९० लाख खर्चिएर अमेरिका पुगे, हत्कडी लागेर स्वदेश फर्किए

९० लाख खर्चिएर अमेरिका पुगे, हत्कडी लागेर स्वदेश फर्किए
सुन्नुहोस्

काठमाडौं : तल्लो बाटो हुँदै अमेरिका गएका नेपालीलाई हत्कडी लगाएर काठमाडौं ल्याइएको छ। अमेरिकी चार्टर विमानमार्फत ८ जनाको हातमा हत्कडी र खुट्टामा नेल लगाएर ‘डिपोर्ट’ गरिएको उनीहरूले प्रहरीसँगको बयानमा बताएका छन्। एक जना भने कतार एयरलाइन्सको विमानबाट फर्काइएका थिए। 

ग्रिफान एयरको चार्टर विमानमार्फत ८ जना नेपाली बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओरालिएका थिए। त्यसपछि अध्यागमन कार्यालयले उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा बुझाएको थियो। 

अमेरिकी सरकारले विमान नै चार्टर गरेर नेपालीहरू फिर्ता पठाउन लागेको खबर केही दिन अगाडि नै बाहिरिएको थियो। उनीहरू नेपाल फर्कंदै गर्दा विमानस्थलमा उनीहरूका परिवार तथा आफन्त उपस्थित भएका थिए। 

नेपालबाट गैरकानुनी तवरले उनीहरूलाई मानव बेचबिखन गरी अमेरिका पुर्‍याएको हुनसक्ने आशंकाले अध्यागमन कार्यालयले नेपाल प्रहरीलाई जिम्मा लगाएको थियो। गैरकानुनी तवरले अमेरिका प्रवेश गरेको र आवश्यक कागजात नभएको भन्दै अमेरिकी सरकारले उनीहरूलाई नेपाल फिर्ता गरेको हो। 

नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोका प्रवक्ता नरेन्द्र कँुवरका अनुसार डिर्पोट भएका ८ जनालाई ब्युरोका अधिकृतहरूले सोधपुछ गरेका थिए। करिब २ घण्टा चलेको सोधपुछका क्रममा उनीहरूले आफूलाई अमेरिका पुर्‍याउने एजेन्टका विषयमा कुनै कुरा गरेनन्। सञ्चारकर्मीसँग भेट्न पनि मानेनन्। दाङ, रुकुम, पूर्वीरुकुम र डोटी जिल्लाका उनीहरू ठूलो खर्च गरेर अमेरिका गएको र फिर्ता हुनु परेकोमा हतोत्साहित देखिन्थे। 

ब्युरोका एसपी रुगम कुँवर भन्छन्, प्रहरीले उनीहरूलाई गैरकानुनी तवरले अमेरिका पुर्‍याउने व्यक्ति र गिरोहको विषयमा सोधपुछ गरेको थियो। आफूहरू निकै दुःखले चार पाँच महिना लगाएर अमेरिका पुगेको र भाग्यले साथ नदिएको कारण फिर्ता हुनुपरेको उनीहरूको गुनासो छ । अमेरिका पुग्नका लागि ५० लाखदेखि ९० लाख खर्च गरेको उनीहरूले बताएका थिए। पानामा जंगल, ब्राजिलको बाटो, मेक्सिको हुँदै उनीहरू तल्लो बाटो अमेरिका छिरेका थिए। उनीहरूलाई ५ देखि ९ महिना अमेरिकामा प्रहरी हिरासतमा बसेर नेपाल फर्काइएका हुन्। प्रहरीका अनुसार उनीहरू मध्यपूर्वी मुलुक, युरोप, दक्षिण अमेरिका हुँदै उत्तरी अमेरिका पुगेका थिए। जंगल, खोला, समुद्र हुँदै महिनौं लामो यात्रा गरेका थिए। अमेरिका टेक्नासाथ उनीहरू पक्राउ परेका थिए। 

डिर्पोट गरेकालाई २४ घण्टासम्म चेन र हत्कडी लगाइयो 

नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोका प्रहरी अधिकृतका अनुसार अमेरिकाबाट नेपाल पठाइएका नेपालीलाई हातमा हत्कडी र खुट्टामा चेनले बाँधिएर राखिएको थियो। फिर्ता भएका व्यक्तिहरूसँगको कुराकानीलाई उधृत गर्दे प्रहरी अधिकृत भन्छन्, ‘विमानमा राखेको २४ घण्टासम्म उनीहरूलाई हत्कडी र खुट्टामा चेनसमेत लगाइएको थियो। 

ट्रान्जिटमा पुगेपछि खुट्टाको चेन खोलिएको थियो। खाना खान र बाथरुम जान पनि निकै कडाइ गरिएको थियो। अमेरिकी सुरक्षा गार्ड सँगै उनीहरू पनि विमानमा थिए। काठमाडौं विमानस्थलमा विमान ल्यान्ड भएपछि मात्रै उनीहरूको हातबाट हत्कडी खोलिएको थियो।’ अमेरिकी प्रहरी हिरासतमा रहेको बेला उनीहरूलाई आफैं स्वदेश फर्कने की कानुनअनुसार प्रतिवाद गर्ने भनेर सोधिएको थियो। स्वदेश नफर्कने भनेर अड्िड कसेकालाई चार्टर विमानबाट नेपाल फर्काएको हो। प्रहरीका अनुसार लामो समय लगाएर अमेरिका पुगेका उनीहरूसँग कुनै पनि आधिकारिक कागज थिएन। कागजात नभएका र अमेरिका बसेकाहरू स्वतस्फुर्त रूपमा स्वदेश फर्कन्छु भन्नेहरूका लागि अमेरिकाले आफैं आउन छुट दिने गरेको छ। अध्यागमन विभागका अनुसार, अमेरिकामा डोनाल्ड ट्रम्प ४७औं राष्ट्रपतिमा निर्वाचित भएयता ३५ जना नेपाली निष्कासित भइसकेका छन्। तीमध्ये पाँच जना महिला छन्। गैरकानुनी रूपमा अमेरिका बसेका आप्रवासीलाई निष्कासन गर्नका लागि अमेरिकी सरकारले कडा व्यवस्था लागू गरेको छ । 

अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलका अधिकृत यज्ञराज अर्याल भन्छन्, ‘डिपोर्ट भएर आएकाहरूमा अध्यागमन कार्यालयमा आउँदा हत्कडी लगाइएको देखिएन। सामान्य प्यासेन्जर जस्तै आउनुभएको थियो। तर, नेपाल ल्यान्ड हुनासाथ विमानमा हत्कडी खोलिएको भन्ने सुनेका थियौं। आधिकारिक रूपमा यो सूचना हामीले पाएका छैनौं।’ अध्यागमन कार्यालयको प्रक्रिया पनि अन्य सामान्य व्यक्ति जस्तै हुन्छ। डिपोर्ट भएर आएको भनेर छुट्टै व्यवस्था गर्ने गरेको छैन। डिपोर्ट भएर आउनेहरूका लागि अध्यागमन कार्यालयले एउटा फाराम भराउने गर्छ, उताबाट डिपोर्ट भएको कागजात राखेर फाराम भराउने गरिन्छ।

डिपोर्ट गरिएका ८ जना नेपालीलाई बोकेर ल्याएको अमेरिकी चार्टड विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.