नेपालमा इन्डो-प्यासिफिक रणनीति हल्लाबारे अमेरिकी गुनासो
काठमाडौं : इन्डो प्यासिफिक रणनीतिबारे नेपालका बुद्धिजीवी र कूटनीतिको बुझाइ स्पष्ट नभएको भन्दै अमेरिकीले नेपाल सरकारसँग गुनासो गरेको छ। इन्डो प्यासिफिक रणनीति अमेरिकी पहुँच (अप्रोच) हो तर यसलाई गलत ढंगले बुझेको भन्दै कूटनीतिक च्यानलमार्फत परराष्ट्रसँग गुनासो गरेको परराष्ट्र मन्त्रालय स्रोतले बतायो। अमेरिकासँग जोडिएको हरेक विकास, सहयोग तथा सहकार्यमा अमेरिकी अप्रोच रहन्छ। अमेरिकाले त्यसमा अर्को मुलुकले हस्ताक्षर गर्ने या नगर्ने भन्ने विषय नै रहँदैन भन्दै नेपाल सरकारले यस्तो विषय बुझाउन नसकेकोमा त्यस प्रकारको गुनासो गरेको हो।
अमेरिकाको औपचारिक भ्रमणपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कतिपय स्थानमा दिएको अभिव्यक्ति नै स्पष्ट नभएको अवस्थामा अमेरिकाले यस्तो गुनासो गरेको परराष्ट्र उच्च स्रोतले पुष्टि गर्दै भन्यो, ‘अमेरिका आफैं पनि यस्तो विषयलाई बुझाउन खोजे पनि नेपाल सरकारको धारणा स्पष्ट नभएसम्म त्यस्तो कुरामा जोड गर्न नसक्ने अमेरिकीको धारणा औपचारिक÷अनौपचारिक कुराकानीमा हुने गरेको छ।’
अमेरिकाको यस क्षेत्रमा हुने हरेक विषय इन्डोप्यासिफिक रणनीतिअन्तर्गत नै रहने धारणा स्पष्ट पारिसकेको छ। नेपालमा गर्दै आएको सहयोग होस या वाक स्वतन्त्रता, लोकतन्त्रको विषय होस् या मानवअधिकार सबैमा इन्डो प्यासिफिक जोडिएको अधिकारीहरूले बताउँदै आएका छन। अमेरिकाले उक्त विषय बुझाउनकै लागि भए पनि सरकारले कुनै कार्यक्रममा जनताले पत्याउने र बुझ्ने गरी धारणा राखिदिन आग्रह गरेको बताइएको छ।
अमेरिकी दूतावासले भने यस्ता विषयमा आफ्नो धारणा राख्दै पटक पटक भनिरहेको छ : इन्डो प्यासिफिक क्षेत्रका मुलुकलाई हेर्ने अमेरिकी रणनीति नै इन्डो प्यासिफिक रणनीति हो। यसलाई भारत जोडेर भनिने गरेको विषयमा पनि अमेरिकीले भन्ने गरेको छ, ‘यो इन्डियन र प्यासिफिक ओसन क्षेत्रलाई जोडेर हामीले इन्डो प्यासिफिक बनाएका हौं। यो अमेरिकाको आन्तरिक विषय हो।’ हरेक मुलुकको आफ्नो रणनीति हुन्छ तर हामी यसमा थप खुला रहँदा झन् गलत रूपले बुझेको भन्दै अमेरिकीले सरकारसँग गुनासो गरेको हो।
नेपाल वा यस क्षेत्रका मुलुकमा आउने सहयोग र सहकार्य इन्डो प्यासिफिकअन्तर्गत नै हुने तर त्यसमा सम्बन्धित मुलुकको चाहनाबेगर नरहने पनि अमेरिकाले बताउँदै आएको छ। राजनीतिक नेतृत्व, कूटनीतिज्ञ तथा सरकारले समेत यसलाई स्पष्ट पार्न नसकेको अमेरिकाले सरकारसँग गुनासो गरेको छ। यसलाई चिनियाँ रणनीति वीआरआईसँग जोड्ने काम गरेको विषयमा पनि अमेरिकी हैरान हुँदै परराष्ट्र अधिकारीसँग भनेको छ, ‘हामी यस्ता विषय स्पष्ट पार्न के गर्नु पर्ला ? ’
नेपालमा रेहका अमेरिकी राजदूतले अमेरिकाको चासोमा यहाँको विकास सहकार्य गर्छ भने अमेरिकामा रहेका नेपाली राजदूतले नेपालको चासोमा अमेरिकीसँग सहकार्य गर्ने हुनाले यसमा विन विन मिटिङ पोइन्ट नै महत्व रहेको धारणा सर्वसाधारणलाई स्पष्ट पार्नुपर्ने उनीहरूले सुझाएका छन्।
उत्तर कोरियाली नागरिकको विषयमा अमेरिकी चासो
उत्तर कोरियाली नागरिकको नेपालमा गर्ने गतिविधिबारे अमेरिकाले गम्भीर चासो व्यक्त गर्दै आएको छ। यो विषय पनि उसले परराष्ट्र मन्त्रालयमा गुनासो गर्दै सरकारको ध्यान त्यसतर्फ जानुपर्ने बताएको छ। अमेरिकाले उत्तर कोरियाका लागि तोकेको विशेष दूत नै दुई साताअघि काठमाडौं आएर राजनीतिक दलका नेतासँग भेट गर्दै यस्तो चासो राखेको हो। विशेष दूत मार्क ल्याम्वर्ट नेपाल आएर सरकार र राजनीतिक दलका नेतृत्वसँग वार्ता गरेर फर्केका थिए।
यस क्षेत्रको शान्तिका लागि अमेरिकाले चासो राखेको विषय यसबाट स्पष्ट हुन्छ। नेपालमा अमेरिकीको पछिल्लो चासो भनेको खुला सीमाबाट हुन सक्ने यस्ता प्रकारको आउजाउको विषयलाई नेपाल सरकारले ध्यान दिन जरुरी रहेको बताइएको छ। अमेरिकाले यो विषयलाई गम्भीर रूपमा लिएको भन्दै आफ्नो चासो देखाएको परराष्ट्र अधिकारीले बताए।