्। मनकेसी अहिले पाँच महिनाको गर्भवतीसमेत छिन्। पाकिस्तानविरुद्ध मैदानमा उत्रँदा उनको पेटमा एक महिनाको गर्भ थियो। आफू गर्भवती रहेको थाहा पाएर पनि उनले क्रिकेट छाडिनन्। स्वास्थ्यका कारण मनकेसी अहिले उद्योगको भारी काम गर्दिनन्। उनको कामसमेत उनकै श्रीमान् महेशले गरिदिने गरेका छन्।
मनकेसीको आत्मविश्वास र क्रिकेटमा उनले हासिल गरेको उपलब्धिबाट उनको श्रीमान् महेशसमेत दंग छन्। महेशले क्रिकेटमै भविष्य बनाउन मनकेसीलाई सुझाउने गरेका छन्। देशका लागि खेल्नु ठूला कुरा रहेको भन्दै महेशले निराश मनकेसीकौ हौसला बढाउन छाड्दैनन्। ‘देशका लागि खेल्नु नै ठुलो उलपब्धि हो। त्यसमा पनि उनि टिमको महत्त्वपूर्ण सदस्य छिन्’ महेशले भने, ‘यो हाम्रो परिवारलाई मात्र होइन देशकै लागि खुसीको कुरा हो। उनको सफलताले म खुसी छु।’
महेश त्योभन्दा बढी आफूसँग विवाह गर्न मनकेसी राजी भएकाले उनीसँग अझ प्रभावित छन्। आफ्नो परिवारले राखेको प्रस्ताव उनको परिवारले अस्वीकार गर्दा समेत उनले अडान लिएर विवाह गरेको महेश सम्झन्छन्। ‘पूर्णरूपमा आँखा नदेख्ने व्यक्तिसँग जीवन बिताउन कोही पनि चाहँदैनन्’ महेशले भने, ‘तर मसँग विवाह गर्न उनी तयार भएपछि उनीप्रति मेरो सम्मान अझ बढेको छ।’