सोती हत्या काण्ड : जातीय विभेदको मुद्दामा न्यायको जित

सोती हत्या काण्ड : जातीय विभेदको मुद्दामा न्यायको जित

घटना लगत्तै रुकुमपश्चिमका सांसद एवं पूर्वमन्त्री जनार्दन शर्माले पीडकहरूलाई बचाऊ गर्ने गरी संसद्मा ‘लकडाउन उल्लंघन गर्दै आएका युवालाई गाउँलेले लखेट्दा भागदौड गर्ने क्रममा भेरीमा हामफाल्दा ज्यान गएको’ भन्ने अभिव्यक्ति विवादास्पद बनेको थियो।

​​​​​जाजरकोट : साढे तीन वर्षअघि चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज विकसहित ६ जनाको हत्याको घटनामा जिल्ला अदालत रुकुमपश्चिमले २४ जनालाई जन्मकैदको सजाय सुनाएको छ। मंगलबार जिल्ला अदालतका न्यायाधीश खड्गबहादुर केसीको इजलासले उक्त घटनामा क्रुरतापूर्वक हत्या गरेको, घाइतेको हकमा ज्यान मार्ने प्रयास गरेको, अपहरण गरी शरीर बन्धक बनाइ हत्या गरेको र जातीय भेदभाव तथा छुवाछूत गरेको आरोपमा तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २४ जनालाई जन्मकैदको सजाय सुनाएको हो। 

अन्तर्जातीय प्रेम सम्बन्धलाई विहेमा परिणत गर्न भनेर २०७७ जेठ १० गते पश्चिमरुकुमको चौरजहारी–८ सोती पुगेका जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विक गाउँलेको कुटाइबाट मारिएका थिए। उनी मात्र होइन उनलाई साथ दिन गएका अरू ५ जना युवाहरू पनि सँगै मारिए।

नवराजसहित ६ जनाको ज्यान गयो। नवराजको मल्ल थरकी एक किशोरीसँग दुई वर्षदेखि प्रेम सम्बन्ध थियो र उक्त सम्बन्धलाई केटी पक्षले अस्वीकार गरेका कारण दुवै परिवारबीच सम्बन्ध राम्रो थिएन। तल्लो जातको केटासँगको छोरीको प्रेम सम्बन्ध मल्ल परिवारले सदाका लागि छुटाउन चाहन्थ्यो तर प्रेमीप्रेमिकाले त्यो सम्बन्धलाई बिहेमा परिणत गरेर अझ मजबुद बनाउन चाहन्थे। केटा कथित तल्लो जातको र गरिब भएकै कारण केटीका आमाबाबुले त्यो प्रेमलाई स्वीकार गर्न नसक्दा ६ जनाको सामूहिक नरसंहार भएको थियो। 

जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका २१ वर्षीय नवराज विक त्यो दिन बेलुका करिब ५/६ बजेतिर जाजरकोटबाट १९ जनाको टोली सोती पुग्यो। केटीको घरमा नपुग्दै दलितको छोरो ठकुरीकी छोरी लिन आउने आँट गर्ने भन्दै सोतीका स्थानीयले केटाहरूलाई लखेट्दै भेरी किनारमा कुटिकुटी मारेर ६ जनालाई फालिदिए। बाँकी अरू भागेर ज्यान जोगाए। नवराजसहित भेरी नगरपालिका–४ का सन्दीप विक र गणेश बुढा, भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, भेरी नगरपालिका–११ का गोविन्द शाही र चौरजहारीका टीकाराम सुनार घटनामा परी ज्यान गुमाएका थिए।

सो घटना लगत्तै रुकुमपश्चिमका सांसद एवं पूर्वमन्त्री जनार्दन शर्माले पीडकहरूलाई बचाऊ गर्ने गरी संसद्मा ‘लकडाउन उल्लंघन गर्दै आएका युवालाई गाउँलेले लखेट्दा भागदौड गर्ने क्रममा भेरीमा हामफाल्दा ज्यान गएको’ भन्ने अभिव्यक्ति विवादास्पद बनेको थियो। सो घटनाबारे छानबिन गर्न नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलको नेतृत्वमा संसदीय समिति गठन गरी प्रतिवेदन पेस भए पनि सरकारले त्यो प्रतिवेदन सार्वजनिकसमेत गरेन। समितिले सोती घटनामा योजनाबद्ध रूपमा हत्या भएको निष्कर्ष निकालेको थियो।

रुकुमपश्चिमको चौरजहारी नगरपालिका सोती गाउँमा ६ जनाले ज्यान गुमाएको घटनामा नवराजका बुवा मुनलाल नेपालीसहितले ३४ जनाविरूद्ध सामूहिक हत्या, जातीय छुवाछूत तथा भेदभाव लगायतको अभियोगमा मुद्दा दायर गरेका थिए। मुद्दा परेका ३४ जना नै पक्राउ परेकामा ११ जना उच्च र सर्वोच्च अदालतको आदेशले रिहा भएका र बाँकी २४ जना पुर्पक्षका लागि जेलमा थिए। आइतबारदेखि रुकुम जिल्ला अदालतमा जारी बहस मंगलबार सकिएपछि जिल्ला न्यायाधीश खड्गबहादुर केसीको इजलासले घटनामा संलग्न रहेका २४ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो। 

जन्मकैद सजाय पाउनेहरू

जिल्ला अदालत रुकुमपश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाका अनुसार चौरजहारी नगरपालिका–८ का तत्कालिन वडाध्यक्षसमेत रहेका डम्बरबहादुर मल्ल, डिल्लीबहादुर ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन मगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सर्वजित भनिने सविन पुन, तिलक चन्द, इन्द्रबहादुर भनिने इर्दबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनराज राना, नबिनकुमार घर्तीमगर, विराज पुन मगर, भीमबहादुर पुन, रमित पुन मगर, विष्णु मल्ल र तीनजना नाम परिवर्तित छन्।

नाम परिवर्तित तीनजना घटनामा मृतक नवराजकी प्रेमिका भनिएकी किशोरीका बुबा, दाइ र भाइ हुन्। भाइको उमेर १८ वर्षभन्दा मुनि रहेकाले उनलाई तारेखमा छोडिएको थियो। सजाय पाउने सबै चौरजहारी नगरपालिका ८ सोती गाउँका हुन्।

जन्मकैद फैसला भएका २४ सबै जनालाई जातीय छुवाछूततर्फ थप दुई वर्ष कैद र ४० हजार जरिवानासमेत भएको छ। प्रतिवादीका तर्फबाट जनही ४० हजार जरिवानाको रकम पीडित परिवारलाई दामासाहीका हिसाबले उपलब्ध गराउने फैसला भएको छ। त्यसैगरी नवराजकी प्रेमिका भनिएकी किशोरी र उनको आमालाई जातीय छुवाछूततर्फ दुई वर्ष कैद र ५० हजार जरिवाना गरिएको छ।

सफाइ पाउनेहरू
तारेकमा रहेका अन्य ८ जनालाई उक्त मुद्दामा सफाइ दिइएको छ। सफाइ पाउनेहरूमा चौरजहारी नगरपालिका–८ सोतीका तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन, भीमबहादुर बुढा, तुलबहादुर मल्ल, दीपेन्द्र चन्द र जाजरकोटका इन्द्रबहादुर मल्ल छन्। 

४२ महिनापछि फैसला
पीडित परिवारको तर्फबाट नवराजका बुवा मुनलाल नेपालीको किटानी जाहेरीका आधारमा हत्या गरेको आरोपमा नेपाल सरकारले ३४ जनालाई मुद्दा चलाएको थियो। ३४ जनालाई प्रतिवादी बनाएर कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछूतको कसूरमा मुद्दा दायर भएको थियो।null नवराज विकसहित ६ जनाको हत्याको घटनाका विषयमा जिल्ला अदालत रुकुमपश्चिमको फैसलापछि अदालत परिसरमा मंगलबार पीडित परिवारसहित वकिलहरू । 

२०७७ साल जेठ ३२ गते रुकुम जिल्ला अदालतमा दर्ता भएको मुद्दामा प्रतिवादीको संख्या बढी हुँदा सुनुवाइमै लामो समय लागेको थियो। मुद्दा दर्ता भएको तीन वर्ष ६ महिनापछि उक्त मुद्दामा आइतबारदेखि निरन्तर सुनुवाइ गरी मंगलबार फैसला आएको हो। वादीका तर्फबाट सरकारी वकिलसहित १५ जना र प्रतिवादीका तर्फबाट ६ जना अधिवक्ताले बहस गरेका थिए। फैसलाको पूर्णपाठ आउन कम्तीमा एक साता लाग्ने सूचना अधिकारी कोइरालाले बताए। धेरै प्रतिवादी रहेकाले सबैको छुट्टाछुट्टै मिसिल बन्ने भएकाले केही समय लाग्छ उनले भने।

अदालतको मूल गेटमा धर्ना 
पेसी सुनुवाइ तोकिएको अघिल्लो दिनदेखि नै पीडित परिवारहरू र केही दलित अधिकारकर्मीहरू रुकुम जिल्ला अदालतको मूल गेटमा धर्ना दिइरहेका थिए। न्यायको माग गर्दै नाराजुलुससहित उनीहरूले धर्ना दिएका हुन्। छोराको हत्या भयो। न्यायको हत्या नहोस्।

श्रीमान् पीडितलाई न्याय देऊ लेखिएका ब्यानरसहित धर्ना दिएका थिए। दलित अधिकारकर्मी खगेन्द्र सुनारले न्यायको माग गर्दै तीन दिनदेखि अदालतको गेटमा धर्ना दिएको बताए। उनले फैसलाले पीडितलाई न्याय मिलेको प्रतिक्रिया दिए। उनले भने, ‘मंगलबारको फैसला न्यायको पक्षमा आएको छ। 

अदालतप्रति उच्च सम्मान गर्छौ।’ नवराजका बुवा मुनलाल नेपालीले छोरो मरे पनि न्याय नमरोस् भनेर न्यायको भीख माग्न तीन दिनदेखि अदालतको गेटमा धर्ना बस्नु परेको बताए। 

न्याय पाइँदैन कि भन्ने मनमा त्रास थियो। किन भने उनीहरू राजनीतिक पहुँचवाला थिए। तर, नेपालमा अझै न्याय मरेको रहेनछ। यो फैसला प्रतिहामी सन्तुष्ट नै छौं। न्यायमूर्तिहरूलाई हार्दिक आभार प्रकट गर्छौं।
मुनलाल नेपाली, नवराजका बुवा

अपराधमा संलग्नलाई जन्म कैद भएको सुनेकी छु। अब त मेरो छोराको आत्माले पनि शान्ति पाउँछ होला। मेरो छोराको न्याय पक्षमा उभिने सबैप्रति हामी कृतज्ञ छौं।
लक्ष्मी सुनार, लोकन्द्र सुनारकी आमा

आफ्ना छोराहरूको हत्या गर्ने अपराधीहरूलाई सजाय भएको छ। यसमै खुसी छौं। हाम्रा छोरालाई मार्नेहरूलाई जन्मकैद भएको छ। बल्ल न्याय मिलेको अनुभूति भएको छ।
इन्द्रबहादुर शाही,गोविन्द शाहीका बुवा 

फैसला न्यायको पक्षमा 

जिल्ला अदालत रुकुमपश्चिमले मंगलबार गरेको फैसला न्यायको पक्षमा भएको नागरिक समाजका अगुवाहरूले प्रतिक्रिया दिएका छन्। सोती नरसंहारकाविरुद्ध पीडित परिवारजन र उनका पक्षमा न्यायप्रेमी जाजरकोटलगायत संसारभरका आवाजको सम्मान भएको नागरिक समाज जाजरकोटका अगुवा राजेन्द्र विक्रम शाहले बताए। 

उनले भने, ‘घटना घटेको दिनदेखि आजसम्म साढे ३ वर्ष देखिको अनवरत न्यायिक तथा सामाजिक संघर्षबाट एउटा विजय प्राप्त भएको छ। रुकुम जिल्ला अदालतबाट २४ जनालाई आजीवन कारावास र २ जनालाई जातीय विभेद विभेदको कसूरदार ठहर्याइएको फैसलाले घटनामा ज्यान गुमाउने ६ 
जना युवाका परिवारजनको माग र न्यायका पक्षमा अभिव्यक्त हाम्रो ऐक्यबद्धताको एकहदसम्म विजय भएको छ।’

दलित अधिकारकर्मी गोपाल नेपालीले पनि फैसला स्वागत योग्य भएको प्रतिक्रिया दिएका छन्। फैसला न्यायको पक्षमा भएको छ। निरन्तरको खबरदारी र दवावले पीडित परिवारलाई एक किसिमको न्याय मिलेको अनुभूति भएको छ उनले भने, ‘यो घटनालाई लिएर न्यायका लागि राजधानी काठमाडौंसम्म पुगेर सबैको ध्यानाकर्षण र खवरदारी गर्ने काम गर्‍यौं। निरन्तर दबाब दिइरह्यौं। ढिलै भए पनि न्याय मिलेको छ।’

आफ्ना भर्खरका तन्नेरी छोराहरू गुमाउनु पर्दा विक्षिप्त भएका पीडित परिवारहरू फैसलाले थोरै भए पनि न्याय मिलेको महसुस भएको दलित अधिकारकर्मी हजारी नेपालीले बताइन्। न्याय नपाइने हो कि भन्ने चिन्ता थियो। नेपालमा न्याय मरेको रहेनछ उनले भनिन् अपराध अपराध नै हो। जुनसुकै हालतमा क्षम्य हुँदैन। सोती घटनाको मुद्दामा वहस गरेकी अधिवक्ता एमकुमारी ददेलले यतिबेला सोती अँध्यारो भएको र जाजरकोटले उत्सव मनाइरहेको प्रतिक्रिया दिएकी छन्। आफूहरूको अथक प्रयासले पीडितले न्याय पाएको उनको भनाइ छ।

पीडित परिवारलाई न्याय

फैसलाले न्याय मिलेको अनुभूति भएको नवराजका बुवा मुनलाल नेपालीले बताए। छोरो मरे पनि न्याय पाइएको छ। अपराधीहरू आजीवन कारावास गएका छन्। न्यायका लागि मैले साढे तीन वर्षदेखि संघर्ष गरे। काठमाडौंसम्म पुगेँ। तारेक बोक्दा–बोक्दा मेरा जुत्ताका तला फाटे ढिलै भए पनि बल्ल न्याय पाइएको छ। अब त मेरो छोराको आत्माले पनि शान्ति पाउँछ होला उनले भने, ‘न्याय पाइँदैन कि भन्ने मनमा त्रास थियो। किन भने उनीहरू राजनीतिक पहुँचवाला थिए। तर, नेपालमा अझै न्याय मरेको रहेनछ। यो फैसला प्रतिहामी सन्तुष्ट नै छौं। न्यायमूर्तिहरूलाई हार्दिक आभार प्रकट गर्छांै। हामी पीडितहरूको तर्फबाट। निडरताका साथ न्याय दिलाइ दिएकोमा धन्यवाद छ।’

सोही घटनामा हत्या गरिएका भेरी नगरपालिका ११ मटेलाका लोकन्द्र सुनारकी आमा लक्ष्मी सुनारले पनि ढिलै भए पनि न्याय मिलेको प्रतिक्रिया दिइन्। अपराधीहरूलाई जन्मकैद भएको सुनेकी छु। अब त मेरो छोराको आत्माले पनि शान्ति पाउँछ होला उनले भनिन्, ‘मेरो छोराको न्याय पक्षमा उभिने सबै प्रतिहामी कृतज्ञ छौं।’

त्यस्तै सोही घटनामा हत्या गरिएका भेरी नगरपालिका–११ मटेलाकै गोविन्द शाहीका बुवा इन्द्रबहादुर शाही पनि फैसला प्रतिसन्तुष्ट भएका छन्। उनले भने, ‘आफ्ना छोराहरूको हत्या गर्ने अपराधीहरूलाई सजाय भएको छ। यसमै खुसी छौ। हाम्रा छोरालाई मार्नेहरूलाई जन्मकैद भएको छ। बल्ल न्याय मिलेको अनुभूति भएको छ।’

प्रेमका कारण ज्यान गुमाउनेहरू

काभ्रे, पाँचखाल–६, होक्सेका अजित मिजार कक्षा १२ मा अध्ययनरत थिए। गैरदलित युवतीसँगको दुई वर्षको प्रेमलाई उनले २०७३ असार २५ मा विवाहमा परिणत गरे। नवदम्पती अजितको दिदीकोमा बसेको थियो। दुई दिनपछि युवतीले माइतीलाई जानकारी दिइन्। माइती पक्षले ज्यान मार्ने धम्की दिएको अजितको परिवारको दाबी थियो। उनीहरूको सम्बन्ध–विच्छेद गराइयो। अर्को दिन अजित बेपत्ता भए। अजितको परिवारले प्रहरीमा उजुरी गर्‍यो। 

भोलिपल्ट धादिङको कुलपुर गाविसको परेवाटारमा झुन्डिएको अवस्थामा एउटा शव भेटियो। दुई दिनसम्म पनि मृतकको सनाखत हुन नसकेपछि पोस्टमार्टम गरेको भन्दै प्रहरीले धादिङमै लाश गाड्यो। यसको जानकारी मिजार परिवारले पायो। शंका लागेर उनीहरू काभ्रेको पाँचखालबाट धादिङको परेवाटार पुगे। घटनास्थल पुग्दा लाश गाडिसकिएको थियो। परिवारका सदस्यले खाल्डोबाट लाश निकाले। लाश अजितकै थियो। प्रहरीले पोस्टमार्टम गरेको भनेको थियो। तर, मृतकको शरीरमा कहीँकतै चिरफार गरेको भेटिएन। आफन्तले शवलाई काठमाडौंस्थित शिक्षण अस्पताल ल्याए। अजितको शव अझै अस्पतालमा छ। 

गैरदलित युवतीसँग छोराको प्रेम सम्बन्धका कारण २०६८ को भदौमा दैलेखका सेते दमाई मारिए। आफ्नै उमेरकी गैरदलित युवतीसँग उनको छोराको प्रेम थियो। दुवैले राजीखुसीमा प्रेमलाई बिहेमा परिणत गरे। तर, गैरदलित प्रेमिकाकी परिवारले सेतेका छोरालाई आक्रमण गर्‍यो। छोरालाई बचाउँदा उनी आफैं मारिए। 

त्यही वर्षको माघ १६ मा भएको सप्तरी, पन्सेरा–३ का शिवशंकर दासको मृत्युको कारण पनि अन्तरजातीय प्रेम र विवाह नै थियो। आफूहरूको प्रेमले परिवार र समाजमा विवाहका रूप नपाउने भएपछि झापाका अस्मिता सार्की र ईश्वर भट्टराईले ७ माघ, ०७३ मा एउटै पासो लगाए। तनहुँकी संगीता परियार, सिन्धुपाल्चोककी माया तिरुवा र म्याग्दीकी सविता नेपालीले पनि गैरदलितसँग प्रेमविवाहकै कारण ज्यान गुमाएका थिए। 


एक रात थुनिएका थिए नवराज 

जाजरकोट खलंगाका नवराज र सोतीकी मल्ल थरकी युवतीबीच प्रेम सम्बन्ध यति गाढा थियो कि केटाको घरमै आएर केटी बस्ने गरेकी थिइन्। नवराजकी आमाका अनुसार ती युवती २०७६ पुस १२ गते आएर चार दिन बसेको र फेरि पुस २९ गते आएर तीनदिन नवराज सँगै बसेकी थिइन्। त्यतिबेलै नवराजका आमाबुवाले तिमी को हौ कसकी छोरी हौ। 

यहाँ यसरी बस्दा तिम्रा आमाबाबु रिसाउलान भनेरभन्दा उनले ‘हामी दुवै एक अर्कालाई प्रेम गर्छौं। मेरो घर रुकुम सोती हो। म मल्ल ठकुरीकी छोरी हुँ,’ भनेकी थिइन्। त्यसपछि तिमी ठकुरीकी छोरी रहिछौं हामी दलित हौं भोलि तिम्रा आमाबुवाले गाली गर्नुहोला भनेर नवराजका बुवा मुनलालले भन्दा 
उनले, ‘हामी माओवादी हौं। जातभात केही मान्दैनौं। कुनै चिन्ता नमान्नुहोस् केही हुँदैन भनेर भनेकी थिइन्।’ 

नवराज पनि युवतीको डेरा रहेको चौरजहारी पटक–पटक जाने गर्थे। तर, युवतीका आमाबुवालाई त्यो सम्बन्ध पटक्कै मन परेको थिएन। सम्बन्ध तोडाउने सुरमा थिए। २०७७ वैशाख १७ गते तीन जना साथीसहित नवराज युवतीको घर सोती गए। उनी त्यहाँ पुगेको युवतीका आमाबुवाले थाह पाउनेबित्तिकै गाउँका केटाहरू बोलाएर नियन्त्रणमा लिएर कुटपिट गरी चौरजहारीस्थित इलाका प्रहरी कार्यालयमा बुझाइदिए। प्रहरीले एक रात थुन्यो।

भोलिपल्ट नजराजकी आमा गइन् किन मेरो छोरालाई थुनेको ? थुन्ने मान्छे बोलाउनुस्भन्दा केटीतर्फका कोही आएनन्। प्रहरीले उनीहरूलाई छोडिदियो। चेतावनी दिन कुटपिट गरेर थुने पनि नवराजले आफ्नो प्रेम सम्बन्धलाई अघि बढाउने प्रयास गर्दा अन्ततः उनको ज्यानै गयो।  


कानुनमा के छ ?

नेपालको कानुनले जातीय आधारमा छुवाछूतलाई दण्डनीय अपराध भनेको ५७ वर्ष भएको छ। मुलुकी अपराध संहिता २०७४ ले छुवाछूतलाई दण्डनीय भनेको छ। कानुनी रूपमा मात्र होइन, व्यवहारमा पनि अब छुवाछूतको व्यवहार हुने छैन भनेर संसद्ले २१ जेठ २०६३ मा नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो। प्रत्येक व्यक्तिको अधिकार र मानवीय मर्यादा समान हुने प्रत्याभूति देशको कानुनले गरेको छ। वर्तमान संविधानको धारा ४० मा ‘दलितको हक’ अन्तर्गत सातवटा उपधारामा दलितका अधिकार र हक उल्लेख छन्। जातीय छुवाछूत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०६८ ले प्रत्येक व्यक्तिको अधिकार र मानवीय मर्यादामा समान हुने सिद्धान्तलाई आत्मसात् गरेको छ। 

यसैमा छुवाछूत तथा भेदभावविरुद्धको अधिकारमा विवाह गर्ने तथा वरबधु छान्ने अधिकार सुरक्षित छ। कसैले प्रचलित कानुनबमोजिम उमेर पुगेका वरबधुबाट मञ्जुर भएको अन्तरजातीय विवाह गर्नबाट कुनै पनि व्यक्तिलाई उत्पत्ति, जात, जाति, वंश, समुदाय, पेशा वा व्यवसायका आधारमा रोक लगाए छुवाछूत तथा भेदभाव गरेको मानिन्छ।

कानुनमा समानका कुराहरू गरिए पनि व्यवहारमा अझै विभेद कायमै छ। चेतनाको अभाव एकातिर छ भने अर्कोतिर पुर्खौंपुर्खादेखि नै गैरदलितले हामी माथिल्लो जातको हौं र दलित भनेका तल्लो जातका हुन्। यिनीहरू दोस्रो दर्जाका नागरिक हुन भन्ने परम्परागत सोचले गर्दा पनि विभेद हट्न सकेको छैन। अरूका लागि समानता खोज्ने तर आफूलाई पर्दा स्वीकार गर्न नसक्ने प्रबृत्ति पनि समाजमा विद्यमान छ। तसर्थ जातीय विभेद जस्तो अमानवीय कार्य रोक्न राज्यले नै अग्रसरता देखाउनुपर्छ। दलितलाई सशक्तीकरण गर्नुपर्छ। शिक्षा र रोजगारीका अवसर सिर्जना गर्नुपर्छ र कानुन कडाइका साथ कार्यान्वयन गरिनुपर्छ। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.