खेल्न नजानेर होइन, खेल्न नसकेर हार्यो अर्जेन्टिना
केही सवारी साधनको पछाडि लेखिने यो बिम्बात्मक वाक्यांशको सीधा अर्थ हो महत्वपूर्ण समयमा गल्ती नगर, यदि गर्यौ भने तिमीसँग अर्को विकल्प छैन । दुर्घटनामा एउटा सामान्य गल्तीले जीवनको समाप्तीसम्म हुन सक्छ भने खेल या युद्ध त्यही एउटै गल्तीले सम्भावनाका सबै ढोका बन्द गरिदिन्छ । हामी दुर्घटनालाई पछाडि छोडेर, युद्धलाई बिर्सेर खेलतिर लागौँ, विश्वकप तिर लागौँ l
विश्वकपको ट्रफी चुम्ने लक्ष्य लिएर रसिया पुगेको टिम अर्जेन्टिनाले एउटा होइन, बारम्बार गल्ती गरिरह्यो गरिरह्यो ! टिम अर्जेन्टिनाले गल्ती कहाँ गर्यो भन्दा पनि गल्ती कहाँनेर गरेन भनेर खोज्नुपर्ने भयो । कोचको रुपमा न साम्पोलीले स्पष्ट रणनीति बनाएको देखियो, न मैदानमै खेलाडीले मेहनत गरेको देखियो न खेल जित्ने प्रयास उत्कृष्ट थियो न विपक्षीलाई रोक्ने कोशिस नै l
विश्वकप छनोटमा खासै राम्रो प्रदर्शन गरे पनि २०१४ को विश्वकप तथा २०१५ र २०१६ को कोपा अमेरिका फाइनल खेलेको अर्जेन्टिना स्टार खेलाडीसहित रसिया पुगेको थियो । फुटबलप्रेमीहरुले राम्रो खोलोस् भन्ने चाहाना गरिरहेका बेला खेल विश्लेषकहरुले राम्रो खेल्ने आँकलन समेत गरेका थिए । तर प्रशंसकको चाहाना र खेलाडीको बिगतको प्रदर्शनकै आधारमा यही टिमले मैदानमा राम्रो गर्छ भन्न सकिन्न विशेष गरी विश्वकप जस्ता ठूला प्रतियोगिताहरुमा l
क्लबमा सफल देशमा फ्लप
अर्जेन्टिनाका खेलाडी स्टार यस अर्थमा कि म्यानचेस्टर सिटीलाई प्रिमियर लिग उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका स्ट्राइकर सर्जियो अगुएरो र डिफेन्डर निकोलस ओटामेन्डी टोलीमा थिए ।
त्यसैगरी युभेन्ट्सलाई इटालियन सिरी ए जिताउन मुख्य भूमिका खेलेका पाउलो ड्याबाला र गोन्जालो हिगुइन पनि अर्जेन्टाइन टिममा थिए । अर्कातिर फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेनलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका एन्जेल डी मारिया र जिओभानी लो सेल्सो पनि टोलीमा थिए ।
अर्कातिर विश्वभरका फ्यानहरु बार्सिलोना स्टार लियोनेल मेसीप्रति पूर्ण भरोसमा थिए । उनीसहित विश्वका प्रसिद्ध लिगमा खेल्ने स्टार खेलाडी पनि थिए टिममा l
'खेल्न नजानेर होइन, खेल्न नसकेर" हारेको हो अर्जेन्टिना । मैदानमा खेलाडीको स्टारडमले र भाग्यले भन्दा ९० मिनेटको खेल कौशल र रणनीतिले अहम् भूमिका खेल्छ भन्ने बुझ्न अर्जेन्टिनाले रसिया विश्वकपका समुह डी का दुई खेल हेरे मात्र काफी हुन्छ l
मैदानमा एकदमै कम अवसर सिर्जना हुन्छ । एक त त्यस्तो अवस्थामा पाएको अवसरमा चुक्नु र विपक्षीलाई अवसर दिनु दुर्भाग्यले होइन कमजोरीले नै हो । यस हिसाबले हेर्दा एकदम कमजोर देखियो अर्जेन्टिना, समुह बिजेता बन्ने लक्ष्यसहित मैदानमा उत्रिएको टिम अर्जेन्टिना पहिलो खेलमा आइसल्यान्डको टेन म्यान डिफेन्ससामू निरिह त बन्यो नै कप्तान मेसीले पेनाल्टी पनि कमजोर प्रहार गर्दा आइरिस किपर हाल्डोरसनले सहजै बचाइदिए ।
बल खेलाएर जितिन्न
मैदानमा अर्जेन्टिनाले जति बल खेलाए पनि राम्रो अवसर समेत सिर्जना गर्न नसकेको साथै नव प्रवेसि आइसल्याण्डको उत्कृष्ट प्रदर्शनले पहिलो खेल १-१ को बराबरीमा टुंगियो l समुह बिजेता बन्न पर्ने दबाब थपिँदै गएको सन्दर्भमा १ अंक बोकेर दोश्रो खेल जित्नै पर्ने दबाबसहित मैदानमा उत्रिएको अर्जेन्टिनालाई क्रोएसियाले नमिठो हार चखायो ।
पहिलो खेलमा नाइजेरियालाई जितेर उच्च मनोबल साथ उत्रिएको क्रोएसियाले ३-० को 'धुलो चटाएर' प्रमाणित गरिदियो कि खेल जित्न भाग्यको साथ चाहिने होइन सही समयमा पाएका अवसरलाई सदुपयोग गरे मात्र विपक्षीलाई ठूलो अन्तरले हराउन सकिन्छ l
किपरको अक्षम्य गल्ती
जित्नैपर्ने दबाबबीच किपरको सामान्य गल्तीले विपक्षीलाई सहज मौका दिई पहिलो गोल खानुले खेलाडीको मनोबलमा कति असर पर्न सक्छ र विपक्षीको मनोबल बढाउन कति अहम् हुन्छ भन्ने त्यहाँपछिको प्रदर्शनलाई हेरेर पनि बताउन सकिन्छ ।
५३ औं मिनेटमा क्याबालेरोको हेलचेक्र्याईपूर्ण खेलले १ गोलले पछि परेको अर्जेन्टिनासँग खेलमा फर्कन पर्याप्त समय त थियो तर ८० औं मिनेटमा लुका मोड्रिकले डी एरियाको ठीक बाहिरबाट प्रहार गरेको उत्कृष्ट सटले अर्जेन्टिनाको सपना माथि पानि फेरिदियो ।
९० औं मिनेटमा इभान राकिटिचले पाएको सहज पासलाई गोलमा परिणत गर्दा फुटबल स्टारडमले र भाग्यले खेलिने खेल पटक्कै होइन भन्ने फेरिक एकपटक प्रमाणित भयो ।समस्यामा थियो अर्जेन्टिना
स्टार खेलाडीले भरिएको टिम भए पनि अर्जेन्टिना आफ्नै खाले समस्या लिएर रसिया पुगेको थियो, म्यानचेस्टर युनाइटेडमा दोश्रो रोजामा परे पनि सर्जियो रोमेरोले सन् २०१४ को विश्वकप र पछिका खेलमा पनि अर्जेन्टिनाको जर्सीमा निकै राम्रो प्रदर्शन गरेका थिए ।
तर म्यानचेस्टर युनाइटेडमा नियमित रुपमा लिगमा खेल्न नपाउनु नै उनको फिट्नेस समस्या भइदियो । त्यही समस्याले उनलाई ट्रेनिङ्गमा धोका दियो । उनी घाइते भएपछि उनको अभाव टिममा स्पस्ट देखियो l
चेल्सीबाट दोश्रो रोजाइमा खेल्ने विल्फ्रेडो क्याबालेरोले अर्जेन्टिनाको पोष्ट सम्हाल्दा बारम्बार गल्ती गरिरहेका थिए । बल कन्ट्रोलमा मात्र होइन पास दिन पनि समस्या भइरहेको प्रष्ट देखियो l
स्टार खेलाडी नै फ्लप
डिफेन्समा ओटामेन्डीले राम्रो गरे पनि पहिलो खेलमा राम्रो खेलेका मार्कोस रोहोले दोश्रो खेलमा अवसर नै पाएनन् । अन्य खेलाडीले औसत खेले पनि मेसी, अगुएरो, मास्चेरानो जस्ता नाम चलेका खेलाडीले आफ्नो स्वाभाविक प्रदर्शन गर्न सकेनन् ।
हिगुइन, पाब्लो ड्याबला, क्रिस्चियन पाभोनहरुले पर्याप्त अवसर पाएनन् साथै उत्कृष्ट कोच भनिएका साम्पोलीले बारम्बार फर्मेसन परिवर्तन गरिरहे । पहिलो खेलमा ४-४-२ को फर्मेसनमा उत्रिएको टिम दोश्रो खेलमा ३-४-३ को फर्मेसनमा उत्रिएको थियो ।
तर मध्यपंक्तिमा कुनै पनि खेलाडीले सामान्य प्रदर्शन गर्न समेत सकेनन् । यसले न डिफेन्स बलियो देखियो न अग्रपंक्तिमा बल नै उपलब्ध भयो, यही रणनीति र फर्मेसनबीचमा खेलाडीहरु अल्मलिएका देखिए भने मैदानमा जे जे भयो सबै विपक्षीको फेबरमा थियो l
६० वर्षपछिको लज्जा
समुह चरणमा १९५८ मा चेकोस्लोभाकियासँग ६-१ ले पराजित अर्जेन्टिनाको ६० वर्षपछि समुह चरणमा क्रोएसिया संग ३-० को पराजय अर्को खराब प्रदर्शन थियो अर्को खराब हार थियो ! पछिल्ला ११ वटा विश्वकपमा समूह चरणका सुरुवाती दुवै खेल जित्न नसकेको पहिलो पटक थियो l
सन् १९५८, सन् १९६२ र सन् २००२ मा समूह चरण पार गर्न नसकेको अर्जेन्टिनाको फेरि एकपटक त्यही हालत नदोहोरियोस् भन्ने कामना एक असल समर्थकबाट गरेको छु । नकआउट चरणमा प्रवेश गर्ने झिनो आशाबीच आउने खेलमा नतिजा आफ्नो पक्षमा पार्दै बिग्रिएको लय सुधार्दै समूह चरण पार गरोस् भन्ने शुभकामना पनि दिन्छु ।
प्रतिक्रिया दिनुहोस !