‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानसँग जोडियो 'बसियो'
काठमाडौं : युवा उद्यमीहरूले सुरू गरेको स्टार्टअप व्यावसायको प्रवर्द्धन गर्न अन्नपूर्ण मिडिया नेटवर्कले सुरू गरेको ‘स्टार्टअपसँग अन्नपूर्ण’अभियानमा बसियो सर्भिसेज प्रालि जोडिएको छ । बिहीबार नेटवर्कको तीनकुनेस्थित केन्द्रीय कार्यालयमा भएको एक समारोहमा उक्त सम्झौता भएको हो ।
सम्झौतापत्रमा अन्नपूर्ण मिडिया नेटवर्कका अप्रेशन तथा लेखा विभाग प्रमुख सुनिल पौडेलले र बसियो सर्भिसेज प्रालिका सिईओ दिपक पौडेलले हस्ताक्षर गरेका हुन् । यो कम्पनीले होटल, होमस्टे, रिर्सोर्ट, अपार्टमेन्ट, टेन्ड हाउसलगायत संसारभरबाट बुकिङ सेवा प्रदान गर्दै आएको छ। यसका लागि मोबाइल एप बसियो डाउनलोड गर्नुपर्दछ । बसियो एप प्लेस्टोर र एपल एपस्टोरमा उपलब्ध छ ।
‘यो अभियान हाम्रा लागि गरिएको एक महत्वपूर्ण अभियान हो,'बसियो सर्भिसेज प्रालिका सिईओ दिपक पौडेलले भने,‘हाम्रा उत्पादनहरूको बजारीकरणका लागि सुर्वण अवसर हो ।’
यो अभियानमा नेटवर्कका सबै प्लेटफर्महरू सहभागी हुनेछन् । नेटवर्कले हाल नेपाली संस्करण अन्नपूर्ण पोस्ट दैनिक,अंग्रेजी द अन्नपूर्ण एक्सप्रेस डेली,रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्ज,अनलाइन न्यूज पोर्टल अन्नपूर्ण पोस्ट डट कम, एपीवान टेलिभिजनलगायतका मिडिया प्लेटफर्महरू सञ्चालन गर्दै आइरहेको छ ।