सातदेखि बाह्र, पन्ध्र दिनसम्म मात्र मनाइने भस्सो पर्वलाई सत्यस्वरूप पर्व पनि भनिन्छ। अन्तिम दिनमा भूमि माताको सामूहिक रूपमा पूजा गरिन्छ। गाउँमा एकताको नमुना देखाइन्छ।
कालीको धेक्किन्या माछो कर्नालीका भेल
दुःखारीलाई निन् लाग्दैन जन वुण्या वेल।
माथिको गीतले सेती, महाकाली र कर्णाली प्रदेशलाई भाषा, साहित्य र गीतसंगीतले जोड्ने काम गरेको देखिन्छ। मंसिर, पुस महिनाका रातहरू लामा हुने, दिनहरू छोटा हुने भएकाले कवि तथा गीतकारले बेल (सूर्यदेवता)लाई जनवुणनु (न अस्ताउनु) छिटो भनी आग्रह गरेको देखिन्छ। यी र यस्ता खाले हजारौं देउडागीतहरू वनका स्याउला (वनका पतझर) भैं बस्तीभरि छरिएर रहेका देखिन्छन्। सेती, महाकाली प्रदेश र कर्णाली प्रदेश देउडा गीतका उर्वर भूमि हुन्। यी दुई प्रदेशको संस्कृति, मौलिकपन र मानवीय सभ्यता देशका अन्य पाँच प्रदेशमा भेटिँदैन।
पूर्वाञ्चलमा मारुनी संस्कृति, किराँत र उभौली–उधौंली संस्कृतिले जातीयताको रक्षा गरेको पाइन्छ। मधेस प्रदेशमा मैथली र भोजपुरी संस्कृतिले वैभवशाली जरा गाडेको छ। गण्डक प्रदेशको रोधी र गुरुङ संस्कृतिले नेपालको आदिम जातिको उत्थान र विकाससम्बन्धी औचित्य पुष्टि गरेको छ। लुम्बिनी प्रदेशको अबध, बाग्मतीको तामाङ र नेवार जातिको मौलिक पहिचान र भेषभूषाले नेपालमा मानव सभ्यताको ज्यँुदो इतिहासलाई अध्ययन गराएको छ। तर कर्णाली र सुदूरपश्चिमको संस्कृतिले जातीयताको मात्र नभै समग्र भूगोेलको परिचय गराएको देखिन्छ।
हिमवत मानषखण्डको यो पुण्य भूमिको गर्भभित्र अनेकौं जातजातिका पुर्खाका इतिहास लुकेका छन्। आर्य र अनार्य जातिका कला लुकेका छन्। महाभारत कालीन कलाकौशल, रामायणकालीन भाषा र परम्परा दबिएर बसेका छन्। सबै जातिले बोल्ने भाषाका लिपिहरू, देउडा गीतका औचित्य र साहित्यको मर्म कुदिएका छन्। त्यसैले संस्कृति र मानवसम्पदाको जननिभन्दा पनि फरक पर्दैन, कालीकर्णाली प्रदेशलाई। त्यसैले, देउडागीतमा प्रयोग गरिने हरेक शब्दमा अर्थ लाग्छ, युगबोधको चेतना जगाउँछ। त्रेता, द्वापर युगमा भए गरेका घटनाक्रम गीतका शब्द र वाक्य गठनमा
प्रयोग गरिएका पाइन्छन्। जस्तो–
रामले चिन्हेका धारा पानी खाईझाऊ सीता
मन भन्छ घरबार होइझा कर्म भन्छ विता।
रावणले हरेर लैग्यो रामचन्द्रकी सीता
मन् मेरो दोमन भयो यता झाऊकी उता।।
रामायणकालीन कथामा आधारित यस्ता अनगिन्ती गीतले त्यसबेलाको जनजीवन, संगीत र गीतको पुष्ट्याई गर्दछ। माता कैकेयी र पिता दशरथका आज्ञाले राम सीता र भाइ लक्ष्मण चौध वर्ष वनबास बस्छन्। रावणले सीतालाई हरण गर्छ, अशोक बाटिकामा सीता बसेकी हुन्छिन्। हनुमानले राम लेखेको सुनको औंठी उपहार दिन्छन्। लंकादरबार हनुमानले जलाउँछन्। सीता चोखी छिन् भन्ने कुराको पुष्टि हुन्छ, अग्निमा प्रवेश गरेर सशरीर सामुन्नेमा देखापर्दा। माथि उल्लेखित कुरा देउडागीतका पारखीहरू सरसर्ती गीतमार्फत बताउँछन्। श्रुतिका आधारमा गीतहरू रचना गरिएका हुन्। लेख्य प्रमाण नभेटिएका कारण वर्तमान समयसम्म आइपुग्दा जति पनि गीत छन् केवल परम्परामा आधारित छन्।
अबका पुस्ता प्रमाण खोज्छन्, प्रमाणका आधारमा गीतको रचना गर्छन्। त्यसैले पनि अनुसन्धानपरक देखिन्छन् कालीकर्णालीका हजारौं भाका। यसो हुँदा भोलिका पिँढीका लागि शैक्षिक सामग्री बन्न सक्छन्, देउडागीतहरू। एउटा जातिमा मात्र सीमित नभएर सबै जातजातिसँग सम्बन्धित रहेकाले देउडागीतहरू माटोका गीत हुन्। धरती र आकाशका अनि समग्र भूगोलका गीत हुन्। भाषासँग सम्बन्धित भएकाले देउडागीतहरू भाषिक गीत पनि हुन्। इतिहाससँग गाँसिएकाले देउडागीत इतिहासपरक गीत पनि हुन्। भूगोल र प्रकृतिसँग प्रत्यक्ष रूपमा जोडिएकाले भौगोलिक गीत त हँुदै हुन्। यसभन्दा अघिका लेखहरूमा देउडाखेल र देउडागीतका बारे संक्षिप्त चर्चा गरिसकेको छु।
पुस महिना देउडा खेल्ने महिना पनि हो। खेतबारीमा बुनेकाम (गहुँ, जौं छर्ने काम) सकिएको हुन्छ। पोर्सो बोक्ने (मल बोक्ने काम) काम पनि सकिसकेको हुन्छ। फुर्सदको बेला मानिसलाई मनोरञ्जन पनि चाहिने हुँदा गीतप्रेमीहरू खुल्ला चौरमा देउडा खेलमा झुम्मिन्छन्। उभिएर गीतको लय अनुसार पाइतला डेढ पटक उचाली देब्रेबाट दाहिनेतर्फ गोलाकार रूपमा घुम्दै देउडाखेल खेल्ने गर्छन्। मायाप्रेम, संस्कृतिप्रेम, इतिहास, सामाजिक परिवेश, राजनीतिक घोचपेचका विषयहरूले पनि गीतमा प्रवेश पाउँछ, सवाल–जवाफ हुन्छ गीतमा।
धिपी धिपी बत्ती बल्यो बझांगी वाराको
यसी माया म क्या लागि सुनका हाराको।
प्रेममय माथिको गीतले ठाउँ विशेषका विषयलाई उठान गरी प्रेमिकालाई सुनको सिक्रीसँग तुलना गर्दै गहिरो माया बसेको तथ्यपरक विषय दर्शाएको पाइन्छ। कर्णाली अञ्चलका हुम्ला, जुम्ला, कालीकोट, मुगुहरूमा यसरी गीत गाउँदा ‘छोट्टी बस्ने’ भनिन्थ्यो। लुकिछिपीमात्र छोट्टाछोट्टी (केटाकेटी)ले रातभर गीत गाउँथे। वर्तमानमा त्यस्तो छैन। कुनै बेला आफन्तका बीच देउडा खेल खेल्न हँुदैन, बदनामी कमाइन्छ, समाजमा अपहेलित होइन्छ भनिन्थ्यो। अहिले उक्त परम्परा हटेर गयो। ८० वर्ष उमेरका ज्येष्ठ नागरिक खुल्ला मनोरञ्जनका लागि लौरो टेक्दै २५÷३० वर्षे युवा युवतीसँग देउडा खेलको भरपूर मनोरञ्जन लिइरहेका देखिन्छन्। काली कर्णाली प्रत्येक जिल्लाका बस्तीहरूमा देउडा खेल खेलिरहेका भिडियो दृश्य देख्दा सहरमा त्यति साह्रो बस्न मन लाग्दैन। देउडा गीतले समाजलाई जोड्ने काम गरेको देखिन्छ।
अब केही चर्चा गरौं– भुवो पर्वबारे। यो सुदूरपश्चिम र कर्णाली प्रदेशको अर्को महŒवपूर्ण पर्व हो। देउडा जस्तै वर्षभरि नै यो पर्व मनाइँदैन। पौषगयाँ अर्थात् पुसे औंसी तिथिका दिन गाउँको सार्वजनिक स्थलमा आगो बालेर भुवो जगाउने गरिन्छ। द्वितीया तिथिमा पहेँला अक्षता र चामलको पिठोमा
हलेँदो मिसाएर गाउँका मुखिया र बुढ्याउडी (पाको मानिस)लाई लगाउने गरिन्छ। अनि सबैजनाले निधारभरि पहेलो पिठायो लगाई आपसमा शुभकामना दिइन्छ। बटुक (बारा), बावर (सेलरोटी) लगायतका मिष्ठान्न भोजन गरिन्छ। चिउणा कुटाई गरिन्छ। शुक्लपक्ष द्वितीयाका दिनबाट भुवो जगाउँदै भस्सो खेल्ने गरिन्छ। भस्सो रणकौशलमा आधारित खेल हो। यो पुरुषवर्गले मात्र सहभागिता जनाउने गरेका छन्। दाहिने हातमा नांगो तरबार, देब्रे हातमा ढाल समातेर दमाहा र टेम्को बाजाको तालमा भस्सो खेल खेलिन्छ।
गोलाकार रूपमा खेलिने भस्सो खेल पृथक् शैली र बहादुरपनको नमुना हो। प्राचीन समयमा केवल क्षेत्रीय वर्गले मात्र यो खेल खेल्ने गर्थे। विगत वर्षदेखि सबैथरी मानिसले बडो हर्षोल्लासका साथ पाइताला मिलाई सतर्क भएर भस्सो खेल्छन्। यो खेल जोखिमयुक्त खेल हो। वर्षभरि जुन घरमा शुभकार्य भएको छ, त्यो घरमा हर्षबढाइँका साथ ५०÷६० जनाको फौज आएर भस्सो खेल्दै आशीर्वाद दिने गरिन्छ। घरको मानिसले श्रद्धापूर्वक रुपैयाँ, चामल या बोक्रा उपहार दिने गर्दछन्। त्यसैले शुभकामनाको पर्व पनि भएकाले र बडो खुसी मनाउँदै भस्सो खेलिने भएकाले यसबेला गाउँबस्तीहरू पर्वमय देखिन्छन्, संस्कृतिमय देखिन्छन्।
द्वापरयुगमा कुरु क्षेत्रको मैदानमा पाण्डव र कौरवबीच १८ दिनसम्म लडार्इं हुँदा हजारौं वीरयोद्धाको निधन भयो। रगतले जमिन लतपतियो, हजारौं महिला विधवा बने। कर्ण, द्रोणाचार्य, दुर्योधन, कृपाचार्य, अश्वस्थामा, शल्य, अभिमन्युजस्ता व्यक्तिले वीरगति प्राप्त गरे। पाण्डवहरूले राज्य त जिते तर बन्धुबान्धवको हत्याका कारण मनमा शान्ति भएन। त्यसैले मानस खण्डको भूमि हँुदै उनीहरू कैलाश मानसरोवर तीर्थाटनका लागि प्रस्थान गरे। यसरी प्रस्थान गर्दा उनीहरू हालका कालीकर्णाली प्रदेशका विविध बस्तीहरूमा बास बसे भन्ने कथन छ। जुम्लाको पाण्डव गुफा, कैलालीको पाण्डौन, बझाङको पाण्डुसैन आदि बस्ती यसका उदाहरण हुन्।
सातदेखि बाह्र, पन्ध्र दिनसम्म मात्र मनाइने यो पर्वलाई सत्य स्वरूप पर्व पनि भनिन्छ। अन्तिम दिनमा भूमि माताको सामूहिक रूपमा पूजा गरिन्छ। गाउँमा एकताको नमुना देखाइन्छ। असत्यको नास होस्, धर्मको जय होस् भन्दै भुवाखाडोमा जगाएको अग्नि पन्ध्र दिनसम्म कायम रहन्छ। भस्सो खेल्दा एक थरीले पाण्डव र कौरवका बीच लडाइँका कहानी बताउँछन्, अरू सबैले नाची नाची भस्सी भन्ने गर्छन्।
केही भस्सोसम्बन्धी गाथाहरू–
ए ! मालको भूवो... भस्सी रे भस्सो।
ए ! पहाड जाँदा... भस्सी रे भस्सो।
ए ! ठाउँ ठाउँमा बास... भस्सी रे भस्सो।
ए ! भूमिको पूजा... भस्सी रे भस्सो।
प्रतिक्रिया दिनुहोस !