सरकारप्रति एमाले झन् आक्रामक

सरकारप्रति एमाले झन् आक्रामक
पार्टी कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओली । तस्बिर : ओली सचिवालय

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा मागेका छन्। पार्टी कार्यालयमा आइतबार पत्रकार सम्मेलन गर्दै ओलीले नैतिकताको आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए। ‘यति अयोग्य, यति नालायक, यस्तो भ्रष्टताको चाङमाथि उभिएर प्रधानमन्त्रीले म सरकारको नेतृत्व गर्छु भन्नु अप्ठेरो मान्नुपर्ने होइन ?’ ओलीले प्रश्न गर्दै भने, ‘प्रधानमन्त्री आफैंले राजीनामा गर्नुपर्ने हो।’

अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा नदिनु विश्वकै लागि आश्चर्य भएको ओलीको टिप्पणी थियो। ‘मन्त्री भएर राष्ट्रिय झन्डा हल्लाएर हिँड्न लाज लाग्दैन ?’ ओलीको आक्रोश थियो, ‘गृहमन्त्रीलाई आफ्नो अभिभारा बहन गर्न नसकेर फेरि पनि झन्डा हल्लाउँदै हिँड्नु अठ्यारो लाग्नुपर्ने होइन ?’ गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा नदिएर पदमा कसरी बस्न सकेको भन्दै ओलीले प्रश्न गरे।

गृहमन्त्रीले राजीनामा दिनबाहेक अरू विषयमा संसद्को रोष्ट्रममा उभिनु अनौठो भएको ओलीले बताए। ९ किलो सुन प्रकरणमा जोडिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि सामान्य सोधपुछसमेत नगरेको भन्दै ओलीले आपत्ति जनाए। इलेक्ट्रिक सिगरेटभित्र ९/९ किलो सुन लुकाएर ल्याउने तस्करसँग महरा र उनका छोरा राहुलको नाम जोडिँदासमेत छानबिन नगरेको भन्दै ओलीले आक्रोश जनाए। ‘यसको (सुन तस्करी) को कनेक्सन कहाँ–कहाँ छ ? ओलीले भने, ‘टुप्पो–टुप्पो मात्रै हेरेर हुँदैन। जरो कहाँ छ ? स्पष्ट देखियो त। २३४ पटक कुनै गिरोहसम्म निरन्तर संवाद कसरी हुन्छ मान्छेको ?’ 

महरासँग किन सोधपुछ नगरेको भन्दै ओलीले प्रधानमन्त्रीसँग आक्रोश पोखे। ‘यसरी पनि देश चल्छ ?’ ओलीको आक्रोश थियो, ‘बाहिर स्टन्ट दिएको छ। गफ दिएको छ। भ्रमपूर्ण प्रचार गरेको छ।’ गृहमन्त्रीले भ्रमपूर्ण प्रचार गराएर स्टन्टमा रमाएको उनले आरोप लगाए।

अध्यक्ष ओलीले एक सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय न्यायिक आयोग नबनाउनुको कारण सरकारसँग माग गरे। ‘यसमा सरकारको अयोग्यता, नालायकिपन वा लाचारी के हो ?’ ओलीको प्रश्न थियो, ‘सुन तस्करीमा सरकारको संलग्नता छैन भने किन तर्सिन्छ ? चोरको खुट्टा काटभन्दा खुट्टा उचालेको जस्तै सरकार न्यायीय छानबिन समितिको माग सुन्नेबित्तिकै तर्सिने गरेको छ।’ ओलीले बहलवाला वा पूर्वन्यायाधीशको नेतृत्वमा स्वतन्त्र छानबिन आयोग गठन गर्नुपर्ने बताए। सरकारको संलग्नता बिना एयरपोर्टबाट सुन तस्करी सम्भव नहुने पनि ओलीले दाबी गरे। 

संसद् अवरोध गर्ने ‘सत्तापक्ष नै’

एमाले अध्यक्ष ओलीले सत्ता पक्षले नै संसद् अवरोध गरेको आरोप लगाए। ‘संसद् अवरोध गर्नै हुँदैन। अवरोध गर्ने परिस्थिति ल्याउनुहुँदैन,’ ओलीले भने, ‘संसद् देश र जनताका लागि काम गर्ने थलो हो। जनता र देशका काम निर्बाध रूपमा काम गर्न पाउनुपर्छ।’ एमालेलाई सरकारमा जाने कुनै रुचि नभएको उल्लेख गर्दैै ओलीले सरकारले नै देशको अर्थतन्त्र ध्वस्त बनाएको आरोप लगाए। ‘हामीले सत्तातिर हेरेका छैनौं, ओलीले भने, ‘हामीले हेरेका छैनांै भनेपछि सरकारले जे गरे पनि ढुक्क रहेछ नि भन्ने कुरा चल्दैन। जे पनि गर्न पाउँदैन।’

एमाले अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीका नेताहरूले भेट्नु सामान्य भएको बताए। राष्ट्रपति बन्नुअघि भण्डारी पार्टीको उपाध्यक्ष नै रहेकाले भेटको विषय ठूलो बनाउन आवश्यक नरहेको टिप्पणी गरे। ‘हामीमध्ये कसैले भेट्नु, कुरा गर्नु ठूलो कुरा होइन नि !,’ ओलीले भने, ‘विष्णु पौडेलजीले मात्र होइन, मैले पनि कुरा गरेको छु, अरूले पनि कुरा गर्नु भएको छ। यस्तो विषयलाई कार्ड छपाएर लिएर जानुभयो रे त, पार्टीमा आइदिनुपर्‍यो भनेर निम्ता गर्नुभयो भन्ने यो खालको प्रयासहरूलाई मलजल नगर्दा राम्रो हुन्छ।’

सुन तस्करीको छानबिनका लागि संसदीय समिति आवश्यक नभएको ओलीले बताए। संसदीय समितिमा बहुमत उहाँहरूकै छ’, ‘सभापति उहाँहरूकै चाहिन्छ,’ ओलीले भने, ‘यो पनि छानबिन गर्नै पर्दैन, त्यो पनि छानबिन गर्नुपर्दैन भन्छन्। सुन तस्करीको कहानी नै गलत हो, प्रतिपक्षले बनाएको हो भन्ने बेर छैन, त्यसले संसदीय छानबिन होइन, न्यायीय छानबिन आयोग बन्नुपर्छ।’ 

एमाले अध्यक्ष ओलीले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागिरहेका कांग्रेस सांसद सुनील शर्माको पक्राउ गर्नु गलत भएको बताए। ‘के सुनील शर्मा जस्तो हस्पिटल चलाएको सांसद यस्ता कुरामा देश छोडेर जाला ? ओलीको प्रश्न थियो, ‘हतारहतार उनलाई किन गिरफ्तार गरेको त ? ’ प्रतिपक्षी दलका नेता ओलीले एकपछि अर्का प्रकरणले देश गम्भीर अवस्थामा पुगेको बताए। उनले पछिल्लो समय भन्सारबाट सुनबाहेक अन्य सामान नभित्रिएको आरोप लगाए। ओलीले भने, ‘यो त गोल्ड टच भयो क्या। जे छोयो त्यही सुन। ब्रेक सु छोयो सुन, सिगरेट छोयो सुन, एउटा मोटर ल्यायो सुन, अर्को ल्यायो सुन, एउटा आइटम सुन, अर्को आइटम सुन,’ उनले भने, ‘कस्तो अचम्म ! भन्सारबाट जे ल्याउँदा पनि सुन।’
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.