बजेटमा आशावादको लहर

राष्ट्रले ऋण लिँदा धेरै विचार पुर्याउनु पर्ने छ। सकेसम्म ठूला परियोजनाबाट देशलाई ऋणको पासोमा पार्ने काम बन्द गरौं। साना तथा मझौला परियोजनाहरूमा बढी जोड दिऔं।
नेपाल सरकारले सार्वजनिक गरेको वार्षिक बजेटबारे विभिन्न किसिमका प्रतिक्रियाहरू आउने गरेका छन्। यो स्वाभाविक पनि हो किन कि बजेटले सम्पूर्ण क्षेत्रलाई प्रभाव पारेकै हुन्छ। बजेटबारे आउने टिप्पणीहरू प्रायःजसो पाँच जना दृष्टिविहीन र हात्तीको कथा जस्तो हुन्छ। जुन व्यक्ति हात्तीको नजिक पुगेर हात्तीलाई छामछुम गर्छन्, तिनले हात्ती त्यस्तै रहेको प्रतिक्रिया दिन्छन्।
हात्तीको सुँड छाम्न पुग्ने व्यक्तिले हात्ती खामो (खाँबो) जस्तो रहेको अनुभूति गर्छन्। हात्ती खामो जस्तो हुँदो रहेछ भन्छन्। हात्तीको शरीरतर्फ पुगेका व्यक्तिले हात्तीको आकार भित्तो जस्तो रहेको बताउँछन्। एवं रितले पाँचै जनाले हात्तीबारे आफ्नो अनुभूति सुनाउँदा प्रत्येकको विचार फरक–फरक आउँछ। यही कुरो बजेटमा पनि लागू हुन्छ। आ–आफ्ना भोगाई र सपनाहरू बजेटमा बिम्बित होस् भन्ने सबैको आकांक्षा हुन किमार्थ गलत होइन। तर, समस्या समग्र दृष्टिको हो। समस्टिगत हेराइको हो। जसरी दृष्टिविहीन बाहेक सद्धे आँखा भएकाहरूले हात्तिलाई समष्टिमा देखेका हुन्छन्। अब प्रश्न उठ्छ, बजेटबारेको समस्टिगत हेराई वा बुझाई के हो ? म बजेटलाई तीनवटा पक्षबाट हेर्ने गर्छु। एक, बजेटको कन्टेन्ट वा समावेश भएका विषयहरू, दोस्रो, बजेटको म्याग्निच्युड वा आकार र तेस्रोः बजेटले लिन खोजेको डाइरेक्सन वा दिशा।
सबैलाई थाहा छ देश कोभिडकालदेखि यता लगातार समस्यामा छ। देशको आर्थिक वृद्धि न्यूनतम बिन्दुमा झरेको छ। आर्थिक क्षेत्र धाराशायी बनिरहेको छ। भुक्तान सन्तुलन विस्तारै सकारात्मक भए तापनि अझ मजबुत हुन सकेको छैन। मूल्यवृद्धि उच्च हुँदा जनताको क्रयशक्तिमा गिरावट आएको छ। बेरोजगारी व्यापक छ, युवाहरूको विदेश पलायन बढेको बढ्यै छ। यी सब कारणले सरकारी राजस्वमा कमी देखा परेको छ। र, समग्रमा देशमा निरशावाद व्याप्त छ। यी सबै अवस्थाबाट देशलाई त्राण दिन सक्ने बजेटको खाँचो थियो। यो बजेटबाट देशमा आशावादको सिर्जना हुने देखिन्छ। कसरी भने यसले देशको अवस्थाअनुसार समेट्न सक्ने सबै कुराहरू लगभग समेटेको छ। खर्चमा समेतिएका शीर्षकहरूको म्याग्निच्युडलाई पनि ठीकै मान्न सकिन्छ। र, बजेटले लिन खोजेको दिशा पनि ठीकै मान्नु पर्ने हुन्छ। यस हिसावले समग्रता बजेटले आशावादको लहर सिर्जना गर्ने छ भन्ने विश्वास लिन सकिन्छ। बजेट सरकारको प्रतिबद्धता पत्र पनि भएको कारण कार्यान्वयनमा शंका नराखौं।
अतः बजेटको सैद्धान्तिको नजरबाट हेर्दा समयानुकूल रहेको पाइन्छ। सरकारले कार्यान्वयन पक्षलाई भरपर्दो बनाउन नीतिगत व्यवश्था गरेको छ। राजस्व अभिवृद्धिको निम्ति चालिएका कार्यक्रमहरू, खर्च कटौतीका नीतिहरू, सुशासनका प्रयासहरू, उत्पादन र रोजगारी वृद्धिका दृष्टिकोणहरू, निजी क्षेत्रलाई चलायमान बनाउने अभियान, विदेशी श्रम र सीपको सम्मान, ऊर्जा, अनुसन्धान तथा पूर्वाधारमा विशेष जोड आदि जस्ता कुराहरू बजेटमा परेका छन्। मूलतः मुलुकको आर्थिक संकटबाट राहत मिल्ने दिशातर्फ बजेटको कन्टेन्ट, म्याग्निच्युड र डाइरेक्सन निर्देशित रहेको कारण यसको होलिस्टिक बुझाई सकारात्मक रहेको छ। तर, यसले केही नकारात्मक कुराको संकेत गरेको कुरालाई भने छुटाउनु हुँदैन। त्यो हो ऋणको व्यवस्थापन खर्च जुन विकास खर्चभन्दा पनि बढी पुग्यो। देशको राजस्वले साधारण खर्च धान्ला भन्ने विश्वास गर्दा पनि देशले विगतमा लिएका ऋणको साँवा ब्याज तिर्न पनि ऋण लिनुपर्ने अवस्था छ हामी प्रवेश गरिसक्यौं। तसर्थ अब राष्ट्रले ऋण लिँदा धेरै विचार पु¥याउनु पर्ने छ। सकेसम्म ठूला परियोजनाबाट देशलाई ऋणको पासोमा पार्ने काम बन्द गरौं। साना तथा मझौला परियोजनाहरूमा बढी जोड दिऔं।
पााण्डे, त्रिविका उपप्राध्यापक हुन्।
प्रतिक्रिया दिनुहोस !
