काठमाडौं उपत्यकामा तीन दिनमा तीन जनाको हत्या
काठमाडौं : शान्ति सुरक्षाको राम्रो प्रबन्ध भएको भनिएको उपत्यकामै जघन्य अपराधका घट्ना बढ्न थालेको छ। पछिल्लो तीन दिनमा तीन जनाको हत्या भएको प्रहरीले जानकारी दिएको छ।
बिहीबार विहान ६ बजेतिर काठमाडौं महानगरपालिका-२४ याट्खा गल्लीको बाटो हिँड्ने व्यक्तिले एक व्यक्तिको शव देखे। तत्कालै घटनास्थलमा प्रहरी पुगेको थियो। प्रहरी पुग्दा गल्लीको फोहोर राख्ने ठाउँमा रहेको ठेला गाडामा एक ३० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका थिए।
त्यस्तै बुधबार विहान कालीमाटीको तरकारी बजारमा एक व्यक्ति मृत भेटिए। काठमाडौंको कालिमाटी तरकारी बजारमा भरियाका रूपमा काम गर्दै आएका रामकृष्ण दाहाल मृत फेला परेका थिए। उनको टाउकोमा गम्भीर चोट देखिएकाले हत्याको अनुमान गरिएको थियो। टाउकोमा रडको चोटजस्तो देखिएको थियो। तरकारी बजारमा सँगै काम गर्ने साथीहरूबीच विवाद हुँदा उनको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ। राति ढिलासम्म काम गरेपछि दाहाल कहिलेकाहीँ बजारकै तरकारी स्टलमा सुत्ने गरेको बताइएको छ। हत्या आरोपमा ४ जना पक्राउ परेका छन्। उनीहरूले राती मदिरा खाएर बसेको अवस्थामा विवाद हुँदा कुटपिट भएको प्रारम्भिक बयान दिएका छन्।
त्यस्तै मंगलबार भक्तपुरको चाँगुनारायण नगरपालिका-४ खोरियामा १९ वर्षीय निरोज लामा मृत भेटिएका थिए। बादल तामाङको घरमा उनको शव फेला परेको प्रहरीले जानकारी दिएको थियो। प्रहरीका अनुसार मंगलबार दिउँसो ३ बजेसम्म पनि नउठेपछि बोलाउन जाँदा उनी अचेत अवस्थामा भेटिएका थिए। उनीहरु दुवैजना ट्याक्टर चालक रहेको बताइएको छ। लामाको परिवारले जिल्ला प्रहरी परिसर भक्तपुरमा ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएका छन्। उनीहरूले बादल लामाविरुद्ध किटानी जाहेरी दिएका हुन्। बादललाई पक्राउ गरी अनुसन्धान भैरहको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रबक्ता अपिलराज बोहोराका अनुसार पछिल्ला हत्याका घटना योजनाबद्ध भन्दा पनि आवेश प्रेरित भएको देखिन्छ। कतिबेला कसलाई कोसँग रिस उठ्छ र विवाद हुन्छ? यसको पूर्व अनुमान गर्न नसकिने बताउँदै प्रवक्ता बोहोराले अपराधमा संलग्न जोकोही भए पनि उन्मुक्ति नपाउने बताए।
प्रतिक्रिया दिनुहोस !