बीउपुँजी १५०
धनगढी बजारबाट झन्डै सात किलोमिटर भित्र पर्ने जुगेडा गाउँमा साढे दुई करोड रुपैयाँ लगानीमा कमलले सुदूरपश्चिमको पहिलो च्याउ उद्योग सञ्चालन गरेका छन्।
कुनै पनि व्यवसाय सञ्चालनका लागि लगानी गर्ने रकम चाहिन्छ, आवश्यक सीप चाहिन्छ, उच्च शिक्षा हासिल गरेको हुनुपर्छ भन्ने सामान्य मान्यता छ। तर दृढ इच्छाशक्ति छ भने लगानी, सीप र अध्ययन जस्ता अन्य कुरा जुट्दै जान्छन् भन्ने उदाहरण हुन्, कैलालीको धनगढी उपमहनगरपालिका–१२, जुगेडा ‘बी’ गाउँका ३७ वर्षीय कमल पुनमगर। कृषिप्रतिको लगाव, निरन्तर परि श्रम र दृढ इच्छाशक्तिकै कारण ७ कक्षासम्मको अनौपचारिक शिक्षा मात्र लिएका उनी एक उदाहरणीय व्यवसायी बनेका छन्।
आफन्तसँग डेढ सय रुपैयाँ सापट लिएर २०५७ सालबाट तरकारी खेती थालेका उनले अहिले वार्षिक लाखौं रुपैयाँ आम्दानी गरिरहेका छन्। धनगढी बजारभन्दा झन्डै सात किलोमिटर भित्र पर्ने जुगेडा गाउँमा साढे दुई करोड रुपैयाँको लगानीमा उनले सुदूरपश्चिमको पहिलो च्याउ उद्योग सञ्चालन गरेका छन्।
दृढ इच्छाशक्ति भए व्यवसाय गर्न सर्टिफिकेट नै नचाहिने कुरा प्रमाणित गरेका छन् उनले। कक्षा ७ सम्मको अनौपचारिक शिक्षा मात्र लिएका उनले भारतका तीनवटा कृषि विश्वविद्यालयबाट आवश्यक प्राविधिक ज्ञान लिएका छन्। व्यवसायप्रतिको लगावकै कारणले च्याउ उत्पादन तथा प्रशोधनमा चम्किँदै गएका उनले च्याउ उत्पादन तथा प्रशोधन व्यवसायबाट निकै सन्तुष्ट भएको बताए।
‘यो नेपालमा नयाँ व्यवसाय हो, च्याउ उत्पादन हुने गरेको भए पनि प्रशोधन भएको थिएन’, उनले भने, ‘नयाँ किसिमको व्यवसाय सञ्चालन गर्न पाउँदा म निकै सन्तुष्ट छु।’ उनका अनुसार भारत र चीनमा उत्पादन भएको च्याउ नेपालमा आउने गरेको छ भने नेपालमै च्याउको प्रशोधन पहिलो पटक गरिएको छ। उनको च्याउको माग अत्यधिक हुने गरेको छ। सुदूरपश्चिमजस्तो ठाउँमा उनी थुप्रै चुनौती पार गर्दै एक सफल कृषक बन्न सफल भएका हुन्।
कमलले २०५७ सालमा एक जना आफन्तसँगै डेढ सय रुपैयाँ सापट लगेर एक कट्ठा जमिनमा विभिन्न तरकारी रोपे। तीन महिनामै डेढ सय रुपैयाँको तरकारी बिक्री गरेर पाँच हजार रुपैयाँ कमाएपछि कमलको तरकारी व्यवसाय भयो। ‘मेरो व्यावसायिक जीवनको सुरुआती लगानी भन्नु नै डेढ सय रुपैयाँ हो। त्यसपछि लगानी बढाउँदै गएँ’, उनले भने, ‘तरकारी खेतीबाट थालिएको हो, बिस्तारै म च्याउखेतीतर्फ आकर्षित भएँ। अहिलेसम्म च्याउ र तरकारी खेती सँगै गरिरहेको छु, त्यसमा पनि च्याउ प्राथमिकतामा परेको छ।’
सामान्य परिवारमा जन्मेका कमलले पारिवारिक जिम्मेवारी सानै उमेरदेखि सम्हाले। उनले कृषि क्षेत्रलाई मुख्य पेसा बनाई विद्यालय जाने उमेरमै उनी तरकारी लगाउने गर्थे। कृषि क्षेत्रमा लाग्ने प्रेरणा उनले कक्षा ७ सम्म अध्ययन गरेको विद्यालयका शिक्षक कालीचरण चौधरीबाट पाए। उनले कृषिमा लाग्न कमललाई हौस्याए। आफूले पढाइ छाडिसक्दा पनि कालीचरणले कृषिसम्बन्धी अध्ययन गर्न हौस्याएपछि उनले कृषि व्यवसायका लागि खोजी गर्न थाले।
‘कृषिकर्ममा लाग्नुको प्रेरणा मेरा शिक्षक कालीचरण चौधरी सर नै हो। पढाइ छोडिसकेको थिएँ, उहाँको उत्प्रेरणाले कृषिसम्बन्धी पूर्वव्यावसायिक शिक्षादेखि अन्य किताबहरू खोजीखोजी पढ्न थालेँ, त्यही नै मेरो जीवनको प्रारम्भिक तालिम थियो’, कमलले भने।
२०६३ सालमा क्षेत्रीय कृषि तालिम केन्द्र सुन्दरपुर कञ्चनपुरबाट च्याउ खेतीसम्बन्धी तालिम लिएपछि तरकारी खेतीबाट कमलको व्यावसायिक जीवन च्याउखेतीमा प्रवेश भयो। उनले २०६५ देखि निरन्तर च्याउ खेती गर्दै आएका छन्। तालिममा सिकेको ज्ञानबाट कन्ये (पराले) च्याउ उत्पादन थालेका उनले गोब्रे च्याउमा घाटा बेहोरे। आफूमा ज्ञानको कमी महसुस गरेका कमल काठमाडौंसहित मुलुककै विभिन्न ठूला कृषि फर्म, तालिम केन्द्र चहार्न थाले। तर उनलाई त्यतिले सन्तुष्टि दिएन।
मुलुकमा पाएको ज्ञानसीपबाट मात्रै सन्तुष्ट हुन नसकेका कमलले २०७० सालमा भारतको उत्तराखण्डस्थित गोविन्द वल्लभ पन्त कृषि एवं प्रौद्योगिकी विश्वविद्यालयमा पुगे। भारतमा हरित क्रान्तिको अग्रदूत मानिने सो विश्वविद्यालयबाट प्रवाह हुने कृषिसम्बन्धी प्रविधि नजिकबाटै नियाले।
‘विश्वविद्यालयको विद्यार्थीसमेत नभएको मलाई पहिलेपहिले त साह्रै अप्ठ्यारो हुन्थ्यो। फकिरझैं लाग्थ्यो। बिनाभर्ना विश्वविद्यालयमा छिरेको मलाई कसैले मूर्ख पो भन्ने हो कि ? भन्ने पनि लाग्थ्यो। तर ‘जो होगा देखा जाएगा’ भनेर प्रवेश गरँे’, उनले पन्तनगर विश्वविद्यालय बसाइको अनुभव सुनाए, ‘पछि विश्वविद्यालयका निर्देशकसँग भेट्ने मौका पाएपछि अन्तर्राष्ट्रिय स्तरको तालिम र गोष्ठीमा भाग लिन थालेँ।’
‘यहाँ सिकाइने प्रविधि र भारतमा सिकाइने प्रविधिमा फरक पाएँ, त्यहाँ गोब्रे च्याउका लागि बनाइने कम्पोस्ट मल, माटो राख्ने विधि सिकेपछि मैले लगाएको गोब्रे च्याउ पनि सप्रियो’, मुस्कुराउँदै उनले थपे।
विश्वविद्यालयबाट कृषि ज्ञानको तिर्खा नमेटिएपछि उनी २०७१ सालमा भारतीय कृषि अनुसन्धान केन्द्र दिल्ली पुगे। त्यहाँबाट थप सीप हासिल गर्न भनेर भारतकै हरियाणास्थित सोनीपथ च्याउ अनुसन्धान केन्द्र पुगे। ‘प्राविधिक ज्ञान सिकेपछि म किसानकै फर्म अवलोकन गर्न चाहन्थेँ, पछि हरियाणा सोनीपथ मसरुम अनुसन्धान केन्द्रकै सहयोगमा भारतीय कमल चौहानले सयौं बिघा क्षेत्रफलमा गरेको व्यावसायिक च्याउ खेतीको अवलोकन गर्ने मौका पाएँ। त्यसपछि म च्याउखेतीमै समर्पित छु’, भारत बसाइको अनुभव उनले सुनाए।
नमुना च्याउ उद्योग
२०७१ सालमा २० लाख रुपैयाँ लगानीमा कमलले जुगेडामै ओम केदार च्याउ तथा तरकारी फर्म सञ्चालनमा ल्याए। लगानी बढाउँदै उनले २०७३ सालमा एसियाली विकास बैंकको सहयोग रहेको साना तथा मझौला कृषक आयस्तर वृद्धि परियोजना र आफ्नो गरी एक करोड आठ लाख पु¥याए। अहिले उनको लगानी झन्डै दुई करोड २० लाख रुपैयाँ पुगेको छ। विभिन्न आधुनिक प्रविधिसहित व्यवसाय थालेका उनी गोब्रे च्याउको क्यानिङ अर्थात् प्याकेजिङ गरी दुई वर्षसम्म खान सकिने प्रविधिको विकास गरिरहेका छन्। च्याउको पाउडर निर्माण गर्ने मुलुककै पहिलो कृषि फर्म आफ्नो भएको उनको दाबी छ।
‘नेपालमा हालसम्म भारत र चीनबाट क्यानिङ गरिएको ग्रोबे च्याउ आयात हुँदै आएको छ। हाम्रोबाहेक अन्य ठाउँमा च्याउको क्यानिङ र पाउडर बनाउने प्रविधि छैन। जुन कारणले हाम्रो प्रतिस्पर्धी नै छैन, बजार पर्याप्त छ’, उनले भने, ‘बजार राम्रो भएपछि उत्पादन बढाउँदै गइरहेका छौं।’
उनको उद्योगमा प्रतिघण्टा साढे दुई क्विन्टल च्याउ सुकाउने र प्रतिघण्टा पाँच क्विन्टल गोब्रे च्याउ क्यानिङ गर्न सक्ने क्षमता छ। दुई बिघा क्षेत्रफलमा फैलिएको उद्योगले ग्राहकको माग पु¥याउन सकेको छैन। च्याउ मानव स्वास्थ्यका लागि लाभदायक मानिन्छ। उनको उद्योगमा उत्पादित च्याउ धनगढी, अत्तरिया, पुनर्बास, बैतडी, डडेल्धुरा, नेपालगन्ज र काठमाडौंमा समेत आपूर्ति हुँदै आएको छ।
उनले च्याउखेतीबाट आठ जनाको परिवार पालेका छन्। आर्थिक अवस्था दयनीय रहेका उनले यसबाटै घरजग्गासमेत जोडे। वार्षिक ४० देखि ५० लाख रुपैयाँसम्म आम्दानी गरिरहेको उनले बताए। ‘च्याउ प्रशोधन उद्योगको परीक्षणमा छु’, कमलले भने, ‘कैलालीको जुगेडालाई च्याउका लागि पकेट क्षेत्र बनाउने योजना छ। हिजोआज अन्य छिमेकी पनि च्याउ खेतीमा आकर्षित छन्। यो पनि एक सकारात्मक कदम मान्नुपर्छ।’ उनले उद्योगमा पाँच जना तलबी कर्मचारी र ४५ जना ज्यालादारी कामदारलाई रोजगार दिइरहेका छन्।
हातपाखुरा चलाए स्वदेशमै सुनखानी रहेको कमल बताउँछन्। देशको माटोलाई माया गर्नेले कहिल्यै पनि भोको पेट बस्नु नपर्ने उनको भनाइ छ। किसानका लागि सरकारले सही, सुलभ र प्रभावकारी प्राविधिक शिक्षाको ग्यारेन्टी गर्नुपर्नेमा उनको जोड छ। सरकारले प्राविधिक भिœयाउन सहयोग गरे व्यवसायमा अगाडि बढ्न सहज हुने कमलको भनाइ छ। उनको उद्योगमा परिवार तथा स्थानीय व्यक्तिले रोजगार पाएका छन्।