बीपीको ब्रेन
लोकतन्त्रको दुर्भाग्य नेपाली कांग्रेस युवा सहभागिताबिनाको बाटो हिँडिरहेको छ, दोस्रो पुस्ताले बीपीको आदर्शलाई मागी खाने भाँडो बनाइरहेको छ।
नेपाली राजनीतिका शिखर पुरुष बीपी कोइराला राजनीति आकाशमा जति चम्किला थिए, त्यति नै नेपाली साहित्य क्षितिजमा पनि एक जाज्वल्यमान नक्षत्र मानिन्छन्। असाधारण व्यक्तित्वका धनी उनीसँग कठिन, असहज तथा विषम परिस्थितिमा पनि कार्य गर्ने बुद्धि अर्थात् भावनात्मक समर्थता थियो। यस्तै भावनात्मक बुद्धिमत्ताको उर्जाले नै बीपी नेपाली राजनीतिक आकाशको शिखरमा पुगेका हुन्।
बीपी जति सामाथ्र्यवान् राजनेता थिए, त्यत्ति नै कुशल स्रष्टा पनि थिए। यति मात्र होइन, उनी अदभुत स्मरणशक्तिका धनी थिए। त्यसैले गर्दा नै बीपीको सम्झना–शक्ति बुढेसकालसम्म पनि निकै अद्भुत रहेको कुरा उहाँका सम्पर्कमा रहेका व्यक्तिहरूको कथन तथा उहाँसँग सम्बन्धित दस्तावेजहरूले पुष्टि गर्छन्। त्यसो त गणेशराज शर्माले विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्तमा बीपीको अद्भुत सम्झनाशक्तिको बारेमा प्रकाश पारेका छन्। गणेशराज शर्माले लेखेका छन्, ‘बीपीको आत्मवृत्तान्त उहाँले (बीपीले) लेख्नु भएको होइन, मृत्यु–शय्याबाटै भन्नु भएका कुराहरूलाई टेपमा संकलन गरी लिपिबद्ध गरिएको हो।’
गणेशराज शर्माले उक्त किताब अगाडि लेखेका छन्, ‘बीपीका आत्मवृत्तान्तका कुराहरू उहाँले (बीपीले) कुनै टिपोट, लिखित वा सहायक–सामग्रीहरूको मद्धत लिनु भएन। कसैसँग केही सोध्नु पनि भएन। सबै कुराहरू तत्कालको सम्झनाको भरमा बोल्नु भएको हो।’ उहाँको स्मरण–शक्ति अद्भुत थियो भनेर मात्र यहाँ पुग्ला जस्तो लाग्दैन। सम्झना–शक्तिद्वारा हामीलाई चकित पारेका केही दृष्टान्त नै मैले दिनु ठीक हुन्छ। त्यसताका उहाँको अन्तिम दर्शनको अभिलाषाले ओखलढुंगातर्फका एक अधबैंसे उमेरका अपरिचित गाउँले व्यक्ति आएका थिए।
भेट्न आउने सबैमाथि समुचित ध्यान दिने उहाँको संस्कारगत अभ्यास बमोजिम उहाँले त्यस व्यक्तिलाई कहाँबाट आउनुभयो भनी सोध्नुभयो। उनले आफ्नो जिल्लाको नाउँ लिए। त्यसपछि उहाँले गाउँ कुन नि भनी सोध्नुभयो। उनले असजिलो मान्दै तपाईं जान्नुहुन्न होला, अमुक गाउँ हो भने। अनि बीपीले भन्नुभयो, मलाई २००४ सालमा धनकुटाबाट अड्डासार गरेर हिँडाएर ल्याउँदा त्यो गाउँ हुँदै आएको छु। अनि त्यस गाउँको बाटो र जंगलहरूको भौगोलिक अवस्थिति र गाउँको बस्ती र बसाइँलाई वर्णन गर्दा ती व्यक्तिमात्र होइन, त्यो सुन्ने हामी सबै आश्चर्यमा परेका थियौं।
यस्तै सम्झना उनले हाम्रा मित्र कुसुम श्रेष्ठको बन्दीपुरस्थित पुख्र्यौली–घरको बाटो, ढोकासम्म चढ्नुपर्ने ढुंगाको खुड्किलो कतिओटा छन्, झ्यालहरू कस्ता छन् र छाना केको छ भन्ने शब्द–चित्र सुनाएर आफ्नो अद्भुत सम्झना–शक्तिको परिचय दिएका थिए। नेपाली कांग्रेसको संगठनात्मक कामको सिलसिलामा उनले २००७ सालपछि बन्दीपुर जाँदा कुसुमजीको घर देख्नुभएको कुरा त्यसरी सझिरहनु साधारण सम्झना–शक्तिको कुरा होइन। अतः क्यान्सरबाट थलिएका एक ६८ वर्षीय वृद्ध व्यक्तिको यस्तो सम्झना–शक्ति हुनु सामान्य कुरा होइन। यिनै अद्भुत क्षमताका कारण नै बीपी नेपाली आकाशका नक्षत्र भएका हुन्। बीपी जति सम्झना–शक्तिको धनी थिए, त्यत्ति नै निडर र साहसी थिए। यो कुरा आत्मवृत्तान्तमा बीपीले स्मरण गरेको एक घटना प्रष्ट पार्दछ, गणेशमानजी भन्ने गर्थे, ‘त्यो तपाईंको शान्त मनस्थिति, त्यो साहस। म भन्ठान्थें म जति साहसी को होला ? तर तपाई (बीपी) लाई देख्दा म छक्क परें।’ यो नै बीपीको बे्रनमा विद्यमान भावनात्मक समर्थताको एक नमूना हो।
दोस्रोपुस्ता लक्ष्यहीन राजनीतिमा कुहिराको कागजस्तो भएको छ। नेतृत्वसँग न त स्पष्ट भिजन छ, न त कुनै उद्देश्य। नेपाली कांग्रेसको लक्ष्य के हो ? सिर्फ सत्ताको कुर्सी ? त्यही भएर पनि नेपाली कांग्रेस अहिले ओसिएको ब्याट्रीजस्तो भएको हो।
बीपी प्रजातान्त्रिक समाजवादका प्रणेता थिए। बीपी मनमस्तिष्कमा प्रजातान्त्रिक समाजवादलाई केन्द्रमा राखेर राष्ट्रियता, प्रजातन्त्र र देशको सर्वांगीण विकासका लागि अघि बढ्ने एक स्पष्ट मार्गचित्र कोर्न सक्ने व्यक्ति थिए। त्यसैले त उनले हरेक नेपालीसँग एउटा घर, एक हल गोरु र एउटा दुहुनो गाईको परिकल्पना गरेका थिए। यसरी उनले हरेक नागरिकलाई गाँस, बास र कपास तथा त्यसका लागि रोजगार अनि पौष्टिक आहार, शिक्षा र स्वास्थ्यका कुरा पनि उठाएका थिए। यहाँ एक हल गोरुको अर्थ रोजगार हो।
दुहुनो गाईको अर्थ पौष्टिक आहार र स्वास्थ्य हो। राष्ट्र निर्माणका सन्दर्भमा उनले भनेका थिए, ‘एकीकरणपछि नेपालले एउटा आधुनिक भूगोल निर्धारित गर्यो, एउटा देश गठन भयो। यस निर्धारित सिमानामा बस्ने अनेकौं धर्म, भाषा र संस्कृतिहरू अपनाउने यावत जातजातिहरूको एउटा देश नेपालको उदय त भयो तर बहुजाति, बहुभाषी, बहुसंस्कृति तथा जैविक विविधताको यो देश ती सबै जातजातिको साझा फूलबारी हुन सकेन, एक राष्ट्र बन्न सकेन। शरीरको ढाँचा खडा त भयो, त्यसमा आत्मा प्रवेश हुन सकेन, फ्रेम बनाइयो तर तस्विर राखिएन, भाँडो कुँदियो, तर त्यसभित्र राखिने तत्व राखिएन।’
बीपीले एकदम सटिक, तार्किक र भावनात्मक कुरा व्यक्त गरेका छन्। उनले भनेझैं यो देशलाई सबै जातजातिको एक राष्ट्र बनाउन नै २०६२/६३ सालको जनआन्दोलन भएको हो। नेपाली नागरिकको भावना पनि यही हो। यस कुराप्रति कांग्रेसले दूरदृष्टि राख्नु आजको आवश्यकता हो। गिरिजाप्रसाद कोइरालाको निधनपछि कांग्रेसको नेतृत्व दोस्रो पुस्ताको हातमा आएको छ। तर दोस्रोपुस्ता लक्ष्यहीन राजनीतिमा कुहिराको कागजस्तो भएको छ। नेतृत्वसँग न त स्पष्ट भिजन छ, न त कुनै उद्देश्य। नेपाली कांग्रेसको लक्ष्य के हो ? सिर्फ सत्ताको कुर्सी ? त्यही भएर पनि नेपाली कांग्रेस अहिले ओसिएको ब्याट्रीजस्तो भएको हो।
कांग्रेसले न त नेपाली जनताको भावनालाई आत्मसात् गर्न सकेको छ न त मुलुकको नेतृत्व गर्न सकेको छ। त्यसैले हरेक वर्षको साउन ६ गते र भदौ २४ गते बीपीको शालिकमा माल्यार्पण गरी औपचारिकता पूरा गर्ने र बाँकी ३६४ दिन उनको ब पनि उच्चारण नगर्ने नेपाली कांग्रेसका सानाठूला नेताहरूलाई बोध हुनुपर्ने कुरा के भने आमनेपाली जनताको चाहाना भनेको नै नेपालमा सामाजिक न्यायसहितको लोकतान्त्रिक शासन व्यवस्था स्थापित गर्नु हो।
बीपीले कोरेको लोकतान्त्रिक समाजवादको बाटो नै नेपाली जनताको चाहना पूरा गर्ने सर्वोत्तम विकल्प हो। उनको आदर्श र सिद्धान्त, स्पष्ट लक्ष्य र नेतृत्वपंक्तिमा प्रशस्त युवावर्गको सहभागिताबिना ओसिएको ब्याट्रीजस्तो कांग्रेसलाई रिचार्ज गर्न खोज्नु दिवास्वप्न हो। तर लोकतन्त्रको दुर्भाग्य नेपाली कांग्रेस यही बाटो हिँडिरहेको छ। त्यसैले दोस्रो पुस्ताले बीपीको आदर्शलाई मागी खाने भाँडो बनाइरहेको वर्तमान अवस्थामा कांग्रेसका नातीपुस्ताले बीपीको ब्रेनलाई आत्मसात् गरी उनले देखाएको बाटोमा मजबुत संगठनका साथ अघि बढ्नु नै आजको आवश्यकता हो।