राधिका शाक्यलाई अहिलेसम्म सम्बोधन गरेको थिइनँ : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पत्नी राधिकालाई अहिलेसम्म आफूले सार्वजनिक स्थानमा सम्बोधन नगरेको बताएका छन्। पत्नी राधिकाको किताब 'करुणा'को लोकार्पण समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पहिलोपटक पत्नी राधिकाको सम्बोधन गरे।
'आज एउटा नयाँ कुरा हुने भयो। मैले अहिलेसम्म यस्तो सभाहरूमा राधिका शाक्यलाई सम्बोधन गरेको थिइनँ। सँगै बस्दा पनि सम्बोधन गरेको थिइन। आज सभापति नै भएपछि, पुस्तकको लेखिका नै भएपछि सम्बोधन नगरी सुख भएन,' सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, 'सभापति राधिका शाक्यज्यु, आजको लोकार्पित गरिएको पुस्तक करुणाका लेखिकाज्यु।' उनले पत्नी राधिकाको प्रशंसा गरुँ कि नगरुँ भन्ने विषयमा पनि द्विविधा भएको बताए। 'प्रशंसा नगरौं, सबैले प्रशंसा गरे। किन कन्जुस बनेको होला भन्ने डर। प्रशंसा गरौं, श्रीमतीको प्रशंसा गर्न पाएको रैनछ, मौका छोपेर गयो भन्लान् भन्ने डर,' उनले भने।
उनले 'करुणा' उपन्यास, कथा वा कहानी केही भए पनि सत्यमा आधारित लेखोट भएको बताए। उनले पत्नी राधिकाको किताबलाई केही नमिसिएको २४ क्यारेटजस्तै भएको प्रस्ट पारे। 'मैल कहिले कुनै संस्मरण लेख्दा कथानक पनि मिसाइदिन्छु। तर, य किताब केही नमिसिएको २४ क्यारेट हो। यो किताब सत्यमा आधारित छ। यसको सत्यमाथि कसैले प्रश्न उठाउन सक्दैन। यसको साथी म पनि छु,' उनले भने।
प्रतिक्रिया दिनुहोस !