गठबन्धनलाई राष्ट्रियसभामा भाग लगाउनै सकस

गठबन्धनलाई राष्ट्रियसभामा भाग लगाउनै सकस
फाइल तस्बिर।

कांग्रेसले कुल ९ वटा सिट पाउनुपर्ने गठबन्धनमा अडान राखेको छ। त्यसमा संस्थापन इतर शेखर कोइराला समूहले ४ सिट मागिरहेको छ। तर, देउवा यसमा तयार देखिएका छैनन्।

काठमाडौं : राष्ट्रियसभाका एकतिहाइ सदस्यका लागि पुस २३ गते मनोनयन दर्ता गर्नुपर्छ। तर, सत्तागठबन्धनमा कसले कति सिट लिने भन्नेमा विवाद कायमै छ। दलभित्रका आकांक्षीबीच टिकटका लागि दौडधुप पनि जारी छ।

फागुन २१ देखि राष्ट्रियसभा अध्यक्षसहित २० सिट रिक्त हुँदै छन्। १९ सिटका लागि माघ ११ गते चुनाव हुँदै छ। एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने छन्। राष्ट्रियसभा अध्यक्षका लागि कांग्रेस र एकीकृत समाजवादीले दाबी गरिरहेका छन्।

प्रधानमन्त्री र राष्ट्रपति पदमा भागबन्डा गर्ने बेला नै राष्ट्रियसभा अध्यक्ष आफूलाई दिने ‘भित्री सहमति’ बनेको एकीकृत समाजवादीको दाबी छ। कांग्रेसले भने आफूले उक्त पद पाउनुपर्ने दाबी गरिरहेको छ। 

मंगलबार बसेको गठबन्धनको बैठकमा ठूलो दलका हिसाबले आफूले अध्यक्ष पाउनुपर्ने दाबी कांग्रेसले गरेको थियो। कांग्रेसलाई अध्यक्ष दिने भन्नेमा खासै समस्या नदेखिएको बैठकमा सहभागी एक नेताले बताए। उनले भने, ‘हामी पहिलो चरणमा छलफलमा बसेका छौं। अध्यक्ष कांग्रेसले लिने हो भने सात सिटमा कांग्रेसले चित्त बुझाउनुपर्छ।’

कुन दलले कहाँ–कहाँ उम्मेदवार उठाउने भन्ने कुरा गठबन्धनमा भएको छैन। आफूलाई परेको सिटमा पनि परामर्श गर्न बाँकी छ।
देव गुरुङ, महासचिव, माओवादी केन्द्र

माघ ११ को निर्वाचनमा एमालेबाट गुम्ने सम्भावना रहेका ९ सिटमध्ये कांग्रेसले ४ सिट दाबी गरेको छ। योसहित कांग्रेसले कुल ९ वटा सिट पाउनुपर्ने गठबन्धनमा अडान राखेको छ। त्यसमा संस्थापन इतर शेखर कोइराला समूहले ४ सिट मागिरहेको छ। तर, देउवा यसमा तयार देखिएका छैनन्। अन्य दलले भने अध्यक्षसहित ७ सिट लिन कांग्रेसलाई भनिरहेका छन्।

राष्ट्रियसभा अध्यक्षमा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई अगाडि सार्ने आन्तरिक तयारी गरेका छन् । १४औं महाधिवेशनमा सभापतिमा जिताउन सहयोग गरेको गुन तिर्नकै लागि पनि सिटौलालाई जिम्मेवारी दिन सभापति देउवाले  इच्छा देखाएका छन्। 

माओवादी केन्द्रले राष्ट्रियसभामा ६ सिटको दाबी गरेको छ। उक्त पार्टीबाट राष्ट्रियसभामा जान १२ जना आकांक्षी देखिएका छन्।

कांग्रेसमा राष्ट्रियसभाका लागि पुराना नेतादेखि नयाँ नेतासम्मको चर्चा छ। कांग्रेस नेता रामहरि खतिवडाले भने, ‘पुरानालाई दोहोरिन नदिने पार्टीले केन्द्रीय समितिको बैठकबाट निर्णय गरिसकेको छ। पुराना अनुहार नआउने हैनन्। केही कम आउनुहुन्छ।’

राष्ट्रियसभाको निर्वाचनका लागि प्रदेशबाट सिफारिस भई आएका नामहरूमध्येबाट भौगोलिक र जातीय सन्तुलनलाई ध्यान दिँदै उम्मेदवार तय गर्ने कांग्रेसले मापदण्ड बनाएको छ। पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने, ‘पुराना नेताहरू भए पनि कुनै कारणले पार्टीमा अवसर नपाउनुभएको हुन सक्छ। त्यस्ता नेता समेटिन सक्नुहुन्छ।’

माओवादी केन्द्रले राष्ट्रियसभामा ६ सिटको दाबी गरेको छ। उक्त पार्टीबाट राष्ट्रियसभामा जान १२ जना आकांक्षी देखिएका छन्। माओवादीका ३ जनाको कार्यकाल सकिन लागेकाले ३ पद यथावत् राखेर अरू तीन पदमा दाबी उसले गरेको हो। एमालेबाट रिक्त हुने ९ सिटमध्ये आफूले थप तीनवटा सिट पाउनुपर्ने दाबी गरेको माओवादी नेता बताउँछन्।

माओवादी केन्द्रका महासचिव देव गुरुङ कुन प्रदेश आफ्नो पार्टीलाई पर्ने यकिन नहुँदा उम्मेदवार चयनमा समस्या भएको बताउँछन्। गुरुङले भने, ‘हामीले एउटा क्लस्टरमा एउटा मात्रै उम्मेदवार सिफारिस गर भनेका छौं। कुन दलले कहाँ–कहाँ उम्मेदवार उठाउने भन्ने कुरा गठबन्धनमा भएको छैन। आफूलाई परेको सिटमा परामर्श गर्न बाँकी छ।’ 

एकीकृत समाजवादीले ५ सिटको दाबी छ। उसका तीन जना सांसदको कार्यकाल सकिन लागेको छ।  एकीकृत समाजवादीबाट पनि आकांक्षीको लर्को छ। प्रमेश हमाल, घनेन्द्र बस्नेत, गंगालाल तुलाधर, गणेश विक, सावित्रा भुसाल र दिलु पन्त मुख्य दाबेदार छन्।  

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले रिक्त हुने एकतिहाइ सदस्यको निर्वाचनका लागि आयोगले तयारी गरिरहेको बताए। प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष, नगरपालिकाका प्रमुख/ उपप्रमुख भएको निर्वाचन मण्डलको मतभारका आधारमा निर्वाचित हुने छ। बागमतीबाट ४ जना, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट ३/३ तथा कोशी, मधेस र लुम्बिनी प्रदेशबाट २/२ जना निर्वाचित हुने छन्।

कार्यकाल सकिन लागेका सांसद 

कार्यकाल सकिनेमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना एमालेका बिमला राई पौड्याल (महिला मनोनीत), दीपा गुरुङ (महिला), इन्दु कडरिया (महिला), दीलकुमारी रावल थापा (महिला), कुमार दसौदी (अन्य), नरपति लुवार (दलित), भैरवकुमार श्रेष्ठ (अन्य) रामचन्द्र राईको म्याद सकिँदै छ। कांग्रेसबाट राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझीसहित अनिता देवकोटा (महिला), जितेन्द्रनारायण देव, प्रकाश पन्थ (अपांगता) छन्।  
माओवादी केन्द्रबाट बिना पोखरेल (महिला, हरिराम चौधरी (अन्य), महेशकुमार महरा, एकीकृत समाजवादीबाट नन्दा चापागाईं, सिंगबहादुर विश्वकर्मा (दलित), जसपाबाट प्रमिला कुमारी (महिला) र स्वतन्त्र खिमलाल देवकोटाको कार्यकाल पूरा हुँदै छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.