भ्रष्टाचारीहरूलाई सरकारले संरक्षण गर्यो : एकीकृत समाजवादी
काठमाडौं : नेकपा एकीकृत समाजवादीले भ्रष्टाचारीहरू सरकारबाट संरक्षित भएको आरोप लगाएको छ। सोमबार काठमाडौंमा नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै महासचिव घनश्याम भुसालले मुलुकमा भ्रष्टचार मौलाएको र भ्रष्टाचारीहरू सरकारबाट संरक्षित भएको निष्कर्ष निकालेको जानकारी दिए।
भ्रष्ट तथा ठगहरूलाई नियन्त्रणमा लिई अविलम्व कडाभन्दा कडा कारबाही गर्न र सहकारी प्रकरणमा सम्बन्धित पक्षको पैसा फिर्ता गराउन बैठकले सरकारसँग माग गरेको छ। बैठकले भूमाफिया, कालोबजारीया, राजस्व छली गर्ने व्यक्ति, विचौलिया, भ्रष्टचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने गरि संसद छलेर अध्यादेश ल्याइएको भन्दै अध्यादेशको विरोधमा मतदान गर्ने निर्णय गरेको छ।
त्यस्तै बैठकले राष्ट्रिय अर्थतन्त्रलाई दिगो रोजगारी मुखी बनाउने दिशामा कदम चाल्न, वार्ता र संवादको माध्यमबाट ताप्लेजुङ केवलकारको समस्या समाधान गर्न र दूध र उखुको भुक्तानी गर्न सरकारसँग माग गरिएको महासचिव भुसालले बताए।
उनले सरकार नालायक र दमनकारी बन्दै गएको निष्कर्ष निकालिएको बताए। बैठकले जनताका आधारभूत मुद्दालाई उठाउँदै जनतामाझ जाने र नेपालको राजनीतिलाई सही दिशामा डोर्याउने गरी आन्दोलनको कार्ययोजनाका रूपमा पार्टीको आगामी कार्ययोजना प्रस्ताव पारित गरेको महासचिव भुसालले बताए।
गत वर्षदेखि बन्धक रहेका नेपाली नागरिक विपिन जोशीको यथाशिघ्र रिहाईका लागि मागसमेत बैठकले गरेको छ। बैठकले वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र हाम्रा कार्यभारसम्बन्धी राजनीतिक प्रतिवेदन विभिन्न सुझावसहित पारित गरेको छ। त्यस्तै पार्टीको नियमावली, विनियमहरु, विभिन्न निर्देशिका र महाधिवेशनको सामान्य समीक्षा सुझावसहित पारित गरेको महासचिव भुसालले बताए।
प्रतिक्रिया दिनुहोस !